कथा : नटुङ्गिएको पत्र

~कृष्ण के.सी.~Krishna KC

समयको बहाव संगै म कति बहन सके वा सकिन त्यो नीलीमालाइ सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज l बिबाहमा दुबोको माला लगाएर औठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ l धुलै-धुलो,माकुराको जालोले झन्डै छोपिएको अबस्थाको त्यो फोटो कसरि रहन गयो यो खालि घरको भित्तामा थाहा छैन l फोटो अगाढी ठिङ्ग उभिएर एक टकले हेरिरहे l छोउछोउ लाग्यो अह सकिन l फोटो नजिकै रहेको पुरानो खाटमा थ्याच्च बसे l आँखा रसाएर, बिगत मडारिएर फनफनी नाच्न थाल्यो, त्यसै त अध्यारो कोठा झन् अध्यारो हुदै गयो l मन थाम्न सकिन l कोठाबाट बाहिरिए र नियाले आफ्नो नामको घर बारी गोठ लगाएतका जग्गा जमिनहरु l आगनको तुलसीको मठ भत्किएर निसाना पनि थिएन,गोठ पनि भत्किएर भताभुङ्ग भएको थियो ,घरै मुनिको मकैबारी उजाड थियो यी सबैले मलाइ नै हेरेर खुचिङ्ग गरे जस्तो लाग्यो l अट्टाहस हासोमा खिजाई रहे जस्तो लाग्यो l सकिन आफ्नै घर आँगनमा पनि पलभर अडिन l झल्यास्स सम्झिए आरुबोटे कान्छी भाउजुलाई l बारिमुनिको खोल्सापारी खरले छाएको सानो घरमा आफ्ना दुइ टुहुरा छोराहरुलाई लिएर जेनतेन आफ्नो जिबिका चलाएर बसेकी थिइन् कान्छी भाउजु l कारगिलको लडाइमा आफ्नो ज्यान गुमाएका कन्छा दाजुको पेन्सनका भरमा आफ्ना टुहुरा छोराहरुलाई हुर्काएर बस्थिन l तिनै कान्छी भाउजुले नीलीमाको हात मेरो हातमा थमाइदिएकि थिइन् l बुढा बा र एक्लो छोरामात्र भएको घरमा दुख नहोला त नि भनेर आफ्नो माइती गाउकी नीलीमालाइ मेरो घरमा भित्राएकि थिइन् l

बिबाहको ६-७ महिना मेलापात,हासो ठट्टामा हामी नया जोडी कम्ता रमाएका थिएनौ यो घरमा l बृध्द बाको सेवा बाहेक हामि संग के नै जिम्मेवारी थियो र l थियो भने केवल हातमुख जोड्नेको समस्या l लाउ-लाउ र खाउ-खाउ उमेरका दुवै हट्टा -कट्ठा जोडी कसैको मेला मजुरी गर्दा पनि राम्रै संग पुग्थ्यो l आरुबोटे कान्छी भाउजु पनि खुसि थिइन् हाम्रो जोडीको घरबार देखेर l कहिलेकाही आउथिन र अगेनाको छेवैमा बसेर फत्फताउतिन “हैन यिनीहरुले बच्चा बनाउदैनन कि क्या हो” यो सुनेर नीलीमा लाजले रातोपिरो बन्दै सकेजत्तिको मलाइ चिमोटेर बाहिरतिर भागी हाल्थिन l “खै भाउजु होलाननि भगवानले चाहादाका बखत ” टारी दिन्थे यस्तै यस्तै भनेर l मानबिय जीवनका भोगाइहरु क्रमिक रुपले भोगिदै थिए l कहिले खुसि कहिले निरसाका दिनहरु ढुन्मुनिदै आउथे l सके जति मिलेर बाड्थ्यौ नसकेकालाई सिमलेर पनछाउथ्यौ l चाहना र आकांक्षाका मिठामिठा कल्पनाहरु कल्पिन्थ्यौ र भबिष्य बुन्थ्यौ एक आपसमा उपयोग गर्ने लालसा राखेर l घरका भित्ताहरु रंगाउथ्यौ सपनाहरूका रंगहरु बटुलेर,ओच्छ्यानहरु सजाउथ्यौ आशातित फल प्राप्तिको आकांक्षा लिएर,आँगन सिङ्गार्थ्यौ आगन्तुक पाहुनाको क्रिडास्थल सम्झेर l दिनहरु बित्दै जान्थे स्वाभाविक क्रम्बद्दतामा हामीहरु रम्थ्यौ आफ्नै रोमान्च्क्तामा l

