नियात्रा : ह्युस्टनदेखि मायामीसम्म

~तारा बराल~

साथीभाईहरू भन्ने गर्थे – अमेरिका घुम्ने हो भने हवाइ हैन सडक यात्रा गर्नुपर्छ । हवाइ जहाजमा उड्यो एकैचोटी आफ्नो गन्तव्य पुग्यो । अरु ठाउँको भुगोल , इतिहास , व्यवस्थापन , संस्कृति केही थाहा नहुने ! हो रहेछ , विगत दश वर्षमा धेरैचोटी अमेरिकाका धेरैठाउ घुमियो हवाइजहाजमा । तर

त्यसले अमेरिकी जीवनको एउटा पाटोमात्र देखिदो रहेछ भन्ने थाहा भयो । यति ठुलो मुलुक हेर्न त लामो सडक यात्रा नै रोज्नुपर्ने रहेछ । पाँच छ घण्टाको सडक यात्रामै सिमित थियो मेरो हँकाइ । नयाँवर्ष लाग्यो २०१३ । मैले पनि बुढीसँग सल्लाह गरें अब यो वर्ष लामो सडक यात्रा गरौं। उनले त नमान्ने कुरै भएन । घुम्न भनेपछि दुई हातमाथि !

हामीले निकै लामो कसरतपछि फ्लोरिडा घुम्न जाने निधो ग-यौं । फ्लोरिडाको वेष्ट पामविचमा मित्र सुन्दर जोशी हुनुहुन्छ,उहाँसंग सम्पर्क गरेर आफ्ना कुरा राखें। खुशी हुनुभो सुन्दरजी । फेब्रुवरीको २३ मा त्यहाँ एउटा राम्रो साहित्यिक जमघट हुँदैरैछ । त्यो एउटा थप रमाइलो अनुभव हुनेभो हाम्रो यात्राको , बिटु झन् खुशी ।

उनलाई साहित्यिक जमघटले निक्कै तान्ने गर्छ । अर्कोतिर हाम्रो मुख्य गन्तव्य भनेको मायामीविच थियो । विश्वका लाखौं मानिसको सपनाको गन्तव्य हो मायामी । हामी पनि त्यही सपनीमा केही समय आफ्ना दु:ख पीडा भूलेर रम्न चाहन्थ्यौं । फ्लोरिडामै डिस्नी वर्ल्ड पनि थियो , त्यो पनि छुटाउनुभएन । ह्युस्टनबाट मायामी निक्कै लामो सडक यात्रा थियो, १२ सय माइल । दोहोरो यात्रा झन्डै २५ सय माइल छिचोल्नुपर्थ्यो । बिटुले पनि हाइवेमा लामो ड्राइभ गरेकी थिइनन् । यद्यपि उनको ड्राइभिङ्ग राम्रो छ , मेरो भन्दा सुरक्षित । तर पनि हामीलाई लाग्यो यति लामो यात्रामा अरु दुईचार जना साथी भए झनै राम्रो हुन्थ्यो । मैले ह्युस्टनका मित्र निराकार श्रेष्ठ र सन आन्टोनियोका मित्र जलेश्वर श्रेष्ठसंग कुरा गरें। दुबैजना हौसिए तर टुङ्गोमा भने पुग्न समय लाग्नेभयो । निराकारलाई कामबाट फुर्सद नमिल्ने भयो । उता जलेश्वरको स्टोर हेरिदिने मानिस भेटिएन । तर हामी पनि कहाँ हार मान्ने ? अन्तत: बुढाबुढी मात्रै भएपनि लाग्यौं फ्लोरिडातर्फ |

फेब्रुवरी २२ को बिहान ।
ह्युस्टनबाट आइ- १० लिएर कुदेपछि ७ सय माइल पार गर्दा फ्लोरिडाको क्यापिटल सिटी तालाहासी आइपुग्छ । हामीले त्यो दिन ७ सय माइल छिचोल्नु थियो । मैले तीनघण्टा हाँकेपछि बिटुले गाडीको स्टेरिङ्ग समातिन्। हाइवेमा प्राय: ट्रक मात्र भेटिने , ती बडेमानका ट्रकलाई पछाडि छोड्दै हामीले लुजियाना मात्र के टेकेका थियौं पानी वर्षिन थाल्यो । शुरुमा त सामान्य थियो वर्षा । तर जति अघि बढ्दै गयो पानी झन् दर्किन थाल्यो । यति ठुलो वर्षा त्यसमाथि नयाँ हाइवेको हँकाइ -बिटुलाई गाह्रो हुँदै गए जस्तो लाग्यो । उनले हार मानेकी थिइनन्। अलाबामाको मोबिल कटेपछि पानी अलिक कम भयो । लुजियानाबाट अगाडी लागेपछि जताततै पानी मात्र देखिने । बडेमानका नदी , ती नदीमाथिका ठूला ठूला पुल । प्रकृतिको मनोरम दृश्यको आनन्द एकातिर थियो भने नयाँ राज्य र नयाँ स्थानहरू हाम्रो सामुन्ने थिए । मोबिलबाट तीस माइलजति अगाडि पुगेपछि मैले गाडी हाँक्न थालें । तालाहासीसम्म मैले पुर्‍याउनु थियो । घना जङ्गलको बीचमा फराकिलो चिप्लो सडकमा गाडी कुदाउन रमाइलो हुन्छ । तर त्यो रमाइलो आधा घण्टा पनि टिक्न पाएन । फेरि सुरु भयो मुसलधारे वर्षा । समय त अपरान्हको चार मात्र हुँदै थियो ,

