कथा : जनक अमर रहून्

~बी.जी. कुसी~

किन हो कुन्नि, त्यो दिन त्यो समय बिहान सबेरैदेखि नमुना गाउँ स्तब्ध थियो। आकास चकमन्न थियो, पशुपंछी उडेको पनि देखिंदैनथ्यो। गए राति कुकुरको भुकाइ पनि कसैले सुनेको थिएन। कुनै अशुभको सङ्केत पनि थिएन। बादल नलागे पनि हुरी नचले पनि गाउँ अँध्यारो थियो। गाउँमा सन्नाटा छाएको थियो। कहिल्यै नभएको, नदेखेको जस्तो वातावरण गाउँमा थियो।

गाउँको त्यो वातावरण देखेर गाउँमा अनेकानेक चर्चा भयो। अर्थ लगाइयो। विचार मन्थन भयो। शङ्का–उपशङ्का हुनथाल्यो। एकाएक भएको त्यो चर्चा र शङ्का–उपशङ्काले गाउँमा केही भएको सङ्केत अनुभूति भयो।

शङ्का–उपशङ्काकै काउकुती भइरहेको बेला गाउँमा एकाएक कालो बादल छायो। हुरी बतास चल्यो। गड्याङ गुडुङ आवाज आयो। चट्याङ पर्‍यो। एकै बाजी गाउँ अँध्यारो भयो। मानौं, गाउँमा अनिष्टको सङ्केत देखियो।

अनिष्टको सङ्केतले चराचुरुङ्गीहरू पाखा लाग्न थाले। खेतमा व्यस्त किसान र बटुवाहरू छहारीमा बस्न थाले। हुरी बतास चल्ने भयले खेतालाहरू घर फर्कंदै थिए। गोठालाहरू आ–आफ्नो घर आँगनमा गाई भैंसी बाँध्दै थिए। बुढापाकाहरू चौतारा छाड्दै आ–आफ्नो घरमा लाग्दै थिए।

गाउँमा एकाएक छाएको सन्नाटा देखेर बुढापाकाहरूले अनेकानेक अर्थ लगाए, शङ्का–उपशङ्का गरे।

चौताराबाट उठ्दै एक वृद्धले भने – यो नमुना गाउँमा अब कुनै अशुभ हुने भयो। कुनै नराम्रो कुरा सुन्नुपर्ने भयो।

उनको कुरा सुनेर कृष्णे झस्के र भने–अशुभ खबर सुन्नुपर्ने भयो रे !

गोरेले भने – हो त, एकाएक बादल लाग्नु, गाउँमा सन्नाटा छाउनु अनिष्टको सङ्केत नभए अरु के !

यस्तै चर्चा वनपाखामा भयो। लेक–बेंसीमा भयो। घर–आँगनमा भयो। घाँसे, दाउरे, खेताला, गोठालाहरूबीच पनि चर्चा भयो।

यसैबेला कता कताबाट अमर रहून् नारा घन्किरहेको आवाज सुनियो। त्यो स्वर झन् नजिकिंदै र ठूलो हुँदै थियो। घन्किरहेको त्यो स्वरले नमुना गाउँलाई थर्काइरहेको थियो।

अमर रहून्को स्वर गाउँभरि गुञ्जयमान भयो। वनपाखा, गाउँ घर थर्केको त्यो स्वरले अशुभका कल्पनाहरू सजीव भएर आएको अनुभव गरायो। गाउँलेको ध्यान त्यही स्वरतिर केन्द्रित भयो।

नमुना गाउँ र वरपरका कति जनतालाई थाहा थिएन – त्यो नमुना गाउँका ग्रामपिता जनकको शव र्‍याली थियो किनभने ग्रामपिता जनकको निधन अपत्यारिलो ढङ्गले अचानक भएको थियो। उनको निधनको खबर सुनेपछि गाउँलेहरू स्तब्ध हुनु स्वाभाविक थियो।

अस्पतालको प्राङ्गणबाट सुरु भएको र्‍याली गाउँतिर बढ्दै थियो। घाँस गोडमेलमा व्यस्त आइमाईहरू काम रोक्दै र्‍याली हेर्दै थिए। केही आइमाईहरू जनकको अनुहार हेर्न बाटैमा पुगे। कतिपय र्‍याली सँगसँगै पछि लागे। बारीमा काँक्रो, घिरौला र सिमी टिपिरहेका किसानहरू पनि आ–आफ्ना काम छोडेर र्‍यालीमा सरिक भए।

