कालो प्रहर
ती जूनले धोएका रातहरु
झिसमिसेमै मर्छन्
हिमाल सुनको लुगा लगाउँछ
अनी यी आँखाहरु
अखबारमा ओछ्याउँछु
आज पत्रीका नै भिन्न छ
धुँवा गनाउँछ
रगत बगेको छ
पानी पानीमा
कसैको बस्ती डुबेछ
पापी दैवले सबै लुटेछ
म पढ्दै थिएँ
भित्र मुलुकमा प्रकृती बहुलाएछ ।
मेरो देशमा
तिम्रो देशमा
उनिहरु स्कुल बनाउँछन्
सडक खनाउँछन्
खुसी दिन्छन्
तर बिडम्बना
आज,उनिहरुकै खुसी लुटिएछ
म भारी मुटुले
पत्रीका पल्टाउँछु
मेरो जापानी साथीको
आँसु चुहिन्छ
उस्को घर बगाएछ
उस्को भर बगाएछ
म पढ्दै थिएँ
भित्र मुलुकमा दैव खनिएछ ।।
सुनामी पछिको
अर्को बिहान
उजाड भग्नावशेषका खातहरु
ओल्टाई पल्टाई हेरीछन्
ति जापानी दिदीले
न उनको किताब भेटिछन्
न उनको गुलाब भेटिछन्
लप्प टाँसिएको
रुखकै जरा छेउ
बहिनीको कपाल भेटिछन्
आमाको रुमाल भेटिछन्
रोईछन्
कराईछन्
म पढ्दै थिएँ
भित्र मुलुकमा मुटु चिरिएछ ।।
ठिकै छ
यहाँ बस्ती बग्दैमा
अस्तित्व बग्दैन
रुख ढल्दैमा
बिउ मर्दैन
पापी प्रकृती
तैँले बुझे हुन्छ
मेरो साथीको देश
त्यो देश नै रहन्छ
तैँले बुझे हुन्छ
एक छेउ हल्लिँदैमा
यहाँ जगत हल्लिँदैन
तैँले बुझे हुन्छ
तैँ सँग लड्न
यहाँ जापान अडिग छ
रुख मर्ला
घर बग्ला
मेरा साथीहरु बग्लान्
तर जापान जिवितै छ ।
(स्रोत : Satakosahitya)