” कमरेड हामी आयौ ” एक साझ गाउँ निदाउदै थियो l चकमन्न अध्यारोमा एक हुल मानिसहरु हेलिए हाम्रो घरमा l क्रान्ति,समाजबाद,मार्क्स.लेनिन,माओ,पुरानो सत्ता,नया सत्ताका लामालामा भाषण र सपना बाडे हामी दुबैको रित्ता र चोखा दिमागमा अनि बाध्यकारी निर्णय सुनाइयो ‘एक घर एक सेना‘ l सुनिरहयौ,हेरिरहयौ l त्यो अध्यारो रातमा पनि टाउकोमा बाधिएका राता कपडाका सेता अक्षरहरु टल्किरहेका थिए l हतियारका नालहरु चम्किरहेका थिए l बुढोबा खोकिरहनु भएको थियो l छोरा बुहारीलाई मेरो कोखबाट न छुटाउनु भनेर बिन्ती बिसाएका हातहरु जोडी रहनु भएको थियो l डायरी पल्टियो कमाण्डरको अनि निर्णय सार्बजनिक गरियो-बुढाबाको रेखदेख गर्न कमरेड किरणलाई घरमै राख्ने र कमरेड नीलिमालाई लडाइको मोर्चामा सामेल गराउने भनेर l

हिजो सम्मका हाम्रा सपनाहरु निमेष भरमै उडेर भताभुङ्ग हुदै थिए,आशातित कल्पनाका रोमाञ्चित क्षणहरु बन्दुकका नालहरुमा कैद हुदै थिए बाध्यकारी निर्णयहरु गलपासो बनेर घाटीमा झुन्डिरहेका थिए l बिरोध र नाइँ नास्ती कमरेड हरुको राता किताबमा छैनन् भन्ने सुन्दै आएको हो त्यसैले बोल्नुको कुनै अर्थ थिएन l पुलुक्क नीलिमाको मुखमा हेरे डर र त्रासले निलिमा रातको त्यो अध्यारोमा पनि कालिमा बनेर टल्किरहेकी थिइन् l खुट्टाको थरथर कमाइले जानु पर्दाको बिकल्प खोजिरहेका थिए l सकी नसकी कमाण्डरमा बिन्ती बिसाए- “कमरेड देस र जनताको लागि क्रान्तिमा जानु गर्बकै कुरा हो तर निर्णयलाई अलिकन सच्चाउन अनुरोध गर्दछु यो मानेमा कि नीलीमा दुइ जिउकि छन् त्यसैले नीलिमालाई घरमै छाडेर म जादा राम्रो हुने थियो कि l” यति भन्न साथ् पेस्तोल भिरेकी महिला कमान्डर बोलि हालिन – “कमरेड किरण तपाइको माग ज्यादै उचित छ l महिलाको स्वास्थ्य र अबस्थाको हामीले बिचार नगरे कसले गर्छ त्यसैले कमरेड चिन्ता नलिनुस नीलिमा कमरेड हाललाई घरमै बस्न सक्नुहुन्छ बरु छिटो तपाइँ आफ्नो तैयारी गरि हाल्नुस l समय समयमा नीलिमालाइ भेट्न हामी तपाइलाई पठाई दिनेछौ l” यति सुन्न साथ् मैले लामो सास फेरे l उता नीलिमा भने सुक्सुकाउदै थिइन् l तयारीको बहानामा मैले नीलिमालाई आफुले ढाट्नु परेको यथार्थ बोध गराए र आफु छिट्टै आउने बाचाका साथ् बिदाइका हात हल्लाउदै लागे युद्धको मोर्चामा जहाको मोर्चामा म र म जस्तै धेरै बाध्यताका लडाकुहरु कैद गरिएका थिए l वरिपरी लालसेना बिचमा म बन्दुकबाट घेरिएको थिए,विचारबाट बाधिएको थिए l पछि फर्कदै हेरे नीलिमालाइ उनि शान्त थिइन्,शिर निहुरेको थियो l बुढो बा रोगग्रस्त शरीर लिएर पछि सम्म फत्फताउदै आइरहनु भयो l मैले सुनेन मेरा बा का कारुणिक बिन्तिहरु र सुन्नु पनि थिएन किनकी माया प्रेम र सद्भाव जस्ता आदर्शबादी शब्दहरु अब मेरा लागि केवल सुनिने तर भन्न नसकिने शब्दहरुमा गणना भैसकेका थिए l

