कथा : अनुत्तरित प्रश्नहरु

~कृष्ण के.सी.~Krishna KC

चौडा छाती फिजाएर सललल बगेको सलवा रोडमाथि हुइकिएको आफ्नो कम्पनीको गाडीमा म निद्राले झुलिरहेको हुन्छु । हरेक जसो दिन यही बाटोबाट ओहोर-दोहोर गर्दा देखिने विकासे गतिविधिले आधा घन्टाको यात्रामा म सधै जसो आफ्नो देशको कछुवागति विकास र राजमार्गहरूको दुर्दसलाई जोडेर यहाको विकाससँग तुलना गर्ने गर्छु, सायद यो मेरो देश प्रतिको देशप्रेम होला । रातभरिको ड्यूटीले थाकेको शरीर,सधैजसो बिहानीको यात्रामा अर्धनिद्रमा यात्रारत रहदा मेरो मोबाईलमा सधै एकनासले घन्टी बजिरहन्छ । मोबाईललाई गोजीवाट निकालेर हेर्छु छोरी पारुको कल देखिएको हुन्छ । घडी हेर्छु बिहानको ५:४५ बजेको हुन्छ सायद यतिखेर नेपालमा बिहानको ८:३० बजेको हुनुपर्छ अनुमान मात्र लगाउछु ।

कतारको ट्राफिकलाई थेग्न सक्ने गरी बनाइएको सलवा रोड्लाई नापेर मेरो गाडी लगातार आफ्नै गतिमा कुदिरहंछ एकनासले अनि छिर्दछ सम्झदा भारतको बिहार जस्तै लाग्ने कतारको औधोगिक सहर सनैयामा । आफ्नो गन्तव्यमा पुगेर म चढेको बसले पनि लामो सास फेर्दै अर्को टिरिपको प्रतीक्षा गर्दछ । थाकेर लखतरान परेको शरीर लिएर कोठामा पुगी आफ्नो ओछ्यानमा गर्लम्म पल्टीनछु ताकी रातभर थाकेको शरीरले केही क्षण भएपनि बिश्राम पावस भनेर । फेरि उसै गरी मोबाइलको घन्टी बजिरहन्छ एक नासले ।केही आशा,केही जिज्ञासा लिएर छोरीको मोबाइलमा फोन लगाउछु । एक घन्टी पनि राम्ररी बज्न नपाउदै छोरीले फोन रिशिभ गर्छे र सोध्छे-”बाबा कहिले आउनुहुन्छ के घर भनेर?” अनि एकनासले रोइमात्र रहन्छे फोनको सम्पर्क बिच्छेद नहुदासम्म । दिनहुको फोन सम्पर्कमा यस्तै यस्तै प्रश्नहरू सोध्छे अनि सुक्सुकाउदै रोइरहनछे । नचाहेर पनि उसको रुवाई सुन्न नपरोस भनी फोन सम्पर्कलाई बिच्छेद गरिदिन्छु केवल केही क्षणको शान्तिको लागि ।छोरा-छोरी प्रतिको वात्सल्य माया गहभरि छचल्किएर आउछन अनि बगेर चाउरी परेर मुजामुजा परेका गालाभरि बयाली खेल्दै खस्छन आफ्ना गन्तव्यति । ठुलो स्वरमा मोबाइलबाट संगीत लगाउने प्रयास गर्छु बर्तमानमा बल्झिएका घाउहरूको निदानको लागि । अफसोच सबै ब्यर्थ भैदिन्छ यो अनकन्टार,आफ़न्तबिनाको बिरानोमरभूमिको देशमा । सधैजसोका एकैनासे प्रश्न अनि जिज्ञासाहरूलाई अनेक थरिका बहानामा विश्वास दिलाउदै छोरीलाई फकाउने प्रयत्नहरू गरिरहन्छु तर सक्दिन ।
0
” दुनियालाई यही काम गरे पनि त भएको छ” एक दिनको वार्तालापमा यही बाक्यबाट उठान गरेकी थिई उसले आफ्ना जिज्ञासालाई र भनेकी थिई “मेरो पढाइको लागि हो भने बरु म पढ्दिन तपाई जसरी भए पनि घर आउनुस ।” कस्तो माया अनि कस्तो आशा छोरीको आफ्नो बाबा प्रति । छोरीका जिज्ञासा र प्रश्नहरू अनुत्तरित बनी मडारिन्छन आफ्नै दिमागभरी र तितरबितर बनेर छरपस्ट बनिदिञ्छन हरेक ज्ञानेन्द्रीयहरूमा एक तमासले,निकै लामो समय सम्म,आफ्नै गतिमा निरन्तर आफ्नै गतिमा ।

