कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् ।

पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी पौराणिक वैवाहिक संस्थाबारे सोच्न पुगे । समाजलाई सुयोग्य नागरिक दिने एउटा समाजिक वन्धनको रुपमा कसरी तत्कालिन समाजले यो वैवाहिक सँस्था अनी वंशवीर्य व्यवस्था आदिको विकास गरे उनी चकित थिए । सोँच्दासोँच्दै उनी फसे एउटा समय जाजालमा । स्थान थाहा भएन कहाँ हो । समय थाहा भएन कहिले कुन युग हो । तर फसे एउटा समय जंजालमा ।

एउटा मनोरम दृष्य थियो उनको चारैतिर । एकातिर धेरै टाढा सेतासेता हिँउले ढाकिएका अग्लाअग्ला पर्वतहरु थिए । अरुतिर थिए हरिया वनहरुले सुसोभित पर्वतहरु । आफू वरिपरि चारैतिर साना ठूला वृक्ष र लताहरु । वनका फूलहरुले मनोरम एउटा वनवाटिका । नजिकै छंगछंग गर्ने झरना । त्यहीँ मूनि काचन पानीको तलाऊ । बनका पंछीहरुले भिन्नभिन्न स्वरहरुमा वातावरणलाई संगीतमय बनाइरहेका थिए । मॄगका बथान छेउमै नाच्दै र उफ्रदै चरिरहेका थिए । एउटा स्वर्गसरी दृष्यको भान भयो उनलाई ।

नजिकै एउटा चिप्लेटी परेको ढुंगा थियो । त्यसैमा उनी बसे योगासनमा यो मनोरम वातावरणको आनन्दलाई पान गर्न ।

आनन्दमयी आँखा विस्तारै बन्द भयो । छाति उच्च । शीर ठाडो । आँखा चिम्म । दुवै हात योगासनको मुद्रामा घुँडामाथि । क्षणभरमै ध्यानरत भए उनी । मौन । मानौ उनी ऋषी हुन् । हज्जाराँ वर्षदेखि एकै मुद्रामा तपस्यारत एउटा ऋषी । उनमा एउटा सौम्य सुखको अनुभूति भइरहेथ्यो । उनी त्यसैमा ध्यान मग्न भए । त्यसैमा हराए । उनको चेतना शून्यविन्दूमा पुग्यो । भारहीन देशहीन श्पर्शहीन र गतिहीन । आकशसरी ऊ विशाल र व्याप्त थियो । उनको अस्तित्वानुभूति मात्र शून्य थियो । मात्र शून्य ।

समय वित्दै गयो । दिन महिना वर्ष र अनेकन युग । तर उनको समय रोकिएको थियो । पूर्णतः स्थीर ।

एकाएक उनको ध्यान भंग भयो । एउटा कोलाहल जयजयकारको वातावरणलाई थर्काउँदै एउटा व्यवधान । मानौँ उनी आकाशबाट एक्कासी तल धकेलिए । एकाएक उनको शरीरमा भार उत्पन्न भएथ्यो । मानौँ उनी भूईमा डयाम्म पछारिए । स्थितिलाई आँक्न उनले आँखा खोले । सामून्ने एउटा पौराणिक भीड उनैलाई हात जोडेर जयजयकार गर्दै ठींग थिए । यस व्यवधानमा रिसले उनी आगो भए । मानौँ उनी दूर्वासा हुन् । एउटा दूर्दन्त क्रोधी ऋषी । मानौँ उनका आँखाबाट अग्नी प्रज्ज्वलित हुनलागे ।

“त्राही ! त्राहीमाम !”

भिड भयवित भिएर विनति गर्दै भूइँमा लम्पसार परे ।

“हे महापुरुष हे दायानिधान हजुर कल्याणकारी हुनुहुन्छ । मर्मज्ञ हुनुहुन्छ । त्रीकालदर्षी हुनुहुन्छ । हजुर श्रृष्ठी पालन र संहारको लागि सक्षम हुनुहुन्छ । हे परब्रह्म हजुर वेदका विन्दु हुनुहुन्छ । हाम्रो यस धृष्टतामा क्षमा चाहन्छौँ । हामी हजुरकै शरणमा छौँ । हे महर्षी हाम्रो दुखलाई नाश गरिदिनुहोस् ।”

