माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो।
“टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” च्याँकेले हाम्रो घरमा बिहेको निम्तो टक्र्यायो।
म भने आजसम्म कसैको जन्ति जाने सुअबसर पाएकै थिइन। घरमा निम्ता आयो भने कि बुवा, कि प्रतिनीधीको रुपमा दाइहरु नै गइहाल्ने, मलाई नै भनेर तोकेर निम्तो गर्ने कोहि पनि नआउनी नि फेरि।
तर यसपाली भने दाइहरु पनि घरमा नभाऽ, एस. एल. सि. दिएर बस्या हुनाले बुवाले प्रतिनीधीको रुपमा एक मात्र उम्मेदवार मलाई चयन गरिदिनु भो। “पहिलो चोटि जन्ति जान पाइने भो”, भनेर र म त मख्ख नि अब।
*** *** ***
दिउसो टारिघरे दाइ भेट भे। अलैँचिबारिमा गाई चराउन जाँदाखेरि।
“हुन त घरमा पनि निम्ता गाऽ होला, तिमेरुलाई नि छुट्टै निम्तो छ है केटा हो मेरो बे मा।”
टारिघरे दाइले गाई चराउने र तास खेल्ने दौँतरीका नाताले आत्माराम र मलाई छुट्टै निम्तो पनि टकार्यो। हामी त खुशिले गदगद भइयो। आज त टारिघरे दाइका गाई पनि हाम्ले नै हेर्दिएम् भने नि हुन्छ। यताउती गए पनि हाम्ले नै फर्काइदिन्थेम्, अघिपछि भे “तैँ जा न, हामी तेरा गोठाला हुँ र ।” भन्ने मान्छे, आज भने अँ हँ त्यस्तो केहि भनिएन।
अब आत्माराम र मेरो बिचमा भने “तँ जा र म जा।” भने हुन्थ्यो है स्वभाविक रुपले नै।
*** *** ***
टारिघरे दाइ पनि दाह्रि/सारि काटेर, नयाँ कोट/सोट लगाऽर मजाऽले दुला पल्टेर निस्के। म र आत्माराम, च्याँके पनि दुलाको भाइ नै, भनम् न एक प्रकारले, जस्तो गरी निस्कियो। बाजा साजा नि लग्या हुन्।
कार्किनेटामा पुगेसी बाजाको कर्नाल दुर्लुगंको डाँडातिर फर्काएर “थुँ केरे थुँ थुँ” पारे। पारि पट्टि दुर्लुगं डाँडा पर्छ नजिकै हो, तर जाँदाखेरि भने तल ज्ञादि पुगेर मादि खोलासम्म झरेर, मादि खोला तरेर, फेरि कुष्माको उकालो चढेर जाँदा झण्डै ७, ८ घण्टा लाग्ने नि फेरि।
तर बाजा बज्या चाँही दुलहीको घरमै सुनिया थ्यो रे। पछि थाहा लाग्यो नि हाम्लाई लिखेले भनेसी।
“को लिखे नि?” भनेर नसोधम् है फेरि च्याँके रिसाउँछ के। हत्तपत्त त्यसको अगाडि लिखेको कुरा गर्न नि हुन्न।
*** *** ***
“उराठ लाग्दो दुर्लुंङ्गको डाँडो
पहाडमा राम्रो पाङ्ग,
के राम्रो हेर टारिघरे कान्छा
जागिरमा जान्छ दागं”
बाजाको तालमा गीत पनि घन्किए। त्यतिखेर टारिघरे कान्छा भने भेरी हो कि रापतीतिर हुलाकीको काम गर्थे। च्याँकेलाई नि “जाम हिन्” भनेका हुन् रे एक ताल।
बिहे गर्ने हिसाबले लामो छुट्टिमा आऽका थिए नि। हामी त्यो दुर्लुगंको डाँडा उक्लिँदाखेरि हस्यागं फस्यागं भइसक्या थिएम्। आत्माराम र मेरा त पेटमा छेपारा खेल्न थालिसक्या थे भोकले।
