कथा : घर

~विवश पोखरेल~Biwash Pokharel

सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठककोठा एउटै -अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच । र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा, ट्रेन आउने प्रतीक्षामा, एउटा व्यस्त प्लेटफर्ममा, सयौं सहयात्रीहरूसँग, एउटा पटाङ्गिनीमा, पातलो दरी ओछ्याएर, लम्पसार पल्टिनुको नियतिमा । अहिले म जब यो घर हेर्छु, साह्रै नरमाइलो र शून्य लाग्छ ।

अहिले यस्तो लाग्छ, समस्याको भेलले बीच समुद्रमा डुब्न लागेको डुङ्गा यहाँसम्म आइपुग्ला र त्यो डुङ्गाले अप्रत्याशित आएको व्यवधानका भुमरीसँग लड्दै यसरी एउटा किनारा भेट्टाउला भन्ने म कल्पनासम्म पनि गर्न सक्दिनँ । एउटा घर निर्माण गर्न अथवा भनौं घरलाई घर बनाउन आइमाईको ठूलो भूमिका हुँदोरहेछ भन्ने दृष्टान्त अहिले म यो घर हेर्दा सम्झन्छु ।

‘कति बस्नु डेरामा ? यसो एउटा सानो कटेरो बनाऔँ, आखिर दश धूर भए पनि जग्गा त छ नि ! आरती घचघच्याउँथिई ।

‘बनाइस् घर ! पैसा चाहिएन ?’ म झर्किन्थेँ ।

‘अंशमा आएको अलिअलि त छ नि ! सञ्चय कोष झिकौंला ।’ ऊ डराई-डराई बोल्दथिई ।

‘झिकिस् !प्रत्येक दुई दुई वर्षमा झिक्नु छ, कति आउँछ ? अहिलेको समयमा पचास साठी हजारले घर बन्छ ? एउटा घुम्ति पनि बन्दैन ।’ म फेरि उसको सपनामा पूर्णविराम लगाउँथेँ, चुप हुन्थी ऊ । पारम्पारिक संस्कारअनुसार चलेको मेरो घरमा मैले प्रतिवाद गरेपछि ‘चुइँक्क’ बोल्दिन थिई ऊ, जसरी मेरो बा बोल्नुहुँदा आमा डराउनुहुन्थ्यो ।

‘लोग्ने भगवान भन्ने जमाना गयो आरतीजी ! हामी पनि उनीहरूसरह हौं । तपाईँ पनि उहाँजत्तिकै जागीर खानुहुन्छ, घर हेर्नुहुन्छ, किन दब्ने हामी लोग्नेसँग ?’ त्यसो त वरिपरि उसको सोझोपनलाई उकास्नेहरूको पनि कमी थिएन । तर आरती एउटा समुद्र थिई -शान्त समुद्र ! अविरल, अविचलित ! आफ्नो गतिशील प्रवाहमा निरन्तर बगिरहने ! जसलाई जीवनमा आएका अप्रत्याशित भेल-बाढी र भुमरीहरूले कहिले असर पारेन ।

‘घर भनेको एउटा ठेगाना हो, स्थायी ठेगाना । जुन हामीलाई भन्दा पनि हाम्रा छोराछोरीहरूलाई चाहिन्छ । हामीले त डेरामा नै जीवन बितायौं । तिम्रो घर कहाँ हो ? भनेर कसैले सोधेभने कहाँ भन्ने उनीहरूले ?’ घर नहुनुको पीडामा सधैँ एउटा गम्भीर प्रश्न ठडाउँदथिई ऊ ।

हो पनि, आफूले अनुभव गरेको घर नहुनुको कटुयथार्थले धेरैपल्ट मर्माहत भएका थियौं हामी । कसैले ‘तपाईँको घर कहाँ हो ?’ भनेर सोध्यो भने भन्नुपथ्र्यो ‘विराटनगर’ । जवाफले फेरि अर्को प्रश्न जन्माउँथ्यो-’विराटनगर कहाँ ?’ कहाँ भन्ने ? कहिले सरस्वतीटोल, कहिले जनपथ, कहिले शान्तिचोक । कहिले आफू बसेको टोलको नाम भन्दा टोलले फेरि अर्को सङ्कट थप्थ्यो, ‘कृष्णप्रसादजीको घरदेखि कता ?’ कहाँ भन्ने ? घर भए पो ! अनि बिस्तारै भन्नुपथ्र्यो- ‘त्यहीँ नजिक ।’ सोध्नेले सहजै अनुमान लगाउँथ्यो -’यो मान्छे सुकुम्बासी हो, घरबारविहीन !’ घर नहुनुको पीडाले त्यति बेला कमजोर मन नमीठो गरी दुख्थ्यो । ‘तरक्क’ चुहिन्थ्यो आँखाबाट आँसु ।