आँखा अघि भने झमक्क साँझपरेजस्तो । वाइपरले पनि काम नगरेजस्तो , बाहिर सडक केही देखिन्न । बीस पच्चीस माइलभन्दा बढी कुदाउने स्थिति थिएन । अन्दाजको भरमा म गाडी हाँकिरहेको थिएँ । पानी कम हुन्जेल कतै रोकेर बसौं न त भन्ने अवस्था पनि थिएन । म चुपचाप एकलव्यझैं सडकलाई निशाना साँधेर स्टेरिङ्ग सम्हाल्न थालें । बिटु पनि शान्त , के भन्ने कसो गर्ने ! सायद उनको पनि मुटु हल्लिरहेको थियो । तालाहासी पुग्न अझै दुई घण्टा थियो । मलाई लाग्यो – आज यतै बितिने भयो । हामी भन्दा अघि र पछाडिका गाडीहरू पनि हाम्रैजस्तो स्थितिमा थिए । कुनै पागल भने हामीलाई ओभरटेक गरेर हुँइकिन खोज्दै थियो । बस्ती, बजार आए पनि बिसाउनु हुन्थ्यो । तर दायाँबाँया जङ्गल मात्र । जसरी पनि हिम्मत बटुल्नै पर्‍यो । आफू सामान्य भएको ढोंग गरेर बिटुलाई ढाडस दिन्थें ।

साँझको सात पनि बजेको थिएन , बाहिर निष्पट अँध्यारो । पौने सातमा घडीको सुई पुग्दा नपुग्दा झिलिमिली बत्तीहरू देखिए ,घरहरू देखिए । तालाहासी आइपुगेछ , होस ठेगान आयो । हामी दुबैको अनुहार आकस्मिक खुशीले उन्मादित हुन पुग्यौं । लाग्यो , ठूलै दुर्भाग्यबाट बच्यौं । तालाहासीमा होटल बुक छँदै थियो । जे भएपनि आजको गन्तव्य हाम्रो अघि थियो । थकान भए पनि खुशी हुँदै हामी होटल भित्र पस्यौं । बाहिर पानी अझै वर्षिरहेको थियो । त्यो दिन तालाहासी घुम्ने हाम्रो योजना पानीले बगाइदियो ।

भोलिपल्ट बिहान आठ बजिसकेछ उठ्दा । घामको उज्यालो हाम्रो कोठाको झ्यालबाट चिहाइरहेको थियो । पर्दा खोलेर बाहिर हेरें हिजोको झरीले भुँइ अझै छपक्क भिजेको थियो । हामीलाई त्यो दिन तीन बजेभित्र वेष्ट पामविच पुग्नु थियो । नौ बजे हामी निस्क्यौं | एक चक्कर लगायौ तालाहासी । त्यहाँको हरियालीले साह्रै लोभ्यायो । उकाली ओरालीको काखमा बसेको फ्लोरिडाको राजधानी शहर छोडेर हामी वेष्ट पामविच लाग्यौं । गाडी ७०/७५ को गतिमा गुड्दा पनि हवाइजहाजमै हिंडे जस्तो लाग्ने । सिनित्त परेको कालोपत्रे सडक , सडकको दाँया -बाँया मनै लोभ्याउने जङ्गल अनि पातलो ट्राफिक , हामी आनन्दित हुँदै सडक छोट्याउदै बढ्यौं | हिजोको सिरिङ्ग पार्ने यात्राबाट आज नितान्त सहज र रमाइलो थियो हाम्रो यात्रा । हरेक तीस माइलमा व्यवस्थितरुपमा बनाइएका बिश्रामस्थल (रेस्ट एरिया ) , एकछिन खुट्टा तन्काउन साह्रै सहयोगी भए । छ घण्टाको त्यो यात्रा पनि बिटु र मैले बराबरी हाँक्ने अठोट गरिसकेका थियौं । सुन्दरजीको फोन बज्थ्यो बेला बेला । कहाँ आइपुग्नु भयो ? उहाँको त्यो प्रश्नले हामीलाई छिटो वेष्ट पामविच पुग्न घच्घच्याउँथ्यो । हाइवे ७५ र टर्नपाइक छिचोल्दै हामी तीनबजे सुन्दर जोशीको सुन्दर र आलिशान घरमा पुग्यौं । पारखीले सजाएकोजस्तो स्यानु तर सुन्दर लाग्यो त्यो शहर । शहरैभरि पाम ट्री , त्यसैले ठाउको नाम वेष्ट पामविच र रोयल पामविच हुनेनै भयो ।

