~मोहनविक्रम सिंह~
कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र यसका सयकडौं, हजारौं, लाखौं पक्ष, पहलु वा रहस्यहरू हुन्छन्। मानव जीवनको प्रारम्भ कालदेखि नै जीवनलाई बुझ्ने वा आफ्नो समयको ज्ञानको स्तर अनुसार त्यसलाई बुझ्न प्रयत्न हुँदै आएका छन्। त्यही क्रममा कैयौं उखान, टुक्क, लोककथा, अन्धविश्वास, धर्म, कविता, महाकाव्य, उपन्यास, नाटक वा आधुनिक कालमा आएर सिनेमाहरूको रचना हुने गरेको छ। त्यही क्रममा ज्ञान–विज्ञानका कैयौं शाखाहरूको निर्माण भएको छ र त्यो क्रम लगातार बढिरहेको छ। त्यो लगातार बढिरहने प्रक्रिया हो।
त्यस प्रकारको पृष्ठभूमिमा थोरै शब्दमा जीवन वा जीवन दर्शनको परिभाषा वा व्याख्या गर्नु सम्भव हुने कुरा होइन। तैपनि त्यस प्रकारको परिभाषा वा व्याख्या बिना पनि जीवन कायम रहन्छ। त्यो अगाडि बढिरहन्छ र त्यसलाई बुझ्ने प्रयत्न भइरहन्छ। यद्यपि त्यो कार्य विभिन्न व्यक्तिहरूका आफ्नो सोंचाई, स्तर वा दृष्टिकोण अनुसार नै हुन्छ।
तर कुनै व्यक्तिले जीवन बारे जीवनका दर्शनको जुन व्याख्या गर्दछ। त्यसले पनि कुनै व्यक्तिको यथार्थ सोंचाई वा दृष्टिकोणलाई प्रतिनिधित्व गर्न सक्दैन। किनभने कुनै व्यक्तिलाई स्वयं आफ्ना बारे ठीकसित बुझ्नु त्यति सजिलो छैन वा असम्भव नै छ भने पनि हुन्छ। कुनै व्यक्तिले आफ्नो सोंचाई वा दृष्टिकोण बारे जुन विचार प्रकट गर्दछ – त्यसले इमान्दारितापूर्वक नै तिनीहरूलाई प्रकट गर्नुका बाबजुद – त्यो सत्यको अत्यन्त सानो अंश मात्र हुन्छ वा कतिपय अवस्थामा सत्यको विपरीत हुन्छ। मानिसहरूका सोंचाई, विचार वा दृष्टिकोणमा परिवर्तन भइरहन्छ। त्यसकारण कुनै व्यक्तिले आज जुन कुरालाई सत्य ठान्दछ, भोली उसैको सोंचाईमा गलत भइसकेको हुन सक्दछ। कुनै व्यक्तिबारे समाजमा बेग्ला–बेग्लै धारणाहरू हुन्छन् – पक्ष र विपक्षमा। कुनै व्यक्तिमा एकैसाथ कैयौं परस्परविरोधी भावना, सोंचाई वा विचारहरूले काम गरिरहेको हुन सक्दछन्। कुनै व्यक्तिले एकैसाथ आफू भित्रको त्यस प्रकारका सबै सोंचाईहरूलाई प्रकट गर्न वा अगाडि बढाउन सक्दैन। त्यो अवस्थामा कुनै व्यक्तिका लागि स्वयं आफ्नाबारे सही वा पूर्ण ज्ञान प्राप्त गर्नु सम्भव हुन्न। कुनै पनि व्यक्तिका जीवन प्रतिका धारणा, लक्ष्य वा जीवन दर्शन बारे पनि त्यही कुरा सत्य हो।
उपरोक्त प्रकारका सबै सीमाहरूका बाबजुद प्रत्येक अवस्थामा प्रत्येक मानिसले जीवनलाई बुझ्ने प्रयत्न गर्दछ। के सही हो र होइन? त्यो जीवन र व्यवहारले फैसला गर्दै जाने कुरा हो। त्यो फैसला पनि लगातार बदलिने कुरा हो। तैपनि जे, जुन वा जुन सीमाभित्र भएपनि जीवन अत्यन्त महत्वपूर्ण कुरा हो। जीवनलाई मृत्युका सन्दर्भमा बुझ्ने प्रयत्न गर्नुपर्दछ। त्यो कुरालाई अर्काशब्दमा, यसरी भन्न सकिन्छ : जे मृत्यु होइन, त्यो जीवन हो। त्यसकारण जबसम्म हामी जीवित हुन्छौं, हामीले बाँच्ने प्रयत्न गर्दछौं। सही प्रकारले बाँच्नु त्यो बेला नै सम्भव हुन्छ, जब हामीले सधैं मृत्युलाई आत्मसात गर्दै बाँच्ने प्रयत्न गर्दछौं। त्यसरी जीवन मृत्युलाई समान पंक्तिमा राखेर बाँचेर नै हामी सुखपूर्वक बाँच्न सक्दछौं। जीवन र मृत्युको बीचको त्यो अन्तरसम्बन्धलाई मैले २०२७ साल जेष्ठ २५ गते काठमाडौंको भद्रगोल जेलमा बस्दा लेखेको तलको कविताद्वारा व्यक्त गर्ने प्रयत्न गरेको थिए :
कुनै बेला मेरा अगाडि जीवन र मृत्युका बीचमा चुनाव गर्ने अवस्था आए मैले जीवनलाई नै रोज्ने छु। तर यो शर्तमा कि बाँच्नु नै मर्नु नहोस्।
