निबन्ध : प्रसंग एक फ्याउराको

~गोविन्दप्रसाद आचार्य~

फयाउरालाई अंगुर अमिलो भएको कथा जोसुकैले सुनेका छन् र पढेका पनि छन्। त्यस कथामा फ्याउरोले अंगुर टिप्न उफि्रन्छ धरै प्रयत्न पश्चात् अंगुर खान सक्दैन र गुलियो अंगुरलाई अमिलो छ भनेर आरोप लगाउँदै हिंड्छ। यस्तै किसिमको प्रवृत्ति आज नेपालका राजनीतिक दलमा प्रवेश गरिसकेको छ।

वास्तविकतालाई एकातिर छिपाएर शब्द जाले भ्रममा दुनियाँलाई अल्मल्याएर आफ्नो स्वार्थ लिने वा त्यो ठाउँ छोडेर अर्को ठाउँमा प्रवेश गर्नका लागि ढोका खोल्ने यस्तो प्रवृत्ति हिजो आज छ्यापछ्याप्ती देखिन थालेको छ। एउटा प्रसंगको चर्चा गरौं–हिजो माओवादीहरू जंगलमा छँदा तिनीहरूलाई मार्नुपर्छ भन्ने उद्देश्यले आतंककारी विधेयक संसदमा पारित गर्ने तर आज तिनैका सामु लम्पसार परेर ढोका खोल्नका लागि अनुनय विनय गर्दै हिंडिरहेको कुरा जोसुकैले पनि थाहा पाएका छन्। त्यस्तै तमलोपा पार्टी खोलेर नेपाली कांग्रेसलाई छोड्नेहरूको गति हाम्रा सामु छर्लड्डै छ। कहिले यता कहिले उता डुलिरहने चमेरे प्रवृत्ति नेपाली राजनीतिको विशेषता बनेको छ।

आजसम्मको वामपन्थी आन्दोलनको फुट झुटको खेतीबाट भएको छ र इतिहासको आडबाट भएको छ। कसैलाई पार्टी बदल्न परेमा लिनपियाओ, खु्रश्चेव जस्ता गद्दार प्रवृत्तिहरू पार्टीभित्र प्रवेश गरेको भन्ने नौंटंकी नाटक रचेर नयाँ पार्टीमा प्रवेश गर्नेहरूको प्रवृत्ति नेपाली इतिहासमा छिप्न सक्दैन। तिनीहरूको पार्टी प्रवेश गर्ने उद्देश्य पद, प्रतिष्ठा, पैसा वा व्यक्तिगत महत्वाकांक्षाले आन्तरिक रूपमा काम गरिरहेको हुन्छ। देखावटी रूपमा असैद्धान्तिक व्यक्तिहरूलाई अगाडि सारेर आफूलाई गलत प्रवृत्तिबाट सच्चाएको अनुभूति दिइन्छ। तर गोमन साँपकोविष जति झके पनि सिद्धिन्न। हामी यो ठोकुवाका साथ भनौं आज पार्टी फोरेर हिंड्नेहरू कोही अमेरिकामा भाँडा माझ्ेका छन् कोही ठूला पार्टीको आडमा ठेक्का पट्टामा मस्त छन्। कसले बचाउने राजनीति विचार र सिद्धान्त? कुरा गर्दा मिठो गरेर हिंड्ने तर व्यवहारमा त्यसको ठीक विपरीत काम गर्ने। हरेक पद्धतिबाट टाढा रहन गएको केवल शब्दको आडलाई महत्व दिएको ठाउँमा बस्नु उचित हुन्न। विचारको टुटफुट भइनै रहन्छ। यसो भन्दैमा सिद्धान्त र विचार केटाकेटीको भात पकाई खेल होइन तसर्थ जसलाई भाग्न मन लाग्यो त्यसले सही कुरा के हो त्यो बताएर हिंडेको इतिहास आजसम्म छैन। जसले गलत कुरा गरिरहेको छ, ती कुराभित्र आफ्नो पनि छायाँ देखिन्छ। नेपालको बामपन्थी आन्दोलनमा धेरै व्यक्तिहरू प्रवेश गरे। स–साना झुन्ड बनाउँदै अबुझ कार्यकर्तालाई भ्रम दिएर ठूला पार्टीमा आफ्नो स्थान बनाउने प्रयत्न जसबाट नेपालको बामपन्थी आनदोलनले अवसरवादी छदमभेषीको पीडा भोग्नु परिरहेको छ। यो यथार्थलाई बुझेर ठूला पार्टीहरूले पनि आफूलाई सच्चाउने प्रयास गरे भने फोहरको दलदलबाट तिनीहरू मुक्त हुने सम्भावना रहन्छ।