हो मेरी माइली छोरी पारु । त्यसो त उसको नाम प्रशंसा हो उसको आफ्नो ठुलो मामाले राखिदिएको नाम ।मायालु भाषाले बोलाउदा म सधै उसलाई पारु भनेर बोलाउने गर्छु । कहिलेकाही रिस उठ्दा ‘पारे’ भनेर थर्काउने प्रयास गर्छु ।यसरी उसको नाम बिगारिदिदा ऊ काली-निली हुन्थी र अँध्यारो मुख लगाएर एककोहोरो निहुरि मात्र रहन्थी । पोहोर साल छुट्टीमा घर गएको बेला एक दिन हाम्रो डेरामा उसको साथी ऊसँगै भएको बेला अनायासै ‘पारे’ भनेर सम्बोधन गर्न पुगेछु । यही नामलाई उसको साथीले मजाकै मजाकमा स्कुल भरि प्रचार गरी दिएछ र ऊ आफ्ना साथी-भाइ अनि शिक्षक-शिक्षिका सामु लज्जबोध्ले शिर निहुराउन पुगीछ । त्यहा देखि उसले मलाई बाचा गरेकी थिई ‘पारे’ नभन्नु ल भनेर । यही मायालु छोरी जसलाई ७ वर्षको छाडेर उसको भबिष्य बनाउन चाहिने धनका बिटाहरू बटुल्न यो उजाड मरभूमिमा हानिएको थिए । त्यसबेला सानी थिई केही बोलिन तर आज ऊ ठूली भैसकी प्रश्नहरू तेर्साइरहन्छे र मेरो आगमनको लागि फोनबाट बाचा गराइरहन्छे ।

छोरीहरूको उज्वल भविष्यको लागि सपनाको पोको बोकेर बिछोडको त्यो रातभरि जीवन साथीका रोदनले छाती भिजाएर बिदावारी हुदा घाटीबाट निस्कन नसकेका शब्दहरूलाई सकी नसकी मुटु भित्र लुकाएर निलो आकाशमा छोपिएका बादल माथि-माथि बायूपंखी यानबाट उडेर आएको हिजो जस्तै लाग्छ तर समयले दशकौ छिचोल्न लागिरहेछ । “बाबा हेर्नु ल” भनेर आफ्नो फेसबुकमा पोस्ट गरिएको आफ्नो आमाको मुखाकृत्मा बुढौलीका चिन्हहरू छरपस्ट भैसकेछन तर मेरो यात्रामा आशातित चाहनाहरू आज आफूले ड्यूटी गर्ने तिनै गगनचुम्बी महलहरूमा यताउति भौतारिरहेका छन् । केही पाउने आशामा अनि केही हुन्छ भन्ने विश्वासमा ।