सम्झँदा यस्तो लाग्छ, घर नभएको मान्छेको कुनै परिचय हुँदैनरहेछ । को मान्छे हो यो ? एउटा सहज र उपेक्षित जवाफ-’डेरावाल’ । जसको कुनै नाम छैन, थर छैन । पद पेशा छैन । सम्पूर्ण प्रश्नको एउटै जवाफ- ‘डेरावाल’, सकियो । मन कसलाई हुँदेन घर बनाउन ? कसलाई रहर हुन्छ सुकुम्बासी भएर बस्ने ? तर संसारमा सबैभन्दा ठूलो छट्याङ्ग्रो रहेछ, छट्याङ्ग्रो अर्थात् पैसा । पैसा नभएपछि कसरी बन्छ घर ? र पनि बीचबीचमा आरती घोदच्थिई घरकै प्रसङ्ग कोट्टयाएर । म निरिह प्राणी चुपचाप सुनिरहन्थें, उसको वृहत्तर योजना । जसलाई तत्कालै पूरा गर्ने क्षमता ममा थिएन । जसको विकल्प एउटै थियो, झर्किनु अथवा उसको कुरो सुनेर मुन्टो अर्कोतिर फर्काउनु । जाबो सुख्खा तलबले घरखर्च चलाउनु र केटाकेटी पढाउनु नै धौधौ थियो ।

‘ल, उठ्नुस् ! मैले पण्डितजीलाई बोलाएकी छु, आज नागपञ्चमी, राम्रो साइत छ रे ! मेरो नाममा होइन, तपाईँको नाममा जुर्‍यो, नुहाइधुवाई गर्नुस् ।’ अघिल्लो दिनसम्म घरको साइतबारे कुनै सङ्केतसम्म नदिएकी उसले एकाबिहानै साइतको कुरा गर्दा झनक्क रिस उठेको थियो मलाई, ‘हैन, केका आँटले तैंले घर बनाउने साइत गर्न लागिस् ?’ एकाएक म खनिएको थिएँ ऊमाथि ।

‘हिड्नुस् न ! जे गर्नुपर्छ, म गर्छु, तपाईँ साइत मात्र गरिदिनुस् न ।’ शान्त ऊ अझ शान्त भएकी थिई, स्थीर र संयमित ।

‘ल ल हजुर ! अझै उठ्नुभएको छैन ? चाँडो गरौं, आज नागपञ्चमी मलाई अन्त पनि भ्याउनु छ ।’ मेरो केही लाग्दैन, पुरोहितबाजेको उपस्थितिले म आफ्नो रिस ओह्राल्छु र प्रातःकालीन नित्यकर्मका लागि वाथरुमतिर पस्छु । र उसका मन राख्न पनि शुभसाइत गरिदिन्छु घरको ।

रेलको डब्बा अर्थात् सरकारी प्राथमिक स्कुलको कोठाजस्तै दुई कोठे सादा घरको परिकल्पना गर्दै साइतपछि ऊ सुरु गर्छे जग खन्न । दुई कोठे टिन अथवा टायलको छाना हाल्ने योजनामा ऋणपानसँगै कछुवा गतिमा घर निर्माण कार्य अघि बढ्छ । घर निर्माणका लागि मैले विवाहमा दिएको चारआनीको मङ्गलसूत्र मात्र होइन, सानी छोरीको नाकमा भएको आधा आनीको फुच्चे फुलीसमेत बेच्छे आरती । आफन्त र माइतीमावली गुहार्दा पनि घर माथिसम्म पुग्दैन ।

‘जा, है ! घर त बिगारिएछ, कमसेकम चार कोठाको जग हालेर हाललाई एउटा कोठा बनाएर बस्दा हुने ! क्या हो, यो घर हो कि रेलको डब्बा !’ अर्ती उपदेश दिँदै छिमेकीहरू ओभरसियर र इन्जिनियर बनेर आउँछन् ।

‘यही रेलको डब्बालाई पूरा गर्न त कत्रो महाभारत छ । चार कोठाको जग हालेर एउटा कोठा बनाएर बस्नु भन्नुहुन्छ, यो दुई कोठाको घर बनाउने बजेट चार कोठाको जगमा नै सकिन्छ, अनि जग हेरेर बस्नु ?’ म थप्छु ।

‘ऋणपान गर्नुपर्छ, ल, घर बनाउन र विहा गर्न कसैले पनि पैसा साँचेर राखेको हुँदैन ! छिमेकी महोदय अझ सुझाव दिन्छन् ।

‘त्यही त हेर्नुस् न, उहाँ बुझ्नुहुन्न त्यत्तिकै आत्तिनुहुन्छ, ठ्याम्मै आँट छैन ।’ आरती अझ थप्छे ।

‘अनि छाना केको हाल्ने विचार गर्नुभा’छ ?’ छिमेकी पुनः सोध्छन् ।

‘अब हेरौं, टिन टायल के हुन्छ ?’ म अझै निर्णयहीन छु ।

‘ल यति उठाईसकेपछि केको टिन टायल ? ढलाई नै गर्नुपर्छ नि ! अर्का छिमेकी थप्छन् । आरती पुलुक्क मेरो अनुहार हेर्छे । थकित र टीठलाग्दो अनुहार !

