~जया राई~
बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर कार–पार्कमा सधैं आउने जमैकन अग्ली, काली त्यो पनि
भेटिनँ । यसको मतलब म आज घरबाट चाँडै निस्कें– काममा जान ।
दुई जना डेन्टिस्ट– मिस्टर मल्डे र मिसेज रमया नबोलेको पनि करिब दुई महिना भयो होला । यी दुईको व्यवहार देखेर पनि दिक्क लाग्छ । कति धेरै असहमतिका बुँदा पनि । यिनीहरूको व्यवहार देख्दा त धेरै पहिला हाम्री बजैले भनेको याद आउँछ– मान्छेको मन नमिल्नु र घरको भान्सा नमिल्नु एकै हो । वास्तवमा काम गर्ने ठाउँको थोरै अशान्तिले सबलाई डिस्टब ! आज मिसेज रमयाको काम गर्ने दिन, सोमबार र बुधबार त हो, यो काममा आउने । आउन त बिहीबार पनि आउँछे, बिहीबार त मेरो डे–अफ ! मैले यिनको पेलाइमा पर्नुपर्दैन । मलाई यो दिन हाई–सञ्चो हुन्छ ।
आज बिहानको सेसन अति बिजी भयो, सास फेर्ने फुर्सद पनि मिलेन । बिहान दुई जना बिरामीको अगाडिको दाँत खोलेको, सन्जोग पनि कस्तो ? दुवै जनाको त्यही दाँत, दाहिनेपट्टिको माथिल्लो दोस्रो । बिहानको पहिलो, ९ बजेको बिरामीको रुटक्यानल ट्रिटमेन्ट थियो । मिस्टर मल्डेको काम कति धेरै क्रस–इन्फेक्सन हुन्छ । काम लतरपतर गर्छ । उसले बिहानै मेरो मुड खराब गरायो । पहिलो बिरामीलाई तीनपटक ‘इन–आउट’ गरायो । तीनपटकमा हरेक चोटि त्यो बिरामीका लागि चलाएको उपकरण सफा त गर्ने हो तर कसरी क्लिनिकल्ली सफा गर्न सम्भव हुन्छ ? वास्तवमा भन्ने हो भने डाक्टर–डेन्टिस्टहरू नै हुन् सरुवा बिमारका संवाहक ! मेरो एक साथीे भन्थ्यो– ‘डाक्टर भनेका लाइसनप्राप्त ज्यानमारा हुन् ।’ कुनै बेला लाग्छ, वास्तवमा यस्तै हुन् पनि !
आज लन्च ब्रेक जानुअघि क्रिसमस पार्टी खान जाने टुंगो भएछ । अबको दुई सातामा बिहीबारको दिन तय भएको मिस्टर केले मलाई भन्यो । भरे सोनालले पनि भनी । मिसेज रमया पनि त्यही कुरा मलाई जानकारी गराउँदै थिई । वास्तवमा त्यो एउटा कुरा तीन जनाले भन्दा तेस्रो चोटिमा त नौलो लागेन ।
आज ज्वाना फ्लु लागेर ग्रस्त छे । त्यस्तो बिमारी व्यक्ति सर्जरीमा काममा नआउनुपर्ने ! अरूलाई सर्छ, नाक चिमोटेर रातो भएको छ । म्याकडोनल बूढोजस्तो !
