तिमीले लेखेको “के नेपाल सानो छ ?” निबन्ध आज नितान्त गलत लाग्न थालेको छ । तिमीले त्यो निबन्ध लेखेर ममा खोक्रो आडम्बरी भरिदिएका थियौ । तिम्रो निबन्ध जब म दोहोर्याइ दोहोर्याइ पढ्थे तब लाग्थ्यो नेपाली जस्तो सर्बोत्तम मानव उपाधी अरु कुनै छैन । ममा गर्व भरिएको थियो ,जब त्यो हरफ आउथ्यो “हिरा सानै हुन्छ ,मोती सानै हुन्छ आँखा भित्रको नानी सानै हुन्छ । ” म आनन्दपुरको सैरमा निस्कन्थे । मलाई लाग्थ्यो आखिर नेपाल भौगोलिक रुपमा पो सानो छ ,बिशेषताले त पछी परेको छैन नि ।
आज त्यो गर्व समय अगावै तुहिएको छ । नेपालको बचेँ खुचेको भु-भाग भारतमा गभिदै छ । दिन प्रतिदिन साघुरिदै छ तिम्रो नजरको नेपाल । आफ्नो पुर्खाले सिर्जित मुलुक अब टुक्रा टुक्रा पारेर भाग बण्डा गरिदै छ । अब भन लक्ष्मीप्रसाद के नेपाल ठुलो छ ? तिमीले नेपाली वीरताको बारेमा खुब फलाकेका थियौ । भन्थ्यौ एक ताका सुर्य अस्त नहुने शक्तीलाई पराजित गरेका थियौ भनेर । म कती पटक पाखुर मुसर्थे, जब त्यो हरफ आउथ्यो । मेरो जिउ फुङ्ग फुलेर आनयासै शक्ती सन्चयको अनुभव हुन्थ्यो तर आज त्यो शक्तीमा तुषरोपात भएको छ । आज नेपाली दुई छाक जुटाउने क्रममा ढाडमा गोली थापेर ईराकको कुनै अनकण्टार ठाउँमा लडिरहेका छन । छैन तिनमा कुनै वीरता , छ त केवल बाध्यता र तिरस्कार । जाबो दुई छाकको लागि ढाडमा गोली थाप्नु पर्ने यो वीरता हो कि लाक्षीपन ? केही अर्थ राख्यो तिम्रो वीरताको बयानले ? तिमीले दिएको बहादुरीको उपमा अब भारतको कुनै सेठको द्वारपालको पर्यायवाची भएको छ । भारतीय र अङ्रेजको भाडाको सिपाइ बनिएको छ ।
हामी थोरै भाडा पाउन अरुको मुलुकको लागि गोली हान्दै छौ तर आफ्नो मुलुकमा दिन प्रतिदिन बिदेशीको दाईं हुँदा पनि बेखबर छौ । अब भन लक्ष्मीप्रसाद के नेपालीले वीरताको गर्व गर्नु मुनासिव हुन्छ ? तिमीले लेखेका थियौ संसारमा शान्तीको पाठ पढाउने गौतम बुद्धको जन्मस्थल नेपाल भनेर । मलाई त्यही बेला लुम्बिनी जान औधी मन लागेको थियो तर अफसोच बेला बेलामा तिम्रो गौतम बुद्धलाई भारतिय नागरिकता दिलाइन्छ । कहिले त भक्कानो फुटेर रुन मन लाग्छ जब गौतम बुद्धको जन्म भारतमा भएको भन्ने पत्र पत्रीका छ्याप छ्याप्ती देख्छु । न म च्यात्न सक्छु र न चिच्याउन सक्छु ।
मैले चिच्याए पनि कसैले विश्वाश गर्दैनन लक्ष्मीप्रसाद किन भने संसारमा हाम्रो आवाज सुन्ने कोही छैन । अब त बानी परिसकेको छ । कसैलाई कसैलाई अचम्म पार्न भन्ने गरेको छु “गौतम बुद्ध नेपाल म जन्मिएको भनेर “। अब भन लक्ष्मीप्रसाद शान्तीको सन्देश हामीले दिएको कि संयुक्त राष्ट्र संघको अनमिनले हामीलाई दिएको ? तिमीले मलाई खोक्रो गर्व गरायौ , नेपालको खोलानालाको नाममा । नेपालको हरियो बनको नाममा । नेपालको खानि-खजनाको नाममा । के पाए मैले त्यो खानि बाट ? त्यो पानी बाट ? तिमी गर्मीमा तराई जाउ , उर्वर जमिन चिरा परेर छीया छिया भएको हुन्छ तर हाम्रै पानीले भारतमा सोहोरी नसक्ने फसल उमार्दै हुन्छन । अनी बर्षामा तराई जाउ गरीब किसान एक काँधमा बालखा छोरी लिएर डुबेको घरबाट निस्कदै शरण खोजेको देख्नेछौ । त्यो के काम पानीको जब आवश्यकतामा पाइन्न, अरु बेला घर डुबिन्छ ? तिमी रसियावाल खुर्द लोटन नजाउ अन्यथा गरीब नेपालीको जेथा-जमिन डुबेको देख्दा मन रुने छ । म फकाउन सक्दिन । जल श्रोतबाट उज्यालो जन्मिन्छ रे अन्त । हाम्रो मुलुकमा अन्धकार निस्किन्छ । नपत्याए आउ लक्ष्मीप्रसाद हाम्रो घर ,कहिले काही बत्ती बल्छ । भन लक्ष्मी प्रसाद तिमीले प्राकृतिक श्रोतको धनी भनेको हैन , खै त धन ? हाम्
