त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद अन्तिम फन्को थियो होला, शान्ता भाउजुले प्याच्च भनिन्
‘ के हो आशा, तिमीलाई त बुढाले बहिनी ल्याईदिनुभएको छ रे! अब त हामी संग के हिड्थ्यौं होला!!’
आशा खंग्रङ्ग भईन् । एक कान दुई कान सुने पनि यस्तो प्रष्ट संग कसैले भनेको थिएन्, बुढाले कान्छी ल्याएको कुरा । अब नचाहेर पनि शंका गर्न बाध्य भईसकेकि थिइन् । शायद शंका भन्दा बढि, बिश्वाश गर्न बाध्य भईसकेकि थिइन्, मनले जति नै नचाहे पनि ।
हातको कलश कसो खसेन । बत्ति बाल्न पनि बिर्सिछन् । लामीछाने दिदी ले कुरो मिलाउने प्रयास गरिन्
‘अब बजारका कुरा सुनेर पनि हुन्छ र, के के सुनिन्छ के के नि छोरा मान्छे कुरा । घरमा ठिक भएर आए भईहाल्यो नि । कागले कान लग्यो भनेर किन चित्त दुखाउने?’
शान्ता भाउजुले अरु के के भनिन्, कुन बेला छुट्टिईन्, आशालाई केहि थाहा भएन् । मनमा सियो रोपिईसकेको थियो । उनि घर पुगेर ओछ्यानमा थ्याच्च बसिन् । उनलाई गाह्रो भयो । कस्तो कस्तो सास नै रोकिएको जस्तो । हिजो अस्ति सुनेको हल्ला आज उनको घर सम्म आईपुगेको थियो, लगभग सत्य भएर । उनलाई भुंईनै नभएको जस्तो भयो ।
बिहानको स्कूल; बाबु र नानी दुबै उठिसकेका थिए । जसो तसो टिफिन बनाएर स्कुल पठाईन् । बैशाखको महिना बिर्तामोडमा गर्मि नै थियो । घरको गारो(wall) उठाएको भएपनि छत ढलाई गरेको थिएन, जस्ता राखेको । कोठा तात्दै गयो । यता आशाको मन भने सिसो हुदै गयो । उनले बह पोख्न पनि सकिनन् , उनि बग्न पनि सकिनन्
…………………………
कहां जानु, कसलाई भन्नु, को संग सोध्नु? । यो यस्तो बेला थियो जसले, पल पल पीडामा त डुबाउँछ तर जसको निकास भनेको त्यहि पीडालाई अगाल्नु मात्र हुन्थ्यो । अब आशाको आश भने पनि जे भने पनि त्यहि नचाहेको, नरोजेको सत्य स्विकार्नु थियो । उनको जीउ पुरै लल्याक लुलुक्क भईसकेको थियो । खाना बनाउने त परको कुरा पानी सम्म भर्न जान सकिनन् । डाँको छोडेर रुनु पनि कसरी, नरुनु, आँशु थाम्नु पनि कसरी? किन समयले बेला बेला जीवन मा यस्ता पल हरु ल्याईदिन्छ ?
आशाले एकै छिन आत्महत्याको नसोचेको पनि होईन, तर दुई बच्चाकि आमाले त्यो गर्न सक्ने आँट कहां!! उल्टा जीतबहादुर लाई र त्यो असति केटिलाई छिनाउँ जस्तो रिस पनि उठ्यो तर त्यो भावना जसरि उठेको त्यसरि नै हराएर गयो ।
…………………………
१९ बर्षको कल्लकलाउँदो बैशं ले ढकमक्क फुलेकि थिईन् । दार्जिलिन्ग कि केटि फुपकमा आउँदा, फिक्कल बजार। माथि आईतबारे गुल्म बाट जितबहादुर आईरहन्थ्यो । हुन त अरु पनि आउँथे, जिस्काउँथे । तर जितबहादुर भने हांसी मात्र रहेन्थ्यो । त्यहि हाँसोले आशालको मन चोरेर लग्यो ।
भागेर पनि कहां जानु थियो र त्यो बेला । त्यहि माथि ईलाम, कटुवाल दाईकोमा । जितबहादुरको साथी । बिहे गरेर उनिहरु माथि माई पोखरि पुगेका थिए । घर परिवार मा सजिलै मान्नु होस भनेर पोखरि का ९ वटै कुनामा धुपबत्ति बालेका थिए । आशाले पोखरिको माईधामकुना मा नुहाउँदा जितबहादुर ले ब्याग समातेर पर बसेको थियो । जितबहादुर ले आशालाई एकोहोरो हेर्दा आशाले लाज मानेकि थिईन् ।
दिनहरु बित्तै गए । बुहारि भित्राए पनि जितबहादुरको घरमा अंशबण्डा भयो । बाहुनडांगिमा डेढ बिघा जग्गा र अलिकति सम्पत्ति । यहि बिच जितबहादुरको सरुवा भयो, चारआलि ब्यारेकमा । त्यहि जग्गा बेचेर बिर्तामोडमा २ कठ्ठा जग्गा किनेका थिए । बस्न चांहि डेरामा ।
शुरुमा छोरो नै भयो । जितबहादुरले खसि काटेर ब्यारेकमा भोज दिएको थियो । दार्जिलिन्ग, माइतिको मन के थामिन्थ्यो र ? उतै बोलाए । आमा छोरी रात भरि रोए । काख भरि को नाति पाएपछि आमा पनि दंग्ग पर्नु भयो । पुराना कुरा सबै हराए । आशालाई पुर्याएर, जितबहादुर फर्केको थियो । आशा डेढ महिना पछि फर्केकि थिईन् ।
………………………………………….