“चौटा खान आऽ बुढी झोलमा डुबेर मरी।” भन्या जस्तो हुनै आँट्या थ्यो।
*** *** ***
बल्ल बल्ल दुलहीको घरमा पुगेर खाना साना खान पाइयो र अनि बल्ल आँखा देखियो नि हाम्ले त। नत्र त हाम्रो स्वासै बन्द हुन लागिसक्या।
माघको जाडो अब जन्ति धेरै फेरि, काँ सुत्न पाउनु नि। बाजा हेरेर बसम् भने दिनभरिको थकाइले खुट्टा सुट्टा निदाएर, आफ्नो खुट्टा हो कि अर्कैको खुट्टा हो चिमोटेर थाऽ पाउनु पर्नी भैसक्या थियो।
हाम्लाई निद्राले झुपु झुपु पारिसक्यो।
माइतितिर चिने जानको पनि कोहि छैन। पहिलो चोटि आऽको दुर्लुगंको डाँडोमा। अनि ठुलो आँट गरेर मैले माइतितिरको एक जनालाई सोधैँ।
“यसो सुत्नी बन्दोबस्त गर्न सक्नुहुन्छ, हजुर? हामी ३ जनालाई?” म, आत्माराम र च्याँके गरेर ३ जनाको लागि मैले अनूरोध गरेँ भनम् न।
“२ जना जति त हाम्रोमा सुते नि हुन्छ तर ३ जना अटाउन गाह्रो पर्छ कि।” भन्दै त्यो मान्छेले अलि पऽरको घरमा लग्यो र पटाहाको खाट देखाइदियो।
एउटा कम्मल थियो, आत्माराम र म त्यही ओढेर सुतियो। च्याँके भने “म त एकछिन बाजा हेर्छु।” भनेर गयो। च्याँके मुखले ठिक्क भे नि हामिसित रिसाऽर गाऽ हुनुपर्छ के। त्यसको त्यस्तो बानी छ पैलेदेखि नै।
थाकेर होला, च्याँकेका कुरा काट्दै हामी एकैछिनमा फ्वाँ फ्वाँ गर्दै निदाइएछ, पत्तै भे नि हाम्लाई त।
१,२ घण्टापछि म त ब्युँझेँ, जाडोले भन्नी कि बाजागाजाको खैलोबैलोले भन्नी नि अब। ब्युँझेर यसो बाजा बजाएको ठाँऊमा पुगेँ। म उठेसी आत्माराम पनि उठेछ, अनि यताउता हेरेछ। मलाई नदेखेर होला नि बाजा भएकै ठाउँमा पुगेछ।
*** *** ***
यता च्याँके भने थाकेर, तिनै २ जनाको छेऊमा गेऽर यसो टाँसिन्छु भन्नी हेतुले फर्केर गएछ, त्यही पटाहाको खाटमा।
अनि एक जना सुतिराखेको देख्यो र “ल कुन चाँहि उठेर बाजातिर गेऽछ, मलाई ठिकै भो, मैले सुत्ने पालो पाएँ।” भनेर मनमनै सोच्दै सुतेछ।
कान्लातिर त एउटी त्यही गाउँतिरकी बैनि पो सुतेकी रेछिन्। हगुवालाई लामो केश बिजाएपछि पो थाऽ लाग्यो। बित्याँस पर्यो बा ।
यता बाजाको रमझम र हुलचाल नै भेऽ पनि आत्मारामले मलाई भेट्यो। हामी कान्लामुनि बसेर हेरियो।
“पहले” भन्ने दादा केटा रेऽछ, तर नाच्न खुब सिपालु यार त्यो केटा। जुन केटी पनि त्यसैसित नाच्न खोज्नी नि फेरि।
“बाजा भेऽन, अलि ताल मिलाऽर बजाऊ!” भनेर थर्काउँदै थियो। तर त्यसका गामका बाजा भन्दा हाम्रै बाजा ठिक थिए यार।
त्यसका गामका बाजा पनि नसुनेको हो र?
