यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै ।
उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा शनिवार थियो । हामी लम्बेतान पिङमा मच्चिएको । मैले भरोसा दिएको ।
सोधेकी थिई,“ यो चेनको पिङ जत्तिकै बलियो छ तिम्रो भरोसाको पिङ ?”
अनि मैले भनेथेँ, “हो । धेरै बलियो ।”
“तर तिम्रो प्रेममा चेन छैन ।” उसले भनी ।
“चेन त फुस्किन्छ केटी,” मैले हाँस्दै भनेथेँ ।
अनि मन्द गतिको पिङबाट फदालेँ । उ अझै पिङमै थिई । मैले पछाडिबाट जोडले धकेलेँ । लत्रिन लागेको सल तानेँ र उसले झैँ घाँटीमा बेरेँ । उसकै गन्ध मिसिएको थियो ।
…
उसले सम्झेकी होली र हाम्रो भेट ?
स्कुलमा एउटा हरिविजोगको सर थियो । न अरु बोलेकै सुन्न सक्थ्यो । न देख्थ्यो नै । त्यही सरको फस्ट पिरियड । उ फस्ट डे स्कुल आएकी थिई । सधैझैँ बुढाले होमवर्क मागे ।
म थिएँ, बुढा भन्दा पनि हरिविजोग । न पढ्ने । न होमवर्क गर्ने । उस्तै परे गर्नेहरुको पनि हराइदिने । अनि आफूसंगै कुखुरी बन्न तयार पार्ने ।
त्यो दिन विहान देखि नै लोत्तर थियो । बाक्लो हुस्सु लागेको थियो । मर्न लागेको बुढो गोरु झैँ । पानी झर्ला झर्ला जस्तो । केटाहरु बाठो भैसकेका थिए । होमवर्क लुकाइसकेछन् । कुखुरी एक्लै बन्नुपर्ने पक्का थियो ।
धन्न उ आई । मिडीलाई घुँडामाथि लाएर । दुइसय मिलीमिटर जस्मिनको पर्फ्यूम लाएझैँ बसाएकी थिई ।
फस्ट डे । कहाँको होमवर्क ?
बुढाले चिने पो को पुरानो को नयाँ । सुने पो केई बुझ्नु ।
लाई केटी मेरो पछि पछि कुखुरी बन्न । त्यो पनि फस्ट डे मै । क्लासका छाउराछाउरी सब जिल्लाराम ।
म दक्षिण फर्किएर कुखुरी परेँ । उ उत्तर फर्किएर । म त्यतिवेला जिल्ल भएँ, जतिवेला टाङ मुनीबाट हाम्रा आँखा जुधे ।
…
“होमवर्क किन नगरेको ?” उसले सोधी फर्कदाँ ।
उ नयाँ भएकाले यसो सोधीरहेकी थिई । नत्र स्कुलमा त सबैलाई थाहा थियो । म किन होमवर्क गर्दिनँ ।
हामी सहरमै पढेपनि सरकारी स्कुल भएकाले स्कुलवसको ब्यवस्था थिएन । त्यसैले हामी बजारको बाटोमा गाडीसंग छेलिएर पैदलै हिँड्थ्यौँ ।
“तिमीले पो किन नगरेकी ?” उल्टै सोधेँ ।
“म त फस्ट डे ।”
“म त एभर ग्रीन फस्ट डे ।” जिस्काउँदै भनेँ, “तिमीलाई जस्तै होमवर्क मलाई पनि पत्ता नाई ।”
“एसएलसी दिन पर्दैन ?”
“एसएलसी ?” आलुजत्रा आँखा तेस्र्याएँ ।
उ तर्सिई के के हो ? सर्टको फेरो तलतिर तानी ।
“हो एसएलसी ।” उत्तर आशातित् नजर फर्काई ।
“कति चोटी ?”
उ ट्वाल्ल परी । हेरेको हे¥यौ भई । मैले भंग गरेर भनेँ,
“के हेरेकी ? लव पार्नु छ र ?”
“होस् तिमीसंग त गर्दिन । तिमी जस्तै लव पनि आलू भयो भने ?”
