~जीव “अजीव”~
लटरम्मै सेतै रात्तै, बुकी र गुराँस
भीर–पखेरामा फक्रँदै र मगमगाउँदै गर्दा
विश्व नै पटुकीमा बाँधेर
मेरो सगरमाथाले मुस्कान छर्दै गर्दा
देशको मूल कानुन बनाउन
संविधानसभाको मञ्चन हुँदै गर्दा
अनायासै बेतुकमा, बेमौसमको बाजा बनाउँदै
चटकेनी बनेर मुकुन्डो धारण गर्दै
नेपथ्यबाट आएकी एउटी पात्र
ए हजुर, कस्तो छ हल्ला त्यता?
के तपाईलाई थाहा छ–कस्ती छे संघीयता?
हल्ला सुनाउनेहरू
त्यसलाई बोलाउनेहरू
मुक्त क48ठले प्रशंसा गर्छन्
स्वीजरल्यान्डमा त साह्रै च्वाँक छे रे
अमेरिकामा पनि व्यूटिफुल छे रे
अन्य राष्ट्रमा साहै्र विकासी छे रे
अझ हाइव्रीड बनेर यो नेपालमा आकी छे रे
कल्पनाको लड्डु घ्यूसँग खाँदै
नयाँ रजौटाका–नयाँ बादशाह बन्ने सपना देख्दै
सोझासाझा जनतालाई
सधै धोकाको पोका दिने नेताहरू
लाडिंदै, मात्दै, हौसिंदै, उत्तेजित हुँदै
हरदम आंठो मिच्ने छिमेकी लमी दाईलाई
कैयौं पटक बधाई दिंदै, दलाली गर्दै
रातो कार्पेट विछ्याउँदै, साष्टाड्ड दन्डवत गर्दै
त्यही मिचुवाको इशारामा विखन्डनलाई स्वागत गर्दै
मेरो हजुर, देख्नु भा छ? नफुटेका आँखामाथि भेगुताको फेटा
बलात तवरले भित्रायाइएकी कस्ती छे संघीयता?
नाइजेरिया र इथियोपिया जस्ता देशलाई
रोग, भोग, अशिक्षा, बेरोजगार, हत्याहिंसा अशान्तिको
आगोमा झोसल्दै र पिरोल्दै
आँखामा लाउने गाजल
गालामा लाएर चम्किंदै, झम्किंदै, मस्किंदै
नाकमाथि लाउने टिका
नाकको तल लगाएर विजेता ठान्दै हस्किंदै
विभिन्न जातजाति र सम्प्रदाय बीचको
एकताको डोरीलाई टुक्रा पारी झुम्का बनाउँदै
हिमाल, पहाड, तराईको बन्धुत्वलाई
कलुषित र वैरभावमा बदल्दै
मेची र कालीको, जनकपुर र लुम्बिनीको मन टुक्राउँदै
बागमती र कर्णालीको सम्बन्ध सलल पार्दै
आएकी छे संघीयता,
ती पापीहरू मति बिग्रे झैं गरी
कुन्नी किन रूचाए त्यो अधर्मिनीलाई, त्यो असर्मिनीलाई
हाम्री प्यारी आमालाई छियाछिया पार्नै अपराधिनीलाई
च्व…च्व…अस्मितामाथि प्रश्नचिन्ह लागि सक्यो
त्यसैले त त्यो डंकिनीलाई लखेट्न सचेत जनता जागी सक्यो।
देउखुरी, बडहरा
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २९ – २०६७ जेष्ठ २६ गते, बुधबार )