~गोविन्दप्रसाद आचार्य~
रामप्रकाश पुरीद्वारा लेखिएको “ग्रहण नलागोस्” खन्डकाव्य शुरूदेखि अन्तिमसम्म पढें, भूमिका पनि पढें। यस विषयमा केही कुरा भन्न मन लागिरहेछ, खन्डकाव्यभित्र प्रवेश गर्दा अलिकति पनि चोट र खोट भेट्न मलाई मुश्किल पर्यो। हाम्रो समाजमा बिहेको बेला नसिंगारिएको दुलही देख्दा बिहे नै होइनकी भन्ने अनुभूति हुन्छ। केही न केही रूपमा सिंगारिनै पर्दछ। जतिसुकै गुण भए पनि बाहिरी आवरण हेरेपछि मात्र कित प्रवेश गर्ने चलन जुनसुकै साहित्यकारको हुन्छ। मैंले यस खन्डकाव्यका हरेक श्लोकलाइ मस्तिष्कभित्र राख्दै हरेक पक्षबाट केलाउने प्रयास गरैं। कतै पनि खल्लो महशुस। तर यसको विषयमा भूमिका लेखकले लेखेका विचार पनि पढे तर जति खन्डकाव्यको विषयमा गहिरिंएर विश्लेषण गर्नुपर्ने हो त्यो रूपमा नपाउँदा कतै खन्डकाव्यको विषयवस्तु नै कमसल त छैन भन्ने लाग्यो तर म कविताको प्रिय पाठक भएकोले कतै गति यति नमिलेका छन्द भए तापनि कवितालाई खोट लगाउने ठाउँ छैन।
उत्कृष्ट विचार, उत्कृष्ट कला, कला र विचारको संयोजन, चास्नीले पूर्ण जेरी जस्तो विचारहरू कलामा घुलिएका छन्। यो कलात्मक काव्य हो, एउटा युगको दस्तावेज हो। जहाँ राष्ट्रवादको जीवन वर्तमानको सन्दर्भ राष्ट्रिय र अराष्ट्रियताको द्वन्द्व, संघीयताले उत्पन्न गर्ने राष्ट्रिय समस्या घाउ कोट्याई कोट्याई बाँदर मर्छ भने जस्तै विस्तारवादी र साम्राज्यवादीहरूले नेपालभित्र पस्ने अवसर खोजिरहेको बेला यहाँका नदीनाला र प्रकृतिका अन्य स्रोतमाथि आँखा गाडिरहेको बेला झुट र प्रलोभन देखाएर वर्गसंघर्षको आवरणमा सत्तामा हालीमुहाली गर्ने रहर पलाएका अवसरवादीहरू पूंजीवादले छरेका विकृति विंगतिलाई मलजल गर्दै ठूलो संगठन बनाउने उद्देश्यले उत्ताउलो प्रकारका बीज छरेर देशलाई टुक्राटुक्रा पार्ने दाउमा लागिरहेको कुरा न इतिहासले छिपाउन सक्छ न स्वयं गर्नेहरूले नै सक्छन्। जुन विचार मुलुक र देशका लागि अहित हुनेछन्। जनताको प्रतिनिधित्व गर्ने दलहरू विदेशीका दलाल बनेका साझा थलोलाई विदेशीले जे सिकायो सोही कार्य गर्दै कुकृतिको डम्पीङसाइट देशलाई बनाईरहेको विषयमा खन्डकाव्य सजग छ। विशेषगरी क्षेत्रीयता, जातीयता, एक मधेश एक प्रदेश जस्ता देश घातक र साम्प्रदायिक नाराले मुलुक टुक्राउने कुरालाई खन्डकाव्यमा सचेत गराइएको छ। सत्ताधारीहरूको दिमागमा विदेशद्वारा भरिएका प्रायोजित विचारहरू राष्ट्रिय एकताको लागि बाधक बनेको कुरा खन्डकाव्यमा राम्ररी प्रकाश पारिएको छ। यसका साथ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै गर्नुपर्ने राष्ट्रको विकास हो तर