~गोविन्दप्रसाद आचार्य~
अपत्य शर्माद्वारा लेखिएको “मुद्रा र पूँजीवादी दासता” जसमा मोहनविक्रमसिंहको भूमिका समेत प्रकाशित छ। उक्त भूमिकाका सामु मेरा विचारहरू फितला हुन सक्छन् अर्कोतर्फ अर्थशास्त्र मेरो पहुँचको विषय होइन तापनि आफूलाई अर्थशास्त्रसँग नजोडि यसले दिएका वैचारिक पक्ष, सामाजिक पक्ष र राजनीतिसँग जोडिएको अर्थतन्त्र, यो पुस्तक पढ्दा मलाई लागेका धारणाहरु जस्तो लाग्यो, त्यो छोटोरूपमा प्रस्तुत गर्न चाहन्छु।
नेपालको कम्युनिस्ट आन्दोलनमा रूस र चीनले तात्कालिन अवस्थामा पुस्तक, पत्रपत्रिका प्रकाशित गरेर जनचेतनाको अभिबृद्धि गर्नमा पुर्याएको सहयोगप्रति हामी ऋणि हुनैपर्छ र त्यसकै आलोकमा कम्युनिस्ट आन्दोलन ग्रामीणस्तरसम्म र कम्युनिस्ट विचारले जनताको मन मस्तिष्कलाई प्रभाव पारेर कम्युनिस्ट आन्दोलन आफूसँग जोडिएको जटिलताका गाँठा फुकाउँदै सभ्य र शोषणरहित समाजको निर्माण गर्न जनताको पंक्ति हिचकिचाएको छैन।
“मुद्रा र पूंजीवादी दासता” शीर्षकको पुस्तक तिनै सर्वहाराहरूलाई सचेत पार्ने दिशामा अग्रसर छ। मजदुरका समस्या र हितमा आधारित छ। मजदुर शोषणका स्रोतहरू राम्ररी प्रष्ट पारिएको छ। यसका साथै पूंजीवादी समाजमा मजदुरको शोषण के र कसरी कुन रूपमा गरिन्छ? तिनीहरूको जीवन जीवनभर काम गर्दा पनि कस्तो रहन्छ? इत्यादिका विषयमा यस पुस्तकमा गम्भीर रूपबाट चर्चा गरिएको छ। वर्ग विभाजनका आधारहरू यस पुस्तकमा यसरी बताइएको छ– “धनी र गरिब, सुखी र दुःखी, कमारा र मालिक, सामन्ती र किसान, पूंजीपति वर्ग र मजदुरवर्ग नै आजको विश्वको वर्ग विभाजित समाजका मुख्य वर्ग हुन्।” (पेज नं. १०) यसरी यी वर्ग समस्या विश्वका हुन्, पूंजीवादी समाजले नगाँजेको कुनै पनि देश छैन। तसर्थ यी समस्याहरू विश्वव्यापी हुन् र नेपाली समाजका पनि हुन्। यस पुस्तकमा अगाडि भनिएको छ–“पूंजीपतिले सर्वहारावर्गको श्रमशक्तिको मात्र शोषण गरिरहेको छैन, प्राकृतिक स्रोत र प्राकृतिक देन घाम, हावा, पानी, जमीन, जंगल पनि आफ्नो अधिकारमा राखेर निर्मम शोषण गरिरहेछ, यसरी पूंजीवाद मानवका साझा स्रोतलाई निजी बनाएर व्यक्तिमा रूपान्तरण गरी मानिसलाई कंगाल बनाउने काम गरिरहेको छ। घर्ती र प्रकृति उसको होइन तर पनि आफ्नो भन्दै सर्वहारालाई शोषण गर्दै त्यसो अत्यधिक प्रयोग गरेर श्रमजीवीको शोषणमा विलासी जीवन बिताइरहेको छ। अत्याधिक प्रगोग गरी प्रकृतिलाइ मुद्रामा रूपान्तरण गरेको छ। जसको संचालनको लागि कामदार वर्गलाई प्रयोग गरेको छ।” साझा सम्पत्तिमाथि थोरै ज्याला दिएर धेरै नाफा लिने पूंजीपतिहरूको ठग र चोर पद्धतिको यहाँ राम्ररी प्रकाश पारिएको छ।