‘ढलाइ गर्ने मन त छ नि ! के गर्ने ? पैसा छैन । टायलसम्म त पुग्न सकिन्छ, सकिँदैन ।’ म अझ आफ्नो विवशता पोख्छु ।

‘ल भैगो, ढलानकै इस्टिमेट गर्नुस्, मैले चिनेको व्यापारी छ, पाँच सात महिनाका लागि छड सिमेन्ट उधारो गराईदिउँला ।’ छिमेकी अलिक उदार देखिन्छन् ।

र, टिन र टायलको योजनाबाट ढलानको योजनामा पुग्छ घर । तानतुन पारेर एउटा घरको आकृति तयार हुन्छ । ठूलो संघर्षपछि बल्ल एउटा ओत भेटिन्छ जीवनको । अनि, लेखिन्छ उपलब्धिको पृष्ठमा एउटा स्थायी ठेगाना जुन आफूलाई भन्दा पनि छोराछोरीलाई आवश्यक थियो । एउटा ठूलो युद्ध जितेजस्तो लाग्छ ।

सम्झिन्छु, अहिले जुन घरमा म छु, आरती छे । यो घर बनाउन थालेको पनि पन्ध्र वर्ष भएछ । दुई कोठाबाट चार, चारबाट आठ । कति दुःख-सास्तीले बनेको छ यो घर ! कति आँसु र पसिना मिसिएको छ यो घरमा ! कति संघर्ष गरेर एउटा स्थायी ठेगाना कोरिएको छ आफ्नो र आफ्नो परिवारको ! ‘प्रशान्त कुञ्ज’ यो घर विशेष गरेर आफ्नोभन्दा पनि छोराछोरीकै लागि निर्माण गरिदिएका थियौं हामीले, उनीहरूको एउटा स्थायी ठेगाना होस् । तर अहिले उनीहरू छैनन्, मात्र उनीहरूको सम्झना छ, माया छ र छन् मात्र झझल्काहरू । जुन झझल्काले क्षण-क्षणमा तीखो काँडा भएर घोच्छ । छाल भएर हल्लाउँछ ।

‘बाबा ! के गर्नु यो देश रुङेर ? जहाँ कुनै स्कोप नै छैन । मसँग पढ्ने सबै साथीहरू विदेशमा छन् । बरु यो घर बेचौं, दिदी र म बाहिर जान्छौं ।’ छोरा प्रस्ताव राख्छ ।

‘हो त मम्मी ! हजुरहरू दुईजना त हो नि, भाडामा बस्दा पनि हुन्छ, आखिर पहिले बसेकै त हो । के गर्नु यत्रो घर ! हजुरहरूलाई पेन्सनले पनि खान पुगिहाल्छ ।’ छोरी थप्छे ।

‘बरु पछि अर्को घर किनौंला, उताबाट कमाएर पठाइहाल्छौँ नि ! फेरि यो घर पनि ओल्डमोडलको छ । यो घरको मोडल पनि राम्रो छैन बाबा ! छोरा पुनः अनुनय गर्छ ।

अहिले सोच्छु, सन्तान भनेका खोला रहेछन्, बाबुआमा भनेका किनारा । सन्तान -जो आफ्नै छातीबाट बगेर गए तापनि आफ्नो अपेक्षाअनुरुप कहिले फर्कँदैंनन् रहेछन् । अहिले उनीहरू विदेश गएको पनि सात वर्ष भएछ । अष्ट्रेलियामा कम्प्यूटर इन्जिनियर पढ्न गएकी छोरीले दुई महिना अघिमात्र इमेल गरेकी थिई- ‘ममी ! मैले हजुरहरूलाई कर्तव्यको बोझ दिइँन, यहीँको केटा जोनसँग म्यारिज गरेँ, केटा नेपालीजस्तै छ । अब मलाई ग्रीनकार्डको लागि सजिलो हुन्छ ।’ कति सहजै लेख्न सकेकी उसले ।

छोराको पनि हिजो इमेल आएको थियो ‘बाबा ! केही नभएको देशमा के फर्किनू ? म यहीँ ‘सिफ्ट’ भएँ, मेरोबारे चिन्ता नलिनू । सरी बाबा ! दिदीले झैं मैले पनि हजुरहरूको विवाहको इच्छा पूरा गर्न सकिनँ यहीँ …… । सरी बाबा ! सरी मम ! भेरी भेरी सरी ! प्रत्येक सुख-दुःखका कुराहरू टेलिफोनमार्फत् गर्ने उनीहरूले विवाहको खबर इमेलमार्फत पठाएका थिए, सायद टेलिफोनमा हाम्रो सपना तुहिनुको पीडा सुन्न सक्दैन थिए उनीहरू ।

अहिले सपनाअनुरुपको विशाल घर छ, सम्पन्नता छ र पनि अपूर्ण छ यो घर । एक जोडी बूढाढुकुरले स्थायी ठेगाना भेट्टाएका छन् तर लाग्छ, हिजोअस्तिझैं जसका बचेराहरू अझै ठेगानाविहीन छन्, आकाशविहीन छन् ।

vanee.prakashan@gamil.com

(स्रोत : Nepal.hk)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.