कथा : कुमारी

~विपुल सिजापति~Bipul Sijapati

“हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।”
बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर उसैतर्फ हेर्दै मुस्कुराइरहेको थियो ।
“स्तोसे दोगोदिलो, स्तो ये तामो ? (के भयो, के छ र त्यहाँ ?)”

एमदलाई तारिकको बानी राम्रै थाहा थियो । तारिक बेलाबेलामा अनेकौँ उटुङग्या काम गरेर अरूलाई हैरान पार्दथ्यो तर ऊ चर्नि लाबुदोभिको कुशल योद्धा थियो । उसले युद्धमा अनेक वीरताको काम गरेको थियो । उसलाई मर्न देखि फिटिक्कै डर लाग्दैनथ्यो । ऊ भन्थ्यो, “म जन्मेको म आफैलाई थाहा छैन, त्यसैले म मर्दा पनि मैले थाहा पाउने छैन ।” उसले एकपटक पच्चिसजना चेत्निकहरुलाई (सर्बियन शत्रु) एक्लैले पराजित गरेर उनीहरूको ट्याङक खोसेर ल्याएको थियो । त्यसैले उसको वीरताको सबैले कदर गर्दथे । तारिकका उटुङग्या कामहरू कहिल्यै कसैलाई दुख दिने नियतले गर्दैनथ्यो त्यसैले उसका उटुङग्या कामहरुलाई पनि सबैले हाँसेर सहज रूपमा लिने गर्दथे ।
“जिन्दगी छोटो छ, कतिबेला कहाँ मेरो प्राण जान्छ मलाई थाहा छैन, कसैलाई पनि थाहा हुँदैन । म रोएर जन्मे तर बाँचुन्जेल हाँसेर बाँच्छु ।” ऊ सँधै यस्तै भन्ने गर्दथ्यो र प्रफुल्ल रहने गर्दथ्यो । पिडा के हो उसले बुझेको थिएन या उसले पिडामाथि विजय प्राप्त गरेको थियो ! यो उही जानोस् तर ऊ सँधै मुस्कुराइरहेको हुन्थ्यो ।
“ओभदे जा पिस्मो आमो भास (तिम्रो नामको चिट्ठि आएको छ),” तारिकको ओठमा पहिलेकै मुस्कान थियो ।
“पिस्मो ! जाज्दे ? ताको जे पोस्लाओ ? (चिट्ठि ! कहाँबाट ? कस्ले पठाएको ?)” एमदलाई तारिकको कुराको विश्वास भएन । यो संसारमा एमदको आमा मात्र थिइन र उनी चिट्ठि लेख्न अल्छि मान्थिन् । “मलाई आलामा (अल्लाह) पुरा विश्वास छ, उसको तजबिज बिना पात पनि झर्दैन । मैले देशको रक्षार्थ एक्लो छोरा देशलाई सुपुर्द गरेको छु, बाँकी आलाको मर्जि ।” युद्धमा आफ्नो पति गुमाएकी उनी यसै भन्थिन् र ढुक्क हुन्थिन् । “अरू को हुनसक्छ र मलाई चिट्ठि पठाउने !” एमदले सोच्यो । तै पनि तारिकको हातमा भएको खामले गर्दा अमदले तारिकलाई झुठो भन्न सकेन, तारिकतिरै लम्कियो ।
“दामा पो इमानु जोभा नतासा (कुनै नतासा नाम भएकी महिलाले ),” तारिकले चिट्ठि अमदलाई दिँदै भन्यो ।
“नतासा ! स्जेचाम से बिलो नतासा ! (नतासा ! मलाई कुनै नतासा नाम भएको महिला याद छैन),” तारिकको हातबाट चिट्ठि लिउन्जेल पनि अमदको अनुहारबाट आश्चर्यको भाव घटेको थिएन ।
“या नेज्नाम, आलि ओना मोरा पोस्लाति जा ना सोभे इमे (मलाई के थाहा, तर उनले तिम्रो नाममा पत्र पठाएकी छिन्), मोँजे बिति भाज हरभात्स्का देभोइका ? हुँम ! (तिम्रो क्रोएसियन प्रेमिका हो कि ? हँ !)”