दिउँसोको खाना उहाँकैमा खानुपर्ने मिठो आदेश सुन्दरजीले पहिलै दि’सक्नु भएको थियो । त्यसलाई काट्ने त कुरै थिएन । थकान र भोक भएपनि सुन्दर र उहाँको परिवारलाई भेटेपछि निक्कै रमाइलो भयो । खाना खायौं , उता हतार थियो कार्यक्रमस्थल पुग्न । बुवा आमा , रेखा भाउजु र सुन्दरजीसहित हामी लाग्यौं फ्लोरिडाको साहित्यिक कार्यक्रममा सहभागी हुन । उही त हो नि नेपाली समय ! अमेरिकामा पनि नछोड्ने रहेछ । हामी साँढे चारबजे त्यहाँ पुग्दा भर्खर सुरसार थियो । मानिसहरू आउँदै थिए । फ्लोरिडाको मायामी , ओर्ल्याण्डो , तालाहासी र ज्याक्सनभिल सबैतिरबाट नेपालीहरूको त्यहाँ उपस्थिति हुन थाल्यो ।

हामी गाडीबाट उत्रेर कार्यक्रम हलभित्र छिर्नु अघि मुलगेटमा एकजना चिनेचिनेजस्तो मानिससंग जम्काभेट भयो । मैले आफ्नो परिचय दिदै अभिवादन गरे , उनले पनि आफ्नो नामसहित अभिवादन फर्काउदा हामी दुबै झसङ्ग भयौ । ओहो भगवान ! उ त मेरै अन्तरङ्ग कलेज मित्र विजय कट्टेल परेछ । ३० वर्षपछि हाम्रो भेट हुँदै थियो । २००४ मा ऊसँग कुरा भएको थियो ह्युस्टनबाट । ऊ फ्लोरिडामै थियो त्यतिबेला , सायद ओर्ल्याण्डोतिर । त्यसपछि हाम्रो संपर्क टुट्यो । उसको कान्छो छोराको दु:खद दुर्घटनापछि ऊ धेरैसंगको सम्पर्कबाट टाढिन चाहन्थ्यो सायद । मसंग उसको फोन थिएन । फ्लोरिडाको प्रोग्राम बनेपछि मैले बिटुलाई भनेको थिएँ – विजय फ्लोरिडामै छ तर कुन ठाउँमा त्यो भने थाहा छैन । उसलाई भेटेपछि झनै रमाइलो भयो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा, नवनिर्वाचित कार्यसमितिको पदस्थापन र कविशिरोमणि लेखनाथ जयन्ती आयोजना गरिएको थियो । कृष्ण श्रेष्ठ , विकास देवकोटा , विमल नेपाल , हरि पाण्डे लगायत दर्जनौं नेपालीसंग परिचय आदानप्रदान गरियो । प्रसिद्ध गायिका मीरा राणा, लोकगायक प्रेमराजा महतसँग परिचय नविकरण भयो । कार्यक्रम शुरु भएको थिएन । म शौचालयतिर लागे । फर्केर सभाहलभित्र पस्नमात्र के लागेको थिएँ अर्का अन्तरङ्ग कलेज मित्र पुष्प प्रधानसँग भेट भयो । एघार वर्षअघि ऊसँग काठमाण्डुमा पछिल्लो भेट थियो । अर्को खुशी थपियो त्यहाँ । विजय , पुष्प र म त्यहाँ भेट भएपछि हाम्रा कलेज जीवनका पानाहरू खुले । हाम्रा श्रीमतीहरुबीच सामिप्य बढ्यो । कार्यक्रम अवधिभरि हामी सङ्गै बस्यौ । सुन्दरजीले व्यङ्ग पनि गर्नु भयो- पुराना साथी भेटेपछि हामी त के !

