समालोचना : गुरूडपुराणको नरक आतंक र पितृदानको नाममा हुने महाशोषण

~घनश्याम शर्मा पौडेल~GHanashyam Sharma Paudel

मृत्यु त्यत्तिकै सत्य हो, जति जीवन सत्य छ। फेरि पनि जीवन सबैलाई प्रिय हुन्छ भने मृत्यु सबैको लागि अप्रिय हुन्छ। यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम बुझेकाहरूको हकमा पनि त्यत्तिकै लागु हुन्छ। तर जसले जीवनजगत वा जीवनमूल्यलाई ठीक ढंगले बुझेका छैनन्, तिनको निम्ति त जीवनको मोह र मृत्युको भय अत्यन्त बढी हुन्छ। यसैले सामान्य मान्छेहरू मृत्यु शब्दको उच्चारण मात्र पनि अशुभ मान्दछन्। मुर्दादेखि डराउनु वा मसानघाटको नजिक जाँदा तर्सिनुमा पनि यही अव्यक्त मृत्युभयले काम गरेको हुन्छ। फेरि पनि सत्य एउटै छ, जन्मिने प्रक्रियासँगै मृत्युप्रक्रिया पनि शुरू भएरै आएको हुन्छ। नियमित प्रक्रिया वा आकस्मिक दुर्घटना जेबाट होस्, मृत्यु अवश्यम्भावी छ।

त्यसो भए हामी छलफल के विषयमा गर्र्र्दैछौं त? कुरा के हो भने जन्म, जीवन र मृत्यु यो सबै नितान्त भौतिक प्रक्रिया हो। यो सबै आफैसँग छ, ठोस छ, र दृश्यमान छ। अनि अहिलेसम्मको ज्ञात ब्रम्हणमा मानवजीवन नै सबैभन्दा उन्नत, सुन्दर एवं महान् भौतिक रचना हो। यस्तो मनुष्य जीवन र यसको जीव्नमरण प्रक्रियालाई पापमय र अपराधमय भन्ने र यति सुन्दर संसारलाई पापको सागरको रूपमा चित्रण गर्ने पन्डित पुरेतहरूले हाम्रो जीवनलाई अनावश्यक रूपमा भयाक्रान्त एवं दुखित बनाइदिएका छन्। जन्मनु पाप, हुर्कनु पाप, युवक युवती हुनु पाप, रजश्वला हुनु पाप, प्रेम विवाह र यौनसंसर्ग गर्नु पाप, राम्रो लाउनु, मिठो खानु, सुख काट्नु पाप, उठ्नु, बस्नु, खानु, सुत्नु, बोल्नु, चल्नु र मर्नु पनि पाप “म पाप हुँ, मेार सबै कर्म पाप हुन्, मेरो आत्मा पापी छ, मेरो जन्म पापबाट भएको छ। त्यसैले हो प्रभु घ् मलाई पापबाट मुक्त गर। ” यही हो –कर्मकान्डी पुरेतवादी जीवन–दृष्टिकोण।

