कथा : परदेशी साथी

~कमला सरुप~Kamala Sarup

हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर

उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको सुखानुभूति दिन्छ भन्ने चाहिँ मैले सोचेकी थिइनँ । यसरी आज ६,७ वर्षछिको हाम्रो मित्रतामा उसले निर्धक्कसँग मेरो हात समातेको थियो । हाम्रो समाजमा एउटा पूरा उमेर पुगेको केटाले एउटी उमेर पुगेकी केटीलाई हात समात्नु पक्कै पनि स्वीकार्य हुन सक्तैन भन्ने कुरालाई सायद उसले बुझेको पनि हुनुपर्छ । तर यतिखेर उसले समाजलाई बिर्सेको छ र निर्धक्कसँग बीचसडकमा मेरो हात समातेर सँगै जीवन बाँचौं भन्ने आग्रह गरेको छ ।

‘जीवन यति छोटो छ कि धेरै ठाउँमा घुम्न पनि यति छोटो जीवन र समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरामा नै मैले विश्वास गर्न सकिरहेको छैनँ । तर जे भए पनि तिमीलाई म माया गर्छु, मन पराउँछु त्यसैले हामी टाढा घुम्न जाने है ! तिमीसँग धेरै कहिल्यै नसकिने कुरा गर्नु छ । मलाई त मृत्युकै जस्तो आभास पो भएको छ ।’ उसको आँखामा अव्यक्त पीडा थियो त्यो मैले नदेखेरै महसुस गरेकी थिएँ । हाम्रो सम्बन्ध सधैँ जीवित रहनुपर्छ जस्तोसुकै अवस्थामा पनि सम्बन्ध बाँच्नुपर्छ ।
उसले कुराकानी सुरु गर्यो । म भने गम्भीर भएँ । ‘म गम्भीर मान्छेलाई मन पराउँदिनँ, मान्छेले खुसी हुन जान्नुपर्छ । गम्भीर मान्छेहरूका विचार र उनीहरूसँगको सम्बन्धले चिसोपनमात्रै बढाउँछ, मैले सोचेको कुरा पनि यही नै हो ।’ ऊ लगातार बोलिरहेको छ र म सुनिरहेकी छु । मेरो गम्भीरतालाई उसले त्यति महत्त्व दिएको जस्तो मैले महसुस गरिनँ । मैले भनेँ ‘म देश र घर सम्झेर रोइरहेकी छु । मलाई थाहा छ कति एक्लोपन हुँदो रहेछ घर र देशबाट टाढा बिरानो ठाउँमा आउँदा। ‘एकताका म पनि गम्भीर थिएँ तिमी जस्तै, तर आज म खुसी छु किनभने मैले बाँच्न सिकेको छु ।’ उसले सान्त्वना दिन खोज्यो । मेरो कुरा सुनेर उसले त्यति ध्यान दिएजस्तो लागेन ।

साँझको लगभग ६ बजेको छ । डुङ्गाभित्र हामीहरू कतै पूर्वको सहरमा जान तम्तयार भएका छौं । डुङ्गाभित्र मान्छेहरूको भीड बढेको छ । मान्छेहरू नाचिरहेका छन्, यस्तो लाग्छ यो उनीहरूको खुसियालीको समय हो । मैले कल्पना पनि गरेकी थिइनँ मानिसहरू यति धेरै खुसी प्राप्त गर्न सक्छन् । झमक्क साँझ पर्न लागेर पनि होला परपर देखिने सानातिना डुङ्गाहरू सँगसँगै बगिरहेका छन् । ठूलाठूला घरहरू, र दक्षिणपट्टिको हरियो ठूलो चौर पूर्वपश्चिम फर्किएको मोनुमेन्टका दरबारले मन्त्रमुग्ध बनाएको छ । मैले भनेँ ‘जीवनमा बाँच्न सिक्नु भनेको सायद सबै भन्दा कठिन काम हो ।