हल भरिएको थियो । रमाइला , मीठा कविता, गीत सुन्न त आनन्द लाग्थ्यो तर लामा लामा भाषण र वक्तव्य भने साह्रै पट्यारलाग्दो । झन्डै बीस वर्षपछि मीरा राणाको गीत सुनेर नेपालको याद ताजा भयो । ससाना नानीहरूको कविता,नाच र गीत प्रस्तुतिले नेपाली भाषा,संगीत र संस्कृतिप्रति फ्लोरिडाको नेपाली समुदाय कति जागृत रहेछ भन्ने संदेश दिदैं थियो ।

कार्यक्रम निक्कै अबेर गरेर सकियो । आयोजकले स्वादिलो नेपाली खाना खुवाए । कालो दाल , गोलभेंडाको अचार,काउलीको तरकारी अनि खसीको मासु – के चाहियो नेपाली जिब्रोलाई !

हामीलाई भोलिपल्ट मायामी जानु थियो । विजय र पुष्प भन्दै थिए – कमसेकम भोली त बसे हुन्थ्यो । हो, हामीलाई पनि त्यहाँको बसाई छोटो भएकोमा खुशी लागेन । तर मायामीमा होटल बुक भैसक्याथ्यो । पुष्पको ठूलो छोराले कोलम्बियन रेष्टुराँ खोलेको रहेछ । उसको जिद्दीको अगाडि हाम्रो के जोर चल्ने ! कार्यक्रमस्थलबाटै राती बाह्र बजे पुष्पले गाडीमा राखेर हामीलाई लाफन्डो रेष्टुराँतिर हुँइक्यायो । सुन्दरजी, , रेखा भाउजु र श्रीमती पुष्प सुन्दरको गाडीमा त्यहाँ पुगे । पत्रकार सूर्य थापा एकछिनपछि त्यहीं आइपुगे । भीडभाड थियो रेष्टुराँ । दश बजेपछि मात्र त्यहाँ चहलपहल शुरु हुँदोरहेछ । भित्र धेरै भीड र हल्ला हुनाले हामी सबै बाहिर बरण्डामा चुस्की लिदै गफिन थाल्यौं | मनिसहरूको आउने क्रम थामिएको थिएन । निक्कै राम्रो व्यापार गरेको रै’छ , पुष्प पुत्रलाई बधाई दिएँ । स्कचको चुस्की र गफगाफमा समय बितेको थाहै भएन । बिहानको चार हानिसकेछ । सूर्य थापाको फ्लाइट बिहान छ बजे नै रै’छ डिसीलाई । उनी त्यतै बसे हामी भने लाग्यौं बासस्थानतिर ।

भोलिपल्ट बिहान नौबजे हरि पाण्डेजीकोमा ब्रेकफास्टको आयोजना रहेछ , सुन्दरजीले सुत्नुभन्दा अघि सम्झाउनु भयो । दिउँसो विजयकोमा लन्च । साँझ मायामी पुग्नुपर्ने , समय व्यवस्थापन सजिलो थिएन । ओछ्यानमा पुग्दा बिहानको पाँच भैसकेछ । थकान र अबेर भए पनि निद्रा भने परेन त्यो बिहान ।

बिहान आठै बजे उठियो । मलाई कतै जानुछ भने हरेक कुरा चाँडो गर्न मन लाग्छ । समयभित्र पुग्दा पर्खने र पुग्ने दुबैलाई राहत र सन्तोष मिल्छ । सुन्दरजीसंग हामी हरि पाण्डेकोमा पुग्दा मीरा राणा र विमल नेपालजीको परिवार हुनुहुन्थ्यो । भर्खर नयाँ घरमा सर्नु भा’को रैछ पाण्डेजीहरू । चिटिक्क परेको सुन्दर घर , छेउमै हरियो गल्फ कोर्स -शान्त , स्वच्छ र रमणीय वातावरण । हामीले ताजा र स्वादिलो नास्ता खाइसकेर कफीको स्वाद लिदै गर्दा प्रेमराजा महत र कृष्ण श्रेष्ठ आइपुग्नु भयो । सुन्दरजीले कविता वाचनको प्रस्ताव राख्नु भयो । कोठे कविगोष्ठी गर्ने कुरा भयो । सबै हौसिए । महतजीले कोठे गोष्ठी भन्दा कवि घर राखौं भन्ने सुझाव दिंदा सबैले ताली बजाएर स्वागत गरे । अब उप्रान्त कसैको घरमा कवि गोष्ठी गर्दा त्यसलाई कवि घर भन्ने सहमति भयो । सबैले कविता सुनाए । मैले पनि सुनाएँ । निक्कै रमाइलो भयो त्यो बिहान । पाण्डे परिवारलाई धन्यवाद दिंदै हामी भने निस्क्यौं मित्र विजय कट्टेलकोतिर ।