बच्चा भएपछि, परिवारमा पहिले जस्तो लोग्ने स्वास्निको स्वतन्त्रता, एक अर्थमा सांघुरिको थियो । राम्री भएपनि आशाको रिस चाहि कडा थियो । मुख पनि उस्तै । बच्चाले, घर सजाउन कहां दिन्छ र ? चुप लागेर के बसि दिन्थ्यो । आशालाई झनक्क रिस उठ्थ्यो । हेरि दिने नि कोहि छैन । एकै छिन तरकारि काट्न थाल्यो, लिपस्टिक लगेर टिभिमा दलिदिने । मरि मरि लुगा मिलाएर राख्यो, तानेर पिसाब नै गरि दिनु पर्ने ।
जीतबहादुर, खेलाउने मात्र । लुगा फेराउन र दिसा पिसाब सफा गर्न उसको पौरुषताले कदापि दिदैनथ्यो । दार्जिलिन्ग मा उहि नेपालि समाज भएपनि आशाले त्यति साह्रो त देखेकि थिईनन् ।
‘एकै छिन समाते, जात त जादैन होला?’
‘मेरो काम छैन? अब एस्को गु मुत सोहोर्छु ?’
‘पाए पछि सोहोर्नु पनि पर्छ, आफ्लै लिंड हुन्’
‘तंलाई के खान ल्याएको त ‘
‘तिम्रो नोकर्नि हुं म? भगाउने बेला मा के के भन्यौ “ उनि अझ मुख छोड्न थालिन ।
जति नै रिस उठे पनि जितबहादुर को एउटा राम्रो गुण थियो । आफ्ना समकक्षि साथी हरु जस्तो उस्ले स्वास्नि लाई हात चाहि हालिहाल्दैनथ्यो । आशालाई यो कुरा सबै भन्दा राम्रो संग थाहा थियो । अनि यो कुरामा उसलाई एकदम खुशि लाग्दथ्यो ।
आशा बढि बोल्नथाले पछि, उ बजार तिर जान्थ्यो । तास को लत, बेलुका अबेर आउँदा अलि अलि ठुस्स गन्हाएको हुन्थ्यो । दुबै नबोलि सुत्दथे । बिहान जस्ताको तस्तै ।
बाबु ठुलो हुदै गयो । आर्मिको जागिर, रासन पानी र तलब त आएको थियो । दुईजना हुदां ठिकै थियो तर अब टुम टुम हुन् थाल्यो । कहिले बाबु को औषधि त कहिले नया कपडा । बिस्तारै बढेको खर्चले आशालाई ब्यबहारिक बनाउँदै गयो । उनले ब्यवहार टाल्न, चलाउन रामै संग सिकि सकेकि थिइन् ।
बाबु स्कुल जान थाल्यो । बढेको खर्च संगै आशाले धेरै सोचेर, मन दह्रो बनाएर सोधेकि थिईन्
‘बाबु स्कुल जान थाल्यो, दिन भरि तेसै बस्छु । अल्छि पनि लाग्छ । तान राखौ कि क्या हो?’
‘जे जे राख्न मन लाग्छ, राख ।‘
‘ऊन पनि ल्याइदिने मान्छे भेटेकि छु, राखौं त?’
