~सञ्जयकुमार श्रेष्ठ~
ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड््नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।”
“हवस, म पैसा लिएर चाँडै आउनेछु । ” म आफ्नो भिसा लागेकोमा खुशी थिएँ ।
मेरा सबैजसो साथीहरु विदेशमा छन । दुइचार वर्ष विदेशमा काम गरेर फर्किएपछि नेपालमा फर्किनेहरुको शान नै बेग्लै हुन्छ । हातमा टल्कने घडि, सुकिला कपडा, गोजीमा दुइचार हजार पैसा, अनि त के चाहियो ? लाहुरे भन्ने वितिक्कै केटीहरु हुरुक्क हुन्छन् । गाउँलेहरुले पनि लाहुरेलार्इ नै पत्याउँछन् । कति पढेलेखेका भनाउँदाहरु त विदेश पलायन भएका छन्, मै हुँ भन्नेहरु पनि डिभि, ग्रीन कार्ड पाए भने आफ्नो जन्मभूमि नेपाललार्इ नै विर्सन तयार छन् । जे होस्, नेपालमा बेरोजगार भएर बस्नु भन्दा विदेशमा दुइचार बर्ष दु:ख गरि फर्किएकाहरुले शहरमा घर बनाएर परिवारलार्इ पनि सुखसंग राखेको देखेर मलार्इ पनि विदेश जाने रहर लागेको हो । त्यसैले म पनि दुइचार बर्ष विदेश बसेर धन कमाउने सोंच बनाएर पासपोर्ट बनाएको थिएँ । । त्यो पासपोर्ट मेनपावर माफत भिसाको लागि एप्लार्इ गरेको थिएँ । मेरो भाग्य बलियो भएर होला साउदीको भिसा लागेछ । मेनपावरमा मैले केही रकम पहिला नै जम्मा गरेको थिएँ र बाँकि पैसा लिएर आउन खबर आएकोले मेरो मन हर्ष्ित थियो ।
विदेश जाने भनेपछि आवश्यक ऋण दिन जो पनि तयार हुने, बाबाआमाले जग्गा बेचेर भए पनि विदेशको लागि लगानी गर्न तयार हुने भएकोले पैसा जुटाउन त्यति गाह्रो भएन । विदेश गएर केही कमार्इ गरेर फर्किएपछि आफ्नो जीवनशैलीमा नै फरक आउनेछ, आमाबाबालार्इ सुखसंग राख्न सकिनेछ तथा परिवारमा सुखका दिन आउनेछन् भन्ने सपना बुनेको पनि धेरै भयो । त्यही सपना अब पूरा हुने भयो भनेर म खुशीले गद्गद भएको थिएँ । त्यसैले विदेश जाने सुरसार कस्न थालें ।
मलार्इ राम्ररी थाहा छ । विदेश जान्छु भनेर कतिले त घर खेत सबै बेचेर काठमाण्डौ धाएर नै सम्पति सकिसके । मेनपावरका दलाललार्इ पैसा खुवाएर न विदेश जान सके न त साथमा घरखेत बाँकी रह्यो । विदेश गएका सबै नेपालीहरु सुखसंग जीवन यापन गरेका छैनन् त्यो पनि थाहा छ । कतिपय नेपालीहरु विदेशमा अलपत्र परेका छन् । कति त विदेशका जेलमा परेकाछन् । पैसा टिपेर ल्याउनलार्इ विदेशमा पैसाको बोट त छैन नै, दु:ख गरेर पसिना बगाएर नै कमाउने त हो नि । विदेश सबैलार्इ कहाँ फापेको छ र ? कतिको त विचल्ली नै छ । सजिला काम पनि पार्इने कहाँ हो र ? पहिले त काम पाउनै गाह्रो , पाइएको काम गर्नलार्इ गाह्रो । केही गर्न नसकेर कोही त पागल नै बनेका छन् भने कोही आत्महत्या गरेको पनि सुनिन्छ ।
अस्ती मात्र तल्लाघरे माहिली दिदीले भनेकी थिइन् । उनको भार्इ विदेश गएको दुइ बर्ष भइसकेको रहेछ। पहिले एउटा काम भनेर लगेको त्यहाँ त अर्कै काम पो लगाएको रहेछ । दिनको चौध घण्टा उभिएरै काम गर्नपर्छ अरे । खाना खाएर गएपछि दिन भरि भोकै काम गर्नर्पर्ने रे । काम तलमाथि पर्यो साहुको हप्काइ, कचकच, नमिठो गाली । ओ हो घरमा आमालार्इ घुर्कि देखाएर खाएको बानी, साहुको धारिलो छुरा जस्तो बोली सहन नसकेर “फर्किएर आउँछु” भन्दैछ अरे । साथमा पैसा नभएर फर्केर आउन नसकिएको अरे । यताबाट पैसा पठाइदिएपछि जसरी भएपनि उ तुरुन्त घर फर्किएर आउँछु भनेर भनेको छ अरे।
साउदीको टण्टलापुर घाममा काम गर्न नसकेर मेरै साथी गोरे अस्ती मात्र घर फर्कियो । उसले विदेश जाने बेलामा गरेको सबै लगानी माया मारेछ । उसले भनेको उसंगै काम गर्ने साथीहरुको पासपोर्ट साहुले खोसेर राखेकाले उनीहरु घर फर्किन सकेका छैनन् अरे । उनीहरुले केही महिना देखि तलब पनि पाएका छैनन् अरे । कोहि त कम्पनीबाट भागेर कता हो कता ? पुगेका छन् अरे।
उपल्ला घरे साहिँला काकाकेा छोरा दले, घरको एकलो छोरा भएर पनि विदेश लाग्यो । छोराको भिसा लागेको दिनमा साहिँला काकाले गाउँलेलार्इ भोज नै खुवाएका थिए । “छोरा विदेश गएर कमाएर ल्याउला र सुखसंग दिन विताउँला” भनेर विदेश पठाएको एक बर्ष वित्न नपाउँदै उनको छोराको पार्थिव शरिर काठको बाकसमा राखेर ल्याएको मेरै आँखाले देखेको छु । कोही घरको दु:खले गर्दा विदेश जान्छन् । आफूले गरेको कमाइ श्रीमतीको नाममा पठाउँछन् । आफ्नो उमेर, बल छन्जेल विदेशमा काम गर्छन् । जव नेपाल आउँछन् श्रीमती अर्कैसंग भागेर जाने , विदेशको कमाइ पनि हातमा नहुने, बुढेसकालमा तिनीहरुको विजोग भएको पनि सुनिन्छ ।
यति सबै थाहा भएरपनि बाध्यताले गर्दा म विदेश जाँदैछु । ठेगान छैन, मेरो के गति हुने हो ? यी सबै कुरा भूलेर, मिठा मिठा सपना बुनेर आज म परदेश लाग्ने निर्णय गर्दैछु । सबैले लेखेको कुरा हो भन्छन् । मेरो भाग्यमा भावीले जे लेखेको छ, हुँदै जाला तर मैले विदेश जाने कठोर निर्णय गरिसकेकोछु ।
सञ्जयकुमार श्रेष्ठ
बेनीबजार, म्याग्दी
sanjay_bdcl@yahoo.com
(स्रोत : Bimamyagdi.com )