~नारायण भुसाल~
उनका आँखाभरी आँसु थिए । उनी रुँदै सारा घटनाक्रमहरु बताउँदै थिईन । हामी पनि एक आज्ञाकारी बालकले आफ्नी आमाले भनेको कथा निकै शान्तपूर्वक सुने जसरी एकाग्र भएर सुनिरहेका थियौँ । उनका कुरामा रिस, क्रोध, दया माया सबैजसो भावहरु मिसिएका थिए । उनी छिन् छिनमै कहिले खुशी हुन्थिन मुहार उज्यालो हुन्थ्यो । सायद प्रसङ्ग बदलिरहन्थ्यो अनि फेरि मनस्थिति बदलेको जस्तो गर्थिन । उनको कुराहरुको हाउभाउ फेरिरहेको हुन्थ्यो । कहिले गहभरी आँसु रोक्दै निकै सिरियस हुन्थिन अनि साहनुभुतिको खोजी गरे जसरी अनुहार मलिन बनाउँथिन् भने कहिले निकै रिसले दाह्रासम्म काट्थिन् । उनका कुराको रस सबैलाई पसिसकेको थियो त्येसैले होला सायद नजिकैबाट चिच्याउँदै हिँडेका हुलकाहुल मान्छेको पनि कसैलाई वास्ता नै थिएन ।
यति कुरा गरिसकेपछि उनको परिचय दिँदा राम्रो होला । उनको नाम सरिता बिक हो उनी रुकुमको एउटा बिपन्न दलित बस्तिमा जन्मेकी नेपाल आमाकी एक देशभक्त सुपुत्री हुन् हाल उनी दाङको लमहीमा एक सफल सिलाईकटाई तथा बुटिकको तालिम दिने व्यवसायी छिन् । उनको बुटिक निकै राम्रोसँग चलेको छ हामी डेड घण्टा जति बस्दा, अहो कति ग्राहक आएका उनलाई बोल्ने सम्म फुर्सद भएन । हामीले हाम्रो सम्पूर्ण विवरण दाखिल गरेपछि उनले आफ्नो दोकानमा काम गर्ने साथीलाई कामको जिम्मा लगाएर हामीसँग कुरा गर्न थालिन । अब उनका कुरा मैले परिमार्जित गरेर भन्नु भन्दा उनकै हुबहु प्रस्तुत दिँदा राम्रो होला । उनले कुरा यसरी सुरु गरिन् ।
म रुकुमको एउटा बिकट गाउँमा जन्मिएँ । सायद हजुरहरु कति म भन्दा पनि बिकट गाउँबाट हुनुहुन्छ होला । मेरी आमाले सधैं मलाई भनिरहनु हुन्थ्यो म जन्मिने बेलामा एकछिन केहि बोलिन रे अनि धेरै बेर रोएँ अरे त्येसैले उहाँले मलाई तैँले यो धर्तीमा धेरै संघर्ष गर्नु पर्ने हुनसक्छ तैँले धेरै दुखको सामना गर्नुपर्छ आदि आदि पहिला नबुझ्ने हुँदासम्म त मैले वास्ता नै गरिन आमाका कुरा पछि बुझ्ने भएपछि थाहा पाएँ कि हाम्रो समाजमा जन्मिँदा धेरै रुनेले जीवन भरि रुनु पर्छ भन्ने विश्वास रहेछ । एउटा दलित परिवारमा जन्मिएकी म पढाईलेखाई गर्ने तीब्र इच्छा हुँदा पनि सबैले यो केटीलाई केको पढ्नु पर्या होला भनेर हकार्थे मात्र । मैले अति नै गरे पछि घरबाट १ घण्टा लाग्ने स्कुलमा मलाई भर्ना गरिदिनु भयो । गाउँका सबै जसो केटाहरु पढ्न गए पनि केटीहरु एकदम थोरै थिए त्येसैले म सधैं केटाहरु सँगै स्कुल जानुपर्थ्यो । अलि सानो हुँदा त एक्लै जनै सक्दिन थिएँ , एक्लै भएँ भने स्कुल नै जान्नथे । पछि चार पाँच पढ्ने भए पछि एक्लै जाने आउने पनि गर्न थालेँ । म ६ मा पढ्ने बेलामा एउटा सेखर नाम गरेको बाहुन केटाले मलाई बाटोमा जबर्जस्ती गर्न खोजेको थियो तर भागेर ज्यान बचाए घरमा कसैसँग भन्न सकिन पढ्न जान दिन्नन भनेर । त्यो केटाले सधैँ जस्तो सताउँन थाल्यो, साथीहरु पनि ल्याउने जिस्काउने गर्थ्यो । म दिक्क भई सकेकी थिएँ सधैँ भाग्दा भाग्दा । एकदिनको कुरा हो उसले मलाई जबरजस्ती आफ्नो बल लगाएर एउटा झाडीमा लग्यो, हात खुट्टा बाँधिदियो अनि कपडा खोलिदियो । डरले मेरो सरिर भरि पसिनै पसिना भएको थियो, कामेको थियो अनि ममाथि जाई लग्न थालेको थियो मैले उसको हातमा निकै बेस्सरी टोकिदिए अनि हातखुट्टा बल्ल बल्ल खोलेर भागे ।
