कमिलाबाट सिकेको ज्ञान-’बाटोहरुको कुनै अन्त्य छैन । त्यसैले यात्राको पनि कुनै समाप्ति छैन ।’ जान्दा-जान्दै पनि आफ्नै यात्रा चाहिं हर घुम्ति,गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ । कायाकल्पबाट कायापलटको परिवर्तनसम्म आउँदा कमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन नसकेको उत्तर आधुनिक एउटा मान्छे ।
यो आत्मलघुताभाष पनि हो र मभित्रको एक चुनौती पनि हो ।
हिंड्दा-हिंड्दै आफैं जन्मे-हुर्केको माटोमा होस्,या, कोलम्बसले भेटेका भूमिमा होस । वा बर्षौ लडेर मान्छेले आफ्नो अधिनस्थ घोषणा गरेको साम्राज्य नै होस् । मान्छेले स्वतन्त्र टेक्न कठिन भएकोछ । लघुताभाषको ढाकरले थिचिंदै विष्मयको अक्करेभीरमा पुग्छु । उँभो आकास ढाकेर ढुङ्गे पहरा अहमवादमा निर्लिप्त छ । तल खोँचभित्रको गहिराईमा कोशी कहाली लगाउँदै मभित्र भयवादको जरा गाड्न खोज्छ । भित्तातिर फर्किएर तुर्के लाउँछु । बुझ्छु-गतिशीलताको एउटा पाठ, जो कोशी झैं आफ्नै पिसाब निरन्तर बग्ने कोशिसमा छ । पिसाब बगे झैं म अघि बढ्छु ।
यो साला काठमाडौ ! मैले बुझ्न नसकेको वा मलाई बुझ्न नसक्ने सहर ! मलाई यहाँ फाप्दैन । गाउँलेलाई ठगेर बलियो भई आएका बदमासहरु यहिं बस्छन् । दलाल, चाकडी, लेखक, कलाकार, नेता, विध्यार्थी सबै कोचिएका छन् यहाँ । गाउँबाट सपनाको ढाकर बोकेर आएका मै जस्ता विलखवन्दहरु भविष्य खोज्दै गल्ली र सडक नापिरहन्छन् यहाँ । कोहि न्यायनिसाफ खोज्दै आइपुगेका हुन्छन यहाँ । अचेल मेरो डेरा पनि यहिं छ । प्राईभेट कार्यालय, मन्त्रालय, सडक, गल्ली कतै पनि म अट्दिन ।
‘ढुङ्गा बोल्छ ।’
हनुमानढोका जेलमा अँधेरो भित्ताको कालो पृष्ठमा सेतो अक्षरले लेखिएको यो पूर्ण लघुवाक्य जुन अर्थले लेखिए पनि मैले एक शक्तिशाली लघुकविताको रुपमा लिएकोछु ।
‘ हो, मैले राज्यमन्त्रीलाई चड्कन हानेकै हो ।‘
ढुङ्गा बोल्छ, म किन नबोलूँ ? तर त्यो मौखिक थप्पड थियो । त्यसैले मानहानीको मुद्धामा मलाई यहाँ ल्याईएको थियो ।
मन्त्रालयभित्र नै एसो भनेको थिएँ-
‘तँ चोर होस् । सारा गाउँलेलाई लुटेर यहाँ आएको गुण्डा होस् । यसर्थ: कि जनताको नागरिक अधिकार दुरुपयोग गर्ने तँ बदमास् होस् । चोर,गुण्डा र अपराधी पाल्ने तँ महापापिष्ठ होस् ।‘
ऊ हामीले नै बनाएको शक्तिशाली मान्छे । हिजो, ऊ हाम्रो सहयोग माग्थ्यो । आज ‘गाउँमा बलात्कृत एउटी युवतीको न्यायको निमित्त बोलीदिनु पर्यो’ भनेर अनुरोध गर्दा हामीलाई घोक्ररठ्याक लगाएर बाहिर निकाल्ने आदेशवाला ब्यक्ति । उसको कार्यालयमा पनि हामीलाई दमन गरिएकोले प्रतिकारमा त्यो गालीको थप्पड फर्काएको थिएँ । थाहा थियो कि उसका सहोदर भाञ्जा नै त्यो बलात्कारी थियो । त्यसैले पनि उसैको निर्देशन बमोजिम अदालतबाट त्यो मुद्धालाई तुहाउने कोशिस भएकोथियो ।
