भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर , हारेर मैले नोकरी छाडिदिएँ ।
मैले आफ्नो स्वाभिमान र इमानलाई छाड्न नसक्दा , मलिन हुने केटाकेटीहरूको अनुहार नोकरी छाडेपछि झन् मलिन हुने नै भयो । ‘‘खेतीपातीमै रमाउँछु बुझ्यौ , दुःखैको जिलो बरू मीठो बुझ्यौ !’’ स्वस्नी र छोराछोरीलाई भनें । उनीहरू बोलेनन् । सिद्धान्ततः मेरो विचारसित उनीहरू सहमत भए तर ‘खेतीबाट गुजारा ?’ अहँ , उनीहरू खुसी भएनन् ।
एकदिन म सडकमा आफ्नै धुनमा एक छेऊबाट हिंड्दै थिएँ । अचानक मेरो छेऊमै किल्चिउँलाझैं गरी एउटा गाडी आएर रोकियो । म डराएँ र झन् छेऊ लागें ।
‘‘ओ सज्जनजी ! चिन्नु भएन ? जागिर के छाड्नुभयो , हामीलाई पनि बिर्सिदिने ?’’
एउटा परिचित अनुहार गाडीबाट टाउको बाहिर निकालेर चिच्याउँदै थियो ।
पूर्व परिचित सहकर्मी साथीको स्नेहयुक्त संबोधनले म झस्किएँ र खुसी भएँ । म सडकमा मिल्किएको मामुली मान्छे भइसकेको मान्छेसित पनि उस्तेै सौहार्दता…? हात हल्लाएँ । मित्रता टुट्दैन , टुट्ने छैन – भनें । उनी हाँस्दै अघि बढे । कार हुइँक्याए ।
मेरो सकारात्मक सोचले यो सोच्नै सकेन कि उनले मसित स्नेह व्यक्त गर्न गाडी रोकेका थिएनन् । बरू मलाई हियाउन । मानौं भन्न – ‘महाशय ! देख्नुभयो इमानको हविगत ? चाख्नुभयो नैतिकताको मीठो फल ? चढ्न पाउनुहुन्छ सात जन्ममा पनि यस्तो चिल्लो गाडी ?’
नभए त गाडी रोकिसकेपछि कि आफू गाडीबाट उत्रिन्थे कि मलाई गाडीमा चढाउँथे – मेरो सकारात्मक सोचले यो पनि सोच्नै सकेन ।
तैपनि टाढा पुगिसकेको गाडी र मैले जागिर खाँदा कुममा कुम मिलाउन नसकेको मेरो त्यस भ्रष्ट साथीप्रति म पूर्ण समर्पित हुँदै हात हल्लाउँदै थिएँ ।
भन्दै थिएँ – ‘‘माया नमार्नु होला ! बाटामा देख्दा बोल्नु होला….!’’