यसरी, हिन्दु धर्मको नाउँमा चलेको ब्राम्हणवाद र पुरोहितवादले मान्छेको प्रजनन् प्रक्रियादेखि मृत्युसम्म नै पूरा पापको जालोले जेलिएको देखाएको छ। त्यति मात्र होइन, मृत्युपछि पनि कैयौं पुस्तासम्म पुर्खाको प्रेतात्माले सताइरहन्छ। सामाजिक अव्यवस्था र धार्मिक कुसंस्कारले गर्दा हाम्रो चिन्तन र चाल चलनहरू जीवनमुखी होइन, मृत्युमुखी बनेका छन्। जीउँदा बाबुआमालाई खान लाउन नदिने, हेला अपमान गर्ने, कुटपिट गर्ने घरबाट निकालिदिने सन्तानहरू समाजमा छ्यासछ्यास्ती पाइन्छन्। त्यति मात्र होइन, कैयौं बुढाबुढीलाई आफ्नै सन्तालने उपचार नगराई अकाल मृत्यु मर्न वा आत्महत्याको लागि बाध्य पार्ने र अझै आफैले हत्या समेत गर्ने गरेको पाइन्छ। तर तिनै सन्तानले मरेपछि किरिया गर्ने, गरूणपुराण लाउने, एकाहा लगाउने, वर्षभरी बरखी बार्ने, भव्य शैयादान, भूमिदान र सुनको प्रतिमा दान गर्ने आदि गरेर बाबुआमालाई स्वर्ग पुर्‍याएको ढ्वाङ पिट्दै हिंड्छन्। मूर्ख समाज तिनकै प्रशंसा गर्दै भन्छन्–“हमेर छोरो हुनु त त्यस्तो पो हुनु त। बाबुआमाको निम्ति आधा सम्पत्ति सकेर दानपुण्य गर्‍यो।” वास्तवमा यस्तो कामले पितृ स्वर्ग जाने होइन कि तिनका सन्तनको आफ्नै सामाजिक दम्भ पूरा हुन्छ र पुरेतको आर्थिक स्वार्थ मात्र पूरा हुन्छ।

स्वभावतः आफन्तको मृत्युले मान्छेलाई अत्यन्त मर्माहत एवं संवेदित बनाउँछ। त्यतिबेला आफन्तजनहरू, स्वजनहरू मृत्युको वियोगले जति तड्पिन्छन्, त्यसभन्दा बढी उनको आत्माले दुःख पाउँछ कि भनेर चिन्तित हुन्छन्। त्यतिबेला प्रियजनको मृत्युको कारणले शारीरिक एवं मानसिक रूपमा मान्छे कमजोर बनेको हुन्छ। भेट्न आउनेहरू आफै अगाडि बसेर रून्छन्, विलाप गर्छन्। वातावरण सिंगै मृत्युमय र शोकमय बनेको हुन्छ। सबैले मृतात्माको मुक्तिको लागि बढीभन्दा बढी दानपुण्य गर्न उक्साइरहेका हुन्छन्। किनकि त्यो कुरा भोलि आफ्नै मृत्यु र स्वर्गप्रतिको फैसलासँग पनि जोडिएको छ। यस्तै अवस्थामा अत्यन्त कष्टकर ढंगले काजक्रिया बस्ने र गरूडपुराण लाउने चलन छ, जसमा गरूडपुराणको प्रेतखन्डका स्रोहवटा अध्याय पर्दछन्। यो यस्तो ग्न्थ हो,जसले काल्पनिक नरक र त्यहाँको भयानक यातना वर्णन गर्दै क्रियापुत्रीलाई भयातर एवं लगलगी काम्ने अवस्थामा पुर्‍याउँछ। जसरी एउटा अशिक्षित, सोझोसीधो र निर्दोष गाउँलेलाई प्रहरीले एकाएक कसैको हत्याको अभियोगमा गिरफ्तार गरेर निर्मम यातना दिएपछि ऊ जे गर्न र जे दिन पनि तयार हुन्छ, त्यसैगरी त्यो क्रियापुत्री गरूड पुराणमा वर्णित नरकयातनाको भयानक कथा सुनेपछि र आफू सिंगै तेलको कराहीमा पाक्नुपर्ने भएपछि जे गर्न र जे दिन पनि तयार रहन्छ। पाँचौं दिनबाट शुरू गरिएको गरूडपुराण दशौं दिनमा सिद्धिन्छ। त्यतिन्जेल क्रियापुत्री र मृतकका आफन्तहरूको दिमाग गरूणपुराणको कल्पित नरकवर्णन र त्यसको भयले पूरै कब्जा भैसकेको हुन्छ , अनि एघारौं, बाह्रौं र तेह्रौं दिनमा दान दक्षिणा र भोजभतेरको काम हून्छ। यो प्रक्रिया पाक्षिक र मासिक गर्दै कुनै न कुनै रूपमा वर्षदिनभर पनि रहिरहन्छ।