दिनहरु आफ्नै गतिमा बित्दै बर्षमा परिणत भए अह मैले निलिमा र बुढो बा लाइ भेट्न पाइन् l हरेक पटक गरेका गुनासाहरु निरासामा परिणत हुन्थे l समय समयको पल्टन सरुवामा नया-नया स्थानका जंगल,झाडी पहरा र कन्दराहरु टाउको लुकाउने ओत बन्थे l करिब एक बर्षको पारिवारिक बिछोड पछि थाहा पाए नीलिमा र मेरो बिछोडमा मैले ढाटेको कुरालाई ठुलो बिषय बनाएर कारबाही स्वरुप परिवारसंगको भेटबाट बन्चित गरिएको रहेछ l जिन्दगीका सबै अपनत्वलाइ माइतीको दलानमा बिसाएर अपरिचित पराइ संग जीवनका बाकी दिनहरुलाई दाउमा राखेर बिताउन बाध्य एउटी कल्कलाउदी महिला जसले पराइको व्यक्तिसंग भर्खरै आफ्ना भावना,इच्छा र चाहनाहरु लाइ एकै चाहनाको कोसेली सम्झेर नफुक्ने गरि गाठो पारेर कस्दै थिइ,प्राप्त प्राकृतिक उपहारलाई माया प्रेमको जाल बनाएर सुन्दर रुप दिएर बुन्दै थिइ त्यस्ती निरपराध,अबोधं मेरो आफ्नै जिबनकी हिस्सेदार मेरो आफ्नै नीलिमालाई मेरै आखाको अगाढी बन्दुक भिराएर कसैको स्वार्थको लागि नपठाउनु के मेरो गल्ति थियो र ? ” अङ्कल अङ्कल तपाई किरण अङ्कल हो “l भर्खर जुङ्गाको रेखी ओठमाथी सल्बलाउदै गरेको पातलो गोरो बर्णको युबक मेरै अगाढी आएर मेरो परिचय सोधीखोजी गर्दा म झसङ्ग भए l ” किन र बाबु मैले त तिमीलाई चिनेन नि l” “आरुबोटे कान्छी भाउजुलाई चिन्नुहुन्छ होला नि l” ” अ साच्चै कान्छी भाउजु कहाँ हुनुहुन्छ मैले त यहाँ कतै देखिन नि l” आश्चर्यचकित भावमा सोध्दा उसका आँखा रसाएर बलिन्द्र धारामा परिणत भैसकेका थिए l माम्री परिसकेको घाउँ कोट्याएछु सायद त्यसैले रुदै सुक्सुकौदै उनि भन्दै गए- “अङ्कल हाम्री आमालाई सुराकीको आरोपमा पुलिसले पक्रेर मारिसके l म उहाको कान्छो छोरो बीराज हुँ l ठुलो दाजु धीरजलाई नीलीमा आन्टीले आफ्नो लोग्नेसङ्ग कतारमा नोकरी गर्न पठाउनुभएको छ म घरमा एक्लै बस्न नसकेर बजारतिर बस्ने गरेको छु l नीलीमा आन्टीले आफु जादा मलाइ तपाइको बाकस जिम्मा लगाएर जानुभएको छ l किरण अङ्कल आएपछि बुझाइदिनु बाकी केहि नभन्नु भनेर जानुभएको थियो बर्षौ भैसक्यो मेरो भेट पनि भएको छैन .l ” सेतो सारीको पहिरनकी कान्छी भाउजु,ति बेलाका नाङ्गै दगुर्ने टुहुरा बालक अनि आखामा राखेर पनि नबिझाउने नीलीमा सबै सबै मेरै आखा अघाडी नाच्न थाले l .