गम्भीरता त क्षणिक हुन्छ जस्तै खुसीहरू सधैँ टिक्दैनन् । तर बाँच्ने कला भनेको अत्यन्तै गाह्रो कुरा हो । मान्छे सजिलै बाँच्न सक्दैन ।’ मैले एकैसासमा भनेँ र उसलाई हेरेँ ऊ हातमा पुराना किताबहरू पल्टाएर पढ्न व्यस्त देखिन्छ । ‘तिमीले जीवनमा कसैलाई प्रेम गरेकी थियौ ?’ उसको अप्रत्याशित प्रश्नले म झस्किएँ । मैले भनेँ ‘गरेकी थिएँ । तर त्यो प्रेम मैले सोचेको जस्तो आदर्श प्रेम थिएन । पानीको फोकाजस्तो क्षणिक थियो । त्यो एक पीडादायक र सम्झन नसकिने प्रेम थियो । त्यो पूर्णतः पीडादायी थियो । म यतिखेर के पनि सोचिरहेकी छु भने मेरो प्रेमको त्यो उच्चताले किन जीवनको त्यो गरिमालाई छुन सकेन, मैले भनेँ र ऊ फिस्स हाँस्यो ‘तनावमा बाँच्नु व्यर्थको कुरा हो भन्ने मलाई लाग्दछ । मान्छेमा तनाव भएमा उसले आफ्नो असीम शान्तिलाई गुमाउँछ र त्यो बाँच्नका लागि खतरनाक हुन्छ ।’ उसले सम्झाउन खोज्यो । अनि फेरि भन्यो ‘पैसा कमाउनुपर्छ, अभावले दिने पीडा जीवनमा झन् निर्रथक र खतरनाक हुन्छ।’ म पनि हाँसेँ ।
सडकमा मोटरहरूको लस्कर लागेको थियो । मान्छेहरूको भीड नजानिँदो किसिमले बढेको थियो । हामी बसेको डुङ्गा यतिखेर सडकछेउमा बगिरहेको थियो। ‘सायद यो व्यस्त सडकमा मान्छेहरूलाई बिस्तारै हिँड्ने पनि फुर्सद छैन । मान्छे बेफुर्सदी भएको नै राम्रो हुन्छ किनभने मान्छेको लागि त्यो ठूलो महत्त्वपूर्ण कुरा पनि हुन्छ ।’ उसले नै प्रश्नको जबाफ दियो र बिस्तारै भन्यो, गम्भीर हुनु र नहुनु जीवनमा त्यति महत्त्वपूर्ण कुरा हैन । तर जीवनमा महत्त्वपूर्ण कुरा हो – जीवनलाई बाँच्न सिक्नु । धेरै मान्छेले बाँच्न सिकेका छैनन् त्यसैले अल्मलिएका छन्, दुःखी छन् र हतास छन् । मलाई यस कुराले खुसी बनायो कि कमसे कम मेरो साथीले बाँच्न सिकेको छ । पक्कै पनि तिमी व्यावहारिक हुनुपर्छ र साथै भावुक पनि । सायद तिमी पनि साहित्य मनपराउँदछौ होला हैन त ? मैले एकैसासमा सबै कुरा सिध्याएँ । मलाई उसको गम्भीरता र गम्भीरताप्रतिको उसको टिप्पणी महत्त्वपूर्ण लागेको थियो ।

उसले हाँस्दै भन्यो – ‘म अरूको सम्मान गर्नुपर्छ भन्ने पक्षको मान्छे हुँ । मलाई एउटै सिद्धान्त थाहा छ – जसले अर्काको सम्मान गर्छ त्यसले धेरै मात्रामा बाँच्न सिकेको हुन्छ । तनावमा रहनु या जीवनदेखि अल्मलिनु भनेको जीवनलाई दुःखी बनाउनु हो । जहाँसम्म भावुकताको कुरा छ – भावुक भएर पैसा बन्दैन, पैसा बनाउन मिहिनेत गर्नुपर्छ । तर म सम्वेदनशील भने पक्कै छु ।’

