व्यङ्ग्य कविता : ढीइइइइइइलाआआआइइइइइइइ

~चट्याङ मास्टर~Chatyang Master

संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रो लागेझैं
संसारभरिको ढिलाइ पनि नेपालमै आएर थुप्रो लागेको छ
हामीले क्रान्तिकारी अग्रगामी छलाङ मार्दै उफ्रँदा पनि
दमको ज्वरोले ग्रस्त चिप्लेकिरो हामीभन्दा अगाडि लागेको छ
यहाँ ढिलाइ पनि यति ढीइइइइइलो हुने गरेको छ।
दस वर्ष भइसक्यो कुरेको पञ्चबर्षीय योजनालाई, आइपुग्दैन
कुनै दिन आयो भने कार्यान्वयन हुन् कति वर्ष कुर्नुपर्ला?
६०१ जनाले ६ वर्ष लेखिसके संविधान, सकिँदैन
कुनै दिन आयो भने कार्यान्वयन हुन् कति वर्ष कुर्नुपर्ला?
जन्मनै ढिलो-
एक परिवारमा एक सुत्केरो परेपछि
दोस्रो सुत्केरो पर्न दोस्रो पुस्ता कुर्नु पर्छ
मर्न नै ढिलो-
उहिले औसत ५० बर्षमा मानिस मर्थे
अब त मर्नै पनि ७९ वर्ष कुर्नु पर्छ
भेन्टिलेटर भन्नेले भेट्यो भने त झन्
अर्को थप केही दिन कुर्नु पर्छ।
गर्न नै ढिलो-
त्यत्रो आयु बढ्दा पनि,
यहाँको अदालतबाट मुद्दाको अन्तिम फैसला आउनु भन्दा
उता चित्रगुप्तको अदालतबाट अन्तिम फैसला पहिले आइसक्छ
बाँचुन्जेल मुद्दा लडिराख, तारिख खेपिराख
झगडियाको बरखी सकिपछि मात्रै यहाँ सुनुवाइको पालो आउँछ।
हुँदाहुँदा बिजुली पनि ढिलो हिँड्न थाल्यो यहाँ-
स्विच अन गरेपछि दुइफिट परको बत्तिसम्मको यात्रा पुरा गर्न
बिजुलीलाइ समेत ९ घण्टा लाग्छ।
बिजुली त लौ प्रविधि बुढो भयो भनौँ,
इलेक्ट्रोन पनि किन ढिलो हिड्छ?
वल्लो कोठाबाट पल्लो कोठामा
मोबाइल फोन सम्पर्क हुन् आधाघन्टा मरिमरि थिच्दा लाग्छ!

गार्हस्थ जीवन प्रवेश गर्नु अगाडि जगिर खान जाँच दियो
नतिजा आउँदासम्म सन्यासाश्रमको उमेर गइसक्छ।

मेलम्चीको पानीका कुरा गर्ने बाजे बितिसके
नातीले खानेपानीलाई जार कि बोतल भन्न थालि सक्यो
पानी माने त अब ऊ फोहर बुझ्छ
नयाँ पुस्ताको भाषा समेतमा परिवर्तन आइसक्यो
“मेलम्चीको पानी” आए पनि यहाँ
नखाइदेलान भन्ने पिर लागिसक्यो
यहाँ ढिलाइ पनि यति ढीइइइइइलो भइसक्यो।
नेपालको वर्तमान संविधानमा थेसिस लेखेर बुझाएको विद्यार्थीलाई
भाइभा दिन बोलाहट आउँदासम्म
संविधानको नया मोडेल आइसक्छ
विदेशमा प्रतिघन्टा ४०० किमि गुड्ने मोटर पनि
काठमान्डुमा ४०० बित्ता गुड्न ४ घण्टा लाग्छ
काठमान्डु बाहिर गुडेको मोटर गन्तव्यमा पुग्ने त कहिले हो कहिले
गति बढाउन पहिले भिर खोज्दै खोलातिर पो जाइलाग्छ।
दस बजेको अफिस पुग्न कर्मचारीको १२ बज्छ
सेवाग्राहीले २ बजेपछि मात्रै कार्यालयमा प्रवेश पाउँछ
बेलुका भट्टीमा भेटियो भने भेटियो
नत्रता सम्बन्धित हाकिम भेट्नै पनि ६ महिना लाग्छ
“तपाइँको काम हुन्छ” भनेपछि ६ महिना, र-
“भोलि पक्का हुन्छ” भने पछि कम्तिमा अर्को ६ महिना जान्छ
यहाँ ढिलाइ पनि यति ढीइइइइइलो हुन्छ।
चाँडो पढाइ सक्न हिँडेको बिद्यार्थी स्कुलमा ताला ठोकेर फर्कन्छ
चाँडो कमाउन हिँडेको मजदूर उद्योगमा आगो सल्काएर आउँछ
चाँडो काम गर्न अफिस पुगेको कर्मचारी हाकिम घेरेर बस्छ
चाँडो योजना सम्पन्न गराउन स्थानीय धर्ना दिएर सुत्छ
चाँडो संविधान बनाउन चुनिएको सभासद भाषण दिँदै हराउँछ
अनि संसारभरिको ढिलाइ यहाँ न थुप्रिएर कहाँ जान्छ?
शौचालय मात्रै बाँकी रह्यो अब
जहाँ जानेबित्तिकै आफ्नो काम हुन्छ
किन भने न त्यहाँ कुनै दर्ता चलानी
न त बोर्डमा हाकिमको नाम हुन्छ।

(स्रोत : Sajhamanch.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.