बितेको सात महिना अघिको त्यो बलात्कारको मुद्धा अहिले पनि उस्तै छ । अपराधीले न कुनै सजायँ पाएको छ, न पीडकले कुनै न्याय नै । सात महिनामा त महिलाहरुको गर्भमा नयाँ जीवन नै निर्माण भइसकेको हुन्छ, किन नदेखुन अरुले दुईज्यान भइसकेको ! बलात्कार भएकैदिन दर्ता भएको मुद्धा आजसम्म पनि कतैबाट पनि नहेरिएकोले गाउँलेहरु फेरि त्यस्ता अपराधहरुबाट पीडित हुने भयले निरस भएता पनि म भने त्यसको न्याय निसाफ निकाल्न अझै जागरुक नै थिएँ । मभित्रको दृढ संकल्प भने अझ बढ्दोथियो ।
सत्ता र शक्तिको दुरुपयोग गरेर रातो पासपोर्ट्मा आफ्ना भाञ्जालाई अमेरिका पठाएको तथ्य पनि थाहा भएकै हो । गत तीनहप्ता अगि मात्र ऊ त्यहाँको ग्रीनकार्ड होल्डर पनि भईसक्यो । एउटा अपराधीलाई भगाएर अपराधलाई छुपाउन सकिन्न । हरेक सत्यहरु आफैं कुनैवेला महान विजय बनेर देखा पर्नेछन् । त्यो सत्य म हुँ म र विजय पनि मै हुँ ।
जेलमा मलाई खाना पुर्याउन आउने एक आफन्तको हातबाट यो लेख बाहिर पठाएपछि पत्रिकामा ठूलै ठाउँ पायो । मेरै हस्तलिपीमा छापिएको यै लेखको कारण जनताको एकोहोरो दबाबले बाध्य बनेपछि प्रशासनले पक्रिएर ऊ पनि अहिले यै जेलमा पुगेको छ । उसले मसँग मिल्न धेरै प्रतक्ष-अप्रतक्ष सूचनाहरु मलाई बाँड्दैछ अहिले । र, वेला-वेला खिस्स-खिस्स मुस्कान दिईरहन्छ । म भने यै लेख उसले सुन्नेगरी ठूलो आवाज निकालेर वाचन गरिरहन्छु । मलाई थाहा छ-चाँडै उ यहाँबाट छुटेर जानेछ । तर मलाई पनि कुनै आपत्ति रहनेछैन कि त्यो बलात्कृत गर्भवती केटी स्वयं मै हुँ । जो, न्यायको बाटोमा सफलता प्राप्त गर्न दुई जीऊ सहित य यहाँ छु । मेरो पेटको बच्चालाई यो प्रशासन, देश र भविष्यले कसरी सम्बोधन गर्छ ? म पनि हेरुँला ! अन्तिम सत्य त मसँग नै छ ।
सत्यलाई जालझेल गरेर कुनै ठाना र जेल बन्धक गर्न सकिंदैन । म थुनुवा छैन म, सत्य हुँ, मेरो पेटको बच्चा सत्य हो ।
मेरो नोटको यो लेख जब ठूलो स्वरले वाचन गर्छु- ऊ पल्लो पुरुषकक्षमा बहुलाईरहन्छ एकोहोरो ।
‘ढुङ्गा बोल्छ ।‘
भित्ताको यो वाक्य कसैले उच्चारण गर्दा उ पागल झैं बोल्छ –
‘हो ! हो ! हो ! ढुङ्गा बोल्छ । मेरै भाञ्जा हो त्यो बलात्कारी ! उसले सजायँ पाउनैपर्छ ।‘
एतिखेर मैले कमिलालाई सम्झिरहेकै थिएँ । हो, यात्राको अन्त्य छैन नि । हो,ढुङ्गा बोल्यो ।
स्वविश्वासले आफ्नै बगेको पिसाब झैं संकल्पलाई गतिशिलता दिईरहेकोले आफैं हौसिएको थिएँ ।
‘ ढुङ्गा बोल्छ ‘
उसको एकोहोरो आवाज जेलभरी थर्किरहेथ्यो ।
– बैंकक, थाईल्याण्ड
(स्रोत : Globalnepalnews.co.uk)