कथा : नूर एल आइन

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।

समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ

खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )

मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।

हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको ‘एल हाम्मा’ मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई – कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी – यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।

——————–

कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।

पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो । १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।

इजरायल सिरियाबीच अनेक संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।

——————

आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

‘नूर’ भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।

इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु … विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें । इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक पृथकता थियो ।

उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।

इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।

——————

तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए । यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए । विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।

अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।

यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए । सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।

————————-

पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।

अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो । उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।

भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर’ थिई । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म – निष्प्राण ।

दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए – हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ? तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?

यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।

कृष्णपक्षको कथा संग्रह तिर्खाबाट एक कथा
September 1, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.