भाषा अलग थियो । हजारौँ वर्ष पुरानो । तर उनका ब्रह्मज्ञानले सबै अनुवाद गरिदियो । प्रार्थनाबाट उनी खुशी भए । उनका रिस तत्कालै नाश भए । मानौँ आगोको भुंग्रोमा सैयूँ घडा शीतल पानीको वर्षा भयो । उनका अनुहारमा सौम्यता प्रखरित भएर आयो । कल्याणका अभिलाषी भीडले हर्षकासाथ जयजयकार मनाए- “ऋषी महाराजको जय होस् । जय होस् ।”

उनका हात अब वरदमुद्रामा उठे । मानौँ उनी ब्रह्मर्षी नै भए ।

भीडलाई उनले हेरे । सयपचासको भीड थियो- “आदिम परिधान आदिम आभूषण आदिम व्यवहार आदिम तौरतरिका आदिम भाषा ।”

भीड ढुक्क भएर अब उठे । अग्रिम पंतिमा एउटा प्रौढ व्यक्ति दुवै हात जोडेर उभिएका थिए । करुण अनुहार दुखी आँखा- उनले घुँडा टेके । भूईमा शीर राखेर करुण स्वरमा उनले प्रर्थना गरे- “हे महर्षी ! हे ब्रह्मर्षी ! म सारै दुखी छु। मेरा सबै प्रजाहरु दुःखी छन् । हे करुणानिधान मेरा सन्तान भएनन् । मेरा सातैवटी रानीहरुले मलाई पुत्रसुख दिन सकेनन् । मेरा उत्तराधिकारी नभएकाले राज्य कल्याणोन्मुख छैनन् । हे महर्षी एउटा सुयोग्य पुत्रको अभिलाषाले हजुरसामू प्रार्थनार्थ उपस्थित छौँ । प्रभू, हामीमाथि दया होस् ।”

उनका सौम्य अनुहारमा केही परिवर्तन आएन । मानौँ उनले सुने तर सुनेनन् । मानौँ उनी सबै रहस्य बुझ्दछन् र तीनका निराकण जान्दछन् । मानौँ केही भएको छैन वा उनको लागि यो समस्या केही होइन ।

एउटा बृद्ध पुरुष अगाडि सरे र निवेदन गर्नलागे- “हे महर्षी हे दयानिधान जनी रहोस् । राजगरुको हैसियतले मैले गर्नु सबै गरेँ । तर सबै निरर्थक रहे । एउटा पुत्रेष्टी यज्ञविधान गर्दैछु । हे ब्रह्मर्षी ! यस यज्ञको प्रकृयामा ऋतुदानार्थ एउटा योग्यपुरुषको खाँचो रहेको छ । हे भगवन ! हजुरसिवाय यस जगतमा को नै योग्य महापुरुष होला ? हे महापुरुष हाम्रा यज्ञको प्रयाशलाई कृतार्थ गरिदिनुहोस् ।”

उनले समस्त जनलाई आँखा घुमाएर हेरे । सबैको आँखामा त्यही सविनय निवेदन । वरदमुद्रामा हात यथावत राखेर गंभीर स्वरमा उनी बोले- “तथास्तु !”

वातावरण फेरि गुन्जियो हर्षोल्लास र जयजयकारले ।

राजगुरुले निवेदन गरे- “हे सतपुरुष ! हे भगवन ! ऋतुदानको लागि सबभन्दा असल मुहुर्त आज चौथो प्रहरको दुइघडी एकपलादेखि आठौँ प्रहरको अन्त्यसम्म देखिएको छ । यस साइतमा गर्भाधान हुँदा सन्तान सूर्यसमान तेजस्वी, िसंहसमान शुरबीर, र धर्मराजसमान धर्मज्ञ र न्यायवान हुनेछन् । अतः हे महापुरुष ! सात महारानीहरुमध्ये जसजसलाई हजुरका लागि सुयोग्य पात्र ठहरिन सक्छ उनलाई नै ऋतुदान बक्स होस् । सातै महारानीहरु शीतल गुलावजलमा स्नान गरी एकवस्त्रमा यहाँ सवारी हुनेछन् । हजुरबाट सुयोग्य पात्रको छानौट भएपछि बाँकी महारानीहरु फिर्ता राजदरवार सवारी हुनेछन् । हजुरको जो आज्ञा ।”

“तथास्तु !”