तारिकको कुराले एमदलाई यो तारिककै ठट्टा हो भन्ने कुरामा विश्वास भयो । उसले रिसाएझैँ गरेर भन्यो, “निए इस्मिजाभाति, या ने भोलिम ताको पोनाज्निये (ठट्टा नगर, मलाइ यस्तो ठट्टा मनपर्दैन) ।”
“मैले ठट्टा गरेको हैन, वास्तवमै नतासा नामक युवतीले तिमीलाई चिट्ठि पठाएकी छिन् । नपत्याए खाममा लागेको टिकट र त्यसमा लागेको छाप हेर त, के म टिकटमा हुलाकको छाप लगाउन सक्छु र ?”
“त्यो त सक्दैनौ, तर पनि यो नतासा त कुनै क्रोएसियन युवतीको नाम हो, जसलाई म चिन्दिन ।”
“ठीकै छ, त्यसो भए म नै एमद हुँ र मलाई नै नतासाले चिट्ठि पठाएकी हुन् । खै देऊ मलाई त्यो पत्र, म नै हुँ नतासाको देच्को (प्रेमी), मलाई नै हो नतासाले चिट्ठि पठाएको,” आफ्नो देच्कोलाई पठाएको चिट्ठिमा तिम्रो कुनै हक छैन,” तारिकले चिट्ठि खोसुँलाझैँ गरेर भन्यो ।
“ल भैगोभैगो, अब तिमीले यो भन्दा बढी आफूलाई सच्चा प्रमाणित गरिरहेन जरुरी छैन्,” एमदले हाँस्दै चिट्ठिलाई आफ्नो पछाडि लुकाएर तारिकसँग टाढिदै भन्यो, “भिदिमोसे उस्कोरो (फेरि भेटौँला) ।”
“चाओ (लौ लौ),” तारिक सुसेल्दै अर्कोतिर लाग्यो ।
एमदले सुसेली हालेर जाँदै गरेको तारिकलाई मीठो नजरले एकछिन् हेर्यो र खामतिर दृष्टि लगायो । खाममा प्रेषकको नामको स्थानमा नतासा बाहेक अन्य केही लेखिएको थिएन । नामको मुनिपट्टि ठेगानाको स्थानमा क्रोएसियाको कुनै सहरको नाम लेखिएको थियो । प्रापकको नाम र ठेगाना भने प्रस्टसँग लेखिएको थियो,
कापितान एमद मुहारोभिच
चर्नि लाबुदोभि सेदिस्ते
सारायेभो
बोस्ना इ हर्चगोभिना

चिट्ठि, त्यो पनि क्रोएसियाबाट ! एमदको कौतुहलता बढ्न थाल्यो । एमदका हात चिट्ठि ओल्टाइपल्टाइ गर्नमा व्यस्त थियो भने मस्तिष्क नतासा नामको कुनै महिलोको स्मरण गर्ने प्रयासमा । धेरैबेरको प्रयासपछि मस्तिष्क असफल भयो र एमदले चिट्ठि पढने निश्चय गरेर आफ्नो कार्यकक्षतिर लाग्यो ।
कोठामा आएर एमदले खाम खोलेर चिट्ठि झिक्यो र पढन थाल्यो ।
प्रिय एमद,
यो चिट्ठिले तिमीलाई अचम्ममा पारेको र खुल्दुलि बढाएर हृदयको धड्कन पनि बढदै गरेको म महसुस गर्न सक्छु । निश्चय पनि एउटा अनजान ठाउँबाट अपरिचित व्यक्तिले पठाएको चिट्ठि पाउँदा यस्तो हुनु स्वभाविक हो । तर तिमीले संयमताका साथ आफ्नो खुल्दुलि केही समयलाई कायम राख्नै पर्दछ ।
चिट्ठिको सुरुवातमा नै मैले तिमीलाई प्रिय भनेर सम्बोधन गरेकी छु । फरक देश र धर्मकी केटीले यसरी प्रिय भनेर सम्बोधन गरिदिँदा तिमीलाई अचम्म लाग्नु स्वभाविकै हो । तर यो सम्बोधनले निश्चय पनि “नतासा” नामसँग आत्मियताको प्रादुर्भाव गराइदिएको हुनुपर्छ । अनजान भए पनि तिमीले आफ्नो प्यारो या आत्मीय कोही भनेर नतासा नामलाई माया गर्न सुरु गरेको हुनुपर्दछ । तिमीलाई मैले प्रिय भनेर सम्बोधन गर्नुको पछाडि कारण पनि छ, म बिस्तारमा भन्नेछु । यहाँ प्रिय भनेर तिमीलाई सम्बोधन गरिरहँदा मलाई भने न्यायो र मायालु अनुभूति भइरहेछ, सायद तिमीलाई पनि ।