विजय र भाउजु अर्चना हामीलाई पर्खेर बसेका थिए । तालको छेवैमा बसेको विजयको घर सुन्दर लाग्यो । वेष्ट पामविचमा प्राय: सबै नेपालीहरुका घर यस्तै हुन्छन् कि क्या हो ! मैले मनमनै सोचें । व्याकयार्डमा सप्रिएको हरियो पानको बोट देखेर झनै रमाइलो लाग्यो । घरमा बुढाबुढी मात्र । छोरा अर्कै राज्यमा । सुन्दरको पनि यस्तै,छोरीहरू सबै बाहिर । त्यति ठूलो घरमा बुढाबुढी मात्र । त्यसबेला नेपालबाट सुन्दरको बुवाआमा आउनु भएको रहेछ । उमेर ढल्कदै गएपछि सबैको व्यथा एउटै हुँदोरै’छ ।

मीठो भोजन भयो । विजय र मैले कलेज जीवनका आफ्ना धेरै स्मृतिहरू मात्र बखान ग-यौं , अर्चनाजी , सुन्दर र बिटुले सुनिरहे । पानको पारखी रहेछ विजय । सादा , मीठा र जर्दा सबैथरी मसला रहेछ । सबैलाई पान बनाएर ख्वायो उसले । हाम्रो लागि अरु चार खिली पान समेत प्याक गरेर दियो । म पनि पानको सौखिन ,हालें खल्तीभित्र । धेरैबेर बस्ने समय थिएन । तीन बजिसकेको थियो । मन नहुँदा नहुँदै हामी विदा भयौं , फेरि अर्कोपटक भेट्ने आश्वासन बाँडेर ।

हतार गर्दै सुन्दरको घर पुग्यौं । मायामी हिंड्न हतार भैसकेको थियो । त्यहाँ धेरै बस्ने कुरा थिएन । सबैसंग बिदावारी भएर लाग्यौं सपनाको गन्तव्य मायामीतिर ।

लगभग एकघण्टाको बाटो रहेछ । तर यसअघि आएजस्तो थिएन सडक । निक्कै व्यस्त ,४० /५० माइलको गतिभन्दा एक्सिलेटर थिच्न नमिल्ने । फेरि ड्राइभरहरूको हँकाइ डरमर्दो – रफ । कसले कताबाट ठोक्ने हो ! होस् पुर्याउनु पर्नेरहेछ । जति मायामी नजिकिदै जान्थ्यो हरियाली टाढा र कंक्रिट नजिकिन्थ्यो । गगनचुम्बी भवनहरू , चिल्ला सडक र समुद्री किनार । अटलान्टिक महासागर छेवैमा साउती मारेजस्तो । कोलिन्स एभेन्युमा हाम्रो होटल- न्युपोर्ट विचसाइड होटल एण्ड रिसोर्ट , भिडमभिड । त्यहाँभित्र पस्दा साँझको छ बजेछ । गाडी पार्किङ्गकोलागि छोडेर हामी चेक इनतिर लाग्यौं | होटल आलिसान थियो । कोठाभित्र छिरेपछि झन् आनन्दित भयौ ,बाल्कोनीबाट मनोरम दृश्य हाम्रो सामुन्ने थियो । त्यहाँ दुईवटा कुर्सी पनि थिए । तल सयौं जोडी- बिजोडी समुन्द्री पानीमा रमाइरहेका थिए । ससाना झुप्राहरू , आरामदायी कुर्सीहरुमा आ-आफ्नै पाराले मज्जा लिनेहरूको अर्कै दुनियाँ थियो । बाल्कोनीबाटै रमाइलो हेरेर मज्जा लिंदा पनि हुने तर मायामी टेकेपछि यहाँको विचको अनुभव नगरी कसरी फर्कनु ?

घाम अस्ताउन लागेको थियो । हामी पनि लाग्यौं विचतिर । निकैबेर एटलान्टिक महासागरको चिसो पानीसंग घम्साघम्सी ग-यौं । केहीबेर आरामदायी लङ्ग चेयरमा सुस्तायौं । जवानीले फर्केर अंगालो मारेजस्तो लाग्यो । संसारभरिका मानिसहरू मायामी विचको नसाले मदहोस् झैं देखिन्थे । सबैको आ-आफ्नै दुनियाँ थियो । हामी पनि त आफ्नै दुनियाँमा रमाइरहेका थियौं । घाम अस्ताइसकेछ । तर आकासमा जुन समुन्द्रसंग लुकामारी खेल्ने सुरमा थियो । जुनको उज्यालोमा अझै पनि केही जोडी पानीमा खेल्दै थिए । हामी कोठामा फर्क्यौं । फ्रेस भएपछि कोठामा बस्न मन मानेन, निस्क्यौं बाहिर । मायामीको सडक तताउदै धेरैबेर पैदल घुम्यौं । चिसो हावाले अलि अलि जाडो लागेजस्तो हुन थाल्यो , हामी होटल फर्क्यौं ।