रो सम्पती हामी भन्दा बिदेशीले बढी उपयोग गर्छन् । हामी त केवल पाले हौ ,प्रकृतिक श्रोतको । उपयोग कर्ता अर्कै छ । तिमी खुब कल्पना गर्थ्यौ – वाग्नर कोदालो खनिरहेका होलान, सेक्स्पियर हलो जोत्दै होलान भनेर । तर लक्ष्मीप्रसाद यहाँ बेदना अर्कै छ, माथलो गाउँका वाग्ले साउदीको मरुभुमीमा कोदालो हान्दै छन । हलो जोत्दा जोत्दैको शंकरे दुई गास टार्न दुबइमा कमारो भएको छ । तिमीले भने जस्तो ट्युसियन र टर्नर भेडा चराउन कहिले आएनन बरु भएका टाठा बाठा कतारमा भेडा चराउन गएका छन । कहिले काही खबर आउछ , “तापक्रम ४० छ ,पिउने पानी पाइन्न । साहुलाई खुशी पार्न सके भने आगु दशैमा टिका थाप्न आउछु । मेरो चिन्ता नगरेस । सम्झना छ ” ।
कस्तो बिडम्बना , प्रेमिले प्रेमिकाको माया पाउँदैन, श्रीमानले श्रीमती भन्न पाउँदैन, छोरो हुर्किन्छ बाबुको अनुहार नहेरी । के हो यस्तो लक्ष्मीप्रसाद ? तिमीले कहिले यसको कल्पना गरेका थियौ ? तिमीले सोचे झै यहाँ सोक्रेट्स गुफामा घोत्लिदैनन, यहाँका चेलीबेटी बिदेशको बेश्यालयमा झोक्राएका हुन्छन । कहिले यसको कल्पना गरेको थियौ ? तिमीले लेखेका थियौ – महाकवि कालिदास आषाढको पन्ध्रमा रोपाइँको धारा प्रवाह गीत गाउदै हुनेछन भनेर । तिमी एक्दमै गलत रहेछौ । यहाँ कालिदास आएर कहिले आषाढको गीत गाएनन बरु यहाँ भएका रबिदास, हरिदास , गरीबदास र बिष्णुदास त्यही कालिदास कै मुलुकको गीत हरक्षण गाउछन, आषाढ पन्ध्रमा मात्र हैन । यहाँका युवाले बिर्सिसकेक छन आषाढ पन्ध्रको गीत कस्तो हुन्छ भनेर । बिहान् उठिन्छ बिदेशी गीत संगै,खाइन्छ बिदेशी गीत संगै र बेलुका सुतिन्छ त्यसै सँग । ल भन लक्ष्मीप्रसाद तिमीले भने झै कहिले आए त कालिदास झ्याउरे गीत गाउन ? हेर लक्ष्मीप्रसाद तिमी अहिले मेरो नजरमा निकै गलत साबित भईसकेका छौ । तिमीले नेपाली भाषाको माध्यमबाट समग्र नेपालीलाई एकताको सुत्रमा बाध्ने प्रयास गरेका थियौ तर त्यो सुत्रमा नेपाल अटेन । अहिले १२- १५ जनाले बोल्ने भाषाको लागि नेपाललाई टुक्रा टुक्रा पारीदै छ ।
न पत्याए तराईमा हेर्न जाउ ,तर होसियार साथ । फेरी तिम्रो सालीक भनेर तिम्रो शरीर नै ढलाउन बेर छैन । तिमीले “के नेपाल सानो छ ?” जस्तो निबन्ध अलिक गलत समयमा गलत सोच राखेर गलत मान्छेलाई पढ्न दिएछौ । तिमीले त्यो निबन्ध मार्फत हामीलाई जातिय घमण्डको आरामदायी डस्नामा सुतायौ र खोक्रो आड्म्बरीको सिरकले छोपिदियौ । फलत हामी सुतिरहेका छौ मस्त सँग । संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने नेपाल बन्द गरेर मस्त सुतिरहेका छौ , जाग्ने कहिले हो निस्चित छैन….
(स्रोत : Brtnepal)