यस धर्तीमा (म पनि) डाँडामाथिको
घामजस्तो भएर आएको हुँ
सन्ध्यापछि
घाम डाँडाबाट हराउनेछ !
प्रकृति र घामको प्रेम हेर
जून र ताराहरूको मिलन हेर
मैले मृत्यु भोग्नुअघि यो धर्तीमा
तिमिसंग यस्तै प्रेम माग्न आएको छु !
यहाँ सबथोक खरिद-बिक्रीमा छन्
तिमि पनि थोकजस्तै बिक्री हुन चाहान्छौ ?
नत्र किन आशंकाको बादल बोकेर
हावासंगै उड्न खोज्छौ ?
को हो र त्यो हावा ?
जाबो रूखबाट पात झार्यो भन्दैमा
तिमि उसैको पछिपछि कुद्छौ !
सुख त एउटा भ्रम हो
भ्रमभित्र अल्झिएको कच्चा प्रेम हो
आखिर दुखमा जस्तो सुखमा
कहाँ पाउछौ तिमि जीवितप्रेम ?
त्यसैले म त भन्छु –
अझै दुखको चट्याङ्ग परोस मैमाथि
र मेरो प्रेमलाई
अमर बनाउन सकूँ !
(स्रोत : Fyangkhola )