अघिल्लो रातको निद्रा थियो , भोकले पनि सताउन थाल्यो । एकछिन बाल्कोनीबाट बाहिर हे-यौं । समुन्द्री छालको आवाज मात्र सुनिन्थ्यो । विचका छाप्राहरु सुनसान थिए । जुनसंग विदा माग्दै हामी भित्र पस्यौं ।

आँखा खुल्दा बिहानको आठ बजिसकेछ । उठेर बाहिर निस्कें घाम भर्खर झुल्किदै थियो । उदाउँदो घाममा मायामी विच कामुक मुद्रामा देखें । पर क्षितिजसम्म पानी नै पानी । आँखाले भ्याउन्जेलसम्म मायामी शहर हेर्ने प्रयास गरें – निक्कै सुन्दर लाग्यो समुन्द्रलाई म्वाई खाँदै झिस्क्याए झैं ।

त्यो साँझ सुन्दर आउने र साउथ विच घुम्न जाने प्रोग्राम थियो । सुन्दरलाई कुर्दाकुर्दै साँझ पर्यो । तर सुन्दरको फोन मात्र आयो ,आउन नमिल्ने भयो रे ! केहीबेर हामी अवाक भयौं । अलिक चाँडै नाआउने खबर पाएको भए आफ्नै अनुसार घुम्न निस्कन्थ्यौ । यस्तै हो अमेरिका, भनेको बेला फुर्सद निकाल्न गाह्रो हुन्छ । हामी फेरि अर्को विचतिर लाग्यौ । तर यो पाली भने पानीमा पसेनौं , अरुले गरेको रमाइलो हेरेर आफू रमायौं । मायामी विचैविचको शहर – जताबाट पसे पनि । लाखौं मानिसहरूको सपनाको यो शहरको स्पर्श आज राती मात्र बाँकी थियो । बिहान उठेर ओर्ल्यान्डोतिर लाग्नु थियो ।

फेब्रुवरी २६ को बिहान

उठ्ने बित्तिकै बाल्कोनीमा निस्कें । घाम उदाउनै लागेको रहेछ । अघिल्लो बिहान यति सुन्दर दृश्यलाई क्यामरामा राख्न पाइएको थिएन | फटाफट फोटोहरू लियौं । लबीमा नास्ता तयार थियो । पेटपूजा गरेपछि अब मायामी छोड्ने बेला भयो । फेरि एकपल्ट बल्कोनीबाट निलो कंचन महासागर नियाल्यौ , शहरलाई भ्याउन्जेलसम्म आँखा कुदाएर स्मृतिमामा बसायौ अनि हुइक्यायौ गाडीलाई डिस्नील्याण्डतिर ।

फ्लोरिडामा प्राय: हाइवे टोल तिर्नु पर्ने रै’नछ । तालाहासीबाट वेष्ट पामविच आउँदा र मायामीबाट ओर्ल्यान्डो, सबैतिर टोल तिर्नुपर्ने तर ह्युस्टनजस्तो पाँच पाँच माइलमा हैन । टोलवेमा छिरेपछि अन्तिम एक्जिटमा एकमुष्ट टोल तिरे हुँदोरै’छ । यो व्यवस्था भने सरल र राम्रो लाग्यो ।

हामी चार घण्टाको यात्रा तय गर्दै दिउँसो एकबजे डिस्नील्याण्ड ,एनिमल किङ्ग्डम पुग्यौं । मूल गेटमा छिर्नु अघि मुसलधारे पानी परेर जाडो निम्त्यायो । पाँचबजेसम्म हामीले एनिमल किङ्ग्डम हेरी भ्याइ सक्नु थियो । पाँचबजे बन्द हुने रै’छ । फेरि प्रवेश शुल्क निकै महङ्गो -८० डलर । पैसाको लोभ गरेर भएन , हामी पस्यौं भित्र । भित्रको संसारै अर्कै । त्यहाँभित्रै सफारी पार्कदेखि नदीनाला , हिमाल , मन्दिर र मुटु थाम्नु पर्ने साहसिक अनुभव पनि ग-यौं । अफ्रिकाको ऐतिहासिक रेल पनि चढियो । एसियाभित्र पसेपछि नेपाल सम्झने गरी राखिएका स्टलहरूले निकै आकर्षित गरे । नेपाली कलाको घर , काली गण्डकी रयाफ्टिङ्ग , सगरमाथा सबै थिए । हिन्दू मन्दिर भनिएको थियो पशुपतिनाथकै रुप । मधुर आवाजमा नेपाली लोकगीतको धुन बजिरहेको सुनिन्थ्यो । तर कतै पनि नेपाल भन्ने अंकित थिएन । यो देख्दा भने मन अमिलो भयो । एउटा नेपाली झण्डा र नेपाल लेखिएको ब्यानर त्यहाँ राख्न पाए सबै पर्यटकहरूले नेपाल चिन्ने थिए ।