‘अब मैले उद्घाटन गर्नु पर्ने, मन लाग्छ भने राख् ।‘
उ चुरोट सल्काउदै निस्कियो । आशा नहाँसे पनि भित्र भित्र गदगद् भएकि थिईन् ।
ढाका को ब्यवसाय राम्रै चल्यो । महिना भरको कमाईले सानो तिनो गर्जो टर्न थाल्यो । २-४ रुपिया जोगिन पनि थाल्यो । जितबहादुर को पनि बढुवा भएर हल्दार भएको थियो । तर सरुवा पनि । धनुट्टा जानु पर्ने । घर बनाएर मात्र जाने भन्यो । जसो तसो जोर जाम गरेर घर सारेर मात्र गयो, धनकुट्ट सल्लेरि ब्यारेक मा ।
२ महिना, ४ महिना मा आउने गर्थ्यो जितबहादुर । रहंदा बस्दा, आशाले छोरी पाईन् । छोरी पनि हुर्किन थालि । यसपालि हुर्काउन आशालाई सजिलो थियो । बाबुले सानो तिनो काम गरि हाथ्यो ।
कहां दार्जिलिन्ग को युवा सपना, कहां दुई बच्चाकि आमाको मातृत्व र घर व्यवहार बुझाई । कहां जितबहादुरको हासेर जिस्काउने बानि, कहां छुट्टिमा घर खर्च संगै धनकुट्टे बिस्कुट बोकेर आउने जिम्मेबार पिता । आशा खुशि नै थिइन् । सुखि नै थिईन् । हुन त अल्लारेपन को जस्तो जिस्किने, चल्ने , रिसाउने र फकाउने त हुन छोडिसकेको थियो तर आशा र जीतबहादुर बिच लोग्ने र स्वास्निको आधारभुत बास्तविकता र ब्यवहार सुमधुर चलेको थियो । यो अर्थमा आशा भाग्यमानि नै थिइ ।
समय चल्दै गयो । आशालाई ब्यवहारिक आईमाई भईसकेकि थिईन् । जीतवहादुरको घनकुट्टा सरुवा भएको पनि ७ बर्ष भईसकेको थियो । २-४ महिना मा आउने १० दिन जति बस्ने । खोई ब्यवहारले हो कि के ले हो, आशा धनकुट्टा भने कहिले गईनन् । जितबहादुर ले हिड पनि कहिले भनेन ।
……………………………………………………….
नानि, बाबु स्कुल बाट फर्कि सकेका थिए । आशा अझै खाटमा बिगत पल्टाएर बसेकि थिई ।
‘ममि भोक लागो’ बाबु उफ्रिन थाल्यो । भान्सामा केहि नदेखेपनि झनै कराउन थाल्यो ।
‘ला मेरो मासु खा’ सबै रिस छोरोमा थुपारिन् । उ ढाड दुखेर रोयो । आशा ले थाम्न सकिनन् । मनको भक्कानो यहि फुटालिन् । नानी चाहि दादा र ममि रोएको देखेर रोईन् । आशाले दुबैलाई अंगालो हालिन, तिनै जना तिन भाव का साथ रोए ।
“जाउ, चाउचाउ खादै गर, मलाई संन्चो छैन । भात एकछिनमा खाउँला ।“ पैसा पाएपछि नानी बाबु दंग् भएर गए ।
आशाले आफुलाई संम्हालिन् । ढिलै भएपनि तरकारि काटेर बसाईन् । बिर्तामोडमा ग्यासं थिएन् । दाउराको धुंवाले हो कि के ले हो आशाका आँखा भने रसिला नै थिए ।……………………………….
निकास के त? गर्ने के? अब के हुन्छ ? म कहां जाउं ? कसलाई सोधौ, के भनौ? हप्ता दिन बिति सकेको थियो । रिस मरे पनि आशाले यि प्रश्न को उत्तर भेटेकि थिईनन् । एक अर्थमा भन्दा ब्यवहार र जिम्मेवारिले रिसलाई दबाएको थियो । नत्र दार्जिलिन्गकि हठि आशा, लोग्नेले स्वास्नि ल्याउदा किन दिनौ सम्म सुंक सुंक गरेर बस्दथिन होला र??