त्यस प्रकारको सोंचाईलाई आज पनि मैले सही मान्छु र त्योबेलासम्म नै जीवनले मेरा लागि अर्थ र महत्व राख्नेछ, जब “बाँच्नु नै मर्नु नहोस्।”
जीवनको आदर्श वा उद्देश्यलाई मैले कसरी लिन्छु? त्यो कुरा त्यही साल बैशाख ३ गते भद्रगोल जेलमा लेखेको तलको कवितामा यसरी उल्लेख गरेको थिएँ –
मलाई आत्मसमर्पण गर्न भन्नेहरूलाई
मैले कसरी सम्झाउँ कि
मैले धेरै पहिले नै
सम्पूर्ण रूपमा आफूलाई
क्रान्तिको वेदीमा होमिसकेको छु
अब पुनः समर्पण गर्नका लागि
न जीवन बचेको छ, न मृत्यु
न हाँसो बचेको छ, न आँशू
शायद त्यो कविता मात्र थिएन। मेरो जीवन प्रतिको दृष्टिकोण पनि थियो। जीवनप्रतिको प्रतिवद्धता पनि। त्यस प्रकारको प्रतिवद्धताका लागि आफूलाई समर्थन गरेपछि मेरो जीवन एकदम शान्त र सरल प्रवाह बनेको छ। एउटा सुखी जीवन। असीम सुख र आनन्दले भरिएको जीवन। त्यस प्रकारको सुख र आनन्दले भरिएको जीवन। त्यस प्रकारको सुख र आनन्दले मलाई सधैं र जुनसुकै प्रकारको परिस्थितिमा पनि अगाडि बढ्न र बढिरहन मद्दत गर्दछन्। शायद मनभित्रको त्यस प्रकारको सुख र आनन्दको अभावमा मलाई आफ्ना विचार र लक्ष्यतिर लगातार अगाडि बढिरहनु सम्भव हुने थिएन। मलाई लाग्दछ, जीवनमा आनन्द र सुखले धेरै नै महत्व राख्दछ। तर सुख त्यो बेला नै प्राप्त हुनेछ, जब हामीले आफ्नो आस्था र विश्वास अनुसार काम गर्न पाउँछौं र सक्दछौं। तर जब आफ्नै आस्था र विश्वासहरूका विरूद्ध काम गर्नुपर्दछ, जीवन खन्डित हुन्छ। जीवन दुःख र कष्ट हुन्छ। तर बाह्य परिस्थितिले हामीलाई आफ्ना आस्था र विश्वास अनुसार काम गर्न नपाएकोमा त्यति दुःख पुग्दैन, जति कुनै व्यक्तिलाई स्वयं आफ्नो आस्था र विश्वासहरूको हत्या गर्ने अवस्था उत्पन्न हुन्छ। त्यो कुनै व्यक्तिको आत्महत्या नै हुन्छ। शायद त्यो अवस्थामा पनि कुनै व्यक्ति सुखी हुन्छ वा हास्न सक्दछ भने त्यो मुर्दाहरूको जीवित लासहरूको सुख वा हाँसो हुन्छ।
जीवन के हो? जीवनको दर्शन के हो? त्यो कुरा, जस्तो कि मैले माथि नै लेखिसकें। अत्यन्त जटिल र रहस्यमय कुरा हो। जीवनको परिस्थितिले ती कुराहरूको फैसला गर्दछन्। तर विचारहरूको पनि त्यसमा महत्वपूर्ण भूमिका हुन्छ। ती दुवै मध्ये कसको भूमिका निर्णयात्मक हुन्छ? त्यो कुराको पनि कुनै सीधा र सरल जवाफ दिनु सम्भव छैन। बेग्ला–बेग्लै व्यक्तिहरू वा जीवनको परिस्थितिका सन्दर्भमा त्यसका जवाफ बेग्ला–बेग्लै हुन सक्दछन्। कुनैबेला व्यक्तिहरू परिस्थितिको प्रवाहमा बग्दै जान्छन्, कुनै बेला उनीहरू प्रतिकूल परिस्थितिको सामना गर्दै अगाडि बढ्दै जान्छन्। ज्वारभाटाहरूका विरूद्ध संघर्ष गर्दै अगाडि बढ्दै जानु – शायद जीवनको त्यही नै सर्वोत्तम वा श्रेष्ठ रूप हो। सायद त्यही अवस्थामा नै जीवनमा सबैभन्दा बढी सुख र आनन्द पनि प्राप्त हुन्छ। मार्क्सवादी–लेनिनवादीहरूका लागि ता त्यसरी जीवित रहनुबाहेक शायद अर्को कुनै विकल्प छैन….
(विभिन्न व्यक्तित्वहरूले जीवन दर्शनका सम्बन्धमा दिएका विचारहरूलाई संकलन गरेर डा. राजनप्रसाद पोख्रेलले २०६७ श्रावणमा एउटा अभिव्यक्ति संग्रह बजारमा ल्याउनु भएको छ। जीवन दशंन सम्बन्धी मोहनविक्रम सिंहका उक्त अभिव्यक्ति “साहित्य र जीवन दर्शन”नामको सोही पुस्तकमा “सत्यको सानो अंश मात्र” शीर्षकबाट (पृष्ठ १५३–५५) प्रकाशित भएको छ।)
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४० – २०६७ भाद्र ०९ गते, बुधबार)