घुम्दाघुम्दै पाँच बज्न लागेछ । थकाई पनि लाग्यो । अब निस्केर बास बस्न विकास देवकोटाजीकोमा पुग्नु थियो । उहासंग वेष्ट पामविचको प्रोग्राममा परिचय भएको थियो , हामी ओर्ल्याण्डो आउने कुरा गर्दा विकासजीले मेरैमा आउनुहोस् भन्नु भएको थियो । फेरि विमल नेपाल र विजयले पनि उहाँको सिफारिस गरेका थिए । मैले मायामीबाट फोन गर्दा पनि उहाँकैमा बस्न अनुरोध् गर्नुभयो । पहिलो भेटमै मानिस असल होलान् भन्ने लागेको थियो । तैपनि मनमा कता कता के हो के हो ! आशंका हुँदो रै’छ । धेरै उठ्बस नहुँदाको अवस्था यस्तै हुन्छ । जे पर्ला पर्ला हामी लाग्यौं उतैतिर । जिपिएसले घुमाएरै भएपनि विकासको पसलमा पुर्यायो । त्यहाँ पुग्दा साँझको साढे छ हुँदै थियो । उहाँको डिस्काउण्ट टोबाको स्टोर रहेछ । फ्यामिली स्टोर – राम्रो चलेको रै’छ । हामी निक्कैबेर त्यहा गफियौं । श्रीमती विकास अमिताजी पनि आइपुग्नु भयो । दुबैजना फर्स्याइलो लाग्यो , धेरै अघिदेखिको परिचितजस्तो । अब भने म निर्ढुक्क भएं । कुनै संकोच रहेन । आठ बजे स्टोर बन्द गरेर हामी सबै देवकोटा निवासतिर लाग्यौं । घर पुग्दा अर्का मित्र धनमान थापा आइसक्नु भएछ । उहाँ राम्रो फोटोग्राफर हुनुहुँदोरहेछ । धनजी निक्कै रमाइलो र मित्रवत पायौं । विकास अमिताजीका तीन छोरीहरू,सबै एकसेएक ।

घरको पछाडि करेसावारीमा तरकारी लटरम्म फलेको । अमिताजीले रायोको साग , मुला , बोडी टिपेर पकाउन थाल्नु भो । नवपरिचितहरूको पहिलो जमघट हुँदै थियो । सितन अघिनै तयार भैसकेछ , अब बसेर जम्न बाँकी थियो । फेब्रुवरी २६ को त्यो रात साह्रै रमाइलो भयो । विकासजीले निक्कै राम्रा कविता सुनाउनु भयो । उहाँसँग त कविताको थाक नै रहेछ । बिटुले पनि २/४ वटा कविता सुनाइन् । मैले आधा दर्जन गीत गाइदिएँ सुरबेसुरमा । अमिताजीले पनि लोकगीत गाइदिनु भयो , धनमानजीको नाच । साहित्यिक र साँगीतिक माहौलले त्यो रात देवकोटा निवास गुन्जिएको थियो । रमाइलो वातावरणले समय बितेको थाहै भएन,रात छिप्पीसकेछ । हामीलाई बिहान उठेर हिंड्नु थियो ह्युस्टनतिर ।