त्यतिबेला जनयुद्ध चलिरहेको थियो अरु मान्छेका मुखबाट समाजमा नराम्रो गर्ने, बलात्कार गर्ने, कालोबजारी गर्ने भ्रष्टाचार गर्ने, अनि सामन्ती विचारका मान्छेलाई माओवादीहरुले ठिक पार्छन भन्ने सुनेकी थिएँ । एकदिनको कुरा हो मैले सात क्लासमा पढ्थे स्कुलमा सात आठ जना कम्ब्याट ड्रेस लगाएर हाम्रो स्कुलमा आए अनि हाम्रै कक्षामा पनि आएर यसो भने, हेर्नुस साथीहरु यो सामन्तवादीहरुले हामीलाई निकै सताए, देश बर्बाद पारे, नेपाल आमाको अस्मिता माथि धवा बोले, भ्रष्टाचार, कालोबजारी, घुसखोरी, चेलीबेटीमाथि बलात्कार गरे आदि यस्तै के के बोले अनि हामीलाई पनि जनयुद्धमा लागि साथ दिनुहोस् , आउनुहोस् हातमा हात मिलाउँ यी सबै विकृतिहरुको अन्त्य गरि एक समृद्ध देश बनाउँ । खै मलाई के भयो उनीहरुका कुराले छोयो भनौँ क्यार अनि मैले आफ्नो नाम लेखाए, साथीहरुलाई घरमा भनिदेउ भनेर उनीहरुसँग गएँ । घरमा आमाले थाहा पाएर रुनु भयो रे, बाबा पनि धेरै दिन बाहिर नै जानु भएन रे ।
हाम्रो जनयुद्ध यात्रा चल्दै थियो धेरै लडाई भईरहेका थिए सधैँ भरि गोलाबारी चलिरहन्थ्यो । अझ भन्ने हो भने आफू नै एक जना सेना बनेर हातमा पेस्तोल बोकेकी थिएँ । म जनसेनामा भर्ती भएको खबर सुनेर शेखर भन्ने मान्छे भागेर तराईतिर लागेछ । बन्दुक पड्काउने, मान्छे मार्ने, लड्ने अब सामान्य भईसकेका थिए । सँगैको उठबसले, खानपिन मेरो साहस अनि उसको आफ्नो लक्ष्यप्रतिको दृढता आदि सबै कुराले होला मलाई राजनसँग निकै नजिक बनाएको थियो । राजन उमेरले भर्खर १९ को भए पनि निकै समझदार , बुद्धिमानी अनि साहसी थियो त्यसैले उसले हाम्रो क्षेत्रको इन्चार्जको जिम्मेवारी पाएको । राजन र म असल मित्र भैसकेका थियौँ , हामी सबै जसो मनका कुराहरु साटासाट गर्थ्यौं । अझ भन्दा हामीले एक अर्कालाई मन पराउँन नै थालेका थियौँ तर प्रेम प्रस्ताव कसैले राख्ने हिम्मत भएको थिएन । दुखसुखका कुरा गर्दै लडाईमा होमिदै गर्दा हाम्रा दिनहरु बितिरहेका थिए । हामीले एक अर्कालाई असाध्यै माया गर्न थालिसकेका थियौँ यतिकैमा एकदिनको कुरा हो हाम्रो जिल्ला इन्चार्जले हाम्रो सँगैको उठबस थाहा पाएछन् अनि उसलाई अर्कै ठाउँमा सारे ।
त्यतिबेला युध्दमा एक अर्काको प्रेममा परे कमजोर भइन्छ भन्ने मानसिकता थियो । उनलाई सारेपछि हाम्रो भेटघाट हुने सम्भावना निकै कम थियो, उनि कहिले काहिँ चेकजाँच गर्दै आउँथे अनि हाम्रो भेट हुन्थ्यो । हामी घन्टौसम्म माया प्रेमका कुरा गर्थ्यौ , एक अर्कालाई अंकमाल गर्थ्यौ अनि सँगै बसेर रुन्थ्यौ, हाँस्थ्यौ पनि भेट भएकाबेला । एकदिन राति खलंगामा हाम्रो फौजले आक्रमण गर्ने भयो, त्यसको नेतृत्व राजानले पाए आक्रमण गर्दा म पनि फौजमा परेकी थिए । रातिको १२ बजे आक्रमण भयो । हाम्रा फौजका थुप्रै साथी सहिद हुनुभयो । लडाईमा राजन पनि सहिद हुन पुगे, हाम्रा सारा सपना अधुरा हुने भए, सँगै बस्ने सँगै जिन्दगी काट्ने आदि आदि । धेरै समयसम्म म निकै रोएँ अँह जति रोए पनि मरेका मान्छे के आउँथे र उनी आएनन् । मैले उनको सम्झनामा धेरै आँसु बगाएँ फोटो हेरेर धेरै टोलाएँ ।