वार्षिकीको बेला उसैगरी शश्यादान र अनेकभाँती दान गरेर जजमानलाई रित्याउने काम फेरि हुन्छ। त्यति मात्र होइन, वार्षिक श्राद्ध, गया र काशीश्राद्ध आदिको चिन्ताले जीवनभर सताइरहन्छ। यस लेखमा गुरूडपुराणमा वर्णित पिन्डदान, वैतरणी नदी, नरक वर्णन र त्यसबाट मुक्ति पाउनको लागि गरिने दानपुण्यको बारेमा केही कुरा उल्लेख गरिनेछ।

हिन्दु दर्शनअनुसार मान्छे मरेपछि त्यसलाई जलाइन्छ र त्यो खरानी बनाइन्छ। अथवा जमिनमा गाडेर कुहाइन्छ। तर त्यसको आत्मा मर्दैन, जल्दैन र गल्दैन। गीताको भनाईअनुसार “जसरी मान्छेले पुराना कपडा त्यागेर नयाँ कपडा फेर्छ, त्यसैगरी आत्माले मृत शरीर त्यागेर अर्को नयाँ शरीर ग्रहण गर्छ। यो मत बेदान्तीहरूको हो, जसले कर्मकान्ड र पुरोहितवादलाई खास मान्दैनन्। तर कर्मकान्डी पुरेतहरू मान्छेको मृत्युपछि त्यो आत्मा प्रेत बनेर अनन्त यातना सहँदै भट्किन थाल्ने कुरा बताउँछन्। त्यसैले त्यसको उद्धारको लागि क्रिया बस्नु, पिन्डदान गर्नु, पुराण सुन्नु र दानपुण्य गर्नु आवश्यक छ भन्छन्।

मरेको मान्छेलाई प्रेतबाट उद्धार गर्न र अर्को ज्यान निर्माण गर्न क्रियापुत्रीले दश दिनसम्म लगातार पिन्डदान गर्नुपर्छ। गरूडपुराणअनुसार त्यसरी दिएका पिन्डहरूबाट मृतकको अर्को शरीर यसरी निर्माण हुन्छ। “प्रथम दिनको पिन्डले टाउको दोस्रो दिनकोले गर्धन र काँध, तेस्रो दिनकोले हृदय, चौथो दिनकोले कम्मर र गुदद्वार, सातौं दिनकोले पाउ र दशौं दिनकोले भोकप्यास बन्छ र एघारौं एवं बाह्रौं दिनको पिन्ड त्यसरी बनेको शरीर आफैले खान्छ।

तर यही कुरालाई ब्रह्मपुराणमा यसरी उल्लेख गरिएको छ, “प्रथम दिनको पिन्डबाट शिर, दोस्रो दिनकोबाट आँखा र नाक, कान, तेस्रो दिनकोबाट घाँटी, कुम, पाखुरा र छाती, चौथो दिनकोबाट नाइटो, लिंग र गुद्द्वारा , पाँचौं दिनकोबाट घुंडा, साप्रा र खुट्टा छैठौं दिनबाट साना अंगहरू, सातौं दिनकोबाट नसाहरू, आठौं दिनकोबाट दाँत र रौं, नवौं दिनकोबाट वीर्य र दशौं दिनकोबाट पूर्ण शरीर र भोकप्यास आदि बस्छन्। यसैले पिन्डदान गर्नुपर्छ र “पिन्डदान नपाएका प्रेतहरू कल्पान्तरसम्म भोक र प्यासले तड्पिंदै निर्जन जंगलमा भौंतारिरहन्छन्। आजको वैज्ञानिक युगमा मरेर भस्म भएको मान्छेको शरीर खीर या भातका डल्लाहरूबाट पुनः निर्माण हुन्छ भन्ने कुरा कति रमाइलो अज्ञानता होला हगि। त्यसमा पनि यी दुवै पुराणका मूर्खतापूर्ण भनाईहरू कसरी आपसमा बाझेका छन्। हामीले दाँजी हेर्‍यौं। तथापि आश्चर्य के हो भने हामी त्यसमै विश्वास गछर्ौं र “जसो जसो बाहुन बाजे, तसो तसो स्वाहा” गर्दै आँखा चिम्लेर काल्पनिक नरकमा हाम फालिरहेका छौं, ज्यूँदै प्रेत बनेर नरक नरक भड्किरहेका छौं।