लन्च ब्रेकमा म घर आउँदा मिस्टर मल्डे पनि सँगै आउँछ । उसको डेली टेलिग्राफ किन्न न्युज एजेन्टमा तर ऊ ‘टिक ओयल’ पनि किन्नु छ भन्दै हार्डवेयर सपमा पहिला छिर्यो । म ‘सी यु एट टु मिस्टर मल्डे’ भन्दै बिदा हुन्छु ।
खाना खान्छु, दिदीलाई मेरिल्यान्ड फोन गर्न पनि भ्याउँछु तर आज उनको काम छ, बिहानै गइसकिन् ।
लन्चबाट फर्किंदा सधैं पिनार रोडमा भेटिने पेट्रोल स्टेनमा काम गर्ने बुढियालाई भेटिनँ आज । कुनै बेला स्टेसननजिकै र कुनै बेला वर सर्जरीनजिक ट्राफिक लाइटनिर भेटिन्छे । ऊ भन्छे– ‘ला ! आज म ढिलो भै छु !’ म उनलाई हाँसोमा हाँसो मिलाउँदै ‘हो ! हो ! चाँडो गर’ भन्छु वा कुनै बेला हाँस्दै कस्तो छ ? आरामै हुनुहुन्छ ? भन्दै भेट हँुदाका औपचारिकताका कुरा हुन्छ । ऊ यसरी नै बाटोमा हिँड्दा चिनिएकी दोबाटे साथी हो । नबोले पनि दस मिनेटको बाटामा ऊजस्तै सधैं भेटिने मुखले नबोल्ने तर आँखाले मात्र बोल्ने साथीहरू पनि धेरै छन् । तिनका बारेमा पनि धेरै कुरा छन् लेख्न !
लन्च ब्रेकपछि सोमबारको दिन म मिसेज रमयासँग काम गर्ने । पहिलो बिरामी एक जना दम्पती खाली चेकअप क्लिनिङ ! साढे ३ बजेको एक जना अफगानी महिला, जो थोरै अंग्रेजी बोल्छे, बोलेका कुरा पनि सही हो कि होइन भनेर डेन्टिस्ट शंका गर्ने । डेन्टिस्ट सोध्छे– तिम्रो कोही अंग्रेजी बोल्ने मान्छे छ ?
तिम्रो लोग्ने छ भन्ने प्रश्नको उत्तरमा ‘छ’ भन्छे ।
खोइ त ?
बाहिर कारमा छ ।
जाऊ, लिएर आऊ ।
ऊ बाहिर लिन गई । ऊ अग्ली भए पनि मोटाएर डल्लो भएकी, भुँडीको वरिपरि बोसो थुप्रेको थसुल्ली तर राम्री, तरुनी, गोरी त्यस्तै बिस–बाइस वर्षकी अफगानी महिला !
ऊ स्टुडेन्ट रे ! अंग्रेजी पढ्दै छे रे हेरो कलेजमा । ऊ वेनिफिट खाँदै छे, इनकम सपोर्ट रे ! अरू पनि मेडिकेसन लिँदै छे रे ! ती मेडिकेसन के–के हुन् ? र के के–का लागि हुन् भनेर उसले भन्न सकेन । ऊभन्दा पनि मोटो, करिब पैंतीस वर्षको लोग्नेले भनेका कुरा यस्तै हुन्, उसको स्वास्नीको बारेमा ।
तिमी किन आएको त ? उ भन्छ मेरो पनि अपोइन्टमेन्ट छ नि त ! किन त के समस्या भयो ? ऊ भन्छ, प्रायः मेरा यी यहाँ दुख्छ, भन्दै सबै गिजा तल–माथि अगाडि–पछाडि देखाउँछ ।
मिसेज रमया भन्छे– भो गम (गिजा) नछौ । आऊ, बस कुर्सीमा, आज सामान्य चेकअप मात्रै हो । तिम्रो दाँतको एक्स–रे लिन्छु, तिम्रो मेडिकल हिस्ट्री थाहा भएन, त्यो नभै हँुदैन । अब अर्को अपोइन्टमेन्ट बनाउनुपर्छ, अर्कोपटक आउँदा साथमा अंग्रेजी बोल्न जान्ने मान्छे लिएर आउनू, के–के दबाई खाँदै छौ, त्यो सबै जानकारी गराउनुपर्छ, कागज देखाऊ ।
