~पूर्ण मुनंकर्मी~
नेताज्यू आज निकै थाक्नु भएको छ । एघार ठाउँमा कार्यक्रम भ्याउनु भएको छ र त्यसमध्ये छ ठाउँ त महिला मुक्ति र सशक्तिकरण सम्वन्धि मात्र । महिला सशक्तिकरण सम्वन्धी कुनै पनि कार्यक्रममा पार्टीले उहाँलाइ नै खटाउने गर्छ । आयोजकहरु पनि उहाँलाइ नै रुचाउँछन् । उहाँको भाषण हुने कार्यक्रममा सहभागीहरुको कुनै कमि कहिले कसैले महसूस गर्न पर्दैनथ्यो ।
नेताज्यू आज खुसि पनि त्यत्तिकै । नेताज्यूको अनुहारमा आज सदा भन्दा ज्यादा बढि नै खुसिको चमक देखिन्छ । जसरि पूर्णिमामा समुन्द्रमा छिन छिनमा ज्वारभाटाहरु उर्लिरहन्छ, ठिक त्यस्तै नेताज्यूको मुखारबृन्दमा पनि मुस्कानका चमकहरु छिनछिनमा जो कोहिले पनि स्पष्ट देख्न सकिने गरि आइरहेको देखिन्छ ।
आजको सबै भन्दा पछाडीको कार्यक्रम “महिला सशक्तिकरणको लागि सिनेमा र सिने महिला कलाकारको भूमिका” बिषयको कार्यशाला गोष्ठि र त्यसपछिको ककटेल पार्टी र सामुहिक डान्समा नेताज्यू धीत मरुञ्जेल कम्मर मर्काइ मर्काइ नाच्न भएको थियो, ननाचोस् पनि किन त्यस्तो मौका महाभारतका शिखण्डिले पनि शायद नै छोड्छ । त्यत्रो एकसेएक मृगनयनी, बारुले कम्मर, हंसमुखि, महिला कलाकारका साथ ।
अघिको पार्टीमा आफ्नो चतुर्याईंको सफल प्रयोग गर्न सकेकोमा नेताज्यू मनमनै दङ्ग पर्दै आफैलाइ धन्यबाद दिनु भयो । त्यसैले त अनुहारमा पूर्णेको जून झलमल्ल देखिन्छ । मन हुंदा हुंदै पनि नेताज्यूले ककटेलको गिलासमा हात कम लगाउनु भयो । तर नाचमा झुम्दा भने हातलाइ अलिकति पनि कञ्जुस्याइ गर्नु भएन र ककटेलको प्रभाब पुरै परेजस्तो गर्न पनि चु्कनु भएन । आखिर कलाकारसंग “संगत जो परेको थियो” । अलिकति कलाकारिता प्रयोग गर्नु भयो र त त्यतिबिधि रमाइलो भयो । उहाँले आफ्नो हात ओल्टाइ पल्टाइ हेर्नु भयो सुवासित बारुले कम्मरमा टाँसिएको हातलाइ र एक चुम्बन दिन पनि कञ्जुस्याइ गर्नु भएन — ‘चुम्म’ ।
ककटेल डान्स पार्टीको प्रत्येक दृष्यलाइ उग्राउँदै नेताज्यू घर आइपुग्नु भयो ।
‘शान्ता, आज सारै थाके बा, छिटो तात्तातो मिठो एक कप चिया ख्याउ है ।’ नेताज्यू ताइवानि सोफामा आफ्नो थकित जीउको बयानब्बे किलोको भारीलाइ बिसाउनु भयो ।
‘आज कति धेरै ढिला गरिबक्स्या नि हजूर, मोबाइल पनि स्वीच अफ गरिबक्स्यारहेछ ।’ शान्ताले दुइ हातले चिया टक्राइन् ।
नेताज्यूले शान्ताको अनुहारमा हेर्नु भयो । अघि कम्मरमा हात राख्दै नाचेकि कलाकारकी जस्ती मादकता र हाउभाउ त्यहाँ पटक्कै थिएन न त त्यो मोहित हिस्सि नै । थियो त त्यहाँ पौराणिक कथामा वर्णित ‘सति सावित्री’ जस्ती भद्दा र ढुसि जस्तै गन्हाएकी तीस बत्तिस वर्ष देखि देख्दै र भोग्दै आएकी दिनानुदिन खुईलंदै गरेकी ।
नेताज्यू उर्बसी र अरु अप्सराहरुका साथ हात समाउँदै जिउँदै स्वर्गको यात्राबाट एकै चोटि नर्कमा झरे जस्तो भयो । शान्ताको हातैमा रहेको त्यो चिया खल्लो र अमिलो लाग्यो । अघि ती कलाकार मैंयाले ककटेल िदंदाको अवस्था र अहिले शान्ताले चिया दिएको अवस्थालाइ मनमनै तुलना गरे । अघि रसिलो जुनार, अहिले निचोरेको निबुआ । नेताज्यूलाइ दिक्क लाग्यो । ‘भो चिया तैं खा, म खान्न ।’ नेताज्यू जुरुक्क उठेर ‘दुइ लाख पर्ने भनेको’ पलङ्गमा डंग्रङ्ग पल्टनु भयो ।
अचाक्लि खुट्टा दुखेको महसूस भयो नेताज्यूलाइ । ‘म त टिकेको नेता पो हुं, यो देशको । यो दुखेको खुट्टालाइ राजनैतिक रंगरुप दिनु पर्छ र उपचार गर्नु पर्छ ।’ नेताज्यू आफै सम्हालिनु भयो । परिस्थिति अनुसार तुरन्तै बदल्न सक्नु नै सफल राजनीति हो, नेताज्यूले आफ्नो ज्ञान सम्झनु भयो ।
नेताज्यूले मनमनै राजनीतिका शब्दकोष पल्टाउनु भयो–
१) राजनीतिमा स्थायी शत्रु र मित्र कोहि हुंदैन;
२) राजनीतिमा तात्तातो रिस गर्नु हुन्न ;
३) राजनीतिमा शत्रुलाइ पनि आफ्नो अनुकुल प्रयोग गर्नु पर्छ;
४) राजनीतिमा शत्रुसंग पनि झुके जस्तो गरि कुटनीति गर्नु पर्छ;
५) राजनीति एउटा खेल हो त्यो भन्दा बढि झेल हो;
६) राजनीतिमा त्यो सफल हुन्छ जस्ले बढि लड्डु लडाउन सक्छ;
७) राजनीति जसरि पनि आफु जित्ने चालबाजी हो, जित्नलाइ जुनसुकै उपाय अपनाउन पनि हिचकिचाउनु हुन्न;
नेताज्यूले आफ्नो सूत्र फेला पार्नु भयो र औंसीको अनुहार पूर्णिमाको चमकमा ‘रकमान्तर’ गर्नु भयो –‘शान्ता डार्लिंग, एकछिन यता आइस्योस्न । आज मेरो खुट्टा सारै दुख्यो, धेरै हिड्नु पर्यो कार्यक्रमको दौरानमा । लौन डार्लिंग, म ननिदाएसम्म खुट्टा मिचिबक्सेला ।’
2068.04.16
(काठमाडौं)
(स्रोत : Khasskhass.com )