पूंजीवादद्वारा संचालित राज्यसत्ताले उदारताको नाममा गरेका विवेकहीन क्रियाकलाप र विचारहिन फुक्ला विचारहरू यस पुस्तकमा यसरी लेखिएको छ “नियम कानूनको सहायताले सर्वहारावर्गलाई अल्मल्याउन गाँजरको मुठो अगाडि देखाएर गधालाई दगुराए जस्तै शोषणरहित प्रजातान्त्रिक समाजवाद, प्रजातन्त्र, मानवअधिकारको नाममा प्रतिक्रियावादीहरूले रजाईँ गरिरहे छन्। (पेज नं. १३) वर्तमान मानवअधिकारवादी संस्थाहरू प्रतिक्रियावादीका खम्बा बनेका छन्। तर ती पनि खोक्रा छन्। सर्वहारावर्गले दरिलो मुक्का एकचोटी प्रहार गर्दा ती सिसाका स–साना टुक्रामा रूपान्तरण हुन्छन्। यो भन्नु सान्दर्भिक हुन्छ कि यी मानववादी ढ्वाङहरू बेतालमा बज्दछन् जसको आवाज सुन्दा कान टट्टाएर आउँछ। यिनलाइ यो भन्न सकिन्छ कि यी दाँत नभएका टोक्न नसक्ने तर तर्साउनका लागि भुक्ने कुकुर जस्ता हुन्। जसले तर्साउने काम गर्छ तर टोक्दैन। यसरी यस पुस्तकको वास्तविकताले पनि यस्ती विषयमा चर्चा गरेको पाइन्छ। मजदरका विषयमा पुस्तकमा लेखिएको छ“पूंजीपतिले मजदुरलाई मात्र सास राख्न ज्याला दिन्छ” पेज नं. १६। यस्ता विषयलाई होइन भन्न सक्ने हिम्मत कसको होला जुन विचार यथार्थमा आधारित छ। जीवनका भोगाईसँग सम्बन्धित छन् र सत्य पनि यही नै हो। जसले सही सिद्धान्तलाई पन्छाएर त्यसको विषयमा ठूलो धनरासी खर्च गरी संसारका साधनलाई किनेर व्यक्तिहरूलाई ठूलो प्रलोभनमा फसाएर मार्क्सवादका विषयमा लेखकको धारण यस्तो रहेको छ “मार्क्सको शिक्षालाई जडसुत्र भन्ने, मार्क्सवाद अवैज्ञानिक भएकाले विश्वबाट लोप भएको कुराको ढोल पिट्ने गद्दार संशोधनवादीदेखि साम्राज्यवादी दलालहरूसम्म कसैले पनि पूंजीवादी उत्पादन व्यव्स्था र पूंजीवादी शासन सत्ताले बेकारी बलात्कार, डकैती, हत्या, नीचता, आक्रमकता र पतनशीलता आदिबाट कुनै पनि पूंजीवादी देश मुक्त हुन सकेका उदाहरण दिन सकेको छैन (पेज नं. २२) यहाँ लेखको विचार उत्कृष्ट हुँदाहुँदै यसै पुस्तकसँग जोडिएर भन्नुपर्दा पूंजीपतिहरूले मार्क्सवादको खिल्लि उडाउनुलाई ठूलो अर्थमा लिनु आवश्यक छैन। किनकि आफ्नो कालको प्रशंसा कसैले गर्दैन तर खतरा त्यहाँ मान्नुपर्छ। मार्क्सवाद भित्र हुर्किएका तर पूंजीवादका पाल्तु कुकुर संशोधनवादीहरू मार्क्सवादी आन्दोलनका खतरा हुन् यस सँग