कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

~जोतारे धाइबा~Jotare Dhaiba

स्नेही लेखिका !

प्रेमिल कामना ।

तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरैअगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौँ न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौँ । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोंच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के…!

कसो-कसो तिमीलाई मैले लेखक (त्यो पनि सिकारु लेखक नै !) बन्ने दुःखमा निम्तो दिएछु । दुःख त्यहीँबाट सुरु हुन्छ, जहाँ अरुको आमन्त्रण आफूलाई ताकेर आउँछ । यस्तै भयो, मैले तिमीलाई ताकेर एउटा भारी निशाना चलाएँ र तिमी कलम कलम बोकेर पग्लियौ । आफ्नै रहर यदि हुन्थ्यो भने, मरुभूमिको जताततै पहेंलाम्पुर बालुवा थुप्रिएको संसारमा घिस्रिनु पनि सपनाको मीठो यात्रा बन्ने थियो, तिमीले पनि ‘पाउलो’ पढ्दा ठम्यायौ सायद !

तिम्रो पहिलो पत्रमा नै मैले तिमीलाई ‘बन्ना’साथै हेर्न पाएको ताजा ऐनाझैँ प्रस्ट पाएँ, जसलाई कारखानामा कामदारले पनि हेर्न नपाएको होस् । त्यस्तरी मैले तिमीलाई हेरेँ । पहिले तिमी प्रेमिकाको रुपमा आयौ, त्यसपछि लेखिकाको अर्को आसलाग्दो अनुहारले मलाई कुतकुत्याउने गरी पिछा गर्‍यो । म कहाँ भाग्न सक्थे ! तिमीसम्म अल्झिएरै बसिरहेँ । जहाँ माकुराको जालमा जेलिन पनि माखोलाई रमाइलो पिङ खेलेको अनुभूति होस् ! म जान्दिनँ, मेरो इतिहासले मलाई कति र के-केसम्मको अभिलेख जुटाउनुपर्ने अभिभारामा ‘पात्र’ बनाएको छ । तर यस्तो दिन पनि आयो, मैले सम्पादक बन्नु पर्‍यो र त्यो पनि मानार्थ समपादक । जो स्वयम् असम्पादित भएर छरिएको छ, उसले गरोस् सम्पादन भनेर कसरी आस राख्ने ? तैपनि यो जोखिम मोल्ने एउटा प्रयोग गरेकोमा तिमीप्रति म झन् आकर्षित भएको छु, सायद चाहिनेभन्दा बढी नै । यो आकर्षण आँखा, औँलाहरू र हाउभाउभन्दा माथि मनको रसायनसम्म नै घुलेको हो कि ? यो तिमीले आफैँ जाँचे वेश । कारण, कसैद्वारा आफूप्रति लक्षित वाणको तेज वा दुर्बलताको आयतन त खप्नेलाई नै अन्दाज हुन्छ ।

लेखकबाट तिम्रो राजीनामा…, म हाँस्दै छु । तिमीलाई थाहा छ, हाँसो मेरा ओठका दुर्लभ प्रशाधन हुन् । र यद्यपि हाँस्दै छु । कारण, लेखकको सन्न्यासलाई सम्पादकले बेहोनुपर्ने यो कस्तो व्यथित परिस्थिति सिर्जना गर्‍यौ ? आखिर सर्जक जो पर्‍यौ । यतिखेर परिस्थितिको समेत सम्पादन गनुपर्ने अर्को धर्म पाएको छु मैले । यति त आजै भनिदिए हुन्छ मैले-गरे पनि तिमीसँग नजोडिएका पाप मात्र मैले गरुँ । तर तिमीले सम्पादकबाट बर्खास्तको अघोषित निर्णय दिएर मलाई छुट्याउन खोज्दैछौ । त्यो पनि कफी, थुक्पा वा रोटीका छुट्टा-छुट्टै कप, कचौरा वा रिकापीहरूमा जसरी नै । यस्तोमा हामी दुवैजना एउटै टेबलमा रहेर पनि मोहक देश घुम्न निस्किएका फरक भेष, भाषा, देशका पर्यटकझैँ एकदम विरानो र उदास छौँ । तिमीले सिकारु लेखकबाट राजीनामा दिनु के म सम्पादक (खासमा असम्पादक) को पनि बर्खास्त थिएन र ? यस्तैगरी प्रेम पनि कुनै पेशा हुँदो हो र राजीनामा दिन मिल्दो हो त के हुँदो हो मेरो हविगत ! संसारमा लेखकको जन्म पहिले र त्यसपछि मात्र सम्पादकको भएको पाइन्छ ।

