कथा : देश हराएको सपना

~विद्या सापकोटा~Bidya Sapkota

त्यो रात साच्चै भयानक थियो । घण्टौदेखी लगातार पानी बर्षेकोवर्ष्यै थियो । जस्ता र टिनका छानाबाट एकतमाससँग आइरहेको टिङटिङ टिङटिङ आवाजले असिना पनि परेको भान हुन्थ्यो । पल्लो गाँउतिरबाट एकोहोरोरुपमा कुकुर भुकेको आवाज आइरहेको थियो । निष्पट्ट अध्यारो झ्यालबाट चिहाउँदा न केही देखिन्थ्यो न केही बुझिन्थ्यो । पर जुनकिरी पिलपिलाएजस्तो देखिन्थ्यो तर हेर्दाहेर्दै विलाउँथे ।

बेलाबेलामा दौडादौड़ भागाभाग भएजस्तो स्या………सि……सरक सरक जुत्ताको पदचापको जस्तो आवाज आउने त कहिले मुसा र विरालोको लुकामारी चलेजस्तो घस्याङघुसुङ्ग भइरहन्थ्यो । म त्यत्तिकै डराइरहेको थिएँ । रातपनि कत्ति लामो, कत्ति पट्यारलाग्दो पटक्क निद्रा लागिरहेको थिएन । खन्-याङ्ग ढोका खोल्दै पल्लो कोठामा सुतेको मेरो भाइ ‘दिदि डर लाग्यो’ भन्दै अँगालो मार्न आइपुग्यो । ‘केही हुन्न बाबु जाबो पानी परेको त हो नी’ मैले केही नभएको जस्तो पार्दै सान्त्वनामा भाइलाइ थुमथुमाए तर मन त्यसै आत्तिरहेको थियो । छि कस्तो हुस्सु म पनि स्विच थिचेको थिच्यै रहेछु । कसरी वत्ति बलोस् लोडसेडिङको देशमा । यताउता छामें सलाइको बट्टा भेटियो तर काँटी एउटा मात्र रहेछ । कोर्दाकोर्दा बल्ल बालेँ मैन बल्न थाल्यो ।

मन अनौठो पाराले धरमराइरहेको थियो । के के हराएजस्तो केही अशुभ हुनेवाला जस्तो । कुकुरको एकोहोरो भुकाई र उल्लुको उहुउहुले रात कोलाहलमय भइरहेको थियो । मेरो भाइ मैनको उज्यालोमा कायर आँखाले फलुक्क मेरो मुख हेर्थ्यो अनि फेरी झुकेर रुन थाल्थ्यो । म त्यो मैनसँगै जल्दै गइरहेको थिएँ अज्ञात त्रासमा । आखिर के भइरहेको हो केही भेउ पाउन सकिएको थिएन । आमा भन्नुहुन्थ्यो कुकुर विरालो रोएकॊ राम्रो होइन । तर मानव स्वरमा च्याठिरहेको त्यो विरालो मेरै घर वरीपरी चक्कर लगाइरहेको हो की जस्तो लाग्थ्यो ।

आफै निसासिए जस्तो लागेर त्यो मैन पनि निभाईदिएँ । फेरी बाँकी रह्यो त्यही भयानक निस्सारता । मनभरी देशमा चलिरहेका गतिविधीहरु आफ्नै ढंगमा मडारिन थाले । भाइ मलाइ सकेसम्म बल लगाएर समात्दै निदाउन लागेको थियो । देशमा अस्थिरता छ कति बेला के हुने हो कसैलाइ केही थाहा छैन । देश चलाउछु भन्नेहरु भागवण्डामै व्यस्त देखिन्थे । महगीं यति आकाशिदै थियो कि झोलामा पैसा बोकेर जाँदा पनि एकछाकको जोहो गर्न गाह्रो पर्न थालेको थियो । सडक किनारामा हात पसार्नेहरुको लर्को बढेको बढ्यै थियो । दिए मागेर, नदिए लुटेर भएपनि पेट भर्न उद्दिग्न थिए जनताहरु । कोहि अझै आलिशान महलमा बसेर गरिवी घटेको प्रतिवेदन पढिरहेका हास्यास्पद दृश्यहरु पनि देखिन्थे ।