फेरि जयजयकारले थर्किए वातावरण । अग्रीम प्रंक्तिमा भक्तिभावमा उभिएका राजाले हर्षाश्रु बगाउँदै स्तुतिपूर्ण उद्गार व्यक्त गरे- “हे प्रभू ! हजुर धन्य हुनुहुन्छ । हजुरको कृपाले धन्य भयौँ । मेरा प्रजाहरु धन्य भए । मेरा रानीहरुका कोख धन्य हुनेछन् ।”

त्यसपछि सबैले त्यस मनोरम स्थान छाडेर गए । वातावरण फेरि यथावत रह्यो । सुन्दर शान्त मनोरम । उही छंगछंग आवाज झरनाको । उही संगीतमय चराहरुको आवाज ।
ऋषीले आफ्ना वातावरणलाई हेरे । वातावरणमा धेरै परिवर्तनहरु थिए । वरपर व्रिक्ष्यहरु बडेमानका थिए । पारीका पहाड पैरोले खारेर फरक देखिन्थे । टाढा पहाडहरुमा मानववस्तिहरु ठाउँठाउँमा बसेका देखिन्थे । अर्कोतिर ठाउँठाउँमा फडानी गरी खेत र बारीहरु बनाइएका दखिन्थे ।

निकै युग बितेको अनुभव भयो उनलाई । उनले आफ्ना शरीर चलमलाए । केही कुराले उनलाई जकडेको अनुभव भयो । हेरे झण्डै आधा जीउसम्म धमिराको ढिकुरो उठेको रहेछ । विस्तारै त्यो ढीकुरोको वन्धनलाई तोड्दै उनी उठे । हज्जार्रौ लाखौँ धमिराहरु घरविहिन भएर छ्याल्ल र व्याल्ल भए । उनका जीउभरी धमीराहरु रगरगाए । उनी विस्तारै उठे । आँङ ताने, अनि शरीरका धमिरा झार्न जीउ झडकारे । शरीरमा त्यही स्फुर्ति त्यही बल । मानौँ युगौँयुग बितेकै होइन । एकै रात बितेको हो र उनी एका विहानै निन्द्राबाट ब्युँझेका मात्र हुन् ।

आफूलाई नियाले । समस्त लुगाहरु छिन्नभिन्न भएर झरिसकेका थिए । घामपानी र हावाले खाएर उनका छाला गोहोरोको जस्तै खस्रो थियो । केश र दाह्री लट्टिएका थिए । सेतै फुलेका थिए । कताकतै लेउ र झ्याउसमेत उम्रिएका थिए । पेट सुकेर ढाडैसम्म टाँसिएको थियो । छातिमा करंग डाडाभाटासमान देखिन्थे । हात र खुट्टाका नंग्राहरु बढेर पूरै बटारिएका थिए ।

आफ्ना नांगो शरीरलाई हेर्न उनी तलाउको डीलमा उभिए । पानीभित्र छायाँमा उनलाई आफ्नो कंकाल जंगली शरीरमा देदिप्यमान दिव्य व्यक्तत्वको दर्शन भयो । मानौँ उनी शुकदेव हुन्, अष्टावक्र हुन्, वेदव्याश हुन्, वशिष्ठ हुन् वा विश्वामित्र हुन् । सभक्ति उनले आफना दिव्य शरीरको बन्दना गर्न लागे- “धन्य हो धन्य हो …।”

ऋतुदानको मुहुर्त नजिकै आउँदै थियो । एकहुल जनसमुदायले सातैवटी महारानीहरुलाई बाजागाजासहित पाल्कीमा राखेर त्यहाँ ल्याइपुर् याए । ऋषी अझै तलाउको डीलमा दुवै कर जोडेर आफ्ना शरीरको वन्दनामा ध्यानमग्न थिए । राजगुरुले सबैलाई मौन रहने संकेत दिए । एकाएक बाजागाजाको स्वर बन्द भयो ।

मुहुर्त अझै बाँकी थियो । राजगुरुले रानीहरुलाई त्यहाँ नै पाल्कीबाट उतारे . अनि बाँकी सबैलाई लिएर फर्किए वस्तितिर । फेरि त्यहाँ शून्यता छायो । सातैवटी रानीहरु भक्तिभावसाथ मौन विन्ति गर्दै प्रतीक्षामा रहे । मुहुर्त आउनेवित्तिकै ऋषीको मनमा चंचलता छोप्यो । उनले आँखा खोले । उनका सामू थिए सात रानीहरु- परीसमान मनमोहक र सालीन ।