एमद, हामीले भोगेका डरलाग्दो युद्ध धेरैअघि समाप्त भइसकेको छ, तर पनि बेलाबेलामा म झस्कने गर्दछु । कसैले ठूलो स्वरले बोलने बित्तिकै म तर्सन्छु । मलाई त्यो ठूलो आवाज कुनै माइन पडकिएको जस्तो लाग्दछ । मेरा हातखुट्टा चिसो हुँदै जान्छन् र आफैलाई सम्हाल्न गाह्रो हुन्छ । म एम्बुलेन्सका साइरन पनि सुन्न सक्दिन । कतै एम्बुलेन्सका साइरन बजिहाले म हत्तपत्त आफ्नो कान थुन्छु र काँपेका हृदयले जाँदै गरेको एम्बुलेन्सलाई हेर्दछु, तर धेरैबेर हेर्न पनि सक्दिन र आँखा चिम्लन्छु । मलाई लाग्दछ, एम्बुलेन्सभित्र कोही गोली लागेर छट्पटाइरहेको छ, या त ग्रिनेडका छर्रा लागेर रक्ताम्य छ । उसका सास बेलाबेलामा रोकिँदै फेरि आउँदैछ । आफ्नो रगताम्य शरीर देखेर उसका आँखा त्रासले फैलिएका छन् र मृत्युको भयले उसका सारा शरीर काँपिरहेका छन् । उफ्फ, मलाई कति पिडा हुन्छ यस्तो अवस्थामा, तिमी कल्पना गर्न सक्दैनौ । तिमी त योद्धा हौ, जीवन मृत्युसँग खेलवाड गर्ने दह्रो मुटु भएको सैनिक । युद्धको असर मलाई भन्दा तिमीलाई कम परेको छ भनेर म ठोकुवा गर्न सक्दिन । तिम्रो छातीभित्र पनि हृदय छ, माया भरिएको, मानवता भरिएको एक कोमल हृदय, जसको मैले राम्रो अनुभव गरेको छु । यो युद्धले देश बाँडियो, देशभित्रका हामी बाँडियौँ र आज एकअर्काका लागि अनजान बनेका छौँ । यो पनि पिडा नै त हो नि जुन तिमीले पनि भोगिरहेका छौ, हैन र ? युद्धको यो पिडा तिम्रो लागि कम त पक्कै नहोला !
प्यारो एमद, आज यत्तिका वर्षपछि अचानक तिमीलाई सम्झनु र चिट्ठि लेख्नुको पछाडि पनि कारणहरू छन् । एमद, म तिमीलाई मेरो एउटा खुसीको कुरा सुनाउन चाहन्छु । तिमीलाई थाहा छ ! मैले एउटा छोरा पाएकी छु । हामीले उसलाई कुनै नाम दिएका छैनौँ, उसलाई लुतका (पुतली) भनेर बोलाउँछौ र ऊ अहिले सात महिनाको भयो । तिमीलाई सम्झनु र चिट्ठि लेख्नुको पछाडिको कारण मेरो छोरा नै हो । अस्तिमात्र मेरो मुँजले (श्रीमान) उसलाई कुनै प्यारो नाम दिन मलाई अह्राएको थियो । ऊ भन्दै थियो, तिमीलाई अत्यन्त्यै प्यारो लाग्ने र तिम्रो नजरमा भएको कुनै सर्वश्रेष्ठ व्यक्तिको नाम हाम्रो लुतकालाई देऊ । त्यतिबेला मेरो ध्यानमा अकस्मात तिम्रो नाम आयो । मैले तिमीलाई बेस्सरी सम्झिएँ । मेरो जीवनमा मैले भेटेका मध्ये तिमीभन्दा प्यारो तिमीभन्दा सर्वश्रेष्ठ अरू को नै हुनसक्छ र ! तर पनि मैले तिम्रो नाम उच्चारण गर्न सकिन, मैले लाख चाहे पनि तिम्रो नाम मेरो लुतकालाई दिन सकिन । कारण त तिमी बुझ्दछौ नि, क्रिस्चियनको बच्चाको नाम एमद हुनसक्दैन भनेर ।