छिमेकी गाउँलेहरू श्रद्धाञ्जलीका निम्ति नमुना गाउँ पुग्न बाटामा छिटोछिटो दगुरिरहेका देखिन्थे। कुनै साइकल चढ्दै त कुनै ट्याक्टरबाट गाउँ जाँदै थिए।

र्‍याली नमुना गाउँ नपुग्दै ग्रामपिता जनकको निधनको खबर हावासरि गाउँभरि फैलियो। सबैजसो जनकको लास हेरेर थुक निल्थे र आँसु झार्थे। निन्याउरो मुखका बुढापाकाहरूले ‘विचरा’, ‘च च’ भन्दै बेदना पोखे। गाउँले जनताको एउटै स्वर थियो – समय नहुँदै, कालले नबोलाउँदै उनले हामीलाई छोडेर गए, रुवाएर गए।

जनकको निधनबारे गाउँले जनताबीच कानेखुशी भयो। उनीहरू भन्दै थिए – हिजो साँझसम्म केही नभएको मान्छेको आज निधन ! पत्याउनै गार्‍हो छ।

यस्तै चर्चा तत्कालै जिल्लाभर चल्यो। सरकारी कार्यालयहरूमा पनि जनकको निधनको खबर पुग्यो। कार्यालय अधिकृतहरू त्यो खबर सुनेर एकले अर्काेलाई फोन गर्दै थिए – जनक बितेको खबर सुनाउन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न।

सिंचाइ अधिकृत भन्दै थिए – उनी गाउँमा कुलो निर्माण गर्न र बाँध बाध्न कार्यालय आएको एक हप्ता बितेको छैन।

विद्युत प्राधिकरणमा नमुना गाउँकै एक वडामा बिजुली पुर्‍याउन पोल गाड्न सहयोग लिन गएको चर्चा पनि गाउँलेबीच भयो। एउटा स्कूलको निम्ति आर्थिक सहयोग पाउन शिक्षा कार्यालय, जिल्ला विकास समिति, शिक्षा मन्त्रालयमा पुगेको पनि थाहा भयो।

कुरै कुरामा, नयाँ नयाँ बीउ–बीजन ल्याएर नयाँ प्रविधिबाट खेती गरेको र उत्पादनै बढेको कुरो उठ्यो। नयाँ कृषि औजार उपलब्ध गराउन र रासायनिक मल सर्वसुलभमा उपलब्ध गराउन कृषि मन्त्रालय पुगेको र कृषिमन्त्रीसँग भेटेको स्मरण पनि गरियो।

श्रद्धाञ्जली सभा चौतारामा राख्ने बन्दोबस्त गरिएको थियो। गाउँको कुनाकन्दराबाट मान्छेको ओइरै लागेको थियो। सबैको हातमा फूलको माला, गुच्छासँगै आँसुका थोपा पनि थिए। श्रद्धाञ्जली सभामा सामेल हुन गाउँको खोंचखोंचबाट मात्र आएका होइनन्, कार्यालय कार्यालयका अधिकृतहरू, पार्टी नेता तथा कार्यकर्ताहरू देखापरे।

जनकको मृत्युको खबरले ढुङ्गासरि मुटु भएका हर्षवीरको आँखाबाट पनि आँसु झर्‍यो। जिन्दगीमा कहिल्यै आँसु नझार्ने हर्षवीरको त्यो दिन मुटुमै बज्रप्रहारझंै भयो। जनकको निधन भएको सपना हो कि विपना हो छुट्याउनै मुश्किल थियो।

सबैजना भावविह्वल अवस्थामा थिए। समाजको मुहारलाई फेर्न र मान्छेको विश्वास जित्न या मन जित्न सफल जनकको लक्षण देखेरै माता पिताले उनको नाम जनक राखेको हो कि भन्ने गाइगुइँ भयो।

जनक बितेको खबर सुन्ने जोसुकै पनि झस्कन्थे र लामो सास तान्दै भन्थे – होइन मलाई त जनक बितेको विश्वासै छैन।

शव र्‍याली गाउँको चौतारा पुग्यो। कार्यकर्ताहरू श्रद्धाञ्जली सभा गर्न तयारी गर्दै थिए। मान्छेको ताँती थियो। सबैजना जनकको अनुहार हेर्न उत्सुक थिए र टाउको उठाउँदै थिए।

