~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
थुप्रै पछि उस्ले आफूलाई नियाल्यो । ऐनामा हेर्दै छुस्स परेको दाह्री मिलायो । निक्कै मिहनतले खुम्चिएको सर्टलाई हत्केलाले घोट्यो । कोठाको पूर्वतर्फ रहेको झ्याल उघार्यो । गुम्सिएको अवस्थाबाट आफैलाई रिहाइ गरेको महसुस गर्यो । बर्षौ भएछ उसले आफू बसेको कोठा सफा नगरेको ।
मध्यरातमा सुत्न आउथ्यो र बिहान अबेरसम्म सुत्थ्यो ।
“म त रक्सीको मातले पो सुतेछु,नत्र यस्तो गनाउने कोठा ?”वास्तविकता पत्ता लाग्यो । मन मनै आफैलाई धिक्कार्यो ।
“सुन्तलीले छोडेर गएको पनि दुई बर्ष बितेछ । कस्तो बिड्म्बना आजै उसको जन्मदिन परेछ ।” दराजमा राखिएको सुन्तलीको नागरिकता हेरे पछि पो ऊ झसङ्ग भयो । टालोले सुन्तलीको फोटो पुछ्यो । स्मृतिमा अतितका दृष्यहरु चलचित्रका रिल घुमे झै घुम्न लाग्यो । सुन्तली हुँदा कोठाको रौनक अर्को थियो । सबै समानले आफ्नो स्थान सुरक्षित गरेको हुन्थ्यो । झ्याल,ढोकाका पर्दा सफा हुन्थ्यो । दराजमा सामानहरु मिलाएर राखिएको हुन्थ्यो । जतन साथ राखिएका सामान चाहिएको बखत निस्कन्थ्यो । बिहानी चिया,तातो भात र छुट्टीमा खाजाले स्वागत गर्थिन ।
“थुइक्क ! मूर्ख ” आफ्नै अनुहारमा थुक्न चाह्यो अनुहार हेर्दै ।
छरप्रस्ट समान मिलाउने कोसिस गर्यो । ढङ्ग पुगेन सिसाको गिलास खसेर फुट्यो । सिसाले पत्थरसँग हार मान्यो सानो टुक्रा हातमा बिज्यो ।
“आइया !” चोटले ऊ चिच्चायो ।
‘आफ्नो बेदनालाई भूलेर सम्झियो सायद् सुन्तली पनि कति रोइन होली सुत्केरी व्यथा लाग्दा । कति चिच्चाइन होलिन् । साँच्चै ! कति पटक बाँच्नलाई गुहारिन होलि मलाइ तर म कतै भट्टीमा मस्त थिए ।’ मनमनै त्यो दिन सम्झियो ।
‘डाक्टरले कात्तिक सत्रमा डेट बताएको छ भनेर हेल्चेक्राइ गरे । कम्तीमा नौ महिना गर्भ पुगेकी सुन्तलीलाई मैले एक्लै छोड्नु नहुने थियो ।’ अबेर भए पछि उसको चेत खुल्यो ।
छेउमै राखिएको गोर्खापत्र पल्टायो । सुत्केरी महिलालाई ओ नेगेटिभ रगत चाहिएको खवर पढ्यो । आफ्नो रक्त ग्रुपसँग म्याच गरेकोले हतार हतार ऊ ब्लड बैक तर्फ दौडियो ।
रक्तदान पछि हल्का महसुस गर्यो र कोठालाई पुन: मिलाउन व्यस्त भयो ।
(स्रोत : Shabdahar)