हो, तिमी मेरो जीवनको अतिप्यारो र सर्वश्रेष्ठ व्यक्ति हौ । अझ म यहाँ सर्वश्रेष्ठ पुरुष भन्न रुचाउँछु, किनभने अहिले मेरो जीवनमा अर्को पुरुषको आगमन भइसकेको छ । यति हुँदा पनि मेरो हृदयबाट तिम्रो नाम र छाप कहिल्यै धमिलो भएन । म सन्मानपूर्वक मायाले तिम्रो नाम र तिमीलाई सम्झन्छु र बिभोर हुन्छु । म बिभोर हुँदा र खुसी हुँदाका बखत मेरो अनुहार साँच्चै हेर्न लायक हुन्छ ।
एमद, तिम्रो बिश्मय र कौतुहलता अहिले चरममा पुगेको म अनुभव गर्नसक्छु । तिम्रो मनमा सयौँ प्रश्नहरू उम्रिरहेका छन् र तिनले यथोचित उत्तर नपाइरहेको अवस्थाको पनि म अन्दाज लगाउन सक्छु । तिमीलाई याद छ डिसेम्बर महिनाको त्यो रात, जुन दिन तिमी सैनिक पोशाकमा हातमा बन्दुक बोकेर सर्बेनिचाको एक घरको जर्जर ढोका ठेल्दै भित्र पसेका थियौ ? घर त भन्नु मात्रको थियो, झ्यालका सबै सिसाहरु फुटेको हुँदा बाहिरबाट प्लास्टिकले छोपिएको थियो । बाहिर भित्ताभरि गोलीले प्वालैप्वाल पारेका थिए । बाहिर हिउँ परेको त्यो निर्दयी चिसो रात कोठामा एउटा सानो मैनबत्ति बालेर म खाटमा सुतिरहेकी मेरी वृद्ध आमाको खुट्टातिर बसिरहेकी थिएँ । तिमी लर्खराउँदै भित्र पसेका थियौ । क्यामोफ्लाइज हुनको लागि अनुहारभरि काला धर्काहरु बनाइए पनि तिम्रो अनुहारमा कैयौँ दिन देखिको युद्धको थकान मैले प्रस्टसँग देखेको थिएँ । भोकले तिम्रो आँत सुकेका थिए । दायाँ कुमभन्दा चार अम्मल तल गोली लागेर बगेका रगतले तिम्रो कालो पोशाकलाई अझ भयावह बनाइरहेको थियो । बन्दुकको नाल मतिर सोझ्याएर तिमीले पालैपालो कहिले मलाई त कहिले मेरी आमालाई हेरेका थियौ । त्यो युद्धको बेला धर्मको आधारले म तिम्रो शत्रु थिएँ । तिमीले कुनै पनि बेला गोली चलाउन सक्थ्यौ, हाम्रो प्राण लिन सक्थ्यौ । तर तिमीले याद गरेको भए मेरो आँखामा मृत्युको भय थिएन । मलाई मृत्युदेखि डरै थिएन । भाग्यले सारा परिवार मरेर बाँचेकी मलाई सायद मृत्युको प्रतीक्षा थियो । किनभने मृत्यु बाहेक मेरो अरू कुनै उन्मुक्तिको बाटो थिँदै थिएन । म चाहन्थेँ, बन्दुकको घोडामा तिम्रो औँला दबिउन र नालबाट निस्किएको गोलीले मेरो प्राण लिउन । मैले देखिरहेको थिएँ, मतिर बन्दुक सोझ्याएर उभिए पनि तिमी कमजोर हुँदै गइरहेका थियौ । गोली लागेको पिडा दाह्रा किटेर सहँदै गरेको भए पनि कमजोरीले गर्दा तिम्रो हातबाट बन्दुक फुस्किने अवस्थामा थियो ।
“ये लि नेत्को उनुत्रा ? (भित्र कोही छ ?)” बाहिरबाट कसैले डरलाग्दो र क्रुर तरिकाले चिच्याएर सोधेको थियो ।
“नित्को आभोदे (कोही छैन),” बन्दुक समातेको हात केही खुकुलो पारेर हामीतिर सोझिएको नाल तल झार्दै तिमीले जवाफ दिएका थियौ । तिमीले किन त्यस्तो जवाफ दियौ ! कहाँबाट तिम्रो मनमा माया पलायो ! आफ्ना परम शत्रु धर्म भएकालाई किन दया देखायौ ! त्यसबखत मैले केही बुझ्न सकिन । जीवनदेखि थाकेर, हारेर निराश भएकी मलाई तिमीले त्यो बेला मृत्यु दिएको भए सायद त्यो नै मेरो लागि जीवनको अनुपम उपहार हुने थियो । तर होइन रहेछ, अहिले आएर बुझ्दैछु, समय र परिस्थितिले जन्माएको त्यो अवस्था सत्य होइन रहेछ, जीवन अनमोल रहेछ, सुन्दर रहेछ, त्यसैले मानिसहरू जस्तै कष्टमा पनि कुनै पनि बेला आउने मृत्युलाई भुलेर बाँच्दा रहेछन् ।