“म कहाँ आलू छु त । काँचो अम्बा जस्तै साह्रो छु रे । करेला भन्दा तितो । हलुवावेद भन्दा टर्राे । खुर्सानी भन्दा पिरो । अरु के के के के ।” आफ्नै बेइजत त्यो भन्दा धेरै भनिनँ । अन्त्यमा थपेँ, “मैले भनेको हैन । त्यै बुढोले भनेको ।”
हामी चोकमा आइसकेका थियौँ । छुटियौँ । आज सुनाउने भई आमाबालाई फस्ट डे को प्रगती ।
…
उसको बाउ आर्मी रहेछ । हवल्दार हितमान थापा । घरचाई पोखरातिर रे । सरुवा भएर यहाँ आइपुगेका ।
उ एक्लै डेरामा बस्थी । बा ब्यारेकमै । त्यसैले उ फुक्काफाल थिई । म जस्तै ।
साँझ पकाएपछि विहानलाई पनि पुग्ने ।
मेरो घर थियो बजार मै । बाको सरकारी जागिरले जेनतेन धानेको । मालपोतका जागिरे । बेलाबेला ‘वोनस’ पनि ल्याउथे । दाइहरु विदेश । पैसाको खोलो छ भन्थे जान्नेहरु । मैले त घरमा बगेको देखिनँ । पानी त हुन्थेन घरमा ? पैसा के बग्नु ?
उ कक्षा दशमा आएकी थिई । सायद रजिस्ट्रेसन नम्बर बोकेर आएकी थिई । विषय नमिलेकाले लास्ट पिरियड उ खाली बस्थी । ‘जो ग्राफी’ हाम्रो स्कुलमा थिएन । उसले एच्छिक पैथ्रम त्यै लिएकी रहिछे । त्यसैले छिटो घर फर्कन्थी ।
आफ्नै घरको अर्थशास्त्र बुझ्न नसकेको म । कसरी मार्शल र आदम स्मिथको परिभाषा र सिदान्त बुझ्नु ।
यसै गुल्टुङ, उसै गुल्टुङ । छाड्दिन थालेँ लास्ट पिरियड । उसले मैले क्लास छाडेकोमा किन ? भनेर सोधिनन् । न त मलाई पश्चाताप नै भयो ।
“आउ आज आइसक्रिम खाऊँ” एकदिन उसले आग्रह तेस्र्याई ।
“मलाई त हट लेमन खान मन छ,” मैले खल्ती छाम्दै भनेथेँ ।
“यसो गरौँ, पहिले हटलेमन खाउँ । अनि आइसक्रिम ।”
“पहिले आइसक्रिम ।” मैले जिद्यी गरेँ ।
उसले हारेझैँ, हस भनी ।
नजिकै क्याफेमा गएर एकुन्टा आइसक्रिम किनेँ । गुलाफको फूल दिएझैँ, उसलाई आइसक्रिमको सोली दिएँ । त्यतिखेर आइसको चिसो र उसको हातको तातोविच घर्षण भई रासायनिक प्रतिक्रिया हुँदा मेरो मुटुमा करेन्ट लागेको थियो ।
कम्ता उल्लु थियौँ र हामी ? मुखमा आइसक्रिमको सेतो नमेटिँदै रेस्टुरेन्टमा छि¥यौँ हटलेमन खान । वारपार कुर्सिमा बस्यौँ । बल्ल मजाले एकअर्कालाई नियाल्ने मौका मिलेको थियो । म त उसलाई हेरेको हे¥यै भएँ ।
उमेर सोह्र त पुगेकी नै थिई पक्कै । मस्त जवानी लिएर हिँडिरहेकी थिई । मुहारमा मादकता प्रस्ट थियो । आँखामा नशा थियो । हेराइमा मोहकता थियो । बोलाईमा संगित थियो ।
(माफ गर्नुहोला पाठकबृन्द, म यो भन्दा धेरै भन्न सक्दिनँ । किनकी अब धेरै बोलेँभने, तपाईले आफ्नी प्रेमिकासंग दाँज्न थाल्नुहुन्छ । त्यसैले तपाइँको प्रमिकाको कथा लेखेको आरोप मलाई लाग्नेछ । बेकार लफडामा के फस्नु ।)
हट लेमन आयो । सुरुप्प सुरुप्प खायौँ । रेसटुरेन्टबाट निस्कँदा चार वजिसकेको थियो । सबै छाउराछाउरीहरु फर्किरहेका थिए ।
…
शुक्रबारको दिन थियो ।
उसले फेरि एकपटक हट लेमन खान मन भएको कुरो गरी ।
“तिमी आफै हट छौ । अब अझै हट लेमन खायौ भने त तातेर विस्फोटै हौली ।” मैले उतिर फर्किएर ठिंग उभिएर भनेँ ।
“यू चिटर ?” उसले हल्का हानी काँधमा ।