सपना चाल्नोमा अन्न केलाए जस्तो हुदो रहेनछ । चाहिने जति सिमलो नचाहिने जति सबै फ्याक्यो । उतार चढावको मानवीय जिन्दगीमा बिछोडका लामा-लामा दिनहरू पनि बिताउनु पर्दो रहेछ । कोखिला भरि आफ्ना सन्तानहरूलाई खेलाउने र ताते-ताते भनेर हिड्न सिकाउने रहर पनि त्यसै त्यसै बितेर जादा रहेछन । गरिबीको घाउ जब मानिसमा बल्झिन पुग्दछ त्यसको उपचारमा सन्तानहरू प्रतिको माया प्रेम सबै त्यसै हराएर जादो रहेछ । सन्तानहरू प्रतिको मायामा मानिस केवल सान्त्वनाका लागि आफू आफैमा कायर बनेर कहालीदै रुदो रहेछ । उतार चढाबको यात्रामा यात्रारत रहदा जब मानिसलाई गरिबीको भूमरीमा रुमल्लिनु पर्दछ त्यसबेला माया प्रेम भन्ने शब्द केवल भन्नका लागि मात्र हुदा रहेछन । आशातित पर्खाइको बन्धकीमा राखिएका माया प्रेमका शब्दहरू त्यतिन्ज्याल बन्धकीमा रहनेछन; जतिञ्जेल मानिसलाई लागेको गरिबीको घाउले चिथोरिरहनेछ । अन्यथा बाध्यता र विवशताको कठघरामा उसले चाहेर पनि यी शब्दहरूलाई बयान दिन नसक्दो रहेछ । गरिबीको संघारभित्र माया प्रेम भन्ने पवित्र शब्दहरू पनि खिसिटिउरी गर्ने शब्द बन्दा रहेछन,हो त्यस्तै भएको छ मेरो जिन्दगीको यात्रामा पनि । चाहेर र जानेर पनि माया भरिएका शब्दहरूले सिंगारेर मैले ती छोरीका तमाम सरल र सहज प्रश्नको जवाफ मेरा मुखबाट दिन सकेको छैन । त्यसैले बालसुलभताको फाइदा लिदै हरेक वार्तालापमा म छोरीलाई फ़काइरहनछु निरन्तर निरन्तर ।

“दुनियालाई यही काम गरे पनि भएकै छ ” सारै यथार्थापरक छोरीको यो वाक्यले मलाई हरेक क्षण झस्काइरहनछ हरेक दिनको मेरो कार्य व्यस्ततामा र पनि म विवश छु उसका तथ्यसहितका भनाइ हरूका बिरुध्द बिदेशी भूमिमा मूल्यहीन पसिना बगाउनमा । उसलाई कति थाहा छ वा छैन मेरो गरिबीको विवशतामा उसकी आमाका सारा यौवन पनि ओइलाएर गैसकेका छन् भनेर । मात्र उसले आफ्नो यथार्थ कहन्छे प्राप्तिको अभिलाषामा, ऊ कल्पिन्छे आफ्नो बाबुको सामिप्यताले प्राप्त हुने शाहसमा तर ऊ अबुझ बनिदिन्छे पारिवारिक आर्थिक अवस्थाको सत्यतामा । आठ वर्षको अनबरत संघर्षमा आज पनि म यही कतारको मुटु दोहामा आफ्ना पाखुराहरू बजारिरहेको छु । हरेक दिन हरेक रात खबरदारीको हेराइमा आफ्नो कर्तव्यलाई पालन गरिरहेको छु केवल केही ‘रियाल’ पाउने आशामा । बितेका झन्डै सयौ महिनाहरूमा करिब त्यतिनै पटक स्थानीय बैंकहरूका एटिएमबाट सपनाहरू थापिरहे बिपनामा बदल्ने आशामा । हेर्दा हेर्दै कतारका मरभूमिहरू हरियालीमा परिणत हुदै गए;,बाटोका हरेक चौबाटा र किनाराहरूमा बाह्रमासे फूलहरू फूल्दै गए; पुराना थोत्रिएका घरहरू भत्किएर विश्वलाई हाँक दिने ठुला-ठुला महलहरूमा परिणत हुदै गए तर मेरो गरिबीको सानो झोला ‘रियाल’ले कहिल्यै भरिएन । बरु भरिए शरीरभित्र नसिमलिने जीर्ण रोगहरू अनि थपिए बुढौलीका सबै चिन्हहरू तर पनि अबुझ बनिदिन्छे मेरी मायालु छोरी पारु बाबुको सामिप्यताको रहरमा ।

