~बिद्या घिमिरे~
हालै साक्षात्कार भएको मेरो रात
तिम्रा आँखासँग एकाकार भएर
गोप्य सहमति माग्दैछ ।
बिजुली प्रक्षेपण गर्ने ती आँखा
छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा
आँखाको गाजलले मीठो गजलको
सुमधुर स्पर्श ल्याउँदो रहेछ ।
जब नदी र बादल
वयली खेल्न थाल्छ त्यो केशमा
मध्यरातको जून पूरै डुब्दो रै’छ ।
हँसिलो मुहार रसिलो अधर र नजर
भरिभराउ भई छताछुल्ल हुँदा
फक्रिँदो रहेछ रोमाञ्चक मधुमास ।
तिमी नै पूजा तिमी नै आराधना
तिमी नै पूण्य र स्वर्ग पनि ।
स्वर्ग–नरक र पाप–पूण्यको मतलब
किन गर्नु अब ।
गर्नु छैन मलाई
कुनै मठ र मन्दिरमा पूजा
भाक्नु छैन मङ्गलकामनाका भाकलहरु ।
किन झुकाउनु शिर अब
बजारका सस्ता रम्भा, तिलोत्तमा,
उर्वसी र मेनकाका सामु ।
सल्काउनु छैन जीवन
मन्दिरहरुमा बेअर्थ बलिने धुप–दीपझै ।
