कथा : गफी

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

मेरो अंगालोमा बाँधिएर ऊ धेरै बेर रोइ ।
शायद पहिलोपटक हुनुपर्छ, नत्र यो चंचल हँसमुख र गफी केटीका आँखाहरूमा अनायास यस्तरी आँसु भरिएको मैले कहिल्यै देखेको थिइनँ ।

रबिन स्क्वायरको फराकिलो आँगन होस् या साँझ ढलेपछिको सामुद्रिक किनार हरेक पलको भेटमा उसँग खुसी भएका रमाइला क्षणहरू मात्र सम्झनामा छन । हाँसेका, रमाएका र गफ़िएका पलहरू छन । तेल अभिभको इबेन गिबरोलस्थित नगरपालिका भवन अगाडि विशाल प्रांगण छ जहाँ तलाउको छेवैमा राखिएका कुर्सीमा बसेर हामी दुई बिदाइका अन्तिम पलहरू गनिरहेका छौ ।

छुट्टिने बेला उसको अनुहार मलीन र आँखाहरू रसिला भएका छन । चुपचाप छौं । बोल्ने शव्दहरू कतै लुप्त भएका छन । यतिबेला रबिन स्क्वायर र यो शहर पुरै सुनशान छ, स्तब्ध छ, मानौं कैयौं जुलुस, भाषण, बिरोधका भीडहरू वा सांस्कृतिक कन्सर्टहरूको धङघङीबाट क्लान्त भएर आज यो निदाएको होस् । बायाँ छेउमा इज्याक राबिन मूर्ति बनेर उभिएका छन जो कुनै दिन यही आँगनमा भेला भएकाहरूलाई सम्बोधन गर्दागर्दै गोलि खाएर ढलेका थिए, त्यही बेला देखि यसलाई रबिन स्क्वायर भनिन थाल्यो ।

अगाडि डेभीड मेलेख (राजा डेबिड) नाउँ गरेको सडक फैलिएको छ, जो सिधा इखिलोभ अस्पतालसम्म पुग्छ, मेरो कर्मथलो, जहाँ पहिलोपटक हाम्रो भेट भएको थियो । दुवै आफ्नो देशबाट टाढा इजरायलमा काम गर्न आइपुगेको नाताले आफ्नै भाषामा सुख दुख बाड्ने र एउटै प्रकृतिको काम र कर्मथलोमा भेटिएका सहयात्रीमात्र थियौं हामीहरू । ऊ न मेरी प्रेमिका न जीवनसाथी, तर हाम्रा अनुभूति र भोगाइहरू समान थिए ।

सधैं जस्तै आजपनि शपिंग सेन्टरको ढोका अगाडि उभिएर एउटा मगन्ते बुढो विरही धुनमा भायोलिन बजाइरहेको छ, उसले गाएको नबुझिने संगीतजस्तै उदास छन हाम्रा अनुभूतिहरू …
बुझ्ने नसकिने, अर्थ लाउनै नसकिने ।

म सान्त्वना दिदैं उसका हातहरू समाउछु, छुट्दा यति साह्रो दुख्नुपर्ने गरी हामी गाँसिएकै कहाँ थियौं र ? तरपनि बिदाइ कति नमिठो ।

यस अघि रबिन स्क्वायरको यो आगन यति उदास र अप्रिय कहिल्यै लागेको थिएन मलाई तर आज किन किन यो पार्क, पोखरी र व्यस्तता घिसार्दै बगेका यी सडकहरू अचम्मसँग नमीठा लागेका छन, वियोगपूर्ण कथाहरूको धमिलो कोलाज जस्तो ।

मौनतामा बग्रेल्ती समय खेर गइसकेपछि घाम ढल्न लाग्दा मैले भनेँ – “गफी! चिठी-पत्र हुदै गरोस ”
विनाकारण रुन्चे भएको आवाजलाई सम्हाल्दै उसले भनी – ‘बिर्सियौ भने ?’

नबिर्सनु अर्थात सम्झनु यो मेरो लागि अत्यन्त कठीन विषय थियो । विशेष गरी अल्साइमरले ग्रस्त भएकाहरूको ख्याल गर्दा गर्दा ‘नबिर्सने कुरा’ अत्यन्त भारी चुनौती झैं लाग्न थालेको थियो मलाई । तर जेजे बिर्सिए पनि ‘गफी’लाई बिर्सिन कहाँ सजिलो थियो र ?

ऊ अत्यन्त रमाइलो स्वाभावकी थिई । गम्भीरताको सानो लेशसम्म थिएन उसमा । यसैले पनि उसँगको साथ् मेरा लागि महत्वपूर्ण थियो । मेरा एक्ला र निरस पलहरूमा उसको उपस्थितिले खुसी बोकेर ल्याउथ्यो । म बोल्दै नबोल्ने र ऊ खुब गफ गर्ने मान्छे, त्यसैले म उसलाई ‘गफी’ भन्थें । बाहिर जे नाम र परिचय लिएर हिडेकी भएपनि ऊ मेरा लागि रमाइली, चटपटी र ‘गफी’ थिई ।

नेपाल गएपछि फेरि इजरायल फर्कन्न भन्ने उसलाई राम्रोसँग थाहा थियो । मेरा अनेकौं सपनाहरू थिए, इच्छा र आकांक्षाहरू थिए । विदेशको रहरले ती सबै चुडिएका थिए, तिनलाई फेरि जोड्ने यत्नका लागि परदेशमोह त्याग्नु अपरिहार्य थियो ।

क्षणभंगुर छ मानिसको जीवन, यही छोटो समयमा पनि हामीले कुन बाध्यतामा आफ्ना अमूल्य यौवनहरू, समयहरू बिक्रि गरेका थियौं । यो नियति ऊसँग पनि थियो र मसँग पनि । हरेकपल को हिसाब कति अमूल्य थियो हाम्रा लागि यसर्थ ऊ सधै मुस्काउथि र हास्न सिकाउथी । भन्थी – रोएर, दुखी भएर बर्वाद गर्नका निम्ति हामीसँग समय नै कहाँ छ र ?

