सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि राम्रा मानिसहरु पनि छन् उनीहरुलाई आफूले
चिन्न सक्नुपर्छ । परदेश त झन हामी सबै ठाउबाट आएकाहरुको ठूलो समाज नै हो । परदेशमा रहेर समाजमा भएको इज्जत र परिवारको सुन्दर भविष्य नै आफ्नो जीवनको उद्धेश्य सम्झेर अगाडी बढ्ने महिलाहरु लाई सल्लाह र सहयोग गर्ने मानिसहरु धेरै रहेछन् भन्ने सम्झेकी सानुलाई माया गर्ने रनेले यति नराम्रो दृष्टिले हेर्छन भन्ने कहिल्यै सोचेकी थिइनन् ।
मुटुमा भक्कानो परेर स्वर दबाउन खोज्दा खोज्दै आवाज बाहिर निस्कन्छ । दाइ हजुरले मलाई के सोच्नु भयो? मेरो कुनै ब्यवहारमा केही गल्ती भयो….. ? मेरो पहिरनमा कुनै उत्ताउलो पन देख्नु भयो…. वा म स्वतन्त्र संग बोलेका शब्दहरुमा मेरो त्यस्ता चाहनाहरु भेटनु भयो…..? मेरो केही गल्ती भएको थियो भने भन्नुहोस् । म सुधार्ने छु । गल्ती नै थिएन भने किन हजुरले मेरो चरित्रमा दाग लगाउन खोज्दै हुनुहुन्छ? परदेशमा रहेकी चेलीलाई संरक्षण दिनु त कता हो कता, सानो सहयोग गरे भन्दैमा हजुरले त्यसको मूल्य मबाट चाहनु हुन्छ र मलाई यस्तै किसिमका मानसिक पिडाहरु दिनुहुन्छ भने म यहा एक दिन पनि बस्दीन । आफ्नै देशमा गएर दुःख गरेर खान्छु । एकपटक हजुरले मेरो ठाँउमा आफ्ना दिदीवहिनीहरु राखेर हेर्नुहोस यो अवस्थामा हजुरले के गर्नु हुनेथियो ? सानुले रुदै रुदै यि कुराहरु भनिरहदा रने टाउको निहुराएर वसीरहेका थिए ।
सानु परदेश जाने कुरा गर्दा साथीहरुले आफ्नै संस्कारमा बसेका हामीहरुलाई स्वतन्त्र मुलुकमा परिवार विना बस्न धेरै गाह्रो हुन्छ भनेका थिए । उनले यि कुराहरुलाई वास्ता नै नगरि केटी मानिसको इज्जत उनीहरुको आफ्नै हातमा हुन्छ । आफ्नो इच्छा विना जवरजस्ती त पक्कै पनि कसैले गर्न सक्दैनन भन्ने सम्झीन । सानुलाई आफु हिड्ने बेलामा सबैले सम्झाएका कुराहरु ताजा भएर आँखा वरिपरि घुमीरहे । आफ्ना बच्चाहरुको सुन्दर भविष्य बनाउने लक्ष्य पुरा गर्ने समय सम्मको लागी छुटिनु परेको त्यो रातमा उनका श्रीमानले “तिमी धेरै शाहस बोकेर परदेश लाग्दै छौं । तिम्रो शाहस टूलो भएपनि आखिर नारी शरिर नै हो प्रकृतीले नै कमजोर बनाएको हुन्छ । परदेशमा आफ्नै नेपाली दाजुभाइसंग संरक्षण छैन भन्ने धेरै सुनिएको छ । आफू कसरी बच्ने भन्ने सबै तिमीलाई थाहा नै छ होसपूर्वक काम गर्नु है….? तिमीलाई कुनै त्यस्तो ठूलो आपत परेछ भने समाजमा बेइज्जत होला की भन्ने सम्झेर आफूलाई परेको अन्याय कहिल्यै नसहनु । अन्याय सहनु ठूलो पाप हो” भनेका थिए । उनलाई श्रीमानले भनेका कुराहरु याद आयो ।
सानुले रने तिर हेर्दै हजुरले मलाई एउटा अवला नारी सम्झेर जुन काम गर्न खोज्नु भयो । यसको सजाय हजुरले भोग्नु नै पर्छ । यहा पनि न्याय दिने संघ संस्थाहरु होलान् । म त्यहा गएर न्याय माग्छु । भविष्यको सुन्दर सपनाको कल्पनासंगै आफ्नो उद्धेश्यमा अडिग् भएका दीवहिनीहरुलाई हजुर जस्तै नराम्रो नजरले हेर्ने पुरुषहरुबाट यस्ता अन्यायहरु कहिल्यै सहनु नपरोस् । सानुले आफ्नो न्यायको लागी संघसंस्थामा जाने कुरा गरेपछि रनेलाई अलि डर लाग्यो। आफ्नो उदेश्य पुरा हुने बेलामा उनीसंगको गलत व्यवहारका कारण भोग्नुपर्ने कानुनी ब्यवस्थाको बारेमा उनलाई थाहा थियो । रनेको पनि त आफ्नै किसिमको समाजको इज्जत, बालबच्चा र उनकै पर्खाइमा बसेकी श्रीमती थिइन । रनेले हात जोड्दै सानो स्वरमा बहिनी हिजो बेलुका अलि धेरै भएछ, के भयो भन्ने थाहा नै पाइन । धेरै नशामा भएर तिमीलाई नराम्रो व्यवहार गर्न गएकोमा म क्षमा चाहन्छु । मलाई तिमीले जे सजाय दिएपनि म भोग्न तयार छु । हिजो मिठो मानीमानी मस्त नशामा भएका मानिस आज त्यही चिजलाई दोष दिदै आफू निर्दोष बन्न खोज्ने कस्तो सोचाई ….. । यस्ता मानिसलाई के भन्ने । सानु रनेसंग केही बोल्न चाहिनन् । सरासर कोठामा गएर कपडा फेरिन । चेलीहरुलाई प्रेमपुर्वक आफ्नो घरमा ल्याएर बर्ष भरिको थकाई, मनका गुनासा र पिडाहरु गीतको लयमा गाएर हल्का गराउने तिजको रमझम देश भरि नै चलिरहेको बेला यो विरानो मुलुकमा सानु भने आफ्नो अस्तित्वको लागी यहा रहेका संघसंस्थाहरुसंग न्याय माग्न जादैछन् ………।
समाप्त
(स्रोत : Sahityasansar.com )