माईत जाउँ जस्तो पनि भएको थियो । तर अंह कहां जाने र? उनको घर भनेको पनि संसार भनेको पनि त्यहि थियो । कहां छोड्न सक्थिन र? भविष्य र बिगत को कल्पना र सम्झनाको अफ्ठ्यारो दोसाध मा आशाका दिनहरु बित्न थाले । बोलिरहने जिस्किरहने आशा अब गह्रौं भईसकेकि थिइन् । हितैषी संग के कुरा गर्ने ? जीवनको सबै भन्दा ठुलो भावनात्मक चोट त उनको जीवन साथिले नै लगाएको थियो । उनले जो संग सारा जीवन बिताउँछु भनेर संसार छोडेर आएकि थिईन आज उसैले उनलाई सबै भन्दा एक्लो बनाएको थियो । तर पनि आशाको मनमा रिस भन्दा आँखामा आसुं नै थिए । रात छिप्पिसकेको थियो । कान्तिपुर एफ एम गित सुनिता सुब्बाको गित बज्यो ।
“थामेर किन छोड्यौ हात हरु, रोजेर किन तोड्यौ साथ हरु
छोडेर गयौ सारा याद हरु, रोएर बिते मेरा रात हरु
………………………..
दुई किनार हरु छोएर बग्ने, तिम्रो बानि मैले चिन्न सकिन
तिमी बग्यौ कुन सागरमा मिल्न, लहर हरु मैले भुल्न सकिन ।
………………………
धेरै बहार हरु लुटेर भाग्ने तिम्रो काहानि मैले बुझ्न सकिन
तिमी उड्यौ कुन बसन्त भेटन, ओईलिएर फेरि म फुल्न सकिन
थामेर किन…….
………………………..
दार्जिलिन्ग देखि नै सुन्दै आएको भए पनि आएको भए पनि आज उनलाई यो गित उनकै लागि गाएको जस्तो लाग्यो । गित मै डुबिन् । त्यहि फिक्कलको उमेर र जीतबहादुर को हासो सम्झिन । त्यो उनको बिगत थियो । आज नानी र बाबु काखमा छन । जित बहादुर कहां कहां । यो उनको बर्तमान ।
समय त्यसै बित्दो रहेछ । दुई दिन चार दिन गर्दा गर्दै महिना सम्म कट्यो । आशाले जीवनको सत्य निलि सकेकि थिईन् । दिनचर्यामा बदलाब आउनु स्वाभाविक थियो । तर दिनहरु सँगै आशाका बानि ब्यबहार मा पनि महत्त्वपुर्ण परिवर्तन हरु देखिएका थिए, जुन क्षणिक कदापि थिएनन् । बोलिरहने आशा गमि भईन्, कुरा बिचारेर मात्र बोल्ने । बोल्दा ठाउँमा नै पेच पर्ने गरि बोल्ने । रिस बढि उठ्न थालेको थियो । सानो सानो काम बिगार्दा नानी बाबुले पिटाई खानु सामान्य जस्तो भएको थियो । परिवर्तन संसारको नियम हो, फरक यति मात्र हो, कहिले थाहा हुन्छ कहिले थाहा हुन्न । कहिले मीठो हुन्छ कहिले तितो ।
………………………………………………..
एक सांझ जितबहादुर आईपुग्यो, धनकुट्टा बाट । हंसाई उस्तै, फरक यति मात्र थियो, उसले बर्षौदेखि राखेका जुंगा फालेको थियो । संधैजसो पहाडे खसिको मासु र नानि बाबुलाई धनकुट्टे बिस्कुट अनि त्यहि आर्मी को हिडाई ।
आशाको मुहार मा जीतबहादुर आउँदा हुने चमक देखिएन । स्वभाविक थियो । उ बोडि र फर्सिका मुन्टा केलाएर नै बसि । चामल पखालेर नै बसि । न चिया, न पानी । न स्वागत को हांसो, न आंखाको भाका । उ कुनै हिसाबले पनि जीतबहादुर कि पुरानी आशा थिईन।
जीतबहादुर ले यो बदलाब देख्न सकेन । हुन पनि उ घर आएको थियो । आफ्ना लुकाउनु पर्ने सत्य लुकाएर, बोक्नु पर्ने दायित्व बोकेर । पानी, नानी ले लगेर दिई । स्टिलको गिलास, केटाकेटि को हात । फोहोर थियो । आधा खाएर फाल्यो । आशालाई जीतबहादुर को यो बानि राम्रो संग थाहा थियो । उ जुरुक्क उठेर कागति पानी बनाउन पनि सकिन । बरु निकै बेरपछि चिया बसालि । आशा धेरै केहि बोलिन । खालि जीतबहादुर ले सोधेको कुरा को छोटो र सटिक जवाफ मात्र दिई ।