सातमध्ये चार रानीहरु तँछाड मछाड गरी ऋषीसामू आए । ऋषी अटल रहे । सामु आएका रानीहरुलाई देखेर उनले फेरि आँखा चिम्ले । मुहुर्त आफ्नै पारामा बित्दै थियो । चारै रानीले बुझे उनीहरु कसैलाई पनि यी महापुरुषले ऋतुदानको लागि सुयोग्य पात्र मानेनन् । उनीहरु चारैजना त्यहाँबाट हटे ।

ऋषीभित्रको निस्सारता हट्यो । उनका आँखा खुले । चार रानीहरु त्यहाँ थिएनन् । बाँकी तीन रानीहरु संकोचसाथ केही टाढा नम्र विन्तिभावमा उभिएका थिए । तीनैजनाले ऋषीका आँखामा आँखा राख्न सकेनन् । उनीहरु नतमस्त थिए ।

ऋषी विस्तारै अघि बढे । तीनजनामध्ये उनले एकजनालाई नजिकैको झाडिपछाडि डोर् याएर लगे । आफूले घुँडा टेके, अनि रानीलाई भद्रतासाथ नरम घाँसमा सुताए । रानीले ऋषीलाई हेरिन् । देखिन् एउटा जाज्वल्यमान् देदिप्यमान पुरुष, एउटा पूर्णपुरुष उनलाई ऋतुदान गर्न तयार छन् । तिनलाई कामान्ध भयो । ऋषीलाई कमुक हिसाबमा व्यवहार गरिन् । ऋतुदान भयो ।

ऋषीले त्यस रानीलाई भने- “जाऊ, तिमीलाई अति नै शुरवीर पुत्रलाभ हुने छ । तर उ कामान्धो हुने छ । कामको सामु उनले अरु केही देख्ने छैन ।”

ऋषीले केही समयपछि अर्की रानीलाई सभद्र डोर् याए । ऋषीका बटारिएका नंग्राहरुले तिनका सुकुमार पाखुरामा पिडा दियो । उनी संकुचित भइन् । ऋषीलाई हेरिन् । उनको त्यस उग्र जंगली स्वरुपले तिनमा डरका साथै हीनभाव उत्पन्न भयो । ऋतुदानको समय उनी निचेष्ट मूर्दातुल्य रहिन् ।

ऋषीले रानीलाई भने- “जाऊ तिमीलाई एउटा पुत्रको लाभ हुनेछ । तर उ अति हीनभावले ग्रसित हुनेछ । राजामा हुने गुण उनमा हुने छैन ।”

दुवै रानीहरुले स्थान छाडे । अब सीर्फ कान्छीरानी मात्र बाँकी थिइन् । तिनी आफै ऋषीका सामू गइन् र घुँडा टेकेर सभक्ति प्रणाम गर्दै झुकिन् । ऋषी अमूक यथावत उभिए । रानीले ऋषीलाई नै डोर् याएर तलाऊको डीलमा बसाइन् । ऋषी अन्यमनस्क रहे । रानीले आफ्ना पछ्यौरीको एक छेउ पानीमा भिजाइन् र ऋषीको गोडामा नरमपारामा मोलिन् । शीतल पानी गोडामा परेका चीराहरुमा ऋषीलाई अति सुखानुभूति भयो । रानीले समस्त जीउमा यसैगरी आफ्ना पछ्यौरीले सुख्खा स्नान गराइन् ।

ऋषी दंग थिए । रानीमा कत्ति उछृखलता थिएन । अति नम्र । अति शुसील । अति सरल । ऋषी अल्हादित थिए । अब उनी महापुरुष रहेका थिएनन् । त्यो गर्व, त्यो बडप्पन, त्यो उच्चानुभूति- सबैसबै ओर्लिएका थिए ।