यसरी शरीरनिर्माण भैसकेपछि त्यस प्रेतात्माले चित्रगुप्त नाम गरेको यमराजको लेखाफाँटमा पुगेर आफ्नो पापपुण्यको बहीफाँट हेर्न र सो बमोजिम नरक वा स्वर्गमा जाने ठहर सुन्न पाउँछ। तर त्यहाँ जाने बाटोमा एक वैतरणी नामको नदी छ। “त्यसको चौडाई चारसय कोस छ र त्यो पुरै दिसा , पिसाब रगत, मासु, पीप र हड्डीहरूको लेदो बनेर भकभक पाक्दै बगिरहेको छ। त्यसमा भयंकर गोही, सर्प, सियोको टुप्पो जस्तै तीखा दह्रा नंग्रा भएका अनेकों मांसाहारी जलजन्तुहरू छन्, जसले त्यो प्रेतलाई त्यस नदीमा हेलिदिन्छन्। यदि त्यसले गोदान गरेको छैन र अन्इ दानपुण्य गरेर परेत पन्डितलाई रिझाएको छैन भने त्यो वैतरणी पार हुन सक्दैन। हजारौं पटक त्यसैको भूमरीमा डुब्दै, त्यही लेदो पिउँदै, जल्दै र जलजन्तुहरूबाट कोपरिंदै गर्छ। त्यो जति विलाप गर्छ, त्यति नै त्यसलाई यमदुतहरूलपे भालाले रोपेर, नाककानमा सिक्री लाएर, हातगोडा बाँधेर फलामको भारी बोकाएर, फलामका मुग्राले पिट्दै, रगत छदाउँदै र पुनः त्यही रगत खुवाउँदै घिसार्छन्, घिच्याउँछन्। तर यातना सहनुपर्ने हुनाले त्यो प्रेत शरीर फेरि पनि मर्दैन।

यसरी नदी पार गरी धर्मराजको ढोकामा पुगेर आफ्नो पाप पुण्यको बयान दिएपछि गरिब, दुःखी र दान दिन नसक्ने मान्छेले भयानक नरकको पींडा खप्नुपर्छ “तिनलाई चन्ड, प्रचन्ड आदि यमदुतहरूले साङलाले घिसार्दै, भालाले रोप्दै र मुंग्राले ठटाउँदै नरकतिर लैजान्छन्। त्यसपछि तिनलाई तरबारका पात भएका जंगलमा घिसार्नु, करौंतीले चिर्नु, झरीमा उन्नु, आगोमा हाल्नु, पाकेको घिउतेलको कराहीमा पकाउनु, हातखुट्टा बाँधेर उँधो मुन्टो लाएर पहाडबाट झारिदिनु वा गहिरोे इनारमा फ्याँकिदिनु, ज्यूँदै गिद्धहरूले लुछ्नु आदि हजारौं यातना दिइन्छ।

यसप्रकारको वैतरणी र नरकयात्राको अनन्त एवं अवर्णनीय यातना खप्ने मान्छे त्यही हो जसले गरिबीको कारणले दान गरेर बाहुन र देवतालाई खुशी तुल्याउन सक्दैन। “दान नदिने गरिब हुन्छ, गरिब भएपछि पापी हुन्छ, पापी भएपछि नरकमा जान्छ, फेरि नरकको लामो यातनापछि गरिब भएर जन्मन्छ, फेरि पाप गर्छ र फेरि नरकमा जान्छ। करोडौं जन्ममृत्युले पनि यस्ताको पाप काटिन्न।” आश्चर्य लाग्छ, धर्म र स्वर्गको यो व्यवस्था र घुस्याहा प्रशासनमा कति अन्तर छ होला?

