~लीलानाथ असन्तोषी~
रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको जिम्मेवारी दिनु अघि जनावरको खुबी दाँजिन्थ्यो । फलस्वरुप हानी नोक्सानी हुँदैनथ्यो ।
विडम्बना रानीवनको सुव्यवस्था दिगो रहन सकेन । केही जनावरहरूले समावेशी सहभागिताको आवाज उठाए । क्षमता र दक्षताको आधारमा कामको जिम्मेवारी तोक्ने प्रथा हटाउन दवाव भयो । सबैले सबै काम गर्न पाउनुपर्छ भन्ने गुलियो नाराले सारा जनावर रनभुल्लमा परे । राजा सिंहमाथि चर्को दबाब पर्यो । राजाले पटक–पटक सम्झाउने प्रयास गरे । जनावरहरू मान्दै मानेनन् । अन्ततः कामको प्रकृति सुहाउँदो जनावर नियुक्ति गर्ने प्रथा तोडियो । सबै काम सबै जनावरले गर्न पाउने, समावेशी सहभागिताको नीति अनुरुप कामको जिम्मेवारी तोक्दा योग्यता र क्षमताको मूल्याङ्कन गर्न नपर्ने विधान पारित भयो । हुन पनि सबै जनावर सबै कामको लागि योग्य हुँदैनन् । आफ्नो योग्यता र क्षमताभन्दा फरक प्रकृतिको काम गर्न पाइने भएपछि जनावरहरू फुरुङ्ग परे । उनीहरूले ठूलो परिवर्तन गर्न सफल भएको अनुभूति गरे । विजयको श्वास फेरे । उत्सव मनाए ।
राजालाई एकैचाटी पाँच वटा उद्योग गर्ने चाहना भयो । उनले आफ्ना मन्त्रीलाई पाँचै वटा उद्योगका प्रमुख समावेशी सहभागिताको आधारमा छनौट गर्ने निर्देशन दिए । अत्यन्तै पारदर्शी एवम् समावेशी सिद्धान्तको आधारमा पाँचै वटा उद्योग प्रमुखको छनौट भए । राजाले छनौट हुन सफल भएका उद्योग प्रमुखहरूको नामावली पढ्न थाले । अचानक उनको भृकुटी खुम्चियो । नामावलीमा दुग्ध उद्योगको प्रमुख बिरालो, माछापालन उद्योगको प्रमुखमा सर्प, बाख्रापालन उद्योगको प्रमुखमा बाघ, कुखुरापालन उद्योगको प्रमुखमा स्याल र फलफूल उत्पादन उद्योगको प्रमुखमा बाँदर छनौट भएका थिए ।
लीलानाथ असन्तोषी
माझफाँट–४, मल्लाज, पर्वत
asantoshicorner@yahoo.com
(स्रोत : Bimamyagdi.com )