रानी अझै उही भावमा थिइन् । तिनले अब ऋषीका हात र गोडाका नंग्राहरु पनि टोक्न लागिन् । रानीको भक्तिभावलाई देखेर ऋषी दंग परे । एउटा समान्य मान्छेसमान उनको व्यवहार स्वाभाविक हुन लागे । उनी सामान्य पुरुषमा परिणत थिए । ढोँग थिएन लोकाचार थिएन । न उनमा ऋतुदान गर्ने स्वाँग बाँकी थियो, न कामान्धता नै । उनमा उल्टो रानीप्रति स्वाभाविक आकर्षण ससम्मान जाग्रत हुन लाग्यो ।

रानीले टोक्दै बटारिएका नंग्राहरु सखाप पारिन् । ऋषी तिनैलाई हरेको हेर् यै । थाहै नपाई बरदान स्वरुप ऋतुदान होइन, बरदपुत्रका लागि बरददान हैन- आफ्नै नजानिदो सुखका लागि ऊनी प्रस्तुत हुनलागे । उनका हातहरु अब विश्वविजेता निरंकूश थिएनन् । जता मनलाग्यो उता निशंकोच जानसक्ने निर्लज्ज थिएनन् । भद्र बनेका थिए । अरुका सम्मानमा नतमस्त थिए । संयमित थिए कि कतै अभद्रता नजनियोस् ।

हावाका झोँकाहरुले रानीका केशलाई बारम्बार लहराएर मुखतिर ओह्राल्दथ्यो । उज्यालो मुखाकृतिलाई बारम्बार बादलले ढाकेको अनुभुति हुन्थ्यो । रानी झड्कारेर केशलाई पछाडि हुत्याउँथिन । एकपल्ट होइन, बारंबार । रानीलाई अपठारै भइरहेको स्पष्टै थियो । तर त्यो केशको मुठालाई पछडितिर सुर्काएर मद्दत गर्न पनि उनले सकेनन् । यी हात तीनै हुन्, जो पहिले अन्य रानीका तीघ्रातिर कामूकताका साथ उग्र झम्टन्थे । अहिले त तिनका भद्रताले आकाशै छोइरहेथ्यो ।

एकपल्ट खुट्टा मोल्नेक्रममा रानीलाई अरु निहुरिन पर् यो । तिनको ठूलै चुल्ठो अगाडि झर्लम्म झर्नपुग्यो । झडकारेर अब त्यो जान असम्भव थियो । नारी र पाखुरीको सहायताले तिन्ले आफ्नो केश सयार्न खोजिन तर असम्भव थियो । ऋषीको दुवै हात अनायासै सहयोगको लागि बढे । एकाएक सहजतासाथ चुल्ठो सयारिए । रानीले कृतज्ञताको आँखाले ऋषीलाई धोइन् । दुवैका आँखा चार भए । मानौँ एउटा पर्दा नै हट्यो । मानौँ अकाशै बादल हटेर छ्यंाग भयो । मानौँ चुल्ठो मात्र सयारिएन रानी र ऋषी बीचको त्यो दूर्गमताकै नाश भयो ।