खाना पाक्यो । मासु पनि । यति बेला सम्म जितबहादुरले पनि आशालाई रिस उठेको छ भनेर नापी सकेको थियो । आफु संग नै हो भनेर थाहा पाए पनि कारण के होला उसलाई थाहा थिएन । उसै त धेरै नबोल्ने, उसलाई आशाको रिस राम्रो संग थाहा थियो । यता उता कै कुरा गर्यो ।
‘के भयो आशा तंलाई?’ भनेर सोध्न चाहेन, सोध्न सकेन ।
खाना पछि नानीबाबु र जीतबहादुर एनटिभि को जिरिखुर्सानि मा रुमलिए । आशा जुठो घरधन्दामा लागिन् ।
१० बज्यो । नानी बाबु आफ्नो कोठामा लागे ।
आशा द्विविधामा परिन् । लोग्ने संग सुत्ने कि नानीलाई लिएर । चटक्क जान पनि सकिनन् । अनि बल्ल बल्ल फर्केको श्रीमान संग नजिकिने निहित चाहाना पनि जागेन । खालि एउटा अफ्ठ्यारो मात्र अनुभव भईरह्यो । न आशालाई अब जीतबहादुरले मलाई जबरजस्ति गर्छ भन्ने डर आयो , न फर्केको श्रीमानको न्यानो अंगालो मा बाधिने चाहाना नै । कुनै अपरिचित ब्यक्तिसंग बिताउनु परेको अफ्ठ्यारो मौन समय जस्तो । न एकले अर्कासंग आंखा जुधाउन सकिने, न बार्ताको सुरुवात गर्न सकिने । खोई के ले रोकेको जस्तो । आशा यहि अफ्ठ्यारो परिस्थितिमा रुमलिईरहिन् । जितबहादुर खाट्मा पल्टेको थियो । चुपचाप थियो, तर निदाएको थिएन । उसले आशाको ब्यवहार परिवर्तन र डरलाग्दो मौनता पढिसकेको थियो । अनि आशाले पनि, जितबहादुरले यति थाहा पाईसकेको छ भनेर प्रष्ट रुपमा थाहा पाएकि थिईन् । यहि जानकारि ले आशामा झन् अफ्ठ्यारो उमारेको थियो ।
केहि छिन लुगा मिलाएको जस्तो पनि गरिन, कहि छिन कपाल कोरेको जस्तो । केहि सोच्न सकिनन् । खालि मन बिगत र बर्तमान अनि कता कता को कल्पना मा उडिरह्यो । घरि दार्जिलिन्गमा, घरि फिक्कलको चिया बगानमा, जुठा छुर्पीमा त घरि छाति माथि गाडिएको सौता रुपि शुल मा ।
आशालाई जीतबहादुरले आफै के भयो भनेर सोधोस जस्तो लागेको थियो । अंह, जितबहादुरले केहि सोधेन। कस्तो निष्ठुरि !! केहि लागेन । आशाले बत्ति निभाई र अर्को पट्टि फर्केर सुत्ने प्रयास गरि ।
निन्द्रा दुबैलाई थिएन । मौनताले निकै बेर ठाउँ लियो । जीतबहादुर आशा पट्टि फर्कियो । तर उसलाई छोएको थिएन् । आशालाई आफै देखि डर लागि रहेको थियो । अब म के गर्छु भन्ने जस्तो ।
शायद जीवनको बिडम्बनाहरु मध्ये एउटा यो पनि हो: महिनौ देखि परदेशिएको आफ्नो जीवन साथी आज आफ्नो नजिक हुदा न्यानो अंगालोमा अंगालिन नसकिने । शायद, आत्म सम्मान प्राप्ती भन्दा ठूलो हुन्छ । समयको यो बिन्दु मा आशालाई आफ्नो जीतबहादुरसंग नजिकिन उसको आत्मसम्मानमा लागेको चोटले नै रोकेको थियो ।
……………………………………………….
जीतबहादुर आफै नजिकिन खोज्यो । आशा चलमलाईन्, निशब्द बसि रहि । जीतबहादुरले अलिक सामिप्यता खोज्यो , आशाको जिउमा अधिकार खोज्यो ।
आशा एकै चोटि पोखिई । ‘पर्दैन छुन, अर्कालाई ।‘ जितबहादुरको हात पर हुत्याइदिई । यो यस्तो क्षण थियो जसलाई आशाले दबुन्जेल दबाएकि थिई । तर सकिन । भनिन्छ नि, कति हारहरु हामीले हारे पनि लाचार भएर हार्न चाहान्नौ । आशाले चुपलागेर आफुलाई जीतबहादुरलाई समर्पण गर्न सकिन । उसको मन ले मानेन । उसलाई रिसाउनु थियो । कराउनु थियो । पोखिनु थियो । भित्र मनको चोट थियो । आत्मा मा लागेको । उ रिसाई, कराई, गालि गरि, रोई । सबै बेदना पोखि । जे भए पनि आखिर पोख्ने त जीवन साथी संग न हो ।
……………………………………………..