यो जोड्नु पर्ने आवश्यकता छ कि सुखानिमा झुन्डाईएका शहीदको रगत कहाँ गयो। चीनका अध्यक्ष हाम्रो पनि अध्यक्ष भन्ने धारणा कहाँ गयो? झापा आन्दोलनलाई कम्युनिस्ट आन्दोलनको उद्गम थलो भनेर देशभरीको जनमानसलाई संगठित गरेर कम्युनिस्ट क्रान्तिको चिनियाँ सर्वहारा संस्कृति क्रान्तिको विश्वभरी फैलिरहेको सर्वहारा क्रान्तिको लहरलाई पूंजीवादी संसदका काखबाट त्यो लहरालाई उपेक्षा गर्नेहरू अझै पनि मार्क्सवादको खोल ओड्दैछन्। यिनीहरूको संगठनमा लागेका कार्यकर्ताहरू अझै पनि भ्रममा हुनु त्यसलाई छोड्न सकेका छैनन्। यस्ताका विरूद्धमा वैचारिक युद्ध नछेडेसम्म कम्युनिस्ट आन्दोलनमा देखा परेका सबै ढंगले संशोधनवादी जसले कम्युनिस्ट आन्दोलनलाई भड्काएको छ। त्यसका विरूद्ध विजय प्राप्त गर्न सकिंदैन। जसरी आकाशमा पानी विनाको रित्तो बादल गर्जिन्छ। गर्जनले ठूलै आवाज दिन्छ, घर्ति हल्लाउँछ, जनमासनलाई तर्साउँछ तर विडम्बना 164 थोपो पानी नपरिकन हराउँछ। ठीक यही ढंगका संशोधनवादीले कम्युनिस्ट आन्दोलनमा पूंजीवादको फोहोर थुपारेर गनाउने बनाइसकेका छन्। यस्ताका विरूद्धमा संघर्ष गर्नु पहिलो आवश्यकता हो यस पुस्तकले पनि यस्ता विचारलाई जोड दिएको छ।
पूंजीवादका विषयमा पुस्तकमा यसरी लेखिएको छ “हामी भन्न सक्छौं प्रत्येक पूंजीवादी सभ्यता लुट, हत्याहरू, लाखौं करोडौंको आँशु, रगत र पसिनाको सञ्चयको नाम नै पूंजी हो। जुन आज विकसित पूँजीवादी तथा साम्राज्यवादी देशहरूको विश्लेषण, विशेषता र विश्व प्रभुत्वको शक्ति बनेको छ।” (पेज नं. ३२) यी विचारलाई पुष्टि गर्दै मार्क्सका विचार यसरी सान्दर्भिक बनाइएको छ “जब पूंजी संसारमा आउँछ तब त्यसको शिरदेखि पाउसम्म प्रत्येक खाल्टाहरू रगत र दुर्गन्धले भरिएको हुन्छ।” यो भनाई कार्ल मार्क्सको हो। पूंजीवादका विषयमा यस पुस्तकले गम्भीर रूपमा चर्चा गरेको छ। जससँग तीनवटा शब्द जोडिएका छन्। सर्वप्रथम मुद्रा दोस्रो पूंजी र त्यसले उत्पन्न गरेको दासता यी तीन शब्दका बीचबाट सामाजिक संरचनाको निर्माण भएको छ यी एक आपसमा सिक्री जस्तै गाँसिएका छन्। पूंजीवादले मुद्राको आडमा समाजलाई गरेको शोषण पूंजी कमाउनका लागि प्रेरित गर्ने सामाजिक व्यवस्था त्यसलाई संचालन गर्ने राज्यव्यवस्था त्यससँग जोडिएका राज्यका अंगहरू र तिनलाइ प्रभाव पार्ने विश्व साम्राज्यवाद त्यसको आडमा चलेका संघसंस्था आदि सर्वहारा क्रान्तिका लागि खतरा बनेका छन्। यसका साथै त्यसप्रकारको बलियो