सत्ताधारीहरू विनास गरिरहेका छन्। यस काव्यमा प्रकृतिको वर्णन समस्या अनुकूल गरेर सचेत आयोजना पूर्व देश फुटाउन हुन्न भन्ने सचेतका साथ अखन्ड राष्ट्र र प्रकृतिका बीच निकट सम्बन्ध र त्यससँग घोत्लिएको मानव जीवन वर्गसंघर्षको आवश्यकता मानव समाजको सचेतपूर्वक गरिने उन्नति देशमा भएका राष्ट्रघाती प्रकृतिका आन्दोलन आदिका विषयमा काव्य सजग छ। वर्तमान सन्दर्भबाट हेर्दा देशलाई साँच्चै ग्रहण लाग्ने होकि भन्ने सम्भावना तर्फ ध्यान दिंदा, विदेशीको चलखेल अति बढेको छ। जुन जातिका नाममा अचेतहरूले राज्य बाँड्ने प्रयास गरेका छन् त्यसबाट हुने परिणाम नकारात्मक नै निस्कन्छ भन्ने खन्डकाव्यले व्यक्त गरेका धारणा उत्कृष्ट प्रकारका छन् जुन यथार्थ सत्य हो।
मधेशवादीहरूले विदेशबाट गुरूमन्त्र सुनेर राष्ट्रमाथि लगाउन खोजेको ग्रहण अनुभलक्षणको संकेत हो भन्ने विषयमा पनि सजग छ। यस काव्यमा यो बताइएको छ कि कुरा अति मीठा गर्छन् तर गरिएका कुराभित्र विष घोलेका भावना सिर्जना गरी राम्रो आवरण देखाएर जनताको मनस्थिति खलबलाई आन्दोलनमा उर्ताछन् तर त्यो आन्दोलन जनताको लागि नभएर विदेशबाट प्रायोजित विचारलाई मूर्त रूप दिई तिनीहरूको दलाली गरी सत्तामा टिक्ने वा भोलिका लागि ठाउँ बनाउने नै रहन्छ। काव्यकारले यस्ता विचारलाई पनि ठाउँ दिएका छन् जुन विचार आन्दोलनका लागि उत्तेजित गरी राष्टि48ज्ञठज्ञयताको नारा लगाएर आफ्ना गलत मनसाय पूरा गर्ने मानिसहरूका दृष्टिकोण पनि काव्यमा छन्। यो खन्डकाव्य यति गहकिलो छ यसका कुनै पनि श्लोकलाई व्याख्या गर्ने हो भने एउटा उपन्यास बन्छ तर विचारहरू खाँदिएर सुन्दर प्रस्तुति दिएका कारणले यो काव्य बनेको छ। यो काव्य पढ्दा लाग्छ माधव घिमिरेको “राष्ट्रनिर्माता खन्डकाव्य” उठाएका विषयवस्तुहरू पनि यससँग निकट छन्। तर यस काव्यमा वर्ग चेतनालाई राष्ट्रिय एकताको आलोकबाट हेरिएको छ। यस काव्यमा यथार्थको चित्रण गरिएको छ। यो काव्य प्रगतिवादी क्षेत्रका खन्डकाव्यहरू हेर्दा लचबद्ध रूपमा देशको महत्व बताउँदै हामी र हाम्रो अस्तित्व अखन्ड नेपाल रहे मात्र रहन सक्छ भन्ने दृष्टिकोणका साथ देशलाई संकट परिरहेको अवथामा सत्ताधारीहरूले देश यो अवस्थामा पुर्याईसकेका छन्। कि जसरी महाभारतमा द्रौपतिको चिरहरण गरेर नारीहरको अपमान गर्ने अवस्थामा मागिएको गुहार र वर्तमानको सन्दर्भका बीच भिन्नता देख्न सकिन्न। यस प्रकारको संकटलाई काव्यले राम्रोसँग उतारेको छ। काव्य जीवन्त छ हरेक श्लोकहरू सुन्तलाका रसिला केस्रा जस्ता छन्। जुन केस्रा चाख्दा पनि स्वादमा कमी देखिन्न कतै आलो काँचोपन देखिन्न कला र विचारका बीच कतै टुटफुट छैन। परिपक्क छ, व्याकरण छन्द लच स्थानीय शब्दको प्रयोग , प्रकृति वर्णन, शास्त्रीय लय यस काव्यका विशेषता बनेका छन्।
