बाल कथा : घाम र पानी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानी गरेरै उनीहरू कतिपय विषयमा सरसल्लाह पनि गर्दथे ।

घाम र पानीको घर यही ठाउँमा हो भनेर निश्चित थिएन । उनीहरू संसारभरि जहाँ मन लाग्यो त्यहीँ बस्थे । तर उनीहरूको बस्ने समय भने निश्चित हुन्थ्यो । घाम र पानी सबैलाई नभई नहुने मीत्र हुन् । उनीहरूको सहयोग बिना यो संसारको अस्तित्व रहँदैन । उनीहरूले यस्तो कुरा बुझेका थिए । “हामी नभई यो विश्वले केही पनि गर्न सक्दैन । हामी नभई बोटबिरुवा, कृषि, उद्योग आदि कसैको पनि अस्तित्व रहँदैन ।” भनेर उनीहरूले कहिले पनि घमण्ड गरेका थिएनन् । उनीहरू जहिले पनि अनुशासनमा बस्दथे । जुनबेला जहाँ जानुपर्ने हो त्यतिबेला त्यो ठाउँमा पुगेका हुन्थे । जतिबेर आफूहरू त्यो ठाउँमा बस्नुपर्ने हो त्यति बेर थपघट नगरीकन उनीहरू त्यहाँ बस्थे ।

घाम र पानी यी दुई मीत्रहरू अनुशासित भएकाले संसारको प्रकृतिको नियम सुचारु रूपले चलिरहेको थियो । मौसमअनुसार खेतबारीमा अन्न बाली, फलफूल फल्थे । जंगलमा रूखपातहरू पलाउँदै र मोटाउँदै जान्थे । जंगलभित्र धेरै थरीका जनावर हुर्किएका हुन्थे । यसरी प्रकृतिमाता नियमित रूपले अगाडि बढेकीले यहाँका मान्छेहरू असल र गुणकारी खानपान समयमा खान पाएर हृष्टपुष्ट र स्वस्थ भएका थिए । त्यसैले उनीहरूको शारीरिक र मानसिक विकास पनि राम्रोसँग भएको थियो । उनीहरूले आफ्नो असल बुद्धिको सदुपयोग गरेर देशमा ठूलो विकास गरेका थिए ।

भदौ महिनाको एकदिन सधै झैं घाम चर्कोसँग लागेको थियो । अकस्मात् एकैछिनमा ठूलो ठूलो थोपासहित पानी पर्न थाल्यो । भदौको महिनामा घामपानी परेको बेला मान्छेहरू “स्यालको बिहे गर्ने भन्दछन् । त्यसैले त्यहाँका केटाकेटीहरू भदौरे घामपानी परेको बेला-

“घाम पानी घाम पानी स्यालको बिहे

कुकुर जन्ती बिरालो बाहुन”

भनेर गीत पनि गाउँछन् । भदौरे घाम पानी क्षणिक हुन्छ । चर्को घाम लाग्दा लाग्दै ठूलो दर्के पानी पर्छ जुन धेरै बेर रहँदैन । एकैक्षणमा पानी पर्न छाडेर फेरि चर्को घाम लागिहाल्छ । तर त्यो दिन धेरैबेरसम्म दर्के पानी परिरह्यो । यसरी ठूलो दर्के पानी धेरैबेरसम्म परेपछि घामलाई चिन्ता लाग्यो । यस्तो हुनु प्रकृतिको नियमभन्दा विपरीत थियो । त्यसैले घामले आफ्नो मीत्र पानीलाई “किन बेमौसममा यसरी दर्केको साथी ? यस्तो याममा त तिमी क्षणिक वषिर्न्थ्यौं । यसपालि के भयो ?” सोध्यो ।

“मीत्र घाम, तपाईले मलाई ठिक प्रश्न गर्नुभयो । ठूलो रुपमा धेरै बेर म दर्किने बेला त यो हैन तर के गर्नु मैले जानीजानी पनि उल्टो काम गर्न परेको छ अहिले । असार, साउनको बेलामा मैले नियमित दर्किनुपर्ने हो तर आजकल म त्यो बेलामा चाहिने जति दर्किन सक्दिनँ । त्यो बेला दर्किने मेरो क्षमता यही संसारका मान्छेले नै कमजोर बनाइदिएका छन्,” पानीले गुनासो पोख्यो । “मैले तपाईको कुरा बुझिनँ मीत्र, प्रस्टसँग भन्नुहोस् न,” कुरा बुझ्ने उत्सुकता व्यक्त गर्दै घामले सोध्यो ।

“कुरा के भने नि मीत्र घामज्यू, यो पृथ्वीका मान्छेले वन जंगल विनाश गरेर डाँडापाखा नांगै बनाएका छन् । वृक्षरोपण पनि गर्दैनन् । त्यसको असरले मेरो प्राकृतिक स्वभावमा परिवर्तन आउन थालेको छ । यस्तो हुनु पृथ्वीका मान्छेका लागि खतरायुक्त हुन्छ,” पानीले कुरा बुझाउँदै भन्यो । “तपाईले ठिक कुरा भन्नु भयो मीत्र पानीज्यू मेरो पनि त हालत त्यस्तै छ । विश्वका ठूला विकसित देशहरूले शक्तिशाली गोलाबारुद, बम प्रहार गरेर मेरो शक्ति पनि त प्रदूषित बनाएको छ । मेरो किरण तहतह पार गरेर पृथ्वीमा फैलिनुपर्छ तर त्यो तह पनि घाइते भएको छ । त्यसमा प्वाल परेको छ । त्यसैले म पनि त ठिक समयमा ठिक तरिकाले आफ्नो तेज फैलाउन सकिरहेको छैन ।”

“मान्छे जातिले यस्तो काम गरेर किन आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको होला हगि घामज्यू ।”

“प्रकृतिसँग होडबाजी गर्ने प्रवृत्ति मान्छेले नत्यागे हामी कसैले पनि प्राकृतिक रूपमा सुचारु तरिकाले आफ्ना क्रियाकलाप चलाउन सक्दैनौं । त्यसको प्रभाव यो विश्व र यहाँ बस्ने मान्छेलाई धेरै खतरनाक हुन्छ । यो कुरा मान्छे जातिले जति सक्यो चाँडो बुझ्नुपर्छ,” घामले आफूले थाहा पाएको कुरा पानीलाई भन्यो ।

“ल त घामज्यू यो पटक म धेरै बेर बेमौसममा दर्किएँ । अब म जान्छु । आज मौकाले हामी दुई साथीले धेरैबेर कुरा गर्न पायौं । मलाई बडो खुसी लाग्यो । मान्छे जातिलाई प्रकृतिमाथि अतिक्रमण गर्नु ज्यादै हानिकारक हुन्छ भन्ने चेतना आओस् भन्ने कामना गर्दै बिदा हुन्छु है त । फेरि भेटौंला है साथी” भन्दै चर्को घामलाई छोडेर दर्के पानी आफ्नो बाटो लाग्यो ।

(स्रोत : Kopila – Kantipur )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.