आफलाई सम्भाल्ने कठोर प्रयास गर्दागर्दै पनि तिमी लर्खराएर भित्ता समात्दै ढल्यौ । मैले दौडेर तिमीलाई साहारा दिएर उठाउँदा तिमी अर्धमुर्छित भइसकेका थियौ । काल समानका तिमी शत्रुको सेवा गर्नु र ज्यान बचाउने प्रयास गर्नु उचित थियो या थिएन, मैले सोचिन, बस् तिमीलाई मृत्युको मुखबाट बचाउने प्रयासमा लागेँ ।
मैनबत्तिको उज्यालोमा केही काठका टुक्राहरु बटुलेर कागजले आगो सल्काएँ र कित्लिमा पानी उमाले । तिम्रो कुम तल गोलीले निक्कै गहिरो घाउ बनाएर निस्किएको थियो । धेरै रक्तस्राब र भोकले गर्दा तिमी निक्कै कमजोर थियौ । घाउ सफा गर्न तिम्रो कमिज खोल्दा खल्तिबाट तिम्रो परिचय पत्र झरेको थियो त्यसैबेला मैलो तिम्रो नाम थाहा पाएँ, एमद मुहारोभिच भनेर । मैले तातो पानीले घाउ सफा गरेर घरमा भएको औषधी लगाइदिएर पट्टि बाँधिदिएँ । मैले तिमीलाई होसमा ल्याएर घरमा बचेखुचेका तरकारीले बनाएको सुँप र केही टुक्रा रोटि खुवाएँ ।
एमद, तिमीलाई पक्का याद हुनुपर्छ त्यो बाक्लो हिउँपरेको अपूर्व रात । होसमा आए पनि पातलो ओढने ओढेर सुतेको तिमी कमजोरी र चिसोले काम्न लागेका थियौ । घरको अवस्थाले तिमीलाई तातो पार्न मसँग कुनै बाक्ला ओढने थिएनन्, तिम्रो शरीर तताउने कुनै साधन थिएन । अरू केही उपाय नभएपछि मैले आफैलाई तिम्रो ओढने बनाएँ, निर्वस्त्र र न्यौछावर गरिदिएँ आफैलाई । त्यो छोटो समयमा विवेक लोप भएको थियो या विवेक उच्चस्तरमा जागृत थियो ! म भन्न सक्दिन तर तिम्रो शरीरलाई ताप दिन मेरो अस्तित्व समेत न्यौछावर गरिदिएँ । मलाई सम्झदा गर्व लाग्छ कि त्यस रात म कुमारी रहिन तर आफूलाई कुमारी नै ठान्छु, मदर मेरीझैँ, पवित्र कुमारी ।
भोलिपल्ट तिमीले त्यस्तो डरलाग्दो परिस्थितिमा पनि अनेक कष्ट सहेर दुई दिन दुई रात लगाएर सुरक्षित रूपमा हामीलाई क्रोएसियन इलाकामा पुर्याएको एकै वर्षपछि मेरी आमा बित्नु भयो । म एक युवकसँग विवाह गरेर यता आएँ ।
एमद, त्यो एक रात हामीले गरेका निर्णयहरू सही हुन कि गलत, म भन्न सक्दिन । गलत र सही भन्ने थुप्रै आधार र तर्क पनि गर्न सकिएला तर म त्यस रातलाई हामी बिसुद्ध मान्छे भएको रात भन्न चाहन्छु ।
तल नोट भनेर लेखिएको थियो : त्यसदिन पनि मैले तिमीलाई मेरो नाम भनेकी थिइनँ र आज पनि भन्ने कुनै आवश्यकता ठानेकी छैन । यस नामलाई गुमनाम नै रहन देऊ ।

विपुल सिजापति
हरिसिद्धि १, ललितपुर

(स्रोत : रचनाकार ले माथि रहेको ‘नयाँ रचना पठाउनुहोस्’ मा पठाउनुभएको )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.