शरीर सिथिल हुदै गयो,जमिन भसिएजस्तो लाग्यो,आकास खसेर मैलाई थिचे जस्तो लाग्यो l म रोइरहे उसले हेरीरह्यो l लडाइको मैदानमा लड्दा थिलाथिला भएर गलेको शरीर मैले थाम्नै सकिन l फर्कि आफ्नै घरको दलानमा आएर बसे जहा नीलीमाले आफ़ो जीवनलाई कसैको जिम्मा लगाएर जादा सम्झना स्वरुप राखिएको तस्बिर मात्र झुन्डिएर रहेको थियो l बिराज आफ्नो बाटो लगेपछि म थ्यच्च बसे झुण्डीएको निलिमको फोटोनिर l सम्झिए बर्षौ पहिले मरेकी मेरी आमालाई l किताब कापी राख्न हुन्छ भनेर आफुले माइतीबाट ल्याएको बाकस मलाइ दिनु भएको थियो l नीलीमा संग बिबाह भएपछी म संग रहेको आमाको त्यहि चिनोलाई नीलीमालाइ जिम्मा लगाएको थिए l त्यो दिन निलिमा सारै खुसि भएकी थिइन् l साँचो सहितको बाकस जिम्मा पाउदा उनलाई सम्पतीको साचो पाएको अनुभूति भएको र्थियो l बिबाहमा लगाइएका आफ्ना लुगलात्ता,बिबाहमा खिचिएका तस्बिरहरु र माइतीबाट पाएका अनमोल सम्झनाका चिनोहरु त्यहि बाकसमा चाबी लगाएर राख्ने गर्थिन l बिछौनामा पल्टिनु अघि जहिले पनि बाकसलाई खोलेर आफ्ना सामानहरुलाई एकपटक हेर्ने गर्थिन l कति प्यारो थियो त्यो बकस मेरी निलीमालाई l मानसपटल भरि अतित एक-एक गरि घुम्दै गए l बिगत र बर्तमानमा देखिएको खाडलका ठुलाठुला भ्वांग हरुले आफैलाई तर्साउन थाले अनि सहि र गलत के थियो छुट्याउन नसक्दाको परिणामले आफैलाई बर्साउन थाले l “अङ्कल यी लिनुस तपाइको बाकस र साचो म अहिले लाग्छु पनि भोलि आउछु र भेटौला l ” म बसेको छेवैमा निलिमाको बकस रखिदिएर उनि लागे आफ्नै गन्तव्यतिर l बाकस र नीलीमाको तस्बिरलाई पालैसङ्ग हेर्दै गए जतिपटक नीलीमालाई हेर्थे त्यति नै पटक नीलीमा म संग रिसाएर हेरे जस्तो लाग्थ्यो l पश्चाताप्का ज्वाला आँखाबाट निकालेको जस्तो लाग्थ्यो र पनि संयमित भै बाकसलाई खोलि हेरे l जग्गाको लालपुर्जा,बिबाह्का तस्बिरहरु,र त्यहि बिबाहमा लगाइएका हामी दुबैका एक-एक जोर लुगाका साथमा रखिएको चिठ्ठीको बन्दि खाम बाहेक केहि थिएन l होस् पनि के र जे दिएको थिए ति सबै थिए l डरले काम्दै चिठ्ठीको खामलाई खोले l चिठ्ठी मेरै नाममा झन्डै एक बर्ष अगाढी लेखिएको रहेछ जुन चिठीमा यस्तो लेखिएको थियो – मेरो प्राण ! अभागिनी नीलीमाको तर्फबाट धेरै धेरै सम्झना ! सर्बप्रथम माफी चाहन्छु तपाइले जिम्मा लगाएर गएका चिज बस्तुहरु सम्हाल्न नसकेकोमा l तपाइँ गएपछि बाबा बिरामीले थला पर्नु भयो उपचार गर्ने उपाए पनि भएन बाध्यता भयो जानीबुझी बुझ्पचाउन l थेग्न सक्नु भएन हामी माथिको बज्रपातलाई रुदैरुदै मेरो कोखमा बित्नुभयो l पराइकी नै सहि यो घरमा छोरीको दर्ज दिनुभएको थियो l बाबा बित्दा सिंगो गाउ पुरुष बिहिन थियो l सक्ने लडाइको मैदानमा थिए बाकि सबै खाडी मुलुक भासिएका थिए l त्यो कठिन परिस्थितिमा पनि बाबाको अन्तिम दाह सस्कार मेरै हातबाट दाग बत्ति दिएर गरे यसलाई अन्यथा नसोच्नुहोला l