यसरी कोलमा नारिएको गोरूझैं गरिब मान्छे बारम्बार नरकको यातना सहँदै गरिब दुःखीको जुनीमा घुमिरहन्छ। त्यति मात्र होइन, जसरी संसारमा प्रत्येक दिन गरिबको दैलोमा साहु आएर हप्कीदप्की गर्छ, ठीक त्यसैगरी नरकमा पनि भयानक यातनाले तड्पिरहेको बखत यहाँको साहु गएर आफ्नो धनको असुली माग्छ। ऊ भन्छ “बल्ल मैले तँ साहुमारालाई यहाँ भेट्टाएँ, ले–ले मेरो रिन तिरिहाल। “यमलोकमा जाने पापी तिनै हुन्, जसले साहुको ऋण तिर्न सक्दैनन। “ब्राम्हणलाई दान दिएको जमिन फिर्ता लिनेहरू साठीहजार वर्ष गुहेकीरा बन्छन्।

यी नरकयातनाबाट पार पाएर स्वर्ग जाने एउटै उपाय छ त्यो हो पर्याप्त दानपुण्य र भोजभत्यार गर्नु। “जब पिता मृत्युको निम्ति भुइँमा लडेर आँखा चिम्लन्छ, त्यतिबेला पुत्रले बाबुको धनमा अलिकति पनि लोभ नगरी दान गर्नुपर्छ। दान धेरै प्रकारका छन् र तिनको महिमा पनि धेरै प्रकारले नै गरिएको हुन्छ। जस्तो कि सुनदान, शश्यादान र भूमिदानको महत्व अवर्णनीय छ। सुनदान गर्दा मृतक पुरुष भए पुरूषको सुनको मूर्ति बनाएर शश्यामा राख्नुपर्छ र दान लिने पतिपत्नीलाई सम्पूर्ण बस्त्र र गहना आभूषणले सिंगारेर शैश्यादान माथि राख्नुपर्छ। यसो गर्दा भोकै मरिन्छ भने पनि चिन्ता गर्नु पर्दैन। किनकि संसार पूरै अगम्य छ र यसलाई त्याग्नु वा मर्नुमा नै परमसुख छ। यसरी मृतकको नाम मानिसक, शारीरिक कष्ट सहेर मात्र पुग्दैन, घरमा भएका लुगा कपडा, भाँडावर्तन, सुनचांदी, सबै प्कारका खाद्य तथा पेय, गाईगोरू, घोडा हात्ती जग्गा जमिन नगद आदि जसो जोसँग जे जे छ, त्यो सबै आँखा चिम्लेर दान गर्नुपर्छ।

माथि बताइएको दानले मात्र हुँदैन ब्राम्हणहरूलाई भोजनले तृप्त गराउने कुरामापनि त्यत्तिकै ध्यानदिनुपर्छ। “ब्रम्हणलाई भोजन गराउँदा बिस्तारै बिस्तारै खुवाउनुपर्छ। तिनलाई सन्तुष्ट र तृप्त पार्न जजमानले तिनको नजिक बसेर तिनका गुणको बखान गर्दै खुशी तुल्याउँदै बढीभन्दा बढी खुवाउनुपर्दछ। उनीहरूको भोजन गर्दा शुद्र, कुकुर, सुंगुर र रजस्वला नारीले हेर्न हुन्न, तिनलाई बास्मतीको भात, दुध, दही, ताजा मासु र समोरस (रक्स्लि)ले सन्तुष्ट तुल्याउनुपर्छ। आश्चर्य के छ भने जतिखेर यो ब्राम्हणवादको शुरूआत भयो, त्यतिबेला बाहुन पुरेतहरूको सबैभन्दा प्रिय खाना भनेको कोरेली गाईको मासु र रक्सी भएको कुरा विभिन्न हिन्दुशास्त्रमै पाइन्छ। “रन्तिदेव नामका राजाले प्रत्येक दिन दुई हजार गाई काटेर ब्राम्हण भोज लगाउने गर्थे।

