~सीता सुब्बा~
हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । शुरू-शुरूमा सबै ती अप्रिय घटनाहरू औंलामा गन्थे,
त्यसैगरी समय बित्दै गयो । मैले सबै घटना गनेर पनि साध्य नहुने भएकोले सबै भाग्यकै फलहो भनि जीवनसंग मिलाई दिएँ ।
हुन त म त्यस घरकोलागि नोकर्नीभन्दा पनि तल थिएँ । गाँउलेहरूले के सल्लाह दिए उसलाई कुन्नि त्यो त मलाई थाहा भएन, तर एकैचोटी अदालतमा मेरो औठाको छाप र सहि गर्राईयो । मसंग बैवाहिक सम्बन्ध विच्छेद गर्राईएको रहेछ । म त सँधैको लागि नै चुप तथा मौन थिएँ । जे होस् मलाई त्यस घरबाट निकालियो र त्यसको केही दिनमै उसको दोस्रो विवाह भयो । मेरो पनि अर्कैसित विहे भयो । आज मेरो सात बर्षो छोरो छ । उसले त तेस्रो पटक पनि बिहे गरिसकेछ । सञ्जोगले म छोरालाई स्कूल ल्याउँदा र लैजाँदा त्यै घरमुन्तिरको बाटो भएर जानु पर्छ । कहिलेकाँही त बाटोमा भेटपनि हुने गर्छ तर बोलचाल भने हुँदैन । तर उसको अनुहारमा वितृष्णाका रेखाहरू म स्पष्ट पढ्न पाउँछु ।
एकदिन छोराको स्कूलबाट र्फकदै गर्दा उसले बाटो छेकेर भन्यो, “राधा, तिमीले जित्यो मैले हारें । भगवानको अप्रत्यक्ष खेल बुझन सकिन ।”, मैले भने “ए…..! हो..र.. हार र जीतको बाजी त तिमीले पो खेलेका रहेछौ । फेरी अर्को बिहे गर्नु तिमीहरू चार म तीन जसरी पनि जीत तिमीहरूकै हुनेछ ।” उसलाई के चोट पर्यो कुन्नि भोलीपल्ट उ त उसैको घरमाथि अम्बाको रूखमा डोरीको मुन्टो बनेर फलिरहेको थियो ।
– बर्लिन जर्मनी ।
(स्रोत : Germany – Inls)