आजसम्म स–साना झुन्ड बनाएर हिंड्नेहरूको प्रवृत्ति बामपन्थी आन्दोलनमा कतै पनि देख्न सकिन्न। दिउँसेै ओछ्यान लगाएर सुतेको महशुस हुन्छ। कोही सम्पत्ति जोगाउन हिंड्छन्। कोहीसम्पत्ति कमाउन हिंड्छन्। कोही अर्कालाई स्वाद भेटाउन हिंड्छन। कालान्तरमा आफ्नै गालामा आफ्नै हातले चड्कन दिंदै सूर्यतिर फर्केर थुक्दा आफ्नै मुखभरी हुन्छ। यो पनि एउटा प्रवृत्ति हो। जो महत्वकांक्षी हुन्छ जसले म भन्दा बेगर अरू कोही छैन भन्दै कृष्णले हरेक बस्तुमा आफ्नो उपस्थिति देखाए जस्तै हम्वडापनले नेपालको वामपन्थी, आन्दोलनको इतिहास चुलिएको छ। जसले सकारात्मक भन्दा नकारात्मक असर नै बढी पारेको छ। के निहुँ पाउँ कत्तिका बुकाउँ उखान त्यसै बनेको होइन यो दीर्घ साधना र अभ्यासबाट बनेको हो। ठीक यही प्रवृत्ति नेपालका भगौडाहरूमा लागु हुन्छ। जो संघर्ष गर्न सक्दैन, त्यस्ता रुन्चेहरू निहुँ खोजेर भाग्नु बाहेक अन्य बाटो देख्दैनन्। यो भयमित रोगले हाम्रा दलहरूलाई समाएको छ। यसका साथै ठाउँ दिनेहरू पनि मान्छे आयो भनेर खुशी हुन्छन्। त्यसको नियत र विचार तर्फ ध्यान दिन्नन्। जसले गर्दा तिनीहरूलाई कालान्तरमा क्षति पुग्छ। ठूलो हुँदैमा गुणस्तरयुक्त हुन्छ भन्न सकिन्न, सिमलका बला घरमा कसैले पनि हाल्दैन। तर यहाँ सिमल अत्यधिक रूचाउने चलन छ। जसलेगर्दा धेरै घर भत्केका छन् र भत्किने अवस्थामा छन्। ती खन्डहरू भित्र कति दिन ओत लागेर बस्ने भन्ने विषयमा सोचनीय स्थिति वर्तमानको प्रसंगले राम्ररी बताइरहेको छ। चमेरोले दिनमा आँखा देख्दैन तर पनि उड्छ कतै ठोकिएर भूइँमा खस्छ। ठीक यही प्रवृत्ति आज देखा परिरहेको छ। कतै यस्तो पनि देखिन्छ कि मुकुन्डोधारीहरू सबैभन्दा बढी चिच्याउँछन्। चोरको खुट्टो काट् भन्दा सबैभन्दा अगाडि खुट्टा थुत्छन्। धेरै कार्यकर्तालाई शब्दमा नुन हालेर चर्काउने आफूले अर्को ढोकाबाट प्रवेश गरेर पूंजीपतिहरूको पाउ मोल्ने यो रोग आज हैजा बराबर भैरहेको छ। जसले इमान्दार कार्यकर्ताहरूलाई शिकार बनाएको छ।

मैले यी प्रसंगहरू उठाउनुको कारण सर्वप्रथम आफ्नै घर सुधार होइन भने बेइमानी र छलकपटको साहारामा अंगुर टिपेर खान नसक्ने फ्याउराले जस्तै गुलियो अंगुरलाई अमिलो दोष, लगाएर आफ्नो हुतिहारापनलाई चोख्याउने, साधु बनेर गाइको दुधले नुहाउने तर भित्र बेइमानी बाटो हिंड्ने प्रवृत्तिको अन्त्य गरिएन भने कुनै पनि दल वा संगठन निरन्तर रूपले रहन सक्दैनन्। सही हुँदाहुँदै पनि एकादेशको कथा बन्न पुग्छन्। विश्वमा यस्तो इतिहास धेरै छन्। टोपी जसले अर्काको सिलाउँछ, त्यो राम्रो छ भन्छ तर आफ्नो फाटेको छ, त्यसलाई राम्रो बनाएर लाउन जान्दैन भने त्यस्ताको सीप परिपक्व मान्न उचित नहोला। मैले यहाँ कुनै व्यक्तिप्रति लक्षित गरेर भन्न खोजेको होइन। आम पाठकहरूले यो प्रवृत्तिबाट बचुन् भनेर लेखिएको हो। कसैको स्वार्थपूरा गर्न आफ्नो जीवन बलिदान नदिउन भन्नका लागि सानो चर्चा गरेको हुँ। यसमा अन्य शंका गर्नुपर्दैन।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३१- २०६७ आषाढ ९ गते, बुधबार )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.