उसले कहाँ बुझेकी थिई र काँधको नसा पनि मुटुमै गएर टुंगिन्छ । उसले त ऐच्छिक दोस्रोमा एकाउन्ट पढेकी थिई । मैले पो हेल्थ एण्ड फिजिकल पढेको । त्यसैले यसपाली पनि मेरो मुटुमै झड्का लाग्यो ।
त्यसदिन मेरो करमा आइसक्रिम खायौँ । तात्तेर आफै विस्फोट हुँला जस्तो भैसकेको थिएँ । त्यसदिन पनि पैसा मैले नै दिएँ । आइसक्रिम दिँदै गर्दा मैले भनेँ, “भोलिदेखि एकाउण्टको जिम्मा तिमीलाई । मलाई आउँदैन ।”
उ बुझेझैँ फिस्स हाँसी ।
“यो सहर मेरो लागि नयाँ हो । मेरो गाइड तिमी ।” उसले भोलिको शनिवारलाई इंगित गर्दै भनी ।
के छ र ? एकाध मन्दिर, एकाध पार्क, अनि एकदुई अन्य ।
“के हेर्ने मन छ ? मन्दिर घुमाइदिउँ ?” मैले हल्का जिस्कँदै भनेँ ।
“मलाई यहाँको पार्क हेर्न मन छ,” उसले टक्क अडिएर भनी । “मलाई लिन भोलि रुममै आउनु ।”
“मैले तिम्रो डेरा कहाँ देखेको छु र ? तैपनि हवल्दार हितमान थापाले मार्ने पो हुन् कि ?” झन् जिस्कँदै भनेँ ।
“बा आउँदैनन् । ल हिँड म आजै देखाउँछु मेरो रुम ।”
उमेरले अठारवर्ष । पठ्ठो जवान । परिआए जे पनि गर्न तयार । म जस्तो केटालाई के उसले रुममा लानै खोजेकी हो त ? म त एकछिन अलमल्ल परेँ । आफै भित्र हराएँ ।
होसमा आउँदा उ केही कदम अगाडि पुगिसकेकी थिई । हतारहतार भेट्न पुगेँ । उ फिस्स हाँसी । हाँस्दा झन् राम्री देखिई ।
अन्ततः एउटा सानो कोठामा पु¥याई । म डो¥याएको बाच्छो झैँ पुगेको थिएँ ।
चारपाँच जोर टिसर्ट र जिन्स ह्याङ्गरमा झुण्ड्याइएको थियो । एउटा पोलङमा मिलेको विस्तरा थियो । ग्यासस्टोभ राख्ने टेवल र केही भाँडाकुँडा । भुइँमा हरियो कार्पेट विछ्याइएको थियो । झ्यालमा पनि हरियै पर्दा लाएकी थिई ।
“किन किन यो सहर आएदेखि मलाई एक्लोपनले घेर्न थालेको छ । बाको जर्वजस्तीले आएकी हुँ । उताको (पोखराको) स्कुल छाड्ने मन थिएन । जस्तै भए पनि मिल्ने साथी थिए । हरेक शनिवार लेकसाइड जान्थ्यौँ । बोटिङ गर्दै खुव रमाउँथ्यौँ ।” उ एकाएक फ्ल्यासब्याकमा पुगी ।
मलाई के भनौँ के भनौँ भो ।
“यता त सब आफ्नै आफ्नै सुरमा ब्यस्त । कसैलाई मतलब छैन कसैको ।”
“म छैन ?” दुइकदम अघि बढेर हिन्दी सिनेमाको हिरोले झैँ भनेँ ।
“तिमी एउटा भेटियौ ।” उसले झन तीनकदम जति अघि बढेर भनी, “तर दुइ नम्बरको बकम्फूसे ।”
अनि खितित्त हाँसी ।
“तिमी बकम्फूसी ।” मैले अरु भन्ने केई कुरो नपाएर भनेँ ।
उसले सिरानी उठाएर झण्डै हानेकी ।
(पुरानो एउटा हिन्दी फिल्ममा पनि यस्तैयस्तै लवपरेको थियो । पाठकबृन्द, त्यसैले मलाई कथा चोरीको आरोप नलागोस है ।)
…
निर्धारित समयमा म उसको डेरामै पुगेँ भोलिपल्ट । उ चिटिम्क परेर बसेकी थिई । टाइट जिन्स र हरियै टिसर्टमा । हल्का चिसो भएकाले मफलर पनि लगाएकी थिई । हातमा रुमाल र रुमालभित्र पैसा राखेकी थिई ।
म भने, च्यातिन लागेको कन्भर्स शू, पुरानै जिन्स र चेकसर्टमा ठाटिएको थिएँ ।
उ म आएकोमा खुसीले उफ्री । धन्न तल्लो कोठामा बस्नेले गाली गर्न आएनन् ।
ढ्याक्क ढोकालाई । भोटे ताल्चा त नभनौँ, फूली जत्रो पहेँलो चापी लगाई । अनि साँचो मलाई राख्न दिई । के म उसको … हो र ?