मलाई उसको कुरा मन पर्यो। ‘हेर, सडकमा मोटरहरूको जाम लागेको छ ।’ उसले सडक देखायो । डुङ्गा यतिखेर सडक छेउबाट बगिरहेको छ ।’ मानिसहरू हतारमा छन् । दिनभरिको कामको थकाइ मेट्न र आफ्नो परिवारसँग भेट्न कति आतुर भएर मानिसहरू आफ्नो घरतिर लागिरहेका छन् । आखिर हरेक मान्छेलाई मान्छेको आवश्यकता छ । कोही पनि एक्लै बस्न मन पराउँदैनन् । सबै मानिस मायामा बाँच्न मन पराउँछन् ।’ उसले मेरो देब्रे हात समात्दै भन्यो । ‘ तिमीले ठीकै भन्यौ – मान्छे सधैँ माया खोज्छ । तर मसँग एउटा गम्भीर प्रश्न छ – यदि माया गर्छौ तर बदलामा अपमान पाउँछौ भने के गर्ने ?’ मैले अनाहकमा उसलाई प्रश्न गरेँ । उसले भन्यो- ‘हामीले सधैँ एउटा कुरा के बिर्सन हुँदैन भने सबै असल मान्छेहरूले असल मित्रता पाउँदैनन् यदि तिमी तिम्रो मित्रताबाट अपमान पाउँछौ भने तिमीले त्यो मित्रतालाई जीवनमा त्यति महत्त्व दिनु हुँदैन । एउटा सत्य मैले सिकेको छु अन्त्यमा असल मान्छेले सधैं असल मान्छेलाई नै आफ्नो जीवनको नजीक पाउँछ ।’
उसको अनुहार चम्केको छ यतिखेर । ‘म पनि तिमीजस्तै धेरै मान्छेलाई विश्वास गर्ने मान्छे हुँ । तर विगत केही वर्षदेखि म काममा कति धेरै व्यस्त भएँ भने आफ्ना साथीहरूलाई सम्झन समय पनि भएन । अहिले म एक्लै धेरै खुसी छु र यो खुसी स्थायी होस् भन्ने मेरो कामना छ ।’ मैले पनि जबाफ दिएँ – ‘ मलाई तिम्रो कुरामा सत्यता छ जस्तो लाग्यो ।’

‘हामी डुङ्गा चढेको एक घण्टा भइसक्यो हैन त ? म तिम्रो केही फोटोहरू खिच्न चाहन्छु ।’ उसले अनुमति माग्यो । मैले सहमतिमा टाउको हल्लाएँ । यतिखेर उसको हातको क्यामेरा मेरो फोटो खिच्न व्यस्त भएको छ । म भने उसको क्यामेराभित्र कैद भावुक भएकी छु । समुद्रबीचमा थुप्रै मान्छेहरूको भीडबाट छुट्टै बसेर आज हामीले जीवनलाई सम्झेका छौँ ।

आफ्नो विचार पोख्नु. त्यसमा पनि यति स्वतन्त्रताका साथ, कति आनन्ददायक हुन्छ मैले अनुभव गरेकी छु । यो अनुभवले मलाई खुसी दिएको छ । खुसीलाई एकैसाथ अनुभव गर्नु कति आनन्ददायक हुन्छ मलाई थाहा छ ।

यतिखेर मलाई मृत्यु र जीवनका बारेमा सोच्न मन छैन । मात्र जीवनको र मायाको बारेमा सोच्ने मन छ । जीवन एउटा लामो यात्रा हो र कहिल्यै नसिद्धिने यात्रा हो भनेर म कविता कोर्न चाहन्छु । कविता यस्तो होस् गुलाफको फूल जस्तो, सधैँ घरअगाडिको आँगनमा रोपेर मग्न भइरहने । माया गुलाफको फूलजस्तै चहकिलो हुनुपर्छ – मेरो पहिल्यैदेखिको मान्यता हो यो । ऊ मेरा फोटोहरू खिचिरहेको छ र म विभिन्न मुद्रामा आफूलाई उसको क्यामेराभित्र कैद गराउने कोसिस गरिरहेकी छु ।
‘अब एकैछिनपछि हाम्रो यात्रा सिद्धिनेछ ।’ उसले मुख अँध्यारो पार्यो । ‘आखिर हरेक कुराको सुरुवात भएपछि अन्त्य हुन्छ भन्ने मान्यता सबैलाई थाहा भएकै कुरा हो ।’ मैले प्याच्च बोलें । “तर जे भए पनि हामी फेरि भेट्नुपर्छ । हरेक दिन भेट्नुपर्छ । जीवनको अन्त्य नभएसम्म हाम्रा मनहरूले एउटा निश्चितताको रेखाङ्कन गर्नुपर्छ जुन स्वीकार्य पनि हुन्छ । आखिर मृत्यु निश्चित छ र जीवन भनेको सहज बाँच्नु पनि हो ।” उसले भन्यो । म भने अब एकछिनपछि फेरि हाम्रो भेट हुने छैन भन्ने सम्झेर दुःखी भइरहेँ । आखिर परदेशमै भेटेको भए पनि ऊ मेरो जीवनका लागि यति महत्त्वपूर्ण होला भन्ने त मैले सोचेकी पनि थिइनँ ।

– कमला सरुप

(स्रोत : Nepalarab.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.