जीतबहादुर एकनासले बसि रह्यो । नाई, होईन पनि भन्न सकेन ।
उ पनि परम्परागत समाजमा हुर्केको पुरुष थियो । स्वास्नी संग गल्ति स्वीकार गरेर माफिको बिन्ति पनि गर्न सकेन । न नै बाउ बाजे ले जस्तो ‘मर्दका १०० वटि हुन्छन्। खुट्टाका जुत्ता जति फेरि पनि तंलाई के?’ भन्ने जस्ता गालि गरेर बिजयी नै बन्न सक्यो । न त उलाई उसको पौरुषताको आत्म सम्मानले हार मान्न दियो न भने उ रोई रहेकि आशालाई गालि गरेर आफु जोगिन सक्यो ।
दुबै बोलेनन् । आशा को रुवाई बिस्तारै सुंक सुंक भयो । झगडा निशब्द सकियो । दुबै एउटै खाट्मा सुतेका थिए, एक अर्का संग कोषौं टाढा भएर ।……………………
बिहानी को उज्यालो संगै आशाको संसार अर्को भईसकेको तियो । जीतबहादुर केहि दिन बिर्तामोडमै बस्यो । उ र आशा बीच अत्याश्यक कुराहरुमा मात्र बोलचाल भयो । उनिहरु संगै बसे पनि एक अर्का संग धेरै टाढा भईसकेका थिए । दुबैले एक अर्कालाई धेरै हद सम्म गुमाईसकेका थिए । यो नि:शब्दको पराईपनबाट दुबै पीडित थिए । फरक मात्र कारणमा थियो ।
एक बिहानी, झिसमिसे संगै जितबहादुर ले जाने तयारि गर्यो । न उसले आशालाई केहि भन्ने आँट गर्यो, न आशाले प्रष्टसंग सोध्न नै सकिन् । रातै भए पनि आशाले चिया त बनाईन् तर उ नखाई हिड्यो । आशालाई चसक्क बिझ्यो ।
बिहानीको चर्को घामले दिन बोलायो । एक दिन, दुई दिन; समयले आशालाई सत्य संग अभ्यस्त बनायो । भनिन्छ नि, सत्य अंगाले पछि सजिलो हुन्छ । आशालाई त्यहि भयो । हो पीडा त थियो तर त्यसलाई समातेर बस्यो भने जीवन कहां संम्भव देखिन्छ र? अन्त्य जे भएपनि शायद भोगाई त हो जीवन । त्यहि माथि दुई बच्चाकि आमा, कहां लोग्नेले सौता ल्याएको बिरहमा रोईबस्नु, तड्पिई बस्नु । आशा बिस्तारै पुरानो लय मा फर्किन् ।
जितबहादुरले पुगेर फोन पनि गरेन । पछि पनि गरेन । आशाले पनि फोन गरिनन्, गर्न मन लागेन । भित्र चित्त दुखेको थियो । त्यसै त कसरि मान्छ, मन ।
ब्यवहार हो, चलायो भने त्यसै चल्दो रहेछ । अपुरो भएपनि आफ्नै घर भएकाले डेरा भाडाको समस्या थिएन । ढाकाको ब्यवसाय ले थोर बहुत पैसा आईरहन्थ्यो । दैनिक दाल चामलको खर्च त्यसैले टर्दथ्यो । रह्यो नानी बाबुको स्कुलको पैसा, पहिले पनि ४-५ महिनामा मा तिर्ने गरेको। त्यसले पिरोलो पार्दैन थियो ।
लियो भने कति सजिलो छ, जीवन । बुढा कान्छी ल्याएर परदेशीएका, जेठि छोराछोरि सहित घर सम्हालेर बसेकी, आफ्नै ईलम गरेर । देख्नेलाई आशाको घर यस्तै एउटा घर देखिन्थ्यो । हुन पनि, नानी बाबु को जीवन मा खासै ठुलो परिवर्तन आएको थिएन् । तर आशाको मनमा एक्लोपनले जह्रो गाडेको थियो । जे भएपनि लोग्ने हुदाको र नहुंदाको स्वास्नीमान्छे मा ठुलो फरक हुन्छ, खास गरि हाम्रो घर समाजमा । यसैले त होला १५औं बर्षसम्म पनि हराएका, नफर्केका, भए नभएका लोग्ने लाई लिएर हाम्रा नारीहरु निर्जल ब्रत बस्ने, सिंदुर लगाउने, पोते लगाउने ।