आज ऊ सानी छैन, ऊ ठूली भैसकेकी छ । बुझेर केही सोच्न सक्ने भएकी छ र पनि ऊ अबुझ बनिदिन्छे केवल बाबाको मायामा । ऊ कल्पिन्छे हरेक क्षण लामो समय पछिको मिलनमा यता म भने उसैको भविष्यको चिना कोर्ने अभिलाषामा यो उजाड मरभूमिको उराठलाग्दो गर्मीमा ठिङ्ग उभिएर पहरा दिइरहन्छु मालिकहरूको सम्पति सुरक्षार्थमा ।हरेक दिन सुत्नु अघि पसिनाले निथ्रुक्क भिजेर गन्हाएको शरीरलाई उम्लिएसरिको तातो पानीले पखाल्दै ओछ्यानमा पल्टनछु भित्तामा झुण्डिएको प्रभू मनि ट्रान्सफरको भित्ते पात्रोलाई नियाल्दै अनि मनको पेन्सिलले चिन्ह लगाउछु ती दिनहरूमा जुन दिन महिना भरिको तलब एकमुष्ठ छोरीको लागि भनेर घर पठाउने खुसीको दिन हुनेछ । निदाउने कोशिसमा आँखालाई परेलीले ढपक्कै ढाकीदिन्छु तर निद्रा पर्दैन । सिरानी मुनि राखिएको फोटो एल्बमलाई पल्टाउछु अनि हेर्छु क्रमस: आफ्ना सन्ततिका क्रमबद्द गरेर राखिएका तस्बिरहरू र बल्झाउछु बिगतका नबिर्सने र नमेटिने स्मरणहरू

“‘रात गए अग्राख पलाउछ, हैन हो कति बस्न सकेको अब त आए पनि हुने हो छोरीहरू सारै आत्तिसके, अब त ओत लाग्ने छाप्रो पनि त बनाउनु पर्ला ऋण धन गरेर भए पनि” केही महिना अघि एकै सासमा छोरीकी आमाले मसँग गरेको फोन बार्ता थियो । यो सुनेर मैले हास्दै भनेको थिए-”के गर्ने हो घर बनाएर, घर त भत्कन सक्छ जसको कुनै भबिष्य नै हुदैन, बरु छोरी पढाउ सकुन्ज्याल त्यो उनीहरूको भबिष्य बन्न सक्छ” । यो सुनेर उनी केही बोलिनन मात्र ‘अँ’ शब्दले कुरा टुंगाएकी थिइन । आफन्त छिमेकीका आफू सरहका दिदी बहिनीहरूले आफ्नो रातो साडी आफ्नै घरको बार्दलीभरि सुकाएको देख्दा उनलाई पनि लाग्दो हो आफूले पनि यसरी सबैले देख्ने गरी सुकाउन पाए त । कति यथार्थ र वास्तविकता लुकाएर राखिएका छन् मन भित्रका सन्दुक हरूमा नखोलिने र नदेखिने गरी भोटे ताल्चा लगाएर यी मेरा परिवारका सपनाहरू; र निराश सिबाए केही हात नलाग्ने मेरी छोरीका आशाहरू । अँझै कति वर्ष कतारको गर्मीमा लाज नमानी बिनासित्ती एकतमासले उडिरहने बालुवा र धुलो मैलोसँग रुमल्लिएर सँगसँगै उड्ने हुन् मेरा र परिवारका सपनाहरू । मर्न नसकेर देखाउनका लागि बाचिरहेका जस्ता देखिने खजुरका बोट जस्तै यो जिन्दगीको मूल्य र मान्यता मैले कहाँ गएर खोजु ? मेरै आफ्नै दरिद्रतामा वा,मैले चाहेर पनि मेरा रगत र पसिनालाई मेरै आफ्नै भूमिमा बगाउन नपाएकोपश्चातापमा वा,देशलाई चुसेर कंगाल बनाई म जस्ता हजारौ नेपालीलाई बाध्यता र विवास्ताको जातोमा पिसाएर दुनियाको दास बनाएर राख्न चाहने शासक वर्गहरूमा । म आफै अनुत्तरित छु यी मेरा आफ्नै विवश्ताका प्रश्नहरूमा त्यसैले पनि म कसरी जवाफ दिन सक्छु र मेरी प्यारी छोरीका यथार्थपरक र वास्तविक प्रश्नहरूलाई ।

दोहा,कतार ।
August 7, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.