कथा : पारुको बाचा

~सिता बराल~Sita Baral

डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको छ ।

परिक्षणगरेर फर्केको दिनमा अब त केही विसेक होलाकी भन्ने झिनो आसा पलाउँछ तर केही परिवर्तन हुदैन । उनी दिनदिनै गल्दै गएकी छन् । सबैभन्दा ठूलो समस्या उनी रातभर छटपटाई रहन्छिन । रात ढल्दैजाँदा उनका आँखा झन चनाखो बन्दै आउछन् । डाक्टरले उनलाई निन्द्रालाग्ने औषधी पनि नदिएका होइनन् । त्यो औषधीले दुई घण्टाभन्दा बढी काम गरेन । रोग पत्तालगाउन सकेनन, निन्द्रा लाग्ने औषधीले पनि काम गर्न छाडेपछि पारुले आफूलाई झनझन चापेको महशुस गर्नथालिन । एकरातमा उनले तीन पटक पनि नुहाईन तर मनभित्र जलेको आगो निभाउन सकिनन् । शरिरको सबै परिक्षणमा रिपोर्ट राम्रो आएपनि उनको छटपटीमा सुधार आउन नसक्दा डाक्टरहरुले उनलाई केहि रोग नलागेकोले आफ्नै देश फर्केपछि निको हुने बताए । जीवनमा अनेक उचारचढावहरु सहजै पारगर्दै आएकी पारुलाई यसपाली सानो तर अपत्यारिलो समाचारले यस्तो स्थितीसम्म पु¥याएको थियो । बितेका दुःखका दिनहरुलाई विर्सदै भविष्यमा आउने सुखको कल्पनामा दिन विताइरहेकी थिइन । जसलाई कहिल्यै फर्केर नहेर्ने बाचा गरेकी पारुलाई आजकल तिनै दिनहरुले पर्खीरहे जस्तो लाग्यो । जुन दिनमा उनले छोरालाई आफ्नै आँखाले देख्छिन र उसमा कुनै त्यस्तो लक्षण देख्ने छैनन् त्यहि बेला उनको रोग निको हुने सानो आसा लिएर उनि छिट्टै नेपाल फर्कदै छिन् । केही समयको बिदाको लागि होइन, छोराछोरीहरुको भविष्य निर्माणमा अभिभावकको मायाले मुख्य भूमिका खेलेको हुन्छ । भविष्य पैसाले होइन स्वच्छ भावनासंगै विकास भएको व्यक्तिगत चरित्रले उज्जल बनाउन सकिने रहेछ भन्ने सोचेर अब कहिल्यै छोरालाई छाडेर नहिडने र राम्रो संस्कार संगै चरित्र विकास गराउने बाचा सहित ।