ऋषीले बिर्से- उनी ऋषी थिए । उनले बिर्से- जगदसुखका लागि उनी प्रस्तुत थिए । थाहै नपाई उनी सामान्य मान्छे भए । उनका हात अनायाश रानीका दुवै गालाहरुलाई च्याप्न पुगे । आँखा हेरे । ओँठ हेरे । ती सुन्दर सुन्दर अंगहरुलाई उनले होशैबेगर चुमे । रानीमा स्वाभाविक समर्पण थियो । यो स्वभाविकताले ऊनी झनै खुत्रुक्क भए । उनले रानीलाई अंगालोमा कसे । कताको चिसो हात, कताको भिजेको पछ्यौरी- दुबैले सबै भुले । भूई नै पानीले लपक्क भिजेको थियो । त्यो नै उनीहरुको लागि बेमतलबको रह्यो । कैयूँवेरसम्म उनीहरु एउटा सहज स्वच्छ प्रणयमा झुमी रहे, हराइरहे ।
साँझ मज्जाले छिप्पिसकेको थियो । पहाडबाट जुनले चिहाउन लागिसकेथ्यो । दुवैजना चौरमा लडेका थिए । ऋषीको पाखुरीमा रानीको सिरानी थियो । समयसमयमा ऋषी रानीको निधार चुम्दथे । रानी ऋषीलाई रौँले व्याप्त छातिमा सप्रेम चुम्दै अँगाल्दथिन् । आकाशमा जुन माथितिर बढ्दै आएर रुखको आडमा लुक्न पुग्यो । सायद ऋषीलाई यही क्षणको प्रतीक्षा थियो । उनले रानीका अंगप्रत्येंगमा आफ्ना मायालुहातहरु डुलाउन लागे । रानीमा ती सवैको स्वीकार थियो । दुवैका प्रणयले विस्तारै रंग फेरे । अनि त दुवैमा होस् भएन । उनीहरु पूराका पूरा सम्भोगमा हराए ।
त्यहाँ स्वभाविक ढंगमा यौन सम्बन्ध भो । रातभर उनीहरु यही रतिसुखमा हराए । विहान उठ्दा उनीहरु ऋषी र रानी थिँदै थिएनन् । प्रेमी र प्रेमिका थिए । छुट्नुपर्ने विरहको वेदनाले दुवैका आँखा भिजेका थिए । विधिको विधान छुट्नुत थियो नै । परबाट रानीलाई लिन आउने बाजाको आवाज सुनिन लाग्यो । रानी आफ्ना प्रेमी पुरुषको अँगालोमा झन गाडिइन् । प्रेमी पुरुषले प्रेमिकालाई गाडे झनै छातिभित्र । दुवैको प्यास मेटिएन । बाजाको आवाज नजिकिँदै थियो । रानीको रोदनमा तीब्रता बढ्न लाग्यो । प्रेमी पुरुष असहाय थिए ।

बाजाको अवाज बन्द भयो । दुवै संयमित भए । हेरे पर दृष्यपटलमा राजा राजगुरु गन्दर्भहरु र प्रजावर्ग ठींग उभिएका थिए । विर्यदान गर्ने पुरुष र वीर्यग्रहण गर्ने स्त्रीको आँखामा अदम्य अपठारोपना अनि उस्तै अपराधबोध र लज्जा व्याप्त थिए । तर, तर वंशवीर्यकामी राजा र प्रजा मख्ख थिए- वंशको रक्षा हुँदै गरेको सुखमा ।

ऋषी अब संयमित थिए । तर आँखामा हार थियो । रानी पनि अब संयमित थिइन् तर तिनको आँखामा पनि उस्तै हार थियो । उता जनसमुदाय पूर्णतः निश्चिन्त । उनीहरुका आँखामा विजय थियो ।

हारेको मन्दस्वरमा ऋषीले उद्गार पोखे- “हे रानी हाम्रो संसर्ग ऋतुदानको लागि थिएन । यो स्वाभाविक त्यसैले दैवी संसर्ग थियो । म भन्छु तिमीलाई अति नै योग्य स्वभावबादी सत्यकामी पुत्रको लाभ हुने छ । उनी मान्छेमा हुनुपर्ने सबै गुणले सम्पन्न हुनेछन् । उनमा तिम्रो संस्कार रहने छ । उनी सुयोग्य शासक हुनेछन् ।”

रानीको आँखामा त्यो बरदानप्राप्तिको सुख थिएन । सन्तानसुखको परिकल्पना भन्दा यो सत्प्रेमको विरहवेदना दुरुह थियो । असह्य थियो । तिनको आँखाले बलिन्द्र धारा बगाउन लागे । आँखाले भनिरहेथे- “हे निष्ठुरी ! तिमी कसरी त्यत्ति लोकाचारी बन्न सकिरहेछौ ? ममा कसरी त्यो शक्ति भएन ।”

सत्प्रेमी रहेका पुरुषले मानौँ ती सबै सुने र मनैमन उत्तर दिए- “सायद तिमीले मेरो प्रशंसा गरेकी हौ र पनि त्यो कताकता मलाई गाली प्रतीत हुन्छ । के गर्छौ ? लोकाचारको लागि मान्छेजाति मान्छे रहनै सक्तैन । उसलाई देउता बन्नुछ । देउता अर्थात, यही हाम्रै मानेमा वलीको बोको । प्रेयशी तिमी बली चढेकी छौ । म बली चढेको छु समाज निरन्तरताको नाममा । पशुहरुले यसरी वली चढनुपर्दैन । सायद मान्छे हुनुको विडम्बना नै यही हो । सायद मान्छेको देउता हुने तृष्णाको फल नै यही हो । प्रीय के गर्छौ ? तिमी बाँधिएकी छौ । म बाँधिएको छु। म व्रम्हर्षी बनेको आत्मसुखमा जीउँदै जाने छु । तिमी पनि समाज निरन्तरताको कढी, जगतमाता बनेकी आत्मसुखमा जीउँदै जाऊ । पशु बनिनौ । आदर्श मान्छे हुनुको नियति नै यही हो । मेरो शुभकामना ।”
उनको आँखामा तीव्र वेदना स्पष्ट थियो र पनि उनि दृढ उभिएका थिए ।