आशा अपवाद थिईनन् । सिंदुर उनले लगाउन छोडिनन् । पोत लगाउन छोडिनन्, ब्रत बस्न छोडिनन् । तर पनि उनको समस्या लोग्ने हराएको वा नफर्केको भन्दा पनि लोग्नेको भाग लगाईएकोमा थियो । अनि त्यो भाग पनि उनको आफ्नै लोग्नेले लगाएको थियो ।
शायद यो ‘लोग्ने’ भन्ने सम्बन्धमा हाम्रा नारीहरुको मन केटाकेटीको जस्तो हुन्छ । सबै भाग आफ्नो पार्नु पर्ने । बाड्नै परे पनि सबै भन्दा ठुलो भाग आफुलाई अवश्य पार्नु पर्ने । चाहे त्यो ‘भाग’ राम्रो होस वा ठिकै । कत्रो मोह, कत्रो माया ।
तर अर्को तिर, हाम्रो समाजका पुरुषको मन चाहि मध्य शताब्दिका साहसि योध्दाको जस्तो । स्वास्नीमाथि जितेको राज्य सरि, पूर्ण आधिपत्य चाहिने । total possession !! अनि फेरि योध्दा न हुन्, एउटा राज्य मात्र जितेर कहां हुन्छ र?
शायद यि सबै समानुपातिक कुरा हरु हुन् । सोचाई संगै परिभाषा बदलिने । आधार(reference) संगै सत्यको मात्रा घटबढ हुने ।
आशाले आफ्नो वरिपरि हेर्ने थालिन् । आफ्नो लोग्नेको राज्य बिस्तार र आफ्नो ‘भाग’को समानुपातिक सत्यको लेखाजोखा गर्न थालिन् । बिर्तामोड बिकासतिर लम्केको शहर भएपनि बासिन्दाहरु पहाडबाट नै झरेका थिए । गांउ, घरमा दोहोरो स्वास्नी भएका ‘लोग्ने’हरु अपवाद थिएनन् । समाजको त्यो सत्यले आशाको मनमा जीतबहादुर माथिको चित्त दुखाईको मात्र घटायो । तर आशालाई दोहोर स्वास्नीको सत्य अफ्ठ्यारो लाग्न छोडेपनि, दोहोरो स्वास्नी ल्याउने लाई उनले राम्रो भनेर चाहि मान्न सकिनन् । यहि नापतौलमा जीतबहादुर पनि पर्यो ।
………………………………………………………………………..
महेश दाई हेर्दा बिशेष त थिएनन् । तर तानको धागो ल्याउने, ढाका लैजाने र पैसाको लेनदेन उ संगै हुन्थ्यो, आशाको । तर पनि उनि बोलि रहेने, जिस्कि रहेने, हांसी रहने मान्छे थिए । उनको ब्यवहार बडो प्रष्ट थियो । पैसाको कारोबार सफा संग राख्ने । आशालाई महेशदाईको ब्यवहार मन पर्दथ्यो । जीतबहादुरले सौता हालेपछि गाँउका अरु मान्छे आशासंग खुलेर कुरा गर्न डराए पनि महेशदाईले जिस्काउन छोडेका थिएनन् ।
दिनहरु संगै, आशाको पुरानो हास्ने, रिसाउने, जिस्कने बानीहरु पनि महेशदाईको आगमनले बोलाउन थाल्यो । हुन त अरु पनि मान्छे हरु आउँथे, तानको काम लिएर । तर आशालाई महेशदाईको आगमन राम्रो लाग्दथ्यो । हुन पनि उनले आशाको व्यवहार संगै नानी बाबु को पढाई सम्म सबै कुरा सोधि दिन्थे। कुराहरु सुनि दिन्थे ।
एक्लिएकि आशालाई थाहै नपाई महेशदाईको मीजासिलो ब्यवहारले बाँध्न थाल्यो । महेशदाई आईरहोस जस्तो लाग्ने । बोलिरहोस लाग्ने । कुराहरु सुनाई रहुं जस्तो लाग्ने । हुन त महेशदाई पनि बिवाहित नै थियो । तर दुईवटि स्वास्नी नल्याएको । यो पनि एउटा थपिएको गुण थियो, महेशदाईको ।