यद्यपि मलाई थाहा थियो यो केटीसँग मेरो जस्तै कथा छ विवशताको, यो विदेशमा त्यही बाध्यतालाई अंगालेर रोइबस्ने समय कहाँ पो थियो र ? यसर्थ आफ्ना सबै खाले बिगतलाई मनको दराजमा सपक्क थन्क्याएर हामीले हास्न सिकिसकेका थियौं ।

पहिले पनि राबिन्स स्क्वायरको यो आँगनमा गफी र म धेरै पटक घुम्न आएका छौँ । जाडो महिनामा कफी र गर्मीमा जुस पिउँदै घन्टौं घण्टा गफ़िएका छौं । धेरैपटक अरु नेपाली, रसियन र फिलिपिनोहरू पनि हामीसँग शामिल भएर गफ गर्न यहाँ आएका छन । अब ती सबैलाई अतीतको नाम दिएर छाती भित्र राख्नेछु र बेला बेला पल्टाउनेछु । म सोच्छु – ती मध्ये सबैभन्दा मिठो सुखद र अविष्मरणीय हुनेछ गफी सँगका पलहरू । भोलि देखि जीवनले नयाँ मोड लिदैछ, अन्तत भविष्यका केही कल्पनाहरू र विगतका केही सम्झनाहरू बोकेर मेरो यो यात्रा विश्राम लाग्दैछ र गन्तव्यमा काठमाण्डौ लेखिएको नयाँ यात्रा आरम्भ हुदैछ ।

समुद्रमा छालहरू छचल्किएझैं मनमा अनेकौं कल्पनाका तरंगहरू मडारिइरहेका छन । के यो केटीलाई म जीवनभर सम्झिरहुँला? या बिर्सिउँला कुनै धमिलो सपनाजस्तो ? बगिजाने निठुरी समयको के भर ?

————–

कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौं रंगीन वत्तिहरूको चमक बोकेर तेल अभिभ शहरले आफ्नो रुप बदलिसकेको थियो । अब हामी दुइले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु थियो । साँझ ढलेपछि सूर्यले झैं चुपचाप बिदा माग्नु थियो ।

जाने घडी उसको आँखामा आँसु पोखिनु एकदम अस्वाभाविक र अनपेक्षित थियो । यदि हामीमा प्रेम पलाएको थियो भने जरुर भन्न सक्थ्यौं । बर्षौं देखि फुल्दै र झर्दै गर्ने यही सडक किनारको शिरिषको रुखनेर उभिएर वा उद्यानको अलिपर कुनामा राखिएको बेन्चमा बसेर हामी निस्फिक्री प्रपोज गर्न सक्थ्यौं । वा कुनै न कुनै बेला अभिव्यक्त हुन्थ्यो होला तर त्यस्तो कहिल्यै भएको थिएन ।

म असमन्जसमा परें, मलाई सोध्न मन लाग्यो – गफी के तिमी मलाई प्रेम गर्छौ ? तिम्रो आँखाको आँसुलाई म कसरी अर्थ्याउँ गफी ? के यो बिदाइको सामान्य भावुकता मात्र हो या तिम्रो प्रेम आँसु बनेर पोखिएको ? तर मेरा ओठहरूबाट कुनै शव्द निस्किएनन । वातावरण एकदम मौन थियो ।

उसका आँसुहरू अब थामिएका थिए ।
मेरो छातीभित्र सकेसम्म आफूलाई लुकाएर उसले भनी – “आई लभ यु .. ”
आकाश छुने उद्दाम रहर बोकेर उफ्रिरहेका पानीका चन्चल फोहोराको कलकल संगीतसँगै मिसिएर उसका यी तीन शब्दहरू धेरैबेर गुन्जिरहे, प्रतिध्वनित भइरहे ।

———————–
(समयको नदी कति वेगसँग बग्दोरहेछ । बीस वर्ष पछि ….)

आँखाहरू पनि अब त धमिला देखिन थालेका छन । कथाजस्तो सम्झना या सम्झनाजस्तो कथा – केही लेख्न बसेको छु । भित्रबाट श्रीमतीजी प्रश्न गर्छिन – “अघिदेखि एक्लै हास्दै के लेख्दैछौ हँ ? ”

रोमान्टिक भएर भनिदिन्छु – “अ लभ स्टोरी डियर …”
“यो उमेरमा पनि अँझै तिम्रो ‘लभ स्टोरी’ लेख्ने बानी हराएन है ? ” सधैंजस्तै उ प्रश्न गर्छे ।

म भन्छु – “यो बीस वर्ष अघि हामी इजरायल हुँदाको कथा हो – यो तिम्रो कथा हो ‘गफी’ ।”

April 21, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.