सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । जोरीपारीले अपूतो र बाँझी भनेर उनीहरूको चित्त दुख्दैनथ्यो, बरु सन्तान भएर दुःख पाइरहेका आमाबाबुलाई देखाएर भन्दथे – “सन्तान भएर यस्तै हुनु भन्दा त नहुनु जाती ।” अनि दोष लाउनको
भन्ने ठाउँ पनि हुँदैनथ्यो ।
छोरा छोरी श्यामराज र कुमुदिनीका भएनन्, पीर परेका थियो श्यामराजकी आमालाई, दिदीलाई, बहिनीलाई । एक एक गोठ सन्तान थिए प्रत्येक दिदी बहिनीका र ती सन्तानका बाटाबाट उनीहरूले खास सुख पनि पाएका थिएनन, बरु दुःख नै उब्जिएको देखिन्थ्यो तैपनि श्यामराजका सन्तान हेर्न सबलाई रहर थियो, मानौँ या त श्यामराज र कुमदिुनीको सुखप्रति सबलाई इर्ष्या थियो या श्यामराज र कुमुदिनी उनीहरूको बीचमा भएर पनि उनीहरूभन्दा अलग्ग भएकाले ती दुईलाई आफू भन्दा अलग्ग देख्न सक्दैनथे । अरू त कोही भन्न सक्दैनथ्यो, केवल श्यामराजकी आमा दबेको स्वरले छोरोसंग कहिले कहीं बरबराउँथिन् – “बाबु । बुहारीको नै खोट पो हो कि ? यसो अर्को बिहे गर्दा हुन्थ्यो कि सन्तान ।”
छोराको खोट हो भने त उनी सहन तयार थिइन् तर बुहारीको खोट हो भने उनी मानून् कसरी ? तर श्यामराजले आमाको तर्कलाई स्विकार गरेन । उसले त लोग्ने र स्वास्नी दुवैको अधिकार समान ठानेको थियो।उसको आर्जन पनि लोग्नेस्वास्नीलाई गुजाराना गर्न पर्याप्त थियो तर त्यसले छोराछोरी पाल्न धौ धौ पनि पर्न सक्थ्यो । तब नदुखेको कपाल डोरी लाएर ऊ दुखाओस् किन ? जुन कुरा भाग्यले मिलाएर खटाएको छ, त्यसलाई वङ्ग्याएर आफैले दुख कमाउनु किन ?
“ओखती मूलो, धामी झाक्रीले पो हुन्थ्यो कि ? ” – कुमुदीनीले एक दिन प्रसङ्ग उठाई ।
“छाडी देऊ, कुमू । जो लेखेको छ त्यसलाई टार्न सकिंदैन । फेरि जो नभएर पनि हामी सुखी नै छौ त्यो खोज्ने प्रयास गर्नु किन ? ” – श्यामराजले तुरुन्तै बिरोध गर्यो ।
“तै, बुढेसकालमा यसो हेर्ने कोही हुन्थ्यो कि भन्ने नाइँ ।” – कुमुदिनीले अझै पनि जोड गरी ।
“बुढेसकाल पनि सबैको देखेकी नै छौ नि । कसका छोराछोरीले छातीमा राखेर पालेका छन् बाबुआमा ? मर्ने बेलामा सबैका आमाबाबु बढ्तै भएका छन् ।”- श्यामराजले मानेन ।
“सन्तान स्वर्गको बाटो भन्छन् । बरु तपाईले अर्को बिहे गर्दा हुन्थ्यो कि ? ” – कुमुदिनीले बिस्तारै अर्को तर्क उठाई ।
“यस्तो कुरा मलाइ मन पर्दैन है, कुमू । मैले भनी दिएको छु ।”” – श्यामराजले रिसाएर कुरै सुन्न मानेन । त्यसपछि कुमुदिनीले पनि कुरा उठाइन ।
जसरी श्यामराज सम्पन्न थिएन त्यसरी नै उसका बाबु पनि थिएनन् । उनको जिन्दगी जहिले पनि ज्यूँ त्यूँ , ज्यूँ त्यूँ मा नै बितेको थियो । बाबु जहिले पनि जागिरमा दौडन्थे र आमा र छोराछोरी आफ्नै घरमा बस्दथे । ती सबै लालाबालालाई घिसारेर हिडने हैकम र सामर्थ्य उनको जागीरको थिएन । त्यसैले एक्लो लोग्नेमानिस जहां बस्यो त्यहीं कोही कुनै स्वास्नीमानिससँग अलि भिरैंचो हुनु अचम्म पनि भएन र त्यस्तै भिरैंचोबाट एकपल्ट भने उनी उम्कन सकेनन् । स्वास्नीमानिस आफै सम्पन्न भएकीले उनले पालन पोषण भने गर्नु परेन, बरु २।४ पैसा उल्टै उनलाई हातलागी हुन्थ्यो । त्यतापट्टि एउटी छोरी मात्र जन्मी । बाबु बाचुन्जेल श्यामराज कहिले कही बाबुसँगै उनीकहाँ जान्थ्यो र बाबु मरेपछि पनि आमाको नाता मान्न कम्तिमा पनि वर्षमा एक चोटी त पुग्ने गर्दथ्यो । बाबु परलोक भएको २।४ वर्ष पछाडि नै सानिमाकी त्यो छोरी खसेको समाचार पाउँदा पनि उनीलाई सान्त्वना दिन ऊ उनी कहाँ पुगेको थियो ।