लेखक ईश्वर, सम्पादक उपासक ।

लेखक जीवन, सम्पादक कला मात्र ।

लेखक समग्र दृश्य, सम्पादक एक दृष्टि ।

लेखक…., पुग्यो सायद । बाँकी गुरुआमाको आफ्नै गहन चेतले काम गर्छ । र, यसकारण लेखकको स्वर्गीय प्राण सम्पादक (यदि उसको केही अस्तित्व भए) सामु गएर दयनीय बन्नु कसरी सुहाउला ? लेखक होइन, बरु सम्पादक स्थगित हुन सक्छ । कारण, लेखकले नै सम्पादकको जीवन रचेको हुन्छ । जब लेखक नै छैन भने, सम्पादक पनि रित्ता पानाहरूमा आँखा निचोरेर भल बगाउने हैसियतको रहँदैन । सम्पादक नभए पनि लेखकको अस्तित्व लेखकबाट पर हुँदैन । तर लेखकको जन्मसँगै देखिने सम्पादकसामु लेखकले राजीनामाको पत्र बोल्नु यो ब्रम्हान्डमै पहिलो घटना भयो । यसर्थ मैले भन्दै आएको ओस्कार अवार्ड सुहाउने हात तिम्रोबाहेक अर्को अब त झन् रहेन ।

पत्रमा औपचारिकताको स-सानो श्रृङ्खला बाँधेर तिमीले ‘यत्तिकै हुनुको असक्षमता पोखेको हुँ’ भनेकी थियौ, अनि ‘मानवताविहीन मन लिएर बाँचेको’ भनेर निकै थकथक मानेकी थियौ । पत्र पढेपछि साह्रै अत्यास लाग्यो र तिमीलाई झन् एकसुरले प्रेम गर्न लागेँ । सायद अर्को पाटोमा लेखकसँगको नाताबाट पनि सम्पादक भएर तिमीसँग एकाकार भएँ । अघि भनेँ, लेखकले सम्पादक जन्माउँछ, हुर्काउँछ । हुर्किँदै थिएँ प्रेमले । लेख्नु सायद गहन लगनले प्रेम गर्नु हो सम्पादकलाई, र सम्पादन पनि लेखकसँगको आत्मीय फ्युजन हो । लेखकको रुपमा प्रेम व्यक्त गर्न बन्द गर्नु संसारमै अचम्भ नहोला ? लेखक भइसकेपछि लेखक नहुन गाह्रो छ, तर सम्पादक पद अस्थायी हो र यो अलौकिक क्षमता पनि होइन । यसकारण तिमी लेखक भइराख, सायद तिमीलाई असल सम्पादकको खाँचो परेको होस् । त्यस्तै योग्य कुनै सम्पादकको संयोग तिमीलाई अहिलेसम्म नमिलिरहेको होस् । तिमी लेखक भएर लेखिरहन मञ्जुर नहुनुमा सायद मेरो अक्षमताले काम गरेको होस् । अतः मेरो अक्षमतासहित तिम्रो लेखकीय जीवनबाट म आफ्नो सम्पादकको कलाकारिता फिर्ता लिँदै छु, आजका दिनदेखि । पीर नमान्नू, पाठकीय टिप्पणी भने गराइरहनेछु । राजीनामा स्वीकृत गर्ने कतै-कुनै अधिकार नभएको अवस्थामा तिम्रो लेखनको र विद्रोहपूर्ण स्वतन्त्रताको निरन्तर प्रवाहको लागि शुभ यात्रा भन्छु लेख्दै जाऊ, कतै योभन्दा कुशल सम्पादकको नजरमा पर्‍यौ भने, त्यतिबेलै तिम्रो अर्थले आकार लिनेछ । यस्तै होस् । मैले किन यति साह्रो जोडले लेखक हुनु/नहुनुको मुद्दालाई चिठीभरि विषय बनाइरहेँ, जान्दछ्यौ ? कारण, जो मान्छे लेखक हुन्छ, उसले नबुझ्ने र बुझ्न प्रयास नगर्ने कुनै कुरा हुँदैन । म बुझिन चाहन्छु कसैबाट । नबुझिएर क्वारक्वारी झरेको पात हेरिरहेको नियति बेहोर्नुजस्तो सङ्कट जीवनमा अरु केही हुँदैन सायद । म पनि तिमीजस्तै एउटा धरातलको खोजीमा छु, शिर अँड्याएर रुन पाउने मायालु काँधको अभावमा छु । यो शहरमा नत्र जतिबेला पनि जिउँदा-जिउँदै पासोमा परिरहेको हुन सकिन्छ, के बेर !