जालो चिर्न स्थापना भएका कम्युिनस्ट पार्टीहरू एक वा अनेक बहाना गरेर पूंजीवादको काखमा बसी सर्वहाराको विचार फलाकेर व्यक्तिगत लाभमा चुर्लुम्भ डुबेको विषय पनि यस पुस्तकको रहेको छ। राष्ट्रका लागि समेत राष्ट्रियताको वकालत गर्ने महामानवहरूले पुर्याएको घातको विषयमा पनि यसरी बताइएको छ “राष्ट्रघाती काङ. सरकारका प्रम कृष्णप्रसाद भट्टराईले भारतभ्रमण गर्दा १० जुन १९९०को संयुक्त विज्ञप्तिअनुसार विज्ञप्तिको अनुसूचि २ को देहाय ७ र ८ ले नेपालको सार्वभौम सत्तालाई समाप्त पारेको छ। किनभने नेपालले भारतीय मुद्रालाई निर्वाध रूपले प्रचलनमा ल्याउनुपर्ने र भारतीय नम्बरका गाडीहरूलाई नेपालमा दर्ता गर्नु पर्ने प्रावधान छ। (पेज नं. ३९)
यहाँ मागी खाने दलालहरूको नांगो चरित्र प्रस्तुत गरिएको छ। शासक त बन्छन् तर बाँदर जस्ता हुन्छन्। जसले घर बनाएको देख्न नसकेर धुरीमा आगो लगाउने गर्छन् यस्ता दलाली प्रकृतिको राम्रो चर्चा यी विचारबाट प्रष्ट हुन्छ। पूंजीवाद र साम्राज्यवादलाई जोड्दै पुस्तकमा लेखिएको छ “पूंजीवादी व्यवस्था भनेको नै मुद्रा, माल, पूंजी र पूंजी माल मुद्रा तथा मजदुरको अतिरित्त श्रम शक्तिको शोषण हो। अर्को शब्दमा मुद्रा आर्जन सामाजिक सञ्चित श्रमको व्यक्तिकरण पवित्र “नाफा” भित्र सर्वहाराकरण र सर्वहारावर्गको शोषण र उत्पीडनको नाम नै पूंजीवाद र त्यसको अत्यन्त विकसित रूप साम्राज्यवाद हो। यी विचारसँग सहमत हुँदै पुस्तकको आधारमा यो भन्न सकिन्छ कि थुप्रै अन्तर्राष्ट्रिय संघसंस्थाहरू सुधारको बहानामा पूंजीको लोभ देखाएर नेपालका गाउँगाउँमा पसि यसको इतिहास लामो छ। पूंजीको लोभ देखाए पनि हाम्रो स्थितिमा कुनै सुधार भएन उल्टै हाम्रो संस्कृति नारा गरे काम गर्ने प्रवृत्तिबाट मानिसलाई विमुख बनाए प्रत्यक्षरूपमा हाम्रा पहाड पर्वतमा रहेका बहुमूल्य घातुहरू चोरेर लगे यसरी सुधारको नाममा आएको पूंजीवाद हामीलाई नोक्सान गरिरहेको छ। शिक्षा, स्वास्थ्य लगायत हरेक समस्यामा त्यसले उत्पन्न गरेको खराबीहरूले नेपाली समाजलाई अवन्नतीतर्फ लगिरहेको छ। उल्टै हामीमाथि विश्वस्वास्थ्य संघले अनेक प्रकारका औषधिको प्रयोग गरेर आफ्नो नांगो रूप राम्रो सँग देखाएको छ। त्यससँग जोडिएको नालायक सरकारका मगन्तेहरू पनि पूर्णरूपले जिम्मेवार छन्।
यस पुस्तकमा विशेषतः कम्युिनस्ट पार्टीभित्र निम्न पूंजीवादी चरित्रले अड्डा जमाएको छ जसले सर्वहारा क्रान्तिलाई अघि बढ्न बाधा पुर्याएको छ। अन्तर्राष्ट्रिय, राष्ट्रिय सबै खाले प्रतिक्रियावादको असर नेपाली क्रान्तिमा परेको छ। त्यसबाट अछुत क्रान्तिकारी पार्टी रहन सकेका छैनन्।