पत्र पढ्दै थिए,आँखाले बोझ थेग्न सकेन कायरता देखाइहल्यो l आँसु चुहिएर पत्रलाई भिजाउदै जान्थ्यो पत्रमा केवल शब्दहरु थिए वास्तविक यथार्थ त उनीमा थिए l भित्तामा झुण्डीएको उनको तस्बिर पत्रको साक्षी थियो,बाताबरण शुन्य स्तब्ध थियो l पुन दोहोराएर शुरुबाटै पढे जहाँ एउटी महिलाका परिस्थितिजन्य बाध्यता र अप्ठ्याराहरु बिबशतामा जकड़ीएका थिए l

मेरो राजा,कोशिस मैले सबै गरेको हो तपाइको आगमनको प्रतिक्षाको लागि l गलत र सहि.राम्रो र नराम्रो केहीको प्रभाव नगरी माइतिको आँगनमा स्वतान्त्रतापुर्बक खेलेर हुर्किएकी एउटी नारी कसैको बाहुपासमा बाधिएपछि जीवन अन्जानमै भारी बन्दो रहेछ ति सबै भारीका पहाड हरुलाई सुस्त सुस्त बिसाउदै जादा पराइको मान्छे पनि आफ्नो बन्दो रहेछ l कसैको देखेर,अलिकन सुनेर भए पनि केहि कुरा पचाइदो रहेछ त्यसैले त होला बिबाहमा लगाएको रातो साडी पनि फाट्न नपाउदै पराइ पनि आफ्नो सबै भन्दा नजिकको बन्दो रहेछ l