तिमीले लेखेको ठीक हो, भावनात्मक कोमलताबिना बाँचिरहनु अहिलेको समयको उपहार भएको छ । यो समय नै यस्तो छ, मानवता र संवेदनशीलताको कतै मूल्य छैन । आँसु बग्यो भने उपहास सुन्नु पर्ला भनेर ढुङ्गा बन्नुपर्ने विवशता छ । हो, यो ढुङ्गाको समय नै हो । तर तिमी यस्तो कठोर त नबन । कोमल बन्ने मानवीय कष्ट उठाउन सक्छ्यौ – यता सायद मैले नै कठोर बन्नु उपयुक्त हुनु वेश होला । तब कठोर बराबर कठोर भएर यात्रा सन्तुलित हुन सक्ला । नत्र त कोमलता र कठोरताको मिलनविन्दु सांसारिक चोलामा कहाँ सम्भव होला र ?

यसै पनि व्यथा बुझ्छु, यही सायद मेरो क्षमता हो । स्वरको कम्पनमा दुःखको डिग्री कति माथि उखरमाउलो बनेको छ, सायद ठम्याउन सक्छु । तिम्रो मर्मलाई कति गहिराइमा छाम्न सकेँ, फुर्सदमा बताउन सक्छ्यौ, सुन्ने सामर्थ्य पनि ममा भरपूर नै छ क्यार । आँखाको रातोपनमा प्राणीगत सजीवता मात्र छ कि, मायालु भावुकताको गाढापन पनि छ, हेर्न सक्छु । नरोएरै पनि एउटा अनुहार कस्तोसँग पग्लिएको छ, अनुभूत गर्छु । यसैले तिमीलाई हतारले सङ्ग्रह गर्ने धुनमा सडकदेखि सडकसम्म नाप्न पागल भइरहन्छु । यो पागलपनमा पनि नाटकीयता छ कि, जान्दिनँ । फिल्मी कथा, नाटकीयता…..जमाना यस्तैको छ । प्रभाव पनि यस्तैको…..हामी तडि्परहेका हुन्छौँ बेला-बेला । आफूले नसोंच्दा-नसोंच्दै कुन बेला ‘पात्र’ बन्नुपर्छ, यो हत्तेको अनुमान कसले लगाउन सकोस् ! र पनि, भोलिको रहस्यलाई आतङ्क बनाएर वर्तमान जिउनलाई ‘छुटाउन’ छुटाउनु परिरहेछ ।

प्यारी लेखिका,

यो ‘लेखिका’ सम्बोधनमा लिङ्गभेदको साँघुरोपन अनुभव भयो होला । तर यहाँनेर सुरक्षितसाथ मायाले शब्द भरेको के तिमीलाई आभास छ ? प्यारी…लेखिका…! के यसमा फराकिलो फैलाइ र अँगालोको मिठास छैन ? तिमी लेखिका भएर मलाई अक्षर-अक्षरले रङ्ग्याऊ र म कुनै अर्थ-विस्तारमा तिमीसँगको समझदारीसँगै छर्लङ्ग देखिऊँ । मान्छेलाई एउटा त्यस्तो अँगालोमा बाधिँदा अतिरिक्त सुरक्षाको कवच अनुभव नहोला ? म पनि कल्पना मात्र गर्दैछु । विपना त कता-कता! कारण, त्यस्तो ‘कवच’ मेरो लागि अझसम्म कतै पनि रचना भई नसकेर होला । म कहिलेसम्म यत्तिकै हिडूँला ? वारिपारि सडकको जेब्राक्रसिङमा भय पाल्दै काट्दै रहूँला ? कहिलेसम्म कफी सपमा बस्दा-बस्दै म्यानमारमा भीक्षुमाथिको आक्रमण सुनिरहूँला ? कहिलेसम्म आत्मीय बिदाइ गरेर फर्किँदा पनि त्यो बिछोड चोकमा अमिलो मन लिएर फनक्क फर्किँदै गरुँला ? अनि कहिलेसम्म फुटपाथमा हिँड्दा-हिँड्दै एक्लो अनुभूति घिस्याउँदै निभेको ल्याम्प पोस्टतिर शिर उचाल्दै पर..पर…पर….पुगूँला ? तिम्रो हात देऊ नानू ! तिम्रो पनि उल्झन यो संसारमा सायद मेरोजस्तै हो । संयोजन गर्नमा गुरुआमा कहलिएकी छ्यौ । भइरहू ।

२०६४ भदौ ६ को काठमाडौ आँखाभरि छ, अझ छ, आँखाभरि त्रिपुरेश्वरको कालमोचन परिसर…!