ब्राम्हणवाद र पुरेतवादको यस्तो निर्मम शोषणप्रति भौतिकवादीहरूको विरोध त हुँदै आएको छ , सुधारवादीहरूले पनि कडा विरोध गर्दै आएको पाइन्छ। स्वामी विवेकानन्द भन्छन्–“जहाँ देश, बीस साधु तथा ब्राम्हणले सारा गरिबहरूको रगत चुस्छन्, त्यसलाई कुनै देश भन्ने कि नरक? यो कुनै धर्म हो कि राक्षसी नाँच? उनी अब यो ब्राम्हणवादको अत्याचारलाई समाजले साँवाव्याजसहित असुल्नुपर्छ भन्ने कुरा पनि गर्दछन्।

ब्राम्हण पुरेतहरूको सक्कली रूपमध्ये एक बहुचर्चित पौराणिक पात्र नारद पनि हो। ऊ स्वर्गदेखि मर्त्यसम्म तीनलोक चौधभवन सबै चाहारी हिंड्छ। उसले आफ्नो चाहनाअनुसार उचाल्ने पछार्ने, थचार्ने, आसिक वा श्राप दिने, युद्ध भड्काउने वा सम्झौता गराउने आदि सबै गर्दछ। हाम्रा कर्मकान्ड, पुराण र स्मृतिग्रन्थहरूमा बाहुनको शक्ति असीमित र खतरनाक पनि देखाइएको छ।यसैले महाभारतमा पनि भीष्मपितामहले युधिष्ठिरलाई भनेका छन् “ब्राम्हणहरूलाई हरप्कारले प्रसन्न तुल्याउनु पर्दछ। किनकि उनीहरू रिसाए भने सबै विध्वंश गर्न सक्छन्। उनीहरू चाहे भने देवतालाई मान्छे र मान्छेलाई देवता बनाउन सक्छन्। अनि यसरी सामन्तवादको जति विकास हुँदै गयो सामन्त शासकहरू र पन्डित परेतहरू नङ र मासुझैं एक अर्कामाथि निर्भर हुँदै गए र त्यसकोलागि आपसमा मिलेर अरू सबैमाथि अत्याचार गर्न थाले।

हाम्रा यी पुराण र धर्मशास्त्रहरूमा जति जे धर्म, कर्म, दानपुण्य आदिको कुरा गरिएको छ, ती पुरूषहरूद्वारा लेखिएका हुन् र पुरूषहरूलाई नै केन्द्रमा राखेर गरिएका छन्। पुत्रको मुख नदेखी र उसले दिएको पिन्डपानी नखाई स्वर्गको ढोका खुल्दैन भन्ने धर्मशास्त्रहरू महिलाहरूको निम्ति भने लोग्नेको नाउँमा ज्यूँदै जल्नु नै स्वर्ग जाने उपाय हो भनी भन्छन्। उनीहरू भन्छन्–“कुनै स्वास्नीमान्छेको लोग्ने विदेशमा मर्‍यो र सँगै सती जान पाइएन भने उसका खराउ (जुत्ता) च्यापेर चितामा जल्नुपर्छ।

