लोककथा : साइनोको व्यापार

~सीता बराल~Sita Baral

बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यही छे । तिमीलाई पठाउने कागजपत्रमा सही लगाएर आउँदा डाँडाको चौतारीमा बसेर छोरालाई दूध खुवाउँदै निकै बेर रोई । रुपेशले उनका बाले फोनमा भनेका कुराहरु सम्झे ।

उनले यति समयसम्म धेरै जनासँग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्न भनेको आफू झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए ।

आफ्नो उद्देश्य पूरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसँग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आँटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा ।

सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कति जनालाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ । अहिलेको समयमा परदेश लागेका एक्ला श्रीमानहरुको आफ्नो श्रीमतीलाई छिटै नै बोलाउन मिल्ने सजिलो माध्यम बनेकी छन् फतीमा । युरोपका केही केटीहरु पैसाको लागि यहाँ आउने युवाहरुसँग बिहे गरेर केही समयपछि सम्बन्धविच्छेद गर्न गर्छन् । यस्तै साइनोको व्यापार फतिमाले पनि गर्न गरेकी छन् ।

यसै क्रममा एजेन्सीमार्फत सम्पर्कमा आएकी फतिमा रुपेशलाई सारै माया गर्छिन् । हुन त यो उनको बानी नै भैसकेको छ । पैसाको लागि अन्य मानिससँग सम्बन्ध गाँस्दै केही समयपछि विच्छेद गर्नसक्ने अचम्मको माया गर्न जानेकी छन् उनले । सजिलै र छिटै रातो पासपोर्ट हात पार्ने यो तरिका रुपेशलाई मन प¥यो ।

गाउँबाट पैसा मगाएर भए पनि उनले फतिमासँग बिहे गर्ने निधो गरे । भरखरै युरोप आएका रुपेश यहाँ भएको बेरोजगारी समस्याले गर्दा एजेन्सीले कबुल गरेको पैसा एकै चोटी बुझाउन नसक्ने भएपछि फतिमाले किस्ताबन्दीमा लिन स्विकार गरिन् । रुपेश र फतिमा दुवैजनाको मनमा हामी वास्तविक श्रीमान श्रीमती होइनौं र तोकिएको पैसा बुझाइ सकेपछि हामीहरुको यो कागजी सम्बन्ध पनि विच्छेद गर्नुपर्ने छ भन्ने थाहा छ । त्यसपछि फतिमाले अर्को ग्राहक भेट्ने छ भने म मेरी निर्मला र छोरालाई छिटै नै यो ठाँउमा ल्याउने छु भन्ने रुपेशले सोचिरहेका छन् ।

पासपोर्ट छिटै हात पर्ने यो तरिका थाहा पाएर रुपेशले बा र निर्मलासँग सल्लाह लिएर गाउँबाटै पैसा मगाए । यसै गरी उनले दुई किस्ता बुझाइ सके । अबको तेस्रो किस्ता वा अन्तिम किस्ता भोलि एजेन्सीसँग गएर फतिमाको हातमा राखिदिएपछि वकीलले उनीहरुको सम्बन्ध विच्छेद गरिदिनेछन् । यसको लागि रुपेशले सबै पैसा जम्मा गरिसकेका छन् ।

रुपेशलाई भोलि आउने दिन पनि कति लामो लागिरहेको छ । आफू विदेश लाग्ने दिनमा काखमा लिएको दुई महिनाको छोरालाई कोक्रोमा राख्दै बाबु म तिमीलाई लिन छिटै आउँछु है भनेका कुराहरु र विदाइका बेला बा, आमा र निर्मलाका आँखामा टलपलाएका आँसुले उनलाई कति समय पीडा बोध भइरहेको थियो । भोलि यतिबेलासम्म त मैले घरमा खुसीको कुरा सुनाउन पाउने छु, त्यसपछि त …….अनेक कल्पना गर्दै खाटमा पल्टिरहेका थिए रुपेश ।
भित्तामा भएको घडीले रातको दुई बजाइसकेको थियो । कोठामा कसैले ढोका ढकढकायो । खोलेर हेर्दा त्यहाँ फतिमा थिइन् । यति लामो समयसम्म गरेको माया अब केही समयपछि टाढा हँुदै जाने छ । सायद यही कुराले फतिमालाई केही नरमाइलो लागेर आजको रात मसँगै बिताउन आएकी होली भन्ने सम्झेर उनलाई बस्न ठाउँ देखाउँछन् । फतिमाले आफ्नो ब्यागबाट पैसा निकालेर रुपेशलाई दिन्छिन् । रुपेशले केही कुरा नबुझी ट्वाल्ल परेर बस्छन् ।

रुपेश तिमीले मलाई अहिलेसम्म बुझाएको यो पैसा फिर्ता लेउ । धन सम्पत्ति सबै थोक होइन रहेछ भन्ने कुरा मैले बल्ल बुझेँ । म तिमीबाट टाढा हुन सक्दिनँ । मलाई माफ गर रुपेश । मैले पैसाको लागि तिमीसँग गाँसेको सम्बन्ध अब विच्छेद गर्न सक्दिन । म जे पनि गर्नतयार छु तर तिमीबाट टाढा…… ।
फतिमाको कुराले रुपेशलाई अचानक संसारको बोझ आफ्नो टाउकोमा भए जस्तै गह्रौ हुँदै आयो । उसले आजसम्म देखेको सपना र तय गरेको यात्रा पूरा गर्न सकेन । दिमागमा उचारचढावहरु आइरहे । मनमा अनेक किसिमका छालहरु छचल्की रहे । अब यो अन्तिम क्षणमा उसले फतिमालाई सम्झाएर पहिलेको सर्तअनुसार सम्बन्ध विच्छेद गराउनु नै पर्छ । रुपेशले फतिमातिर हेर्दै फतिमा के भनेकी तिमीले ? मेरी निर्मला, मेरो छोरो…. यति बेलासम्म फतिमा ढोका खुल्लै छाडेर हिँडिसकेकी थिइन् ।

(लिसवन, पोर्चुगल)

(स्रोत : Ruprekha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.