म सुनिरहेको थिएँ । सडकमा एक्कासी पटपट र भटभटका आवाजहरु सुनिन लागेका थिए । बुट र जुत्ताका रवाफी आवाजहरुलाइ चिर्दै मुर्दावाद र जिन्दावादका नाराहरु बढिरहेको हो कि जस्तो थियो । गाँउगाँउमा सिमाङ्कन हुन थालेकोले तामाङ्ग नेवार थारु लिम्वु………आदिआदी राज्य भन्दै देश टुक्राइदै थियो । त्यसैले आफ्नो ठाँउमा पनि विचारेर हिड्नुपर्ने परिस्थिती सृजित हुँदै थियो । केहीदिन यताका राजनितिक घटनाक्रमहरु राम्रा थिएनन् । यो सम्झदासंझदै मलाइ रिगंटा लाग्लाजस्तै भइरहेको थियो । थाहै पाइन भाइ त कत्ति वेरदेखी रोइरहेकोरहेछ । एकअर्कालाइ अगाल्दै हामी निदाउने यत्नमा लाग्यौ ।

लौन के भो आम्मामा………………। मरेनी………………भागौं भागौं………॥ स्वर चर्किदै गयो । के भो हँ ………? पल्लाघरका माइला काका मारिएछन् छिमेकी राज्यमा विना अनुमती प्रवेश गरेको आरोपमा । राममाया फुलमायाहरु लुटिए रे बदलाको भावमा । आफ्नै आफ्नाहरु अपहरणमा परेछन् कालो महत्वाकाँक्षाको लोभमा । लौन मेरा बाआमा पनि त गाँउ जानुभएको के हुने हो मुटु चर्कन थाल्यो । भटटटट…………।भटटटट…………॥ गोली पो चल्न थाल्यो । देख्दादेख्दै राता निला खैरा कपाल र अनौठा आँखा भएका मान्छेहरु जताततै उभिइरहेका । खोलो उर्लेर आउदै थियो हाम्रो घरतर्फ । रातो रंगको खोलो आफन्तहरुको रगतको खोलो । भुँडे नेताहरु अनि पैसावालहरु महत्वपुर्ण सामान च्यापेर उड्न शुरु गरे । मलाइ कहाँ जाने के गर्ने सोच्नै आएन । आफ्नै देशमा आफ्नै घरभित्र बन्दी पर्यौं हामी । सधै स्वस्थानीको कितावमा पढेजस्तै दर्दनाक म भोगिरहेकी थिए । हामी निमुखा जनता भोग्दै थियौ । आकाश झन् गड्गडाउदै थियो । लाग्थ्यो कतै रगत कै वर्षा भइरहेकोछ । एक्कासी के भयो मेरो देशमा मेरो धर्तिमा म के गरुँ ……॥ सोच्दानसोच्दै कसैले मेरो पाखुरा समात्यो । डरले खङ्रङ्ग हुदै कर्के नजरले हेरे । एउटा डरलाग्दो आकृती मलाइ घच्याउदै थियो । को हो हजुर ? किन किन…………… म यत्ति मात्र बोल्न सके । हुकुमी शैलीमा म घिसारिए लछारिए । कहाँ के अपराध गरें र मलाइ यस्तो गरिदैछ नजर अन्दाज लगाउन पनि सकिन । तिमीहरु सब अव हाम्रो दास…अघि वरीपरी छरिएका बेरङ्गी अनुहारहरु चिच्चाएँ । म जान्न……मलाइ छाड……यो मेरो देश……बुद्धको देश…सगरमाथाको देश……स्वाभिमानी नेपालीको देश……॥ म सकेसम्म कराएँ । बल गर्दागर्दौ फालिएँ म हेलिएँ म खोलामा……॥ रगतको खोलामा…………। धमिलो आखाले देखें……॥ मेरो सगरमाथा………। हाम्रो शान गर्लम्मै ढल्यो । त्यसपछि के भयो मैले केही थाहा पाइनँ । हाम्रो स्वाभिमान वेचिएको थियो । मेरो देश हराएको थियो……।

कल्याणपुर -७ नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं

(स्रोत : KhassKhass.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.