~सञ्जयकुमार श्रेष्ठ~
“जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो ।
बलेको आगोमा कान्छी स्वास्नी घिउ थप्दै थिई – “तँलाई हाम्रो कोठामा पस्नलाई लाज लागेन ? मर्नलाई अरु ठाउँ कहीं भेटिनस् र यहाँ आइस् ?”
“मैले केही विराएकी छैन…. प्राणनाथ म हजुरविना बाँच्न सक्दिन……. मेरा माइतीले कन्यादान दिएको हजुरकै हातमा हो….मलाई पिट्नुहोस्……मलाई मार्नुहोस् … तर मलाई निस्केर जा नभन्नुहोस् ” उनी रुँदै चिच्याउँदै विन्ती गर्दै थिइन् बलमानको खुट्टा समाएर ।
उसले मनमतीको कुनै विन्ती सुन्न चाहेन र भन्यो– “जा तैंले कुनै हाउभाउ देखाउन पर्दैन….. तेरो विन्ती सुन्नका लाई मसँग फुर्सद छैन …खुरुक्क निस्केर जा…..बाटो खुल्ला छ ।”
रोइन्, चिच्याइन् उनको करुणव्यथा सुन्ने को ? आफ्ना माइतीले कन्यादान दिएका खसमले नै कुरा नसुने पछि उनको केही लागेन । त्यसमाथि नयाँ सौता कान्छी भनाउँदीले “मर्न जा” भनेर कुरा थपे पछि भने उनको मन झन् साह्रै दुखेर आयो । उनको मन विदीर्ण भयो । उनले विगतका कुरा सम्झने प्रयास गरिन् । गाऊँका हुने खानेका सन्तान, घरका एक्ला छोरा, खान लाउन केही दुःख हुँदैन भनेर नै माग्न आउने वित्तिकै दाइले हुन्छ भनिदिए । झयाँइ–झयाँइ अठार बाजा घन्काएर सामाजिक परम्पराअनुसार विधिपूर्वक धुमधामसँग विवाह भयो । विवाहको दुईवर्षसम्म त रमाइलोसँग वित्यो तर हिजोआज बलमानले घरमा राती ढिलो आउने, विनसित्ती निहुँ झिकिरहने, कहिलेकाहीँ सानै कुरामा पनि ठूलै झगडा गर्ने जस्ता व्यवहारहरु विस्तारैविस्तारै हुन थाल्यो । गएको दशैंमा दाइको हातबाट टिका थाप्न भनेर दुबैजना माइती गएका थिए । दशैपछि तिहार मानेर घर आउने दुबैको सल्लाह भएकाले उनी माइती बसेकी थिइन् । तिहार सिद्धिएको भोलिपल्ट नै उनी घर फर्केर आइन् । घरमा आउँदा, बलमानको चाला त अर्कै देखियो । उसले गाउँकी नक्कली भनिने साँच्चिकै नक्कलीलाई भगाएर ल्याई बसेको रहेछ । एउटी सोझी महिलालाई त्यो भन्दा ठूलो चोट के हुन सक्छ र ? त्यो देखेर उनी छाँगाबाट खसे झैं भइन् । विवाह गरेको दुई बर्ष वित्न नपाउँदै लोग्नेले सौता हालिदिए पछि नक्कलीपना नभएकी मनमतीको मनमा यो भन्दा ठूलो शूल के हुन सक्छ र ?
मनमतीले पोइको खुट्टा समाइन्, रोइन्, कराइन् विन्ती गरिन् । उनको रुवाइ र विन्तीले बलमानको मनलाई छोएन । उसको मन मनमतीप्रति बज्रजस्तै कठोर भइसकेको थियो ।
मनमती त गवार रे, साडी–चोलो लगाएर हिँड्ने पाखे रे, उनको पतिलाई नसुहाउने रे, कस्तो–कस्तो ?