बिहान चियानास्ता खाएर हामी विदा भयौं ओर्ल्याण्डोबाट । बाटोभरि विकास र अमिताजीको बारेमा गफ गर्दै गयौं । अब त हामी ढुक्क थियौ अर्को जोडी असल मित्र फेला परेकोमा । हामीलाई अलबामाको मोबिल पुग्नु थियो । सात आठ घण्टाको यात्रा । बाटोमा ठाउँ ठाउँमा फ्लोरिडाको साइट्रस पसल भेटिए । सुन्तला , जुनार , कागती , मौसम जे खोजे पनि पाइने । पन्ध्र पाउण्ड सुन्तला हामीले पनि गाडीमा हाल्यौं , साथीभाईलाई कोसेलीपात । गाडी ७५ माइलको गतिमा थियो । अलिकति अगाडि देब्रे लेनमा बडेमानको ट्रक थियो । त्यसलाई ओभरटेक गरेर म अघि निस्कन खोजें । एक्कासी त्यो ट्रक दाहिने लेनतिर सर्न खोज्यो । मैले स्टेरिङ्ग सम्हाल्दै गाडीलाई अझै दाहिनेतिर पु-याएँ । ट्रक फेरि आफ्नै लेनमा लाग्यो । त्यसले अलिकति मात्र ठक्कर दिएको भए हाम्रो के हालत हुन्थ्यो होला ! भगवान र आफ्नो सतर्कतालाई धन्यवाद दिएँ । हामी दुबैको अड्किएको श्वास फर्कियो । लाग्यो , सायद ट्रक चालक निद्रामा थियो तर बेलैमा होस पुर्यायो ।

हामी फ्लोरिडा आउँदाकै बाटो फर्कदै थियौं । तालाहासी कटेपछि हामी आउँदाको अनकन्टार बाटो थिएन । त्यो दिन पो भीषण वर्षाले दिउँसै रात पारेको थियो । आज आकास खुला थियो । जताततै हरियाली , फराकिलो सडक , नयाँ नयाँ बस्ती , शहर नियाल्दै साँझ मोबिल आइपुग्यौं । होटल अग्रिम बुक थियो ।

२७ फेब्रुवरी , बिहान नौबजे

हामी निस्क्यौ मोबिलबाट । ह्युस्टन अबेर राती पुग्दा पनि हुन्थ्यो , आफ्नै शहर त हो नि ! हाइवेमा एकघण्टा हिंडेपछि लुजियाना इन्फर्मेसन सेन्टर भेटियो । हामीलाई बाथरुम पनि जानु थियो । त्यहाँ पसेपछि हामीले निर्णय ग-यौं न्यूअर्लिन्स जाने । हामीलाई त्यहाँ फ्रेन्च स्क्वायर र बुबर्न स्ट्रिट हेर्नु थियो । त्यहाको पार्किङ व्यवस्था , घुम्ने स्थान र माध्यमका बारेमा सेन्टरबाट जानकारी लियौं ।

न्यूअर्लिन्स पुग्दा मध्यान्ह भैसकेको थियो । फ्रेन्च सभ्यता र ईतिहास बोकेको यो शहरको आफ्नै विशेषता छ । हामीले वोल्डनबर्ग रिभरफ्रन्ट पार्क नजिक गाडी राखेर छेउको विशाल मिसिसिपी नदीलाई निकैबेर हेरिरह्यौं । मिसिसिपीको उपस्थितिले यो शहरलाई झनै सुन्दर बनाएको रैछ । झलमल्ल घाम लागेपनि नदीबाट आउने चिसो सिरेटोले हाम्रो मुटु नै हल्लायो । धन्न ज्याकेट साथै थियो । केहीबेर वल्लोछेउ पल्लोछेउ गर्दै मिसिसिपीलाई माया गरेपछि लाग्यौं न्यूअर्लिन्सको फन्को मार्न । घोडा बग्गीमा चढेर ४५ मिनेट शहर घुम्यौं | संगीत , फेसन , कला र मस्तीले भरिएको थियो शहर । बुबर्न स्ट्रिट पुग्दा लाग्यो हामी काठमाण्डुको ठमेलमा छौं ।

शहरको फन्को मारेपछि भोक पनि निक्कै लागेछ । एउटा भोजनालयमा पसेर लुजियाना स्वादको खाना खायौं । अबको हाम्रो गन्तव्य भनेको आफ्नो वासस्थान ह्युस्टन थियो । झन्डै तीनबजे अपरान्ह हामीले न्यूअर्लिन्स छाड्यौँ । हामीले अझै छ घण्टा गाडी हाँक्नु थियो । पालैपालो गरेको हुनाले यति लामो यात्राको खासै थकान अनुभव भएको थिएन । कोठामा आइपुग्दा रातीको नौ बजेछ । एकहप्ताको यात्रा जहाँबाट शुरु गरिएको थियो त्यहीं आएर टुङ्गियो । तर यात्राका खुशी,अप्ठ्यारा, आनन्द अझै पनि ताजै छन् । एकहप्तामा हामीले टेक्सास , लुजियाना , मिसिसिपी , अलबामा र फ्लोरिडा घुम्न भ्याएछौं। हाम्रोलागि नितान्त नौलो यात्रा अनुभव !

(पत्रकार बराल ह्युस्टनमा बस्छन् |)

(स्रोत : Globenepal.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.