मलाई त लागेको थियो, मोहिनी पार्क (काल्पनिक) लैजाउँ । तर उसले पहिले चिल्ड्रेन पार्क जान मनभएको कुरा गरी ।
“हस महारानी,” भनेर उतै लएँ ।
शनिवार भएकाले पार्कमा केटाकेटीहरुको अचाक्ली भिड थियो । साइकल कुदाइरहेका, फूटबल खेलिरहेका, स्किपिङ गरिरहेका अनि पिङ्मा झुण्डिरहेका, मच्चिइरहेका ।
केटाकेटी बस्नम्लिने मेचहरु थुप्रै थिए । उनीहरु दुइजना मज्जाले बस्न सक्थे । तर हामी ?
एकअर्कामा मज्जाले टाँिस्सएर बस्यौँ । बस्दा उसको तातो रापले सेकिरह्यो । मलाई तातो वासनाले जिस्काइरहेझैँ । बोलाईरहेझैँ लाग्यो ।
उ मलाई एकटकले हेरिरहेकी थिई ।
“किन चिल्ड्रेन पार्क आउन कर गरेकी ?” मैले सोधेँ ।
“भोलिपर्सि हाम्रो पनि यस्तै बाल्बच्चा हुन्छन् ।” आँखालाई केटाकेटीतिर फर्काएर भनी ।
“हाम्रा ?” आश्चर्य मान्दै सोधेँ ।
“हो हाम्रा ।” उसले भनी । अनि मेरो आँखा हेरेर भनी, “आइ लव यू रागव ।”
“हँ ?” म त झसंगै भएँ ।
मलाई माया गर्ने पनि कोई छ यो संसारमा ?
क्लासको ब्याकबेन्चर । परिक्षाफलमा आलू मात्र हैन कोक्याउने पिडालु पनि । ब्यबहार सिस्नु जस्तो । संगत कसैसंग गतिलो छैन । दुइवर्ष एसएलसीमा फेल । (तैपनि क्लास हिँडेकै हो । लाज पचाएर ।)
“के भनेकी यो ?” मैले हत्तपत्त सोधेँ ।
“सुनेनौ ? आई लव यू रागव ।”
“सुनेँ ।”
“अनि ?”
“कुन्नि ।”
“बुझेनौ ?”
“बुझेँ ।”
“अनि किन केई नबोलेको त ?”
“कुन्नि ।” म त हे¥याहे¥यै भएँ । बोल्ने वाक्य थिएन ।
“भन न प्लिज,” उसले मेरो हात समाई ।
“के भन्ने ?” मैले सोधेँ ।
“आइ लव यू टू परिक्षा ।”
“आई लव यू टू परिक्षा ।” भनेँ । कस्तो मुटु नै बाहिर आउला जस्तो भएको ?
अनि उसले खुसीले मेरो निधार चुमी । म त तात्तेर रातै भएँ । डढेर कालैपनि भए कि के हो ?
उसले चुम्न निधार छेवैमा राख्दिई । गड प्रमिस, मैले चुम्न सकिनँ ।
हामी विस्तारै उठ्यौँ । उसले मेरो हात समातेर हिँड्न थाली । हैन यो केटी मान्छेलाई लोग्नेको हात किन समात्नुपरेको होला ?
म उसको भरोसा थिएँ भन्ने कुरा मलाई त्यतिखेर कसले सिकाओस् ?
…
जव लव प¥यो । हरेक शनिवार हामी पार्कमा जान थाल्यौँ । त्यसपछि चिल्ड्रेन पार्क भने गएनौँ । मोहिनी पार्क गएर पिङमा मच्चिन थाल्यौँ । उ त्यस पिङलाई भरोसाको पिङ भन्थी । उ मेरो आग्रहमा कुर्ता लाउन थालेकी थिई ।
(त्यो दिन पनि कुनै एउटा शनिवार थियो । हामी लम्बेतान पिङमा मच्चिएको । मैले भरोसा दिएको ।
सोधेकी थिई,“ यो चेनको पिङ जत्तिकै बलियो छ तिम्रो भरोसाको पिङ ?”