आधुनिक जमानासँग मिल्न सक्ने ‘मोडर्न गर्ल’ चाहिएको रे, पाइन्ट टिसर्ट, ‘लेगीज’ ‘टप्स’ लगाउने केटी हुनुपर्ने रे, पार्टीमा जाँदा ड्रिंक्स गर्नुपर्ने रे, हातमा हात समाएर कुम जोडेर हिड्ने जीवनसाथी चाहिएको रे । त्यो उनीसँग हुन नसकेकाले उसले अर्की विवाह गरेर ल्याएको रे ।
बलमानका यी सबै कुरा मनमतीका मनमा बज्रप्रहार थिए, थाम्न सकिनन्, छिंडीमै रोएर रात काटिन् । गाउँको हुनेखानेको छोरो भनेर उसँग हात सुम्पिदिने आफनै दाइसँग पनि रिस उठेर आयो तर अर्काे उपाय नै के थियो र उनीसँग ? के गर्नु ? आप्mनो भाग्य देखेर आफैलाई धिक्कारिन् । बिचरी ! अवला ।
कुरो भोलिपल्टको हो, लोग्नेलाई रिझाउनका लागि उनलाई नक्कली बन्न मन लाग्यो । लोग्नेको पाइन्ट झिकेर खुट्टा घुसारिन्, सर्ट पनि भिरिन् । त्यस परिधानमा आफलाईू ऐनामा हेरिन्, कस्ती देखिन्छु भनेर । लाज लागेर आयो । कहिल्यै लगाएकी थिइन् र त्यस्तो कपडा ? कपडा लाउन नजानेर पो हो कि ?
त्यसै पहिरनमा उनी घरको आँगनमा ओहोरदोहोर गर्दै थिइन् । त्यसै बेला वरिपरिका छिमेकीहरुले देखेछन् । तिनीहरुलाई उनी बहुलाएको जस्तो लागेछ । एककान दुईकान हुँदै गाउँभरि हल्ला फिंजियो । उनलाई हेर्न आउने केटाकेटीहरुको भीड लाग्यो । “ए केटाकेटीहरु तिमीहरुले के हेरेको हँ? ” भन्दै उनले गाली त गरिन् तर केटाकेटीहरु बौलेनी – बहुलानी – बौलाही भन्दै दौडन थाले । मनमती लट्ठी लिएर केटाकेटीहरुलाई लखेट्न थालिन् । अब त झन् सबैलाई उनी पक्कै बहुलाएको नै लाग्यो । यसरी एकदिन दुईदिन गर्दागर्दै उनी बहुलाएको पक्कै हुने भयो । सेतो रङ्गलाई सबैले कालो भनेपछि कालै हुनेरहेछ । मनमतीको अवस्था त्यस्तै भयो ।
बहुलाएको खवर त्यहीं मात्र सिमित भएन माइतसम्म पुग्यो । माइतमा दाजुबाहेक कोही नरहेकाले दाजु लिन आए । मनमती बहिनीलाई आफ्नोसाथ लान खोजे तर पटक्कै मानिनन् । नमान्दा नमान्दै लगे, धामी–झाँक्री गरे, लागोभागो मन्छाए, पन्छाए तर उनको रोग निको भएन । निको हुने रोग त उनको थिएन नि । रोग त मानसिक पीडाको हो । त्यहाँ बस्न पनि त सकिनन् , कहिले कुन ठाउँ कहिले कुन गाउँ गर्दै हिडिन् । कोही कठैबरा भनेर खान दिने हुन्थे । एवम् रीतले मनमतीका दिनहरु कष्टसाध्य हुन थाले ।
गाउँ भन्दा अलि पर एकान्त चौतारीमा घुमन्ते मनमती सुतिरहेकी थिइन् । शुन्य रात बैशले मातेका एकहुल केटाहरु त्यहाँ आइपुगे । यौवनमस्त मनमतीलाई एक्ली देखेपछि केटाहरुको हुल जाइलाग्यो । आफ्नो अस्मिता जोगाउन उनले प्रयास त धेरै गरिन् । अवला नारीको के बल ? केहीबेरको घमासान पछि यौनपिपासुहरुले आफनो कामवासनाको तिर्खा मेटे । उनी बेहोस भइन् ।
कपडा च्यातिएको, कपडामा रगत लतपतिएको, चौतारीमा रगतका थोपाहरु पनि यत्रतत्र छरिएको अवस्थामा मनमतीको बेहोसी शरीरलाई त्यही बाटो भएर हिड्नेहरुले देखे विहान — विभत्स दृश्य । गाउँलेहरु मिलेर उनलाई नजिकको स्वास्थ्य चौकीमा त पुर्याए तर उपचारसहित त्यहाँ उनलाई स्याहारसुसार गर्ने आफन्त नै को थिए र ?
केहीदिन पछि खवर सुनियो, विचरी स्वास्थ्य चौकीमा नै मरी रे । सुन्नेहरुले भने— मरिछे विचरी !
– सञ्जयकुमार श्रेष्ठ
बेनीबजार, म्याग्दी
sanjay_bdcl@yahoo.com
(स्रोत : Bimamyagdi.com )