सभामा सहभागीहरूको आँखा रसिलो थियो। सबै शोकसन्तप्त मुद्रामा थिए। जनकको अनुहारमा मृत्युको कुनै सङ्केत थिएन। हँसिलो र मिजास स्वभावको जनकले कसैसँग बोलिरहेको जस्तो भान हुन्थ्यो। गाउँलेहरू उनलाई उठाएर चौतारामा लान चाहन्थे र दुःख सुखका कुरा गर्न चाहन्थे। तरै पनि सहभागीहरूको अनुहार आँसुले भिजेको थियो।

जनकको अनुहार तल्किएको र उज्यालै थियो। शरीर तात्तातै थियो। उनी अहिले पनि देश र जनताको कुरा गरिरहेको आभास हुन्थ्यो।

सभामा गाउँले जनता कानेखुशी र गाइँगुइँ भइरहेकै बेला श्रद्धाञ्जली सभा सुरु भयो।

सभामा पार्टी कार्यकर्ता, समाजसेवी, शिक्षाप्रेमी, कार्यालय अधिकृतहरूले देश र जनताको निम्ति सेवा गरिरहने एक योग्य, असल, सफल, इमानदार व्यक्ति कमी भएको महसुस गरे।

रमेश दाइको त श्रद्धाञ्जली मन्तव्य दिंदादिंदै आँसुको धारा बग्यो। गल्ला अवरुद्ध भयो र बोली नै बन्द भयो।

बोल्दाबोल्दै बोली बन्द भएपछि र आँखाबाट आँसुको धारा बगेपछि गाउँलेहरू झन् भावविह्वल भए, रोएको आवाज चारैतिरबाट सुनियो। शोकमा डुबेको त्यो सभा रुवावासीझैं भयो।

रमेशपछि नारायण दाइले बोले। उनले भने – स्वच्छ मन भएका र कहिल्यै नथाकिकन देश र जनताको सेवामा लागिरहने कार्यकर्ताहरूको हामीलाई खाँचो छ। कार्यकर्ताहरू सिद्धान्त र विचारमा अटल विश्वासका साथ जनतामाझ पुग्नुपर्छ र शत्रुसँग कहिल्यै झुक्नुहुँदैन। यस्तै परिचयका धनी जनकको आज निधन भयो। तर त्यो निधन पहाडभन्दा गर्‍हौं थियो। त्यसैले हामी भावविह्वल भयौं। सभास्थल नै रोदनमय भयो।

उनले भन्दै गए – उनी पेशेवर पार्टी कार्यकर्ता थिए। असल, योग्य र इमानदार कार्यकर्ता थिए। गाउँका अगुवा कार्यकर्ता थिए। उनी हाम्रा ग्रामपिता थिए। गाउँका गुरु थिए। गाउँमा उज्यालो छर्ने विकासप्रेमी थिए। उनी साधारण जीवन उच्च विचारका धनी थिए। जनकजस्ता व्यक्ति हामीलाई जिल्ला–जिल्लामा चाहिएको छ। त्यसको लागि हामीले अझ बढ्ता जनताको घर आँगन पुगेर सेवा गर्नुपरेको छ। आजको श्रद्धाञ्जलीसभाले दिएको सन्देश पनि यही हो।

शोकलाई शक्तिमा बदल्न र जनतामा सेवा गर्ने प्रेरणा जगाउन नारायण सुमधुर स्वरमा बोल्दै गए –
जनकको तस्वीर गाउँलेहरूको छातीमा सधैं टाँसिरहनेछ। उनको सम्झना र स्मरणमा अरुले पनि देश र जनताको सेवा गर्ने प्रेरणा जगाउन, सेवा गर्न गाउँमा एउटा बगैंचासहितको स्मृति स्मारक बनाउन आवश्यक छ। यसमा स्थानीय जनताको ध्यान जानेछ।

श्रद्धाञ्जली सभापछि जनक अमर रहून् भन्ने नाराका साथ र्‍याली फेरि त्रिवेणी घाटतिर अघि बढ्यो।

हो, अहिले पनि गाउँ–घरको भित्ता भित्ता, लेक–बेंसी, वनपाखा र कुना कन्दरामा नारा घन्किरहेको छ – हाम्रा जनक अमर रहून्।

जयराम बासुकलाको सम्झनामा

(स्रोत : Majdoor.com.np)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.