आफ्नो सम्पत्ति र कमाइ सानीमाले लाईखाई गरेकोमा उसलाई कुनै आपत्ती थिएन र लोभ पनि भएन तर सानीमाको शेष पछि भने त्यो बाँकी उसको हुनु पर्छ भन्ने धारणा भने उसको अवश्यै थियो । तर ती सबै कुरा त सानीमाका शेष पछाडिका भए । यस पाली पनि ऊ सधैं झैं आमाकहाँ टिका थापेर सानीमाकहाँ थाप्न पुग्यो । ऊ आएको देखेर सानीमाले भनिन् – “बुहारीलाई पनि लिएर आएको भए हुने थियो नि ।”
“आउन त खोज्थी नै । के गर्नु ? आमालाई एक्लै छोड्नु भएन । फेरि चाडबाडको बेला दिदीबहिनीकहाँ राख्न पनि नमिल्ने ।” – श्याम राजले कुरा प्रस्ट्यायो ।
“खै, म आफू पनि जान सक्दिन । दिदीलाई पनि कहिले ल्याएनौ तिमीले ।” – प्रसङ्ग उठाइहालेकोले आफ्नी सौताप्रति उनको छोरो सामु प्रकट गर्नुपर्ने लोकाचार पुर्या्एर सानमिाले थपिन् – “अब त म पनि वुढी भइछु । उठ्न बस्न पनि गाहारो हुन थाली सक्यो । कहिले त एक्लै मर्छु कि राति भुसुक्कै भने जस्तो पनि लाग्छ ।”
“कहाँ मरिन्छ, सानीमा, त्यसै काल नआई ? ५०।५१ न हो । हाम्रै आमा हुनु भयो पैंसठ्ठी । खै, ठमठम गरेर हिड्नु हुन्छ अझै ।” – श्यामराजले ढाडस दियो ।
सानीमाले जवाफ दिइन् – “दिदी भनेकी गाउँ घरमा हुर्केकी मान्छे । जिउ नै दह्रो छ । हामी भनेको किनेको सागपात खाएर सहरमै बस्नेहरू । बराबरी कहाँ हुन्छ र ? अब त यो घरको भाडा उठाउन, यो पसल चलाउन पनि नसक्ने भईसकें म त । यसो तिमी आएर पालो देऊ, यो घरको जिम्मा लेऊ भनूँ भने पनि खै तिम्रा पनि सन्तान नै भएनन् । कसको लागि पो आऊ भनूँ । तिम्रा सन्तान भएका भए त यो सम्पत्ति पनि उसैका नाममा लेखिदिनु हुन्थ्यो नै आफ्नो शेष पछिका लागि । खै, अब त पछि गएर गुठीमा राखी दिनु पर्ला कि कसो ? ”
सानीमाको कुरा श्यामराजलाई साँच्चै बिज्यो । सानीमाको सम्पत्तिको हकदार ऊ एक्लै थियो तैपनि उसका सन्तान नभएकाले सानीमा त्यो सबै दान गर्न तयार भएकी थिइन् । हुनत केका निम्ति पो दिउन् सानीमाले उसलाई सम्पत्ति ? यसै पनि श्याम राज साख्खै छोरो ठहरेन । फेरी पिण्डपानी दिने मानिस पनि थिएन । सानमाको भनाइको आशय यही नै थियो ।
घर फर्कदा बाटोमा श्यामराजले सानीमाको सम्पत्तिको हिसाव लगायो । घरको मोल त उसलाई थाहा भएन तर २।४ हजार महिनै पिच्छे घरमा भाडा उठेको उसले देखेको थियो।फेरि उनको पसल पनि चलेकै देखिन्थ्यो । २।२ वटा त उनले पसलमा काम गर्ने मानिस नै राखेकी थिइन् । त्यसैले २।४ हजार त चोखो आमदानी हुनु पर्ने हो पसलबाट पनि । तब त महिनामा कम्तिमा पनि ५।७ हजार आमदानी हुने सम्पत्ति सदावर्तमा जान लागे जस्तो लाग्न थाल्यो श्यामराजलाई । त्यसलाई रोक्न चाहन्थ्यो ऊ तर सानीमाको निम्ति उसले सन्तान उब्जाओस् कहाँबाट ?