पारु बिवाह बन्धनमा बाँधिएकोे केही सालमा नै परिवारसंग छुट्टिएर बस्नु प¥यो । दुबैजना बेरोजगारी र आफ्नो भागमा परेको टारीखेतलेमात्र जीवनधान्न मुस्कीलहुने देखेपछि पारुका लोग्न धर्मराज छिमेकी राष्ट्र भारततिर लागे । गाँउमा हुर्केबढेका धर्मले प्राथमिक स्कूलसम्म मात्र पढ्ने मौकापाएका थिए । बाबा भन्दै पछ्याउने छोरा र श्रीमतीलाई छाडेर जान मननमाने पनि उनिहरुकै भविष्यको लागी केहीवर्ष दुःख गरेपछि बाँकी दिन सुखमा काटौला भन्दै मुटुभरि पारुकोमाया र आँखाभरि छोरालाई राखेर धर्मे कामको खोजीमा गए । उनले घर बनाउने सिकर्मीको काम पाए । लोग्नेले पैसा लिएर आउछन् र केही गरेर संगै जीवन विताउने आसमा बसेकी पारुलाई धर्मे काममा लागेको केही महिनामा नै ढलान गर्ने क्रममा खसेर मृत्युभएको खबरआयो । पारुको जीवनमा ठूलो आँधीबेहरी आए जस्तै भयो । धर्मेसंगै काममा गएका गाँउका साथीले सहयोग स्वरुप जम्मा गरेका पैसा पारुको हातमा राखिदिए । उनिप्रति आफन्तहरुको फरक हुदै आएको व्यवहारको कारण त्यो ठाँउमा पारुलाई एकछिन पनि बस्न मनलागेन । धर्मको नामबाट पाएको पैसा र मुटुभरि पिडासंगै, केही गरिखाने उद्धेश्य सहित सानोबाबु पिठ्युमा बोकेर शहर लागिन । साँवा अक्षर चिन्न बाहेक अरु खासै नपढेकी पारुलाई शहरमा कामपाउन धेरै गाह्रो थियो । केही दिनको बसाईपछि विस्तारै साथीहरुसंग चिनजान बढ्दै गयो । एउटै घरमा डेरा गरि बस्ने कल्पनासंग उनको मनमिल्दै गयो । कल्पना दुई छोराहरुसंगै बसेकी थिइन भने उनका श्रीमान परदेश थिए । पारुले आफूलाई साह्रै माया गर्ने साथीपाएको अनुभवगरिन । परेको बेलामा कल्पनाले उनलाई सल्लाह र सहयोग गर्ने गर्थिन । उनकै सहयोगबाट पारुले काठमाण्डौमा डेरा गरिबस्ने विद्यार्थीहरुको भाडामाज्ने र लुगाधुने कामपाइन । विद्यार्थीहरु क्याम्पस जादा उनीहरुको ढोका अगाडी बाँटामा जुठा भाडाहरु र धुने कपडाहरु राखेर जान्थे । बेलुका फर्कदा पारुले सबै सफा गरेर उनिहरुको ढोका ढोकामा राखिदिन्थीन । उनीहरुको भेट महिना पुगे पछि पैसाको कारोबार गर्र्दा मात्र हुन्थ्यो । पारु उनिहरुकै काममा व्यस्त हुन्थिन भने बिद्यार्थीहरु उज्ज्वल भविष्य निर्माणमा तल्लिन थिए । उनले एउटा घरमा दिनमा पाँचवटा जति कोठाहरु भेटाउथिन । यसैगरि उनका दिनहरु वितेका थिए । जति दुःखकष्ट पाएपनि छोरालाई आवश्यकता र जमानाअनुसारका सबै सुविधाहरु पु¥याउदै आइन । पढ्न नपाउँदा आफूले पाएका दुःख र शहरमा काम खोज्दा खाएका हण्डरहरुले उनलाई पढ्नु पर्छ भन्ने राम्रै ज्ञान भएको थियो । छोरालाई डेरा नजिकैको बोडिंग स्कूलमा भर्ना गरिन । समयसंगै छोरा ठूलो हुदैगयो । देशमा हुने गरेकोे बन्दको कारणले उनले दैनीक गर्दै आएको काममा बाधा प¥यो । दैनिक काम हुन नसके पछि चुलिदै गएको महंगी,स्कूल फि र भाडा तिर्न गाह्रो हुन थाल्यो । उनी अब बैकल्पिक आम्दानीको बाटो खोज्न थालीन । यस विरानो ठाँउमा उनको आफ्नो सम्झेर सहयोग र सल्लाहदिने तिनै साथी कल्पना मात्र थिइन । उनकै सल्लाहमा महिलाहरुको लागी सुरक्षित र राम्रो आम्दानी हुने भनिएको इजरायलमा आउने निधो गरिन । कल्पनाको भरमा मुटुकोटुक्रालाई केही वर्षकोलागी छाडेर भक्कानिदै छोराको उज्ज्वल भविष्यको कल्पनासंगै केही आम्दानी गर्ने सपना लिएर इजरायल आइन ।

भविष्यमा आउने सुखको कल्पनामा डुुब्दै दिनहरु काट्दै गईन । जतिबेला उनलाई आफूले विताएका दिनहरुको याद आउथ्यो, उनलाई असह्रय हुन्थ्यो । आफूसंगै आएका साथीहरुले आफूलाई सम्हाल्न नसकेर कति स्वदेश फर्कीएका थिए भने कति साथीहरु अझै पनि मानसिक अस्पतालमा उपचार गरिरहेका थिए । काखमा हुर्कदैगरेका बच्चाहरु छाडेर उनीहरुको कल्पनामा दिन विताउदै परदेशमा संघर्षगर्नु पक्कै पनि सजिलो थिएन । सधैजसो बच्चाहरुको कल्पनामा प्यारो लोग्नेको सहानुभुतिका शब्दहरु सुनेर काम गरिरहेका साथीहरुको भन्दा एकदमै एक्लो अनुभव थियो पारुमा । उनको थियो त त्यही छोराका मागहरु अनि प्रिय साथी कल्पनाका गुनासाहरु । पारुले आफूले आफैलाई एकदमै सम्हाल्दै आएकी थिइन । छोराले स्कूलमा राम्रै नम्बर ल्याएर पास गरेको खबरले उनलाई काममा अझै जोश र जागर आउन थाल्यो । कल्पनाको सल्लाहमा पारुले शहरमा सानो घडेरी किनिन । अब केही वर्षमात्र बसेर आफ्नै ठाँउमा जाने र त्यस जग्गामा सानो टहरो बनाएर छोरासंगै दुःखसुख गरि बस्ने कुराहरु सोच्न थालिन । समयले उनका छोरालाई धेरै बुझ्ने बनाएको थियो । जुनकुरा उनले फोनमा कुरागर्दा बुझेकी थिइन ।

पारुले पढ्न नपाए पनि इजरायल आएपछि छुट्टीको समयमा आवश्यकता अनुसार मोवाइल चलाउन, साथीहरुसंग कम्प्यूटरमा च्याटगर्न अनि मनबहलाउनको लागी वेबसाइट समाचारहरु हेर्न सिकेकी थिइन । कामबाट बचेको समय समाचारहरु हेरेर विताउथिन । भविष्यमा आउने सुखका दिनको कल्पनामा डुबिरहेकी पारुले वेभ समाचार हेर्ने क्रममा माई संसार मा काठमाण्डौको “वेविलोन डिस्को” मा भएका समाचार देखिन । समाचारसंगै फोटोहरु पनि थिए नियालेर हेरिन । उनलाई एकदमै दुःख लाग्यो । उनको छोरा प्लस टु पढ्ने बेला भएको थिएन र त्यहा पनि थिएन तर क्याम्पस ड्रेससंगै विहानको सातबजेनै डिस्को जाने बच्चाहरुका हुलमा उसकी प्यारीसाथी कल्पनाका छोराहरु थिए । जसको जिम्मा र भरोसामा उनले आफ्नो छोरालाई छाडेकी थिइन । उनले त्यो ठाँउमा आफ्नो छोरालाई देखिन । जसको सुन्दर भविष्यको कल्पनामा परदेशमा रातदिन संघर्ष गरिरहेकी छन् ति भविष्यका सपनाहरु एकाएक भत्किदै गएका रहेछन् । दिनभरि काममा ब्यस्त भएपनि राती जब उनी ओछ्यानमा पल्टन्छिन त्यति बेला उनले नशालु छोरा देख्नथालिन । सधै छोरा नशामाडुबेर घरमा आउने र अनेक कुराहरु निकालेर झगडा गर्नथालेको सम्झनथालिन । टोलभरि नै उनका कुराहरु गरेको सुन्नथालिन । यि कुराहरु उनि जति विर्सन खोज्थीन त्यतिनै तछाडमछाड भएर आउथे । जसले गर्दा उनको मुटुमा दनदनी आगो बलिरहेको थियो । त्यही आगो निभाउन उनी धेरै डाक्टरहरु कँहा पुगीन र धेरै थरिका औषधीहरु प्रयोग गरिसकेकी छन् तर उनलाई विसको उन्नाइस भएन बरु झन चाप्दै गयो ।

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.