यदि कुनै स्त्री पति मरेपछि पनि बाँचिरहेकी छते भने ऊ मर्दा उसको निम्ति अलग्गै क्रिया पिन्डदान गर्नु पर्दैन, किनकि लोग्नेको मृत्यु भएर पनि बाँतिचरहने स्वास्नीमान्छे बाँचेर पनि मरिसकेकी हुन्छे। के यी माथि वर्णन गरिएका कुराहरू कुनै भगवानका रचना वा देशवाणी हुन्? यदि यसैलाई देववाणी भनिन्छ भने भन्नुपर्छ –धनी र सामन्तको कल्याणको लागि व्यवस्था गरिएका देववाणीहरूको सत्यानाश होस्।

जसलाई हिन्दुहरूको धर्म कर्मको मूल जरो भनिन्छ, त्यो वेद हो र वेदको मूल अंश स्वयंमा कुनै हिन्दु भन्नेहरूको एक्लो रचना होइन। यो त करिब ३५ सय वर्ष पूर्व यूरोपतिरबाट ईराक, ईरान, अफगानिस्तान, पाकिस्तान, कश्मीर हुँदै पंजावतिर प्रवेश गर्ने शिकारी घुमन्ते जातिको साझा गीत हो। जसले ऋग्वेद र वेदका मुख्य अंशहरूको गीत रचे वा गाए, तिनीहरू आज हिन्दु, मुसलमान र क्रिश्चियन सबै धारामा विभाजित छन्। कैयौं शब्दहरू इरानी, ग्रीसेली, ल्याटिनी, अंग्रेजी, केन्ट र स्लाभ भाषासँग मिल्दछन्। ईरानी प्रँचीन ग्रन्थ “अवेस्ता” ऋग्वेदका त कतिपय शब्द र वाक्यहरू नै मिल्दछन्। त्यति मात्र होइन इन्द्र वायु मित्र आदि देवताहरूको नाम समेत एउटै छ।

मान्छेको मृत्युपछि जुन आत्मा अमर रहन्छ र कर्मअनुसार कर्मबन्धनको यातना खप्नुपर्छ भनेर भ्रम सिर्जना गरिएको छ–“त्यो कुरा सर्वप्रथम बृहदारण्यक उपनिदषद् र शतपथ ब्राम्हण ग्रन्थमा पाइन्छ। अर्थात् यो कुरा देववाणी भनिएको मूल वेदमा नभएर त्यसभन्दा झन्डै एक हजार वर्षपछिका ग्रन्थहरूमा मात्र पाइन्छ। रह्यो। पुरूषणमा कल्पित स्वर्ग नरक जस्तो कुरा, देववाणी भनिएको मूल वेदमा नभएर धेरैपछि आजभन्दा दुई हजार पच्चिीससय वर्षपहिले मात्रका सामन्त शासकहरू र तिनका सल्लाहकार एवं नीतिकार धर्मगुरू र पन्डित परेतहरूले शुरू गरेर धेरैपछिसम्म बुन्दै आएका महाजालहरू हुन्।

स्वर्ग र नरकको कल्पका पन्डित पुरोहितहरूको दासकालीन वा सामन्ती समाजका ती दृश्यहरूबाट गरे, बरू शासकहरू सुख र सुरासुन्दरीमा चुर्लुम्म डुबेका हुन्थे भने दासदासीहरू मालिकहरूका खोरहरूमा माथि वर्णन गरिएझैं अकल्पनीय पींडा र यातनामा छट्पटिइरहेका हुन्थे। त्यति मात्र होइन् बेद पुराण र धर्मग्रन्थहरूमा जसले जतिखेर चाहे त्यतिखेर भाषा मिलाउँदै र आफ्नो स्वार्थसँग मेल खाने किसिमले व्याख्या गर्दै आउने काम पनि सयौं वर्षसम्म रह्यो। यसरी नै संस्कृतिमा लेख्न लेखिएका ग्रन्थहरुलाई गुरूहरूले आआफ्ना स्वार्थका कुरालाई देववाणीका रूपमा सबै शास्त्रहरूमा समावेश गर्दै गए। यस प्रक्रियालाई “प्रक्षेपण” भनिन्छ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ९ – २०६७ पौष २८ गते, बुधबार)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.