कथा : सलाम

~बिपुल सिजापती~ Bipul Sijapati

बाहिर भीषण गोलाबारी हुँदै थियो ।

“ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र पुनः सुकेको मुखले चिच्याउँन थाल्यो, “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।”

यसपटक बल्ल उस्ले फ्रिक्वेन्सी समात्न सक्यो, उताबाट रिप्लाई आयो, “सेरा नाइन..ओस्कर रोमियो…. पोजिसन ?”
जवानले सुकेका ओठमा जिब्रो फेर्यो, “ओस्कर रोमियो….आक्रमण भै रहेको छ, क्याजुअल्टी तीन घाइते सात…उता तर्फ पनि निकै क्षति भएको छ… ब्याकअप फोर्सको जरुरी छ… ओभर…”
“सेरा नाइन…बन्दोबस्तिका सामानको अवस्था ?”
“ओस्कर रोमियो….माइक ब्राभो बढीरहेको छ…केही थ्रि नट थ्रि राईफल मात्र चलिरहेका छन्… गोलीको निकै कमी छ… ओभर ।”
“सेरा ओस्कर नो ¥यापिड फायर.. ¥यापिड फायर बन्द गर्नु….इन्डिभिजुअल फायर मात्र….सत्रुलाई कब्जा गर्न नदिनु…अल्झाइ राख्नु… बन्दोबस्तिका सामान सहित ब्याकअप फोर्स त्यहा पुग्दैछ, ओभर एण्ड आउट ।”
जवानले आदेश टिपेर बाहिर कमाण्डरलाई दिन जाँदै थियो नजिकै मोर्टार रकेट पड्कियो, ठुलो आवाज आयो, नेपथ्मा घाइते कमाण्डर चित्कार्दै आदेश दिईरहेको थियो, “आ-आफ्नो ज्यान बचाउ….भाग्…भाग्…”

जवानको कानमा कुँइँय आवाजमात्र गुञ्जिरहेको थियो । बमका छर्रा शरीरमा कता कता लागे याद गरेन, ऊ साथीहरूको इसारामा अन्धकार तिर बेतहस दौडियो….चेतना लुप्त नभए सम्म दौडदै रह्यो…..कहाँ पुग्यो हेक्का राखेन ।

सुकेका पातहरुमा सर्याकसुरुकको आवाजले जवानको होस खुल्यो । आत्मरक्षाको लागि उसले बन्दुक दह्रो गरेर समात्यो र आवाज आएको दिशातिर हेर्यो, केही देखेनँ । भ्रम ठानेर ऊ फेरी सुस्तायो । बन्दुकको मजलबाट बिनेट झिकेर पेटमाथि तेर्सो पारेर राख्यो र हत्थालाई दह्रो गरेर समात्यो । अब बल्ल उसलाई शरीरमा लागेका घाउ दुख्न थाल्यो । बल गरेर उसले शिर उठायो र देखेको ठाउँ हेर्ने कोसिस गर्‍यो । दायाँ खुट्टाको तिघ्रामा स्प्लिन्टर लागको रहेछ । मोर्टार पडकिँदा उछिट्याएको काठको ठोसो समेत तिघ्रामा गाडिएको रहेछ । घाउबाट अलिअलि रगत रसाउँदै थिए ।

उसले चारैतिर हेर्यो, ऊ भीरबाट तल खाल्डो परेको ठाउँमा थियो, बि स्केल हातले भ्याइने दूरीमा थियो । उसले हात लम्काएर बि स्केल तान्यो । घिस्रिदै उ नजिकैको रुखको आडमा गएर बस्यो । एकछिन् सास लिएर कम्ब्याट पाइन्ट माथि नै देखिएको काठको ठोसो आँखा चिम्लिएर तान्यो । ठोसो निस्कदाको पिडा उसले सहन सकेन, ठोसो फालेर घाउलाई हत्केलाले थिचेर ऊ पहरा थर्कने गरी चिच्यायो । उसको चिच्याहट फर्किएर उसैको कानमा आएर ठोक्किए ।

नजिकैको कान्ला पछाडिबाट फेरी केही चलेको आवाज आयो । ऊ चौकन्न भयो । बन्दुकबाट म्यागजिन नेकालेर हेर्यो, म्यागजिनमा पुरै पाँच गोली थिए । उसले बन्दुक कक गर्‍यो र सेफ्टि लक लगाएर आवाजतिर घिस्रियो । कान्ला मुनि सहउमेरको एकजना लडिरहेको थियो । सूर्यको सिधा प्रकाश उसको मुखमा परेर मुख प्याकप्याकती सुकेको त्यो युवक मरणाशन्न थियो । ऊ बल गरेर उसको अगाडी गएर एक खुट्टामा उभियो र बिनेटको छेउले बिस्तारै उसलाई धकेल्यो । युवकले आँखा खोल्यो तर बोल्न सकेन । एकछिन्को हेराई पछि युवकको अनुहारमा त्रासका बादल मडारिए । युवकले केही सङ्केत गर्न हात उठाउने कोसिस गर्‍यो तर सकेन, चलमलायो मात्र । सेफ्टि लक खोलेर बन्दुक युवक प्रति तान्दै ऊ एक छिन् उभियो, दाहिने हातको चोर औंला ट्रिगरमा पुगेर कस्सिएको थियो । धेरै बेर उसको हातको चोर औंला ट्रिगरमा कस्सिएरै रह्यो ।