पत्रलाई अगाढी बढाउनै सकिन जुरुक्क उठेर नीलीमाको तश्बिरलाइ सुम्सुमाए अनि चिच्चाउदै भने- मेरी नीलीमा तिमि महान हौ मैले तिम्रो भावनाको कदर गर्न जानिन सक्छ्यौ भने मेरो समू आएर मलाइ माफी देउ म तिम्रो जिन्दगी संग खेलवाड गर्ने नामर्द पुरुष हु l बफादारिताको चंगुलमा फसेर तिमि जस्तै अनगिन्ति नारीहरुको स्थितिको बास्तबिकता बोध गर्न नसकेकोमा मलाइ क्षमा देउ l भन्न त धेरै लागेको थियो तर त्यहाँ सुनिदिने कोहि थिएन l पत्रलाई फेरी पढ्दै गए लेखिएको थियो – एउटी नारी यौबनाताले भरिएपछि धन-दौलत,सम्पत्तीको सिमित घेराभित्र मात्र बाधिन नसक्दो रहिछ l उमेरको बिकाससंगै आमा बन्ने तृप्त अभिलाषाले जतिखेर पनि गिजोलि राख्दो रहेछ त्यसैले पनि होला मैले तपाइको प्रतीक्षा गर्न सकिन l मैले तपाई गएपछि देखे – रंगरोगन र मर्मत सम्भार गर्न नसकेपछि बस्ने घर पनि भुत बंगला बन्दो रहेछ अनि देखे पाखुराका बलले नाखोर्सिदा सम्म खेतबारी पनि उजाड उजाड बन्दा रहेछन l जसरि घरलाई सुन्दर बनाउन रंगरोगन र मर्मत सम्भारको,अनि हराभरा बनाउन खेताबारिलाई श्रम र पसिनाको आबस्यक्ता छ त्यसैगरी हाम्रो जिबन सुन्दर बनाउन पनि हामी दुइको आबस्यकता छ भनेर तपाइँले बुझ्न सक्नु भएन l यौबनाताले भरिएको मेरो यो शरीरलाई कहिले सम्म तपाइको प्रतिक्षामा फ़काइरहन सक्थे र सकिन त्यसैले पनि म बाध्य भए जिन्दगीका अगाढीका बाटो पहिल्याउनमा क्षमा चाहन्छु l मेरो यो अबस्था र समयलाई थेग्न बाँधको आबस्यक्ता महसुस गरे यसो भनेर तपाइको बाध्यता र बिबस्तालाई मैले अबमुल्यन गरेको नठान्नुहोला l यहाँ मेरो मन भुलाउने बाटो नै केहि रहेन l बाबा बित्नु भयो मेरो कोखमा,कान्छी दिदि पनि खोसिनु भयो मेरै आँखाका अगाढी अब आफै भन्नुस म कसरि के को आशामा बसु त्यसैले मेरो राजा नचाहेर पनि म जान बाध्य भए फेरी अर्को नया जिन्दिगी शुरुवातको लागि l तपाइको चिनो बाकस भतिज विराजको जिम्मा लगाएकी छु l तपाइको बाकी जिबन पनि सुन्दर तरिकाले बिताउनु होला l

पत्रको अन्त्य भएको थिएन सायद मुटुभित्र गाँठो परेर बसेका अनगिन्ति बेदनाका छालहरू लेख्नु थियो l नलेखिएकोमा नै मैले राम्रो ठाने किनकि लेखिएका भावनाहरुको न मैले सम्मान गर्न सक्थे न त् समाधान l शारीरिक रुपमा म अपाङ्ग थिए भने मानसिक रुपले म विक्षिप्त थिए l १० बर्ष सम्म राज्य पक्ष संग लड्दा देखेका सपनाहरु सबै भताभुङ्ग भएर गइ सकेका थिए l अपाङ्ग लडाकुको नाममा दुइ लाखको चेकमा मेरो बिगत र बर्तमानको मुल्यांकन गरिएको थियो l आफुसंग रहेको दुइ लाखको चेकलाई निकालेर हेरिरहे न त्यहाँ मेरो बा हुनुहुन्थ्यो न मेरो जीवनलाई चलायमान बनाउने मेरी नीलीमा थिइन् l पत्रलाई सम्हालेर राखे आउदा दिनको बाटो सम्झेर र सलाम गरे मेरी नीलीमाको उच्च भावनालाई l भितामा झुण्डीएर रहेको नीलीमाको तश्बिरलाई मनभित्रको आंचल निकालेर पुछे अनि सजाए छातीभित्रको मुटुरुपी फ्रेममा कहिलै कहिलै दाग नलाग्ने गरेर. . . . .. .. . .l

दोहा,कतार
May 17, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.