घर पुगेको २।४ दिन पछि श्यामराजले कुमुदिनीलाई भन्यो – “हैन, तिमीले ओखतीमूलो, धामीझाक्री गर्ने भनेकी थियौ नि, हँ ? ”
अनायास लोग्नेको मन परिवर्तन भएकोमा कुमुदिनीले सशङ्कित भएर सोधी – “किन ? के भयो र ? ”
श्यामराजले कुमुदिनीको शंका समाधान गर्न खोज्दै जवाफ दियो – “यसो सोच्दा तिमीले भनेको कुरामा केही सत्यता छ जस्तो लाग्यो र भनेको ।”
कुरा अवश्य त्यतिमा नै टुगिएन । ओखतीमूलो चलि नै हाल्यो । कुमुदिनीले औषधि खाई र श्यामराजले पनि खायो तैपनि सन्तान भएनन् । धामीझाक्रीले हेरे, पार लागेन । ज्योतिषीले ग्रहदशा पन्साए, कुनै फल निस्केन । कुनै प्रयास पनि सफल नभएपछि श्यामराजको स्वास्थ्य परिक्षण गर्ने डाक्टरहरूले भन्यो – “भनेको सुन्नु हुन्न । बेकार टुनामुना, पूजापाठ तिर लाग्नुहुन्छ । तपाईकी श्रीमतीको परिक्षण पनि गर्नै पर्दैन । खुरुक्क धर्मपुत्र पाल्नोस् छोराको रहर भए ।”
डाक्टरको भनाईले श्यामराजको प्रयासमा ठूलो चोट लगाइदियो । धर्मपुत्रले समस्या समाधान हुने भए श्याम राजले त्यत्रो प्रयास गर्ने नै थिएन । उसलाई त आफ्नो सन्तान चाहिएको थियो ।
डाक्टरको भनाइ सुनेर ऊ आए पछि कुमुदिनीले सोधी – “के जवाफ दियो डाक्टरले ? ”
श्यामराजले दिक्क हुँदै जवाफ दियो – “खै, हुँदैन रे भन्छ ।”
उसको दिक्दारी देखेर कुमुदिनीले ढाडस दिंदै भनी – “त्यसो भए बिर्सिदिनोस् सवै कुरा । जो पाउनु थिएन, पाइएन । पीर किन गर्नु हुन्छ अब ? मलाई त पीर छैन ।”
श्यामराज बोलेन । उसको चित्त भने पटक्कै बुझेको थिएन । एकातिर सानीमाको सम्पत्तिको निम्ति चाहिएको थियो सन्तान, अर्को तिर ऊ निसन्तान । निसन्तान हुनुमा त उसलाई आपत्ती थिएन । सन्तान त उसलाई सानिमाको सम्पत्तिको निम्ति चाहिएको थियो ।
‘केही नभए आस्थाले त होला । कत्राकत्रा चमत्कार भएकाछन् आस्थाले।’ – सोच्यो श्यामराजले ।
ऊ पक्का आस्तिक भयो । धर्मको कुनै पाइलो छोडेन । पुजापाठ सधैँ गर्थ्यो, मन्दिर सधैं धाउथ्यो, साधुसन्तलाई आफ्नो गच्छे अनुसार सधैं दान दिन्थ्यो । पुराण भनेको ठाउको बाटो पर्योर भने जस्तै हतार भए पनि एक छिन उभिएर सुन्नै पर्थ्यो उसले ।
एक दिन पुराणका कथावाचक व्यासले भने – “राजा पाण्डुबाट सन्तान नहुने भए पछि उनकै आज्ञाले कुन्तीले तीन र माद्रीले दुई सन्तान जन्माए ।”
श्यामराजको मनमा बिजुली चम्के झैं भयो । यो त उसले सोचेकै थिएन । सधैं आफ्नो घेराबाट सोच्यो उसले, कुमुदिनीको घेराबाट त उसले सोचेको नै रहेनछ । उसका पो नहुने त सन्तान, कुमुदिनीका नहुने त होइनन् नि । पाण्डुका भएनन् त कुन्तीका भए, माद्रीका भए र उनीहरूका भए पछि पाण्डुका पनि भए । कति सजिलै