पछि दिल्लीमा हाम्रो पार्टी र नेपालका अरु राजनीतिक समूहबीच सम्झौता भएछ युद्ध बन्द गरेर शान्तिपूर्ण आन्दोलन गरेर सरकार ढाल्ने । १९ दिने आन्दोलन भयो राजाको सरकार ढल्यो, हाम्रा बारे धेरै कुरा उठे, सेना समायोजन गर्ने भन्ने कुरा उठ्यो । हामीलाई धेरै समय सिविरमा राखियो पछि अयोग्य बनेर निस्कनु पर्यो ७ वर्ष युद्ध लडेका हामी अयोग्य भएर घर फर्काइयौँ ।
सशस्त्र युद्ध लडेर अयोग्य भई घर फर्केका हामी । समाजले सहजै स्वीकार गर्ने परिस्थिती पनि थिएन त्यहिमाथि म केटी मान्छे । जेन तेन धेरै गुनासो सुनेर, टोकसो सहेर मैंले १ वर्ष जति बिताएँ । धेरै कुरा पचाएँ सुनेको नसुने झैँ गरेर बसेँ । म २३ बर्षकी भईसकेकी थिएँ । मेरो बिहे गर्ने उमेर भएको देखेर मेरा बाबु आमा निकै चिन्तित हुनुहुन्थ्यो म दलितकी छोरी त्यहिमाथि जनयुद्द लडेर आएकी माओवादी, विवाह नहोला भनेर निकै चिन्तित हुनुभो । पछि आफूभन्दा १० वर्ष जेठा ,पहिली श्रीमतीको ज्यान गएपछि एक्लै भएका धिरज परियारसँग मन नहुँदा नहुँदै पनि मेरो विवाह भयो ।
उनि बेकामे थिए । आय आर्जनको केही उपाए थिएन । त्यसैले उनले विदेश जाने निधो गरे, अनि १ वर्षपछि साउदी अरब गए । छ महिना जति राम्रै कमाई गरे सबै ठिकठाक चलिरहेको थियो । मलाई आफ्ना दुखका दिन समाप्त भएको जस्तो भएको थियो । तर दैबको नजर ममाथि लाग्न छोडेन, मेरो कोखबाट छोरा जन्म्यो, छोरा १२ दिनको हुँदा मेरो हातमा रातो मसीले लेखिएको पत्र पर्यो । धिरजको हेपाटाइटिसले ज्यान गएछ । म धेरै रोएँ कराएँ, आफ्नो जिन्दगी नै अन्त्य भएको जस्तो महसुस भयो । सहारा कोही थिएन, आमाले सानोमा भनेका धेरै कुरा सम्झन्थे अनि धेरै रुन्थे । आफ्ना बिगत सम्झिन्थे अनि झनै मन खिन्न हुन्थ्यो । ७ वर्ष लडे देशका नाममा तर अँह पार्टी सरकारमा गयो हामीलाई केही गरेन सधैँ दिक्क लाग्छ आफूले बेकारमा आफ्नो सिक्ने उमेर खेर फालेको जस्तो महसुस हुन्छ ।
पछि एकल महिलाको लागि दाङमा एउटा संस्थाले सिलाई कटाईको निशुल्क तालिम दिने कुरा सुनियो । दाङमा दिदीको घरमा बसेर ६ महिना तालिम लिएँ । १ वर्ष जति अरुको बुटिकमा काम गारी पैसा जम्मा गरेँ अनि पछि एउटा कोठा भाडामा लिएर आफ्नै बुटिक खोलेँ । २ वर्ष भयो यो बुटिक खोलेको सबै राम्रै चलेको छ ३ जनालाई काम पनि दिएकी छु । छोरो पनि ४ वर्षको भयो । भर्खर स्कुल लगाईदिएकी छु ।
अझै पनि आफ्नै बिगत सम्झेर मन अमिलो हुन्छ । आफुले बिताएका ७ वर्षको हरेक हिसाब खोज्न मन लाग्छ तर के गर्नु को सँग खोज्नु ? कहाँ गएर आफ्ना गुनासा पोखुँ ? कुनै ठाउँ नै छैन । खै मैले लडेको जनयुद्धको प्रतिफल देशले कहिले पाउने हो ?
(स्रोत : UNN.com)