बिहीबार बिहान १० बजे आसपासको समय हाम्रै शिरमाथि बोझिलो थियो । मेरा आँखामा आँसु र तिम्रा आँखामा समस्या र अन्योल थियो । जिन्दगीको त्यस्तो कठिन सुखद मोड आउनुपर्ने जरुरी भइसकेको थियो र भोलिपल्ट शुक्रबारको साँझ हाम्रो प्रेममा पखेटा लागेको थियो । तिमीलाई यो सहरमा झुलुक्क देख्नु, पछि-पछि जम्काभेट नै हुन थाल्नु, मैले हेरिरहेर पनि तिमीले केही नदेख्नु, मेरो प्रेमको चिठीलाई पनि तिमीले आम मान्छेका लहरमा राखेर सामान्यीकरण पारिरहनु, संसारका सारा राम्रा अनुहार छाडेर म तिमीतिरै एकोहोरो र लगनशील भइरहनु अनि व्यग्रताले छटपटाइरहनु…! …यिनै त थिए यातनापूर्ण दिनहरू । म के गर्न सक्थेँ ? तिमी पनि त विचरी थियौ ।

तिम्रो पत्र नै तिम्रो सम्पूर्णताको रुपमा बुझेपछि तिम्रो कपट, गोप्यता र सङ्कुचितता सबै एकैसाथ बाहिर आए । अर्थात् तीदेखि तिमी मुक्त रहिछ्यौ । यति हो, तिम्रो चञ्चलताभित्र सोंचपूर्ण सहयात्राको लागि गम्भीरता मात्र खोज्नुपर्‍यो मैले । तिम्रो परिवार, साथीभाइ र कामरुपी थरीथरी प्रेमीहरू सबैलाई म सहनेछु । जीवनको यस मोडमा आइपुग्दा भावी जीवनशैलीको ‘रेडिमेड’ बनौट त पूरापूर नहोला, आजको अग्रसरता, प्रतिबद्धता र विश्वासी भावना भने यथेष्ट छ । यही त होला ‘फातिमा’ र ‘गोठालो केटो’को प्रतीक्षापूर्ण मिठास ! मलाई भर गर्छ्यौ – म त ‘तिमी’ नै हुँदै छु, कुनै दूरीविना । कहिलेकाहिँ आत्तिन्छु, म कतै व्यस्त रहेर विवशतामा हराइरहेको बेला तिमीलाई कसैले त चोर्दैन ? यो कस्तो भय हो ? यो भयलाई शान्त पार्न हामीबीच ‘अन्तर र लुकिछिपी’ केहीको पनि नहोस् है ।

‘तिम्रो चित्र चिसो होइन, सायद भित्ताको रङ मिलेन,’ कुनैबेला तिमीले भनेकी थियौ । अब त रङ पूरापूर मिलिसकेको हो कि ? म ढुक्क हुँदै छु, र यो सहरमा र संसारमा नै भावनात्मक रुपमा रित्तै रहेर कहालीलाग्दो अनुभूति अलि भोग्नुपरेको छैन अब । तिम्रो आगमनबाट मेरा शून्यताका नक्कली चराहरू भुरुरु उडेर गए । यतिखेर तिम्रो गुनगुन सुन्न पाउने सौभाग्यमा छु म । पृथ्वी अलिकता कोल्टिए पनि हुने भयो अब । कारण, सन्तुलन बिगि्रएर लड्न पुगियो भने एक-अर्कालाई सम्हाल्ने अब साथ छ ।

यो चिठी भयो कि चिसो ? थाहा भएन । वा केही बुझिएन कि ? तर हाम्रो ‘एङ्गल’ वास्तवमै मिलेको रहेछ र तिमीले मेरो मुटुको हिसाब राखिरहनु छ जीवनभरि भने जसरी पनि यो चिठीमा प्रस्ट हुनेछ्यौ । तिम्रो पर्खाइलाई बूढो नबनाउने मेरो प्रयास हुने छ । तिम्रो कपालजस्तै हाँगा त हामीबीच नफाटोस् । तिम्रो कलमले प्रेमी-पाठकको दर्जा फेरि दिने छ भन्ने विश्वासमा-

तिम्रो

विगत सम्पादक ।

dhaibaji@gmail.com[असोज ११,०६४] नक्साल, काठमाण्डौं

(स्रोत : Nepal.hk)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : लेखिकालाई सम्पादकको प्रेमपत्र

  1. vishnu gautam says:

    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको
    गतिमा।…. यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री
    बिष्णु गौतमले बिगत १० वर्ष देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन्
    । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ
    देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले
    मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत
    गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको
    पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी
    विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ ।
    मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र
    संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै
    भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक
    सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने
    अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने
    संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ ।
    ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका
    हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको
    संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ ।
    मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण
    खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा
    मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।.
    प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु
    मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी
    मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य
    छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध
    राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज
    ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज
    इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो
    कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म
    पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त
    राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा
    संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको
    शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व
    संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस
    मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ
    ।.
    _____________________________________________________________________________________
    सर्व शिक्षा मातृभाषामा नहुनु सुक्षम गतिमा दास हुनु हो | बग्ने पानी पुग्दैन
    वर्षा नै चाईन्छ, सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभाषा मा चाईन्छ
    मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.