लघु कथा : शोषण

~कृष्ण बजगाईं~Krishna Bajgai

बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए ।

चटकेले कार्यक्रम अन्तिम समयमा पुगेको घोषणा गर्यो । भीड चनाखो भयो । चटकेले मौका छोप्यो- “पापी पेटको सवाल हजुर…, मेरा पनि हजुरहरुका जस्तै स-साना बालबच्चा छन् …… जे जति दया हुन्छ सहयोग गरिदिनुहोस् हजुर” . त्यसपछि मेरो यो अन्तिम खेल हुनेछ । उसले आफ्नो श्रमको पैसा माग्यो ।

मैलो तौलिया भुईंमा ओछ्यायो । भीडमा हात पसार्यो । पैसा भन्नासाथ भीड क्रमशः घट्न थाल्यो । भीडका मानिसहरु प्रतिकृया व्यक्त गर्दै हिडिररहेका थिए- “कागजलाई पैसा बनाउने भए किन पैसा माग्दथ्यो ? यो ठग हो …… हामी सबैलाई बेबकुफ बनाईदियो …आदि-आदि । चटकेको भुईंको तौलिया खालि नै थियो . भीडबाट हात पनि रित्तै फर्कियो । आफ्नो श्रम खेर गएकोमा चटके पुर्पुरोमा हात लगाएर भुईंमा बस्यो । तुरुन्तै एउटा बाल आवाजले चिच्याएको सुनियो- “श्रमको शोषण गर्न पाईंदैन”-शायद चटकेको छोरो थियो ।

(स्रोत : मधुपर्क, काठमाण्डौं, २०४९ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.