“नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।”
छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफर केटाहरूसँग सङ्गत गर्दैछ्यौ ? यस्तै ताल हो भने तिमी जानुपर्दैन क्याम्पस ट्याम्पस कतै पनि ! को हो त्यो ज्याकी कि जङ्की भन्या ?” बाबाको खप्की खाएर छोरी निकैबेर अवाक बनिन् । आखिर केही त बोल्नै पर्यो- “हजुर पनि त्यस्सै रिसाउनु हुन्छ, त्यस्ता आवारा केटाहरूसँग न त मेरो सङ्गत छ, न त म ज्याकी कि जङ्कीलाई नै चिन्दछु ! कुन मोरो होला ब्लफकल गर्ने !” यसरी फोनले केही महिना यतादेखि त्यो घरमा आमा छोरा, बाबु-छोरी, दाजु-बहिनी र दिदी-भाइकाबीच अविश्वास, शङ्का र सन्देहको बीउ उमारिरहेको छ । फोनकै निहुँमा बेलाबेला खटपट, दन्तबझान र ठाँस्सठुँस्ससमेत हुने गरेको छ । यो सब टेलिफोन प्रेमको करामत हो ! टेलिफोन नामको यो ठाँडो नभई पनि नहुने, भए पनि नहुने ।
सञ्चार क्षेत्रमा विज्ञानले ल्याएको उन्नत प्रविधिबाट धेरैभन्दा धेरै मानिसहरू लाभान्वित भइरहेका छन् । आखिर टेलिफोनप्रेमी पनि मानिस नै हो, अनि ऊ चाहिँ यो लाभबाट वञ्चित हुनु न्यायोचित पनि त होइन नि ! ऊ पनि सबै किसिमका लाभ र हानीहरूको समान हकदार हो, हकभोग गर्नु उसको अधिकार हो । विज्ञान र प्रविधिको चमत्कारले प्रेमजस्तो भावनात्मक कुरालाई पनि आधुनिकीकरण गर्न उल्लेखनीय मद्दत पुर्याइरहेको छ । नेपाली ठिटाठिटीहरूको प्रेम पहुँच अहिले नै आमरूपमा इमेल वा इन्टरनेट हुँदै फेसबुक, टि्वटरसम्म पुगिसकेको बेला जाबो टेलिफोन प्रेमको किस्सा कुन महत्त्वको हो र भन्ने पनि लाग्न सक्छ तर त्यसो होइन । आमरूपमा अहिले टेलिफोन उपलब्ध छ र आधुनिक प्रेम टेलिफोनमार्फत् आदानप्रदान भइरहेको छ । दुईतर्फी प्रेमलाई मात्रै प्रेम सम्झने र बुझ्ने रूढीग्रस्त मान्यतालाई चुनौती दिँदै हिजोआज फोनमार्फत् एकतर्फी प्रेम आनन्दसँग मौलाइरहेको छ । आहा ! कति सजिलो, केटाहरूलाई केटी चिन्नु पनि नपर्ने, केटीहरूलाई केटा देख्नु पनि नपर्ने । सिर्फ फोन नम्बर फेला परेपछि एकोहोरै भए पनि तार वा बेतारोको बाटो भएर प्रेम बेरोकटोक चलिरहने ।
फोनमार्फत् उन्नत स्तरमा उक्लिएको प्रेम अब अभिभावकहरूको खतराबाट पनि मुक्त र सुरक्षित भएको छ । मातापिता वा दाजुहरूलाई छिसिक्क शङ्का लाग्नासाथ कोठामा अचानक छापा मारिन्थ्यो र तकियामुनिको “लभलेटर” फेला परिहाल्थ्यो । अनि “लभलेटर” मार्फत् चल्ने लभको हरिविजोग सुरु भइहाल्थ्यो । अब स्थिति त्यस्तो छैन । फोनको लहरोमार्फत् लहरिँदै गरिने प्रेम र प्रेमालाप न छापा मारेर फेला पर्छ न खापाबाट चिहाउँदा देखिन्छ । आफ्नै मातापिता भिलेन बनेका रहेछन् र थाहा भइहाले पनि थाहा नपाएझैँ गर्न विवश हुने गरेका छन् । फोनको टुटरोमार्फत हुने दोहोरो प्रेम प्रसङ्ग त थाह नहुने भयो भयो तर फुडिल्कोमार्फत् गरिने एकोहोरो प्रेमले पनि धेरैको निद्रा बिगार्ने गरेको छ तर यस्तो फोनप्रेमको प्रेमी फेला पार्न सकिन्न भनेर दूरसञ्चारले समेत सार्वजनिक घोषणा गरेको निकै वर्ष भइसक्यो । यस्तो घोषणाले एकोहोरो फोनप्रेमीहरूलाई दिन दुगुना रात चौगुना उत्साहित र प्रोत्साहित गर्नु अस्वाभाविक होइन । सायद कैयौं फोनप्रेमीहरूले फोनबाटै दूरसञ्चार याने कि टेलिकमलाई प्रेमपूर्वक स्यावासी दिइरहेका होलान् ।