यस पुस्तकमा कम्युनिस्ट कार्यकर्ताहरूमा विश्व साम्राज्यवादले दिएको सुधारको चर्को नारा जुन सर्वहारा विरोधी हुन्छ विश्वलाई आफ्नो उपनिवेश बनाएर आफ्नो कब्जामा लिने खालको हुन्छ, त्यसका पछि लागेर कम्युनिस्टहरू दौडिएको विषयमा गम्भीर रूपबाट चर्चा गरिएको छ। आजसम्मको कम्युिनस्ट आन्दोलन टुटफुट र अनेक प्रकारका गुट देखा पर्नुमा अवसरवादी प्रवृत्ति र विश्वपूंजीवादले देखाएको प्रलोभन काफी हदमा जिम्मेवार छ। यहाँसम्म कि नामधारी कम्युनिस्टहरू जो पूंजीवादको जुठो चाखिसकेका छन् त्यो तिनीहरूलाई अत्यन्त मिठो लाग्छ। त्यसले गर्दा विचार र सिद्धान्त भुलिसकेका छन् तर नाम र झन्डा छोड्न सकेका छैनन्। यस पुस्तकमा यस्ता प्रवृत्ति पनि गहन रूपले चर्चा गरिएको छ। यहाँसम्म कि महिलाहरूलाई सुन्दरताका नाममा प्रजातन्त्रका नाममा वेश्यावृत्ति गर्न बाध्य गराउने यौनशोषणका लागि लोकतन्त्रको दुहाई दिनेहरूले बेश्याकोठी बनाएर धुन्ने धुन्नका लागि इज्जत दिने। आमसंचारको माध्यमबाट छाडा यौन क्रियाकलाप प्रचारप्रसार गरेर बालबालिकालाइ यौनप्रति प्रेरित गरी तिनीहरूको सुन्दर जीवन समाज मानवप्रतिको जिम्मेवारीबाट टाढा राखिएको विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। यस्ता गम्भीर विषयले राम्ररी चर्चा पाएका छन्। रूस र चीनबाट प्रकाशित पुस्तकहरू सजिलोसँग बुझ्न नसक्नेहरूलाई क्रान्तिकारी विचार संकटमा परेको बेला सरल भाषामा गरिब किसानका समस्या उठाएर समाधान सहित प्रस्तुतगरी राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा ठूला ठूला संस्थाका विषयमा सरल प्रस्तृति दिएर गरिब, किसान र सर्वहारामा जागृति ल्याउने काम यो सानो पुस्तकले गरेको छ। पुस्तक जति सानो छ, प्रस्तुति विशाल छ, विषयवस्तु गहन छ सर्वहारा क्रान्तिप्रतिको आस्था छ, अनुसन्धानमूलक छ, गरिब, किसान, मजदुरका सामु पुगेर तिनीहरूलाई पार्टीप्रति आकर्षित गर्ने खालको छ। यसरी मैले जे जस्तो बुझें जसरी यहाँ चर्चा गरे त्यो मेरो विषयवस्तु भन्दा बाहिरको हुन सक्छ। मैले जे बुझे त्यसरी नै चर्चा गरें। पुस्तक सानो, उत्कृष्ट छ। शब्दको व्याख्या छ। यसबाट मैले पनि सिक्ने अवसर प्राप्त गरेको छु।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १८ – २०६७ चैत्र ०९ गते, बुधबार)