यी बिमारी हेर्दा मिसेज रमयाको रिसको पारो चढेर सय डिग्रीभन्दा माथि पुगेको छ । मलाई रिसेप्सनिस्टलाई बोलाउन लगाई । तीनपटक जाँदा पनि घरी फोनमा, घरी अरू बिरामीसँग डिल गरिरहेकी हुन्छे । पाँच मिनेटपछि ढोकाभित्र आई र बिरामीलाई भनी– ‘तिमीलाई भनेकै हो अंगे्रजी जान्ने मानिस लिएर आउनू, भनेको होइन र !’ अरू त म पनि जान्दिनँ, जान्ने त डेन्टिस्ट हो नि ! त्यति भनेर रिसेप्सनिस्ट फर्की डेक्समा । त्यो अध्याय त्यही सकियो । बिमारी फर्की उपचार नै नभई, भाषाको कारणले ।
आज मलाई आराम भयो । त्यति बिजी पनि भएन जति मिस्टर मल्डेकोमा हुन्छ । आज भारती पेलानमा परी । भारतीले भनेकी, उसले स्कुलमा फुल–टाइम काम पाई रे । खुसी लाग्यो । उसले भर्खरै दिएको इन्टरभ्यु पास गरिछ । यो भारती भन्ने जीवको कथा–व्यथा पनि धेरै छ । पछि लेखौंला ! यसको बारेमा लेख्न छुट्टै समय चाहिन्छ ।
ज्वाना टाउको समातेर बसेकी छ । अहिले दिनको साढे ४ बजिसकेको छ । मिस्टर के उसलाई भन्छ– ‘जाऊ घर तर डिस्को जाने हैन है !’ भन्दै ठट्टा गर्छ । ज्वाना नाक देखाउँदै भन्छे– ‘यस्तो रातो नाक ! क्रिसमस फादरको जस्तै भाछ कसरी बाहिर जानु ?’ सबैलाई हँसाउँदै ऊ बिदा भई ।
आज तीनवटै सर्जरीको चाँडै काम सकियो ।
मिसेज रमया गइसकिन् । हामी सबै जाने तयारीमा छौंं ।
पौने ५ बजेको छ । फोनको घन्टी बज्यो ।
रिसेप्सनिस्टले ‘डेन्टल सर्जरी हाउ क्यान आई हेल्प यु ?’ भन्दै फोन उठाई ।
केही क्षणमै गुज्रातीमा बोल्न थाली– ‘दाँत दुखेको छ त बिहान पो फोन गर्नुपर्छ । अहिले ५ बज्न लाग्यो । हामी हिँड्न लाग्यौं ।’
उताबाट वृद्धा बोली– ‘दाँत अहिले दुख्दै छ त म कसरी बिहान फोन गरौं ? अहिले दुखेर पो फोन गरेको । बेलुका दाँत दुख्ला भनेर बिहानै म के जानौं ।’
हामी सबै घर जान तयार भएकाहरू, बूढीआमाको कुरा सुनेर डल्लो परी हाँसोका पर्राहरूमा रुमलिन्छौं ………..।
(स्रोत : Puleso.com)
अनुस्वार लेखन र उच्चारण विधि
कं ं
अनुनासिक वर्ण अनुस्वार वर्णक
अ + ङ् अ + ं (अनुस्वार ) अं ( अङ्), क + ङ् क + ं ( अनुस्वार ) कं ( कङ् ) l अनुनासिक अक्षर :
कं खं गं घं ङं चं छं जं झं ञं टं ठं डं ढं णं तं थं दं धं नं पं फं बं भं मं यं रं लं वं शं षं सं हं क्षं त्रं ज्ञं
स्पर्स वर्णका अर्ध अनुनासिक वर्ण आ – आफ्नै वर्गका अघि हुँदा अनुसार उच्चारण हुँदछ ।
(स्पर्स वर्ण क देखि म सम्मका २५ अक्षर, अनुनासिक अक्षर ङ ञ ण न म ) l
क वर्गका पाँच अक्षर ‘ क ख ग घ ङ ’ (अर्ध ङ अनुनासिक वर्ण ) कण्ठ्य उच्चारण । क वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ङ ( ङ् ) वर्ण अघि, ‘ क ख ग घ ङ ‘ वर्ण पछि हुँदछ ।