उसले मुढा ढलेझैं ढलेको युवकलाई निँयाल्यो, कताकता चिनेको जस्तो लाग्यो, कतै देखे जस्तो लाग्यो । दोहर्याइ तेहर्याइ हेर्यो । युवकको अनुहारले उसको मानसपटलमा कुनै चिनारी जन्माउँन सकेन । उसको औंला फेरी ट्रिगरमा कस्सियो । युवकको नजिकै एउटा आधा खुलेको रुमालको पोको थियो जसबाट भुटेको मकैका दानाहरुले चिहाइरहेका थिए । उसका नजर कहिले युवकको अनुहारमा कहिले मकैका दानामा गएर अडिन थाले । उसले गोली चलाउन सकेनँ, सेफ्टिलक बन्द गर्‍यो ।

ऊ अघिकै ठाउँमा लंगडाउँदै गयो र छरिएका सामान बटुल्यो । बायाँपट्टि कम्मरमा अझै झुण्डिएको टुम्लेट हल्लायो, भित्र पानी छचल्किएको आवाजले अनुहारमा केही उज्यालो छायो । उसले बि स्केल खेतलखातल गर्‍यो । भित्र फस्टएडको सानो पोकाबाट जीवनजलको पुरिया निकालेर टुम्लेटमा खन्याँयो र यसवक भएतिर लंगड्याउँदै गयो ।

उसले युवकलाई झकझकायो, युवकले बिस्तारै आँखा खोल्यो । उसले युवक नजिकैको झोला ताँनेर युवकको टाउको मुनि राखिदियो । युवकको अनुहारमा डर, शङ्का र आश्चयका मिलिजुलि भावहरु तैरिन थाले । उसले बिस्तारै टुम्लेटबाट युवकलाई जीवनजल मिसिएको पानी पिलायो । केही घुट्को पानी पिएपछि युवकले लामो सास फेर्यो र आँखा चिम्लेर सुस्तायो सुस्तायो ।

उसले युवकको छरिएका सामान हेर्यो । नजिकै एउटा खुकुरी रहेछ । ऊ चालमारेर खुकुरी तिर लम्कियो । नजिकै पुगेर उसले खुकुरी उठायो । खुकुरीमा रगत कट्कटिएको रहेछ । उसले युवकलाई फर्केर हेर्यो । युवक चुपचाप आँखा चिम्लेर सुतेको थियो । ऊ बिस्तारै अगाडी बढ्यो र छेउकै स्याउला लामा हाँगा सहित काटन थाल्यो । उसले अलि लामालामा घोचाहरु पनि बटुलेर ल्यायो । उसले घोचाहरु चार कुनामा ठड्याएर त्यसमाथि अरू घोचाहरु तेस्र्यायो र तेर्सिएका घोचाहरु माथि बाक्लैसँग स्याउला बिछ्यायो । अब युवकको शरीरमा घाम पुरा छेलिएको थियो ।

उसले युवकको छरिएका सामानहरू बटुलेर ल्यायो । केही औषधी, एउटा किताब, डायरी, रुमाल सावुन, दाँत माझ्ने ब्रस मञ्जन, र एउटा फोटो थियो । फोटोमा एउटी युवती सानो बालकसँग हँसिलो अनुहार लगाएर बसेकी थिइन् । उसले सबै सामान जतनसाथ युवकको नजिकै रहेको झोलामा राखिदियो । खुकुरीलाई युवकको सिरानमुनी घुसारी दियो । युवक अब केही चल्मलाउँन सक्ने भएको थियो । उसले युवकलाई फेरी टुम्लेटको पानी पिलायो । यसपटक युवकले मज्जैले पानी पियो । उसले युवकलाई गोली लागेको अनुमान गर्‍यो । युवकलाई सारेर शिर अलिकति ठाडो पारेर सुताइदियो । उसले आकाशतिर हेर्यो । घाम मध्यान्ह भन्दा निकै तल गैसकेको थियो ।

ऊ त्यताबाट लंगडाउँदै हिंड्यो । अलिपर खोल्सोमा उसले पानी भेट्यो । उसले लगाएको लुगा फुकाल्यो र टुम्लेटको मुखमाथि दोबारेर राख्यो, औंलाले मुखमा खाल्टो बनायो र अञ्जुलीले पानी उबाएर त्यहाँ खन्याँयो । उसले भरिएको टुम्लेटबाट पानी पियो र फेरी टुम्लेट भरेर युवक भएतिर फर्कियो ।

ऊ युवकको नजिक पुग्यो । उसको पदचापको आवाजले युवकले बिस्तारै मुन्टो चलायो, सकिनसकि हातले भुईँलाई धेकलेर उठ्ने कोसिस गर्‍यो तर सकेन । युवकले उसलाई टुलुटुलु हेर्न थाल्यो । उसले युवकको नजिकै पानीले भरिएको टुम्लेट राखिदियो । बि स्केलबाट एक पोका चाउचाउ झिकेर राखिदियो । आफूसँग भएका औषधीको पोका उसको नजिकै राखिदियो । ऊ बन्दुकको बटलाई लट्ठिझैं टेकेर उभियो र अघि पानी लिएर आएको दिशातिरै बढ्यो । केही कदम अगाडी बढे पछि ऊ रोकियो र युवकतिर फर्कियो । उसले बन्दुकबाट बिनेट निकालेर कम्मरमा झुण्डिएको दापमा हाल्यो र बन्दुकलाई युवकको छेउमै सुताईदियो । युवकले दाहिने हात उठाएर मुट्ठि कस्यो । उसले युवकलाई एकछिन् हेरेर लंगडाउँदै अघिकै दिशामा बढ्यो ।

ढ्याङ्ङ………………त्यसै बखत गोली चल्यो ।

(स्रोत : Shabdahar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.