‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?”
दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने छोडेर देख्दै तर्साउला जस्तो जुठे समाउन किन पुग्थी ?”
आमाले भनी– “केले त भर्मनायो त्यसलाई। घर खाइसकेकी मान्छे नत्र उसै किन हिडथी ?”
कुरा थरीथरीका चले, प्रतिकृया भिन्न भिन्न भयो।
सासूले भनी – “घोक्रयाएर निकाल्नु पर्ने आफै हिडी, ठिकै भो। त्यो बाँझीको त मुख हेरे पनि नरक परिन्थ्यो। खुट्टा भए जुत्ता कति आउछन् कति !”
गाउँभरि गोमतीको बद्ख्वाइँ भयो। दौतरी आइमाईसम्मले पनि गोमतीको चाल निको मानेनन् तर केही महिना पछि गोमतीको चर्चा सेलायो।
गोमतीको ससुरोले छोराको बिहेगर्ने कुरा चलायो। फेरि गोमतीकै चर्चा चल्यो – “गोमती किन पोइला गई त ?”
एउटाले भन्यो- “सासू साह्रै दुच्छर छ रे, छोरी दिनै गाहारो ।”
अर्कोले थप्यो – “ससुरोको स्वभाव निको छैन रे ।”
तेश्रोले सुनायो– “नन्दआमाजूले टिक्नै दिदैनन् रे ।”
तैपनि समाधान निस्किएन।
केटो राम्रो छ। धनसम्पत्ति पनि छ। घर खाएकै हो। कमी केही थिएन त गोमती किन पोइल गई?
“केटाका सन्तान हुदैनन् रे ।” – प्याट्ट एउटाले फुको शंका निकाल्यो।
“गोमतीका हुने भए रे ।” –हल्लाकै पुष्टि दियो अर्कोले।
“केटो र गोमतीको सम्बन्ध नै भएन रे ।” – अन्त्यकोले तार्किक समाधान निकाल्यो।
कसैले पनि गोमतीलाई बोल्न ठाउँ र समय दिएन। त्यसैले कोही पनि भन्न सक्दैन- ‘गोमती किन पोइल गई ?’
काठमाडौं
२०५०। १०। २६
(स्रोत : Ram Dahal’s Blog)