लोग्ने मान्छे र आईमाई मान्छेको सम्बन्ध पनि अचम्मको हुंदो रहेछ । आशा दिनानुदिन महेशदाईको छांयामा रमाउन थालिन् । उनको प्रत्येक आगमन संगै आशाको मुहार उज्यालो हुन्थ्यो । महेशदाई बढि समय बसिदेओस जस्तो लाग्ने । कहिले ढाकाको नयां डिजाईन देखाएर केहि समय जित्दथिन त कहिले चिया ढिलो गरि पकाएर ।
एउटा नजानिदो तागत ले आशालाई महेशदाई तिर धकेलिरहेको थियो । यो कुरा आशाले थाहा पनि पाईरहेकि थिईनन् ।
महेशदाईको सोचाई भने पढ्न नसकिने थियो । शायद उसले आशाको बदलिदै गरेको देखेको हुंदो हो । तर उसको ब्यवहार न बिसको एक्काईस भयो, न उन्नाईस नै । आशाले डिजाईन देखाईन् भने हेरि दिन्थ्यो । चिया दिए खाई दिन्थ्यो । तर आक्कल झुक्कल छोईएका आशाका हात उसले कहिले समाएन् । काम बिना, कुनै हप्ता दोहोरो आएन् ।
दिनहरु बिति नै रहे । भदौको अन्तिम हप्ता थियो । घाम डुब्न लागेको बेला थियो । आशा बारीमा फाट्ट फुट्ट बाकि रहेका हरिया मकै पोल्दै थिईन् । गर्मी प्रसस्त थियो । पसिना त उनलाई दार्जिलिङ्गमा नै आउँथ्यो, बिर्तामोडको के कुरा । पल्ला घरकि मैया नानीले चिच्याएर बोलाईन्
“आन्टी छिटो आउनु, ट्रंकल छ” उनि मकै त्यसै छोडेर फोन उठाउन गईन् ।
‘संन्चै छेस्”
‘अं छु, तपईं नि?’
‘ठिक छु ‘
‘केटा केटि को के छ’’
‘राम्रो छ, नानीलाई जरो आएको थियो, अहिले ठिक छ ।’
‘अरु कुरा ठिक छ, कृष्णदाईको हात ११ हजार पठाएको छ । बुझेर खर्च चलाउँदै गर्नु । पराजुलि ठेकेदार संग कुरा गर्दै गर्नु, दशै अगाडि छत ढलाई गरिदिउंला । रंगलाउन त्यस्तै होला, अब यता पनि घरखर्च पुर्याउनु पर्यो । ल अरु कुरा पछि गरौला ।‘
यति भनेर जितबहादुर ले फोन राख्यो ।
आशा बिस्तारै घर फर्कन् । पश्चिममा घाम आधी बांकि थियो । उनलाई अचानक आएको खुशिले थिचेको जस्तो भयो । उनि दंन्ग भईन । जीतबहादुर संगको रिस, चित्त दुखाई सबै हराएर गयो । उनले त्यो महेश दाई पनि बिर्सिन, पोल्न हालेको मकैका घोघा पनि । उनका जीवनका साना तिना समस्या र सबै उजुरी निमेषमै बिलाएर गए । लोग्ने को एउटा बोलिले नारीको सोचाईमा कत्रो प्रभाव पार्दो रहेछ, प्रष्ट देखिन्थ्यो आशाको अनुहारमा, आंखामा । उ पूर्ण खुशी देखिन्थिन् । चार पांच महिना देखि सम्पर्क नगरेको जीतबहादुरको एक मायालु बोलि नै काफि थियो, आशाको मन फर्काउन । कहां पहिलो प्रेमको बेजोड तागत,जसले आफ्नो सारा घर, सम्बन्ध त्यागेर जितबहादुर संग आउने शक्ति दिएको । कहां लोग्ने को एउटा गल्ति, जुन अक्ष्यम्म थिएन्, आशाको लागि । अरु तनाब जे भएपनि जीतबहादुर ले माया गर्छ भनेर आशालाई राम्रो संग थाहा थियो । अनि उनले जीतबहादुरलाई गरेको माया एउटा सौताको सम्बन्धले कहां पखाल्न सक्थ्यो र । आशाको रिस कहिले लामो हुन सकेन । उनि मन मनै पुलकित भईन् ।
आशा अग्लिएका सुपाडि संगै कल्पनामा अकाशिईन् । ढलाई गरेको छत, थपेका कोठाहरु । दुई श्रीमतीलाई संगै राखेर टिका लाउँदै गरेको जीतबहादुर र उसको त्यो मीठो हांसो । ……………………
यो ‘आशा’ यति नै ।
(स्रोत : साझा डट कम)