~गोविन्द के. सी.~
हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा ।
जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना आश्चर्यचकित भए । किन होला ?
के भयो होला ? जस्ता खासखुस गाउँ भरी चल्यो । तर कसैले सोध्ने आँट गरेनन् ।
एकदिन पुजारी बा आफै दिवी थानको मन्दिरबाट ओर्लिएर उनलाई भेट्न आए । अनि सोधे – “दुई बर्ष भयो पञ्च बलि नदिएको देवीलाई । यस वर्षको तिथी पनि नजिकिन लागि सक्यो । तर हजुरको कुनै सुरसार नै देखिदैन । के गर्ने होला ?”
थोता गिजा देखाउँदै लप्टन काइँलाले दिएको जवाफ यस्तो थियो – “पहिला पो मुख भरी दाँत थियो, अब त सबै दाँत झरी हाले । मासु चपाउनै सकिदैंन, के को पञ्च बलि दिनु र पुजारी बाजे ।”
गोविन्द के. सी.
बानियाँटार, काठमाण्डौं
kcgovinda41@yahoo.com
(स्रोत : Bimamyagdi.com )