भ्रमणको विषय अव मन्त्रीजीको ईच्छा मात्र नभई प्रतिष्ठाको विषय बन्यो । उहाँले यसलाई कर्मचारीले आफ्नो आदेशको पालना नगरेको ठान्नु भयो । नियम विपरितको मन्त्रीको आदेशलाई भने कर्मचारीले पछि आफूमाथि झुण्डिने बेरुजु अख्तियार दुरुपपयोग भ्रष्ट्रचार आदिको तरवार सम्झिएर डराए ।
मन्त्रीजी “अति पोषणयुक्त खानाबाट हुने मोटोपन र त्यसको रोकथाम” विषयक विदेशमा हुने गोष्ठिमा सहभागी हुन तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । जीवनमा पहिलो भ्रमण त्यो पनि पश्चिमी मुलुकमा हुन लागेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा भ्रमण वापत पाईने आकर्षक भत्ताको लोभ उहाँमा स्पष्ट देखिन्थ्यो । मन्त्री भएपछि स्वयं मोटोपनको शिकार हुनु भएकोले कतै यसको उपचार उतै पो भैहाल्छ कि भन्ने अर्को आशा पनि थियो उहाँमा ।
भ्रमणको दिन नजिकै जाँदा आवश्यक रकम आदिको व्यवस्था नभएकोमा मन्त्रीजी रिसले धुँवा हुनुभयो । सम्वन्धित कर्मचारीलाई बोलाई रकम निकाशा गर्न कडा निर्देशन दिनु भयो ।
गोष्ठी व्यापारिक कम्पनिले आयोजना गरेको सहभागीले सबै खर्च आफै बेहोर्नु पर्ने हाम्रो देशमा यो प्रमुख समस्याको रुपमा नदेखिएको र अहिलेको अवस्थामा मन्त्रालयमा भ्रमण सेमिनार शिर्षकको वजेट पनि सकिएकोले यो भ्रमणको व्यवस्था गर्न सम्भव नभएको कुरा कर्मचारीले निर्धक्कसँग राखे ।
भ्रमण शिर्षकमा रकम नभए “कुपोषण निवारण” कार्यक्रमबाट बजेट रकमान्तरण गरेर भ्रमणको व्यवस्था मिलाउन कडा आदेश जारी गर्नु भयो । त्यस पछि निरीह कर्मचारीले सो आदेश शिरोपर गरे ।
केही दिनपछि मन्त्रीजी विदेश भ्रमण सकेर स्वदेश फर्कनु भयो । व्यापारिक कम्पनीले मोटोपन रोकथाम गर्न तयार पारेको सेम्पलका आठ-दश कार्टुन औषधी लिएर सिधै आफ्नो निर्वाचन क्षेत्र पुग्नुभयो ।
गरिबी र भोकमरीले पिडीत दुर्गम क्षेत्रका आफ्ना मतदाता भेला पारी विदेश यात्राको वर्णन सुनाउन थाल्नुभयो । त्यहाँ मन्त्रीजीले अति पोषणयुक्त खानाबाट हुने मोटोपन संभाव्य खतरा र त्यसको रोकथाम बारेमा व्याख्या गर्दै हुनुहुन्थ्यो । जनता भने चुनावमा वाचा गरे अनुसारै मन्त्रीजीले राहातको पोको ल्याएछन् भनेर दंग परे । त्यहाँ उपस्थित जनता मन्त्रीजीको भाषणमा भन्दा कार्टुन तिरै नजर लगाई रहेका थिए ।
भाषण पछि औषधी बाँड्ने कार्यक्रम सुरु भयो । मन्त्रीजीले सारङ्गी जस्ता पेट भएका भोका-नाङ्गा आफ्ना मतदातालाई मात्रै त्यो औषधी बाँड्न थाल्नु भयो । त्यो देखेर विपक्षी दलका कार्यकर्ताहरु वितरणमा पक्षपात भो भन्दै नाराबाजी गर्नथाले ।
(स्रोत : युगआस्था काठमाण्डौं २०६४। )