रानीले उनलाई अनि सँगै ती लोकाचारका प्रतिक महान ऋषीलाई सादर सभक्ति प्रणाम गरिन् । विरहवेदना लुकाइसक्नु थिएन । आँखाबाट त्यो छचल्किएर गालाहुँदी बग्नलागे । लोकाचारले तिन्लाई पनि डस्यो । तत्काल तिन्ले घुम्टो काडिन् । ऋषी बिचरोको लागि कुनै घुम्टो थिएन । व्यथित व्यथित उनको आँखामा त्यही मान्छेत्व छचल्किएला र उनको देवत्व संकटमा पर्ला भनी ऊनी डराए । के गर्नु र के नगर्नुमै उनी तत्काल चप्लेटी ढुंगामा चढे र ध्यानको आवरणमा ऊनी पूरै लुक्न पुगे ।

ध्यानस्थ उनी भए नै । तर यसपल्ट उनको ध्यान आकाशमूखी थिएन । पृथ्वीमूखी थियो । मानौँ उनी फर्कदै थिए । त्यतैतिर जहाँबाट उनको शूरुवात भएको थियो । यसै क्रममा उनी झल्यास्स विउँझिए । उनको अगाडि आजको वास्तुबादी संसार झल्झलाइरहेथ्यो । थाहा भो वीर्यको स्खलन पनि भएको रहेछ । बन्जरबन्जर ओछ्यानमा शायद त्यो अवास्तविक धरातलमा उठेका मान्यताहरुको स्खलन थियो । अब कुनै आकाशी अलौकिक अन्धमान्यताको जन्म हुने छैन । मान्छे आफूले आफैँलाई अनाहक वेमूल्य कज्याउने कुमान्यताको अब शुत्रपात हुनुछैन । उनी केहीबेर ध्यनमग्न भए ।

पूर्वतिरबाट रातो घामले पृथ्वीका हर अन्धपक्षलाई धमाधम धुँदै थियो । हिमाल, पाहाड तराई र त्यहाँका हर चराचरमा समान प्रकाश झलमलाई रहेको थियो । ओझेलका समस्त भूगोल र त्यहाँका जीव र वस्तुहरुको सार्थक उपस्थितिलाई यसले उजागर गरिरहेथ्यो । निन्द्राबाट विउँझिएको आजको यो ऋषीकोलागि यो नवीन दिव्यदृष्टी हुनपुग्यो । उनी ओछ्यानबाट जुरुक्क उठे । दुवैकर जोडी सूर्यलाई नयाँपारामा नयाँ देशको सृजनाको लागि प्रतिबद्धता जनाउँदै उनले नमस्कार गरे र, र केही छैन संस्कृतमै सही उनले सूर्यको प्रशस्तीमा नयाँ अर्थसाथ गायत्री बडबडाए –

“ॐ भूर्भुवः स्वः ।
तत् सवितुर्वरेण्यं ।
भर्गो देवस्य धीमहि ।
धियो यो नः प्रचोदयात् ।”

(Note : follwoing are the literarl translation of the Mantra
“We meditate on the effulgent glory of the divine Light; may he inspire our understanding.”- S Radhakrishnan
“We meditate on the glory of that Being who has produced this universe; may He enlighten our minds.”- Swami Vivekananda.
“O God, Thou art the giver of life, the remover of pain and sorrow, the bestower of happiness; O Creator of the Universe, may we receive Thy supreme, sin destroying light; may Thou guide our intellect in the right direction.”- Gayatri Rariwar
“Unveil, O Thou who givest sustenance to the Universe, from whom all proceed, to whom all must return, that face of the True Sun now hidden by a vase of golden light, that we may see the truth and do our whole duty on our journey to thy sacred seat.”- W. Quan Judge. )

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.