अनि मैले भनेथेँ, “हो । धेरै बलियो ।”
“तर तिम्रो प्रेममा चेन छैन ।” उसले भनी ।
“चेन त फुस्किन्छ केटी,” मैले हाँस्दै भनेथेँ ।)
एकाएक म पढाइमा तेज हुन थालेँ । परिक्षा नाम गरेकी केटीसंग लव पर्ने वित्तिकै म जान्ने भएकामा साथीहरु अचम्म मानिरहेका थिए । परिक्षाले मलाई केई पढाइमा तेज हुने दवाई दिए जस्तै । म आफैलाई पनि अचम्म लागिरहेको थियो ।
(गत शनिवारको साँझ झिसमिसेमा पार्कबाट फर्किदाँ छोड्न पुगेको थिए उसकोमा । त्यतिवेला न उसले रोकी । न मैले । त्यतिवेलै त हो मैले मायाको रस पिएको । के तेई नै पास हुने छडि थियो के हो ?)
म केटाहरुलाई भन्थेँ, “तेसको नामै परिक्षा ।”
प्रथम त्रैमासिकमा पाँच विषय लागेको थियो । सेन्टअपमा त फेअरली पास । देखेर हेडमास्टर पनि छक्कै । बुढोसर पनि हाँसेको थियो त्यसदिन मलाई देखेर ।
एसएलसी त झन् दमदार थियो । त्यसपछि पो केटाहरुले म जान्नेहुनुको रहस्य बुझे, जव मेरा नामको फस्ट लेटर आर र परिक्षाको पी संगै पर्दथ्यो । (क्यू बाट नेपालमा नाम भएको मान्छे मैले भेटेको छैन ।) त्यसैले सिम्वोल नम्बर पनि संगै । सबै उसैको सार्न पाइन्थ्यो । कतिसम्म भने, सोसलको परिक्षामा उसले नेपालको नक्सा नै बनाइदिई ।
एसएलसी परिक्षा सकिएको दिन हामी फेरि मोहिनी पार्क गयौँ । उ मलाई छाडेर अब पोखरा फर्कदै थिई । आमासंग बस्न जान्छु भन्थी । भेट हुन मुस्किल छ भन्थी ।
उदासउदास थिएँ म । उ पनि उदास नै देखिन्थी ।
“जिन्दगीमा धेरैधेरै साथहरु मिल्छन् । किन हरेक साथ छुट्छ ?” उसले काँधलाई ममाथि विसाएर भनी ।
हामी पिङमा मन्द गतिमा थियौँ ।
“हाम्रो साथ छुट्दैन परि ।”
म उसलाई परि मात्र भन्न थालेको थिएँ । उसले पनि मलाई राग मात्रै भन्थी ।
“भोलि विहान त म गैहाल्छु राग,” उसले भनी ।
“पोखरा त्यति टाढा छैन परि ।”
उसले केई भनिन । निक्केवेर सुस्ताइरही । काँध लुछुप्पै भिजेको थियो ।
…
भोलिपल्ट म उसलाई छोड्न बसपार्क सम्म पुगेँ । बोल्न सकिनँ । उसले बाको अघि नपर्नु भनेकी थिई । त्यसैले परैबाट हेरेर बसेँ ।
त्यसपछि मलाई उ चढेको बसको याद छ । र उ कहिल्यै फर्केर आइन ।
…
आज बर्साै पछि छोराको अनुरोधमा हामी (म, छोरा पुकार र उसको मम्मी) चिल्ड्रेन पार्क गयौँ । मेरो स्मृतिमा अचानक रिल घुमेझैँ विगत घुम्न थाल्यो ।
(“भन न प्लिज,” उसले मेरो हात समाई ।
“के भन्ने ?” मैले सोधेँ ।
“आइ लव यू टू परिक्षा ।”
“आई लव यू टू परिक्षा ।” भनेँ ।)
पुकार र उसकी मम्मीलाई घर फर्काएर म एक्लै मोहिनी पार्क पुगेँ । त्यहाँ न त मान्छे र्क भिड थियो । न त पहिले झैँ आकर्षक थियो । म अझै पर पुगेँ । जहाँ हाम्रो भरोसाको पिङ थियो ।
अहो ! हाम्रो भरोसाको पिङ चुँडेर भुइँमा लत्रिएको थियो ।
समाप्त ।
(स्रोत : shabdahar)