शुरूदेखि अन्तिमसम्म पाको खविताको खँदीले रूप यस देख्न सकिन्छ। राष्ट्रको महिमा गाउँदै सत्ताबाट यसमा प्रहार गरिएका वैदेशिक विचारका छेप्यास्त्रहरू नेपाली माटोको प्रतिकूल छन्। पान्डव र कौरवको युद्धमा आफन्तको लडाईबाट देखा परेका विनाशकारी कार्य यहाँ पुनरावृत्ति हुँदैछ। यसको संचालक अमेरिकी साम्राज्यवादीहरू र भारतीय विस्तारवादी, जसको गोटी अदुरदर्शी दलका नेत ाबनेका छन्। जसको परिणाम संघीयताले देखाउँदैछ। यसरी यो काव्यलाई वैचारिक स्पष्ट कलागत मूल्य र मान्यता बोकेको वर्गद्वन्द्वमा आधारित राष्ट्र बचाउको सन्दर्भ दिंदै राष्ट्रियताको आलोकबाट धेरै समयपछि लेखिएको उत्कृष्ट काव्य हो। यसले एउटा युगको प्रतिनिधित्व गर्दछ। त्यो युग जुन संकटग्रस्त छ।यसलाई मार्गदर्शक बनेर नेपाली समाजका सामु उभिएको छ। यति उत्कृष्ट काव्य नेपाली खन्डकाव्यले प्राप्त गर्नु गौरवको कुरा हो। राष्ट्र गौरवका विषयमा लेखिएकोले अचार खान बानी लागेकाहरू ग्हिरिएर अध्ययन गर्न नसक्दा जीवनको गहिराइमा पुग्न नसक्लान्। जीवनको यथार्थ नबुझ्लान् यस काव्यका हरेक श्लोकले मानव मन छुन्छन्। रसिलो अम्बा र अंगुर प्रकृतिका छन् गलक्क पाकेको मेवा साह्रै मिठो हुन्छ। यस काव्यका श्लोकहरू यही मेवा हुन्। लेखकले भूमिका लेख्दा मार्क्सले बताए जस्तै कुनै बेला राजाहरू पनि प्रगतिशील हुन्छन्। कुनै पनि माग इतिहास वा समयको सन्दर्भले गर्छ यद्यपि त्यसका स्वरूप देख्दा प्रतिक्रियावादी हुन्छन् तर अभावको बेला प्रतिक्रियावादी स्वरूप पनि आवश्यकता र समयको खाँचोले ती केही प्रगतिशील हुन्छन्। पृथ्वीनारायण शाह पनि यस्तै प्रकारका राजा हुन् जति पादरीहरूले हल्ला पिटाए बाह्य जगतले पृथ्वीनारायण शाहको निन्दा गर्यो जालीझेलीले इतिहास लेखे, पृथ्वीनारायण शाहको बदनाम गर्ने प्रयास गरे त्यत्ति सत्य छैन। सत्य इतिहासको अध्ययन गरेर भूमिका लेखिएको भए वस्तुनिष्ठ विश्लेषण हुन्थ्यो।
केही आलोकाँचोपन यहाँ मात्र देखिन्छ अन्य कवित परिपक्क छन्। यसरी यस काव्यको जीवनदर्शन राष्ट्रवाद प्रकृतिको मानविकरण वस्तुस्थितीको विश्लेशण, कलाको सागर देख्दा जो सुकै पनि प्रभावित हुनुपर्छ। किसान मजदुरको विषयलाई लिएर लेखिएको काव्य भएपनि वौद्धिक स्तर उठेका शालिन र वौद्धिक व्यक्तिहरू जसले कविताको रस बुझ्छ मौरी जस्तै फुलको रस चुस्न सक्छ यो काव्य त्यसको लागि हो।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २१ – २०६७ चैत्र ३० गते, बुधबार)