टेलिफोनले भावनात्मक प्रेमबाहेक अरू अन्य प्रेमलाई पनि समयोचित साथ र सहयोग पुर्याउँदै आएको छ । तस्करहरूको तस्करी-प्रेम फोनबाटै ओहोरदोहोर गर्नेगर्छ । कमिसनखोरहरूको कमिसन-प्रेम फोनबाटै आदानप्रदान हुनेगर्छ । चाकरीवाजहरूको चाकरी-प्रेम फोनबाटै चकराउँछ । चुक्लीवाजहरूको चुक्ली-प्रेम फोनबाटै मुस्काउँछ र फोनबाटै ठुस्काउँछ । घुसखोरहरूको घुस-प्रेम फोनबाटै मौलाएको छ । पद प्रियहरूको पद-प्रेम भन्नोस् या कुर्सीवाजहरूको कुर्सी-प्रेमदेखि कैँचीप्रियहरूको कैँची-प्रेमसम्मका सबै काम फोनबाटै तमाम हुने गरेका छन् । देशका कैयौँ कर्णधार युवाहरू एफ्एम्मार्फत फोनप्रेमी हुन पुगेका छन् । फोनबाटै फर्माइस गरी आफ्ना अपरिचित प्रेमिकाहरूलाई रङ्गिलाखाले पप गीतहरू फर्माइरहेका छन् । बेरोजगारीले लाचार बनेका सैकडौँ युवकयुवतीका निम्ति एफ्एम्को फोन फर्माइस गजबको फोन फर्मुला भएको छ । उनीहरू ढिस्युँ संस्कृतिको जगेर्ना र विकासका निम्ति फूर्तिलो ढङ्गले लागिरहेका छन् । कसैलाईर् मन नपरेर हुन्छ ? यो त प्रगति र आधुनिकताको शुभसङ्केत हो ।
यत्रो कैरन कथ्ने तँ लठुवाका घरमा चाहिँ टेलिफोन छ कि छैन नि भन्नु होला ! छ हजुर, म लठुवासँग पनि त्यो फोनको फुडिल्को छ र यसले बेला न कुबेला लठीभद्र पार्ने गरेको छ । यद्यपि फोन प्रेमबाट हुने टेन्सनबाट भने म मुक्त छु । त्यसो भए तँकहाँ ब्लफकल नै आउँदैनन् त भन्नु होला, त्यो ब्लफकल हो कि गफकल हो मलाई थाह छैन, एउटी अपरिचित कवयित्रीले फोनबाटै लामालामा कविता भने सुनाउने गर्थिन् तर निकै महिना भयो त्यो पनि सुन्न छोडियो ।
ओल्लो घर पल्लो घरका साली नानीहरूलाई बोलाइदिने आग्रह गर्दै एक दुई भिनाजुहरूले मेरो फोनको घण्टी बजाउँथे, म पनि दायाँबायाँ केही नसोची बोलाइदिन्थेँ तर अस्ति भर्खरै एउटा डेडअक्कलीले भिनाजुको नक्कल गर्दै नक्कली सालीसँग फोनमार्फत् प्रेमको थालनी गर्न थालेको रहेछ, मलाई त पत्तै भएन, खुरूक्क बोलाइदिएँ । साली पर्ने त मैसँग पो बम्कन थाली । किन बम्कन्छ्यौ उत्ताउली ? गर न तिम्रै भिनाजुलाई गाली ! मैले यति के भन्न भ्याएको थिएँ ऊ त निलीकाली भएर फर्किहाली । त्यसै दिनदेखि बोलाइदिने काम पनि बन्द । यसरी चलाउने बोलाउने काम बन्द भए पनि टेलिफोन प्रेमबारे जानकारी राख्ने रुचि भने मरेको छैन । यससम्बन्धी गहन जानकारी तपाईँसँग पनि छ भने कृपया फोनबाटै यसो बताइदिनुस् न हुन्न ?
कलङ्की, काठमाडौं
narnath@gmail.com
युवामञ्च २०६८ मंसीर
(स्रोत : Dreamlandnepal)