जस्तै अङ्क,पङ्खा, गङ्गा, उलङ्घन, टङ्ङ ( अंक, पंखा, गंगा, उल्लंघन, टंङ ) आदि
च वर्गका पाँच अक्षर ‘ च छ ज झ ञ ’ (अर्ध ञ अनुनासिक वर्ण ) तालव्य उच्चारण । च वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ञ ( ञ् ) वर्ण अघि, ‘ च छ ज झ ञ ‘वर्ण पछि हुँदछ ।
जस्तै अञ्चल, हुञ्छ, जनरञ्जन, झञ्झट ( अंचल , हुंछ , जनरंजन , झंझट ) आदि ।
ट वर्गका पाँच अक्षर ‘ ट ठ ड ढ ण ‘ ( अर्ध ण अनुनासिक वर्ण ) मुर्धन्य उच्चारण । ट वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध ण ( ण् )वर्ण अघि, ‘ ट ठ ड ढ ण ’ वर्ण पछि हुँदछ ।
जस्तै कण्टक , कण्ठ , डण्ड , ( कंटक , कंठ , डंड ) आदि ।
त वर्गका पाँच अक्षर ‘ त थ द ध न ‘ (अर्ध न अनुनासिक वर्ण ) दन्त्य उच्चारण ।
त वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध न ( न् ) वर्ण अघि, ‘ त थ द ध न ’ वर्ण पछि हुँदछ ।
जस्तै सन्त , पन्थ , कन्द , अन्ध, अन्न ( संत , पंथ , कंद, अंध , अंन ) आदि ) ।
प वर्गका पाँच अक्षर ‘ प फ ब भ म ‘ (अर्ध म अनुनासिक वर्ण ) ओषठ्य उच्चारण ।
प वर्ग अक्षर अनुस्वार उच्चारण हुँदा अर्ध म ( म् ) वर्ण अघि , ‘ प फ ब भ म’ वर्ण पछि हुँदछ ।
जस्तै कम्प , पम्फा , गुम्बा , सम्भव , टम्म ( कंप , पंफा , गुंबा , संभव , टंम ) आदि ।
अंतस्थ वर्णका चार अक्षर ’ य र ल व ‘ (अर्ध म अनुनासिक वर्ण ) ।
अंतस्थ वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म ( म् ) वर्ण अघि, ‘ य र ल व ‘ वर्ण पछि हुँदछ ।
जस्तै सम्यम, सम्रक्षण , सम्लाप, सम्वहन, (संयम, संरक्षण, संलाप, संवहन ) आदि ।
उष्म वर्णका तिन अक्षर ‘श ष स’तालव्य ‘श ’मुर्धन्य‘ष’ दन्त्य ‘ स ‘(अर्ध म अनुनासिक वर्ण ) उष्म वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म (म् ) वर्ण अघि र श ष स वर्ण पछि हुँदछ ।
जस्तै वम्श , कम्स , सम्सार ( वंश , कंस , संसार ) आदि ।
प्राण वर्ण एक अक्षर ‘ ह ‘ (अर्ध म अनुनासिक वर्ण ) प्राण वर्ण, अनुस्वार उच्चारण हुँदा
( अर्ध म ) म् वर्ण अघि , ह वर्ण पछि । जस्तै सम्हार , सिम्ह (संहार, सिंह ) आदि ।
चन्द्र बिन्दु उच्चारण र लेखन विधि )
चन्द्र बिन्दु ँ लेखन र उच्चारण विधि
अ + ञ् अ + ँ अँ ( उच्चारण अञ् )
क + ञ् ञ क + ँ कँ ( उच्चारण कञ् )
चन्द्र बिन्दु ँ अक्षर :
कँ खँ गँ घँ ङँ चँ छँ जँ झँ ञँ टँ ठँ डँ ढँ णँ तँ थँ दँ धँ नँ
पँ फँ बँ भँ मँ यँ रँ लँ वँ शँ षँ सँ हँ क्षँ त्रँ ज्ञँ