~लीलानाथ असन्तोषी~
“हेलो ……….”
“हजूर ……..”
“को हो ? हर्के बोलेको हो ?”
“हजुर म बोल्दैछु ।”
“मेनपावरबाट बोल्दैछु ।”
“सर नमस्कार ! मेरो भिसा लाग्यो ?”
“अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।”
“हुन्छ, सर …..।”
हर्केले मुखियालाई फोन बुझायो ।
गरिबलाई जे गरे पनि चिन्ता । ‘पहिले भिसा नलागेर चिन्ता अहिले भिसा लागेर चिन्ता’ हर्केलाई चिन्ताले छोयो ।
हर्केले गाउँघरमा धेरै दुःख गरेको हो । दुःख–सुख वृद्ध बाबुआमा र एउटा छोरा उसले धानेको छ । उसलाई काममा श्रीमती चमेलीले पनि सघाउँथी । रातदिन जति दुःख गरे पनि परिवार पाल्न धौ–धौ भएपछि उसले सोच्यो, अब विदेश नगएसम्म नयाँ प्रगतिको त कुरै छाडौं, परिवार पाल्न पनि मुस्किल हुने भयो । हुर्कंदै गरेको छोराको शिक्षाको पनि सवाल छ । ऊ विगत छ महिनादेखि राजधानी जाने आउने गर्यो । उसलाई भिसा लागेको खबरले खुशीसँगै पैसा जुटाउने चिन्ता थपियो ।
वल्लो–पल्लो गाउँ चाहार्दा पनि पैसाको जोहो हुन नसकेपछि हर्केले गाउँकै सहकारीमा घरबारी धितो राखेर पैसाको व्यवस्था गर्यो । घर छोड्दाको अघिल्लो रात हर्केले चमेकीलाई धेरै सम्झायौ, बुझायो । घरव्यवहार सञ्चालन, वृद्ध बाबुआमाको रेखदेख एवम् हुर्कँदै गरेको छोराको पालनपोषणको जिम्मेवारी चमेलीमा सर्यो । घर धितोमा राखेर विदेश जाँदै गरेको र एक वर्षसम्मको कमाईबाट सहकारीको ऋण चुक्ता गरिसक्नुपर्ने अन्यथा घर लिलाम हुने शर्त गरेको छ हर्केले । यी सबै कुरा श्रीमतीलाई बतायो । चमेली केही बोल्न सकिन । ऊ सुकसुकाउँदै मजेत्रोको टुप्पो पटकपटक आँखासम्म पुर्याउँथी ।
आज हर्के विदेश जाने दिन । परिवारबाट उसको बिदाई भयो । “बाबु ठाउँमा पुगेपछि मुखिया बाकोमा झट्टै फोन गरेस् है ” आमाले सम्झाइन् । “कति दिन मुखिया बाकोमा फोन गर्न जाने, अब त देशमा भएपछि पटकपटक फोन गर्नुपर्छ । तेरो पहिलो महिनाको नोकरी बुझेपछि बुहारीलाई झट्टै मोबाइल पठाएस् है ” बाबुले थपे । हर्केले बाबुआमाका कुरामा सहमति जनायो । चमेली केही बोल्न सकिन । छोरो च्यापेर टोलाइरही ।
लोग्ने विदेश गएपछि २/४ दिन त चमेली घरमै बसी । छिमेकीसँग घाँस दाउरा गर्न थाली । गाउँलेले कुरा गर्न थाले, “लोग्ने विदेश गएपछि अब चमेली पनि शहर जाने होली …..।” दाउरा घाँस मेलापात गर्दा उसले धेरै पटक यस्ता कुरा सुनी । चमेलीका संगिनीहरुले पनि बारम्बार यस्तै भन्थे । उनीहरु आफूसँग टाढिँदै गएको अनुभव उसलाई भयो । बिस्तारै चमेलीको मन बदलियो । उसले सोची मेरा दाजुहरु विदेशिएपछि भाउजुहरु शहरमै बस्न थाले । अघिल्लो वर्ष भेना विदेशिए पछि साहिंली दिदी पनि त शहरमै बसेकी छिन् । अब म पनि शहर जानुपर्छ ।
हर्के विदेश गएपछि एकपटक पनि फोन गरेको छैन । ऊ ठाउँमा पुग्यो कि पुगेन ? काममा लाग्यो कि लागेन ? केही पत्तो छैन । हर्के घर छोडेको १५ दिन भैसक्यो । बाबुआमा छोराले फोन गर्यो कि भन्दै दैनिक ३/४ पटक मुखियाकोमा जान्छन् । तर कुनै खबर छैन ।
एक रात हर्के अचानक घरमा आयो । बाबुआमाले आश्चर्य मान्दै सोधे, “तँ फर्केर आईस्, किन आईस् बाबु ?” हर्के बोल्न सकेन । बर्बर आँसु झार्दै बाबुआमालाई एकोहोरा हेरिरह्यो ।
“भन त बाबु के भयो ?” आमा फेरि बोलिन् ।
“मलाई दलालले ठग्यो, मेरो भिसा लागेको रहेनछ, झुठो बोलेर दलालले एक महिनासम्म अल्मल्यायो । पैसा सबै ठगेर भाग्यो ।”
मन थाम्न नसकेर बाबुआमाले पनि डाँको छाडे । चमेलीलाई नदेखेपछि हर्केले सोध्यो, “चमेली खोई त ?”
“तँ विदेश जाने भनेर घर छोडेपछि चमेली शहर बस्न गएकी छे ……………….. नाति पढाउन ……………..” आमाले भनिन् ।
लीलानाथ असन्तोषी
माझफाँट–४, मल्लाज, पर्वत
asantoshicorner@yahoo.com
(स्रोत : Bimamyagdi.com )