*** *** ***
राती हामी फेरि फर्केम् र पटाहाको खाट नजिकै पुगेम्। नजिकै पुग्दा त तल्लो कान्लामा भ्वाक्क हाम्फाल्छन् बा, २ जना।
म पछाडि थिएँ मैले चिनिन। आत्मेले चिनेछ, “एउटा हाम्रै च्याँके हो, अर्को को हो मैले चिनिन। केटी जस्तो पनि छ।” भन्दै थियो।
जे होस् हामेरु सुतेम्।
*** *** ***
एकछिनपछि हाम्ले निदाए जस्तो गरेसी च्याँके नि आयो, तल्लो गह्रातिरबाट लुसुक्क। अनि “बाजा हेर्दा हेर्दै म त बल्ल आएँ, केटा हो!” पो भन्छ।
“त्यो सँगै हाम्फाल्नी केटी कुन हो नि?” आत्मारामले पर्दाफास गर्दियो। च्याँके त अकमक्क गर्छ। फुस्के जस्तो छ लगौँटी। अनि खोल्यो बरा रामकहानी।
भाऽ के रैछ भने नि,
च्याँकेले बित्याँस पर्यो बा भनेर उठेर भाग्न खोज्दा चपक्क समातिछ बुइनीले त।
“हजुर जन्ति हैन?”
“हो।”
“बस्नुस् न एकछिन के भो र म त ह्याँ खालि देखेर पो सुतेकी त। जन्तिहरुलाई पो सुत्न दिनु पर्ने।”
च्याँके अक्मकायो। केटीको स्वर सुनेसी हात सात कापेँ तर सम्हालिँदै मुटु बलियो पार्यो र गफगाफ मिलाउन थाल्यो।
साऽनो सानो स्वरमै।
“यतातिरका बुइनीहरु कति राम्रा के जम्मै।”
“हैन सबै काँ राम्रा छन् र बरु जन्ति पो राम्रा लागे त मलाई त।” लिखेले नि कुरा मिलाई।
जवानीको जोस भन्नी कि के भन्नी अब यत्तिकैमा लिखेले च्याँकेलाई चपक्क समातेर अँगालोमा बाधिन पुगे रे, च्याँकेले भन्या है मलाई त।
*** *** ***
भोलिपल्ट कन्यादन भइसकेसी जन्ति सन्ति फर्के । तल एउटा चौरमा आएर जन्ति बाख्रा मार हान्दै भोज भतेर गर्नतिर लागे।
कान्लामुनि एउटी बुइनी त घुँक्क घुँक्क रुँदै थिई। च्याँकेले राती सुन्या जस्तो आवाज मानेर नजिकै गेऽर सोध्यो ती बुइनीलाई।
“किन रुइकी नानी? दुलही लग्दिए भुनेर हो? यस्तै हो सबैलाई एकचोटि जानु नै छ पराइ घर। नरोऊ न यसरी।” भनेर सम्झाउन खोज्दै थियो।
“मैले कति द”:ख गरेर पालेको बाख्रा काट्दा चित्त दुख्दैन त?”
उही पो रैछे, अघिल्लो दिन च्याँकेसित पटाहामा भेट्या बुइनी।
*** *** ***
च्याँके पनि किंकर्त्वयबिमुढ भयो र भोज भतेरमा सरिक भेऽर जन्ति बाख्रो खाने कत्रो सपना हावाले उडाइदियो। खाएन बरा भोकै फर्क्यो।
त्याँदेखि च्याँकेलाई स्कुलमा सबैले “लिखेको पोई!” भन्न थालेका हुन्। अझैपनि टारि घरे दाइको बे को कुरा गर्न नि हुन्न, जन्ति बाख्रोको कुरा गर्न नि हुन्न, त्यसको अगाडि त। ढुगां टिपेर कुट्न आउँछ, के भन्नी अब “जुन चोर उसको ठुलो स्वर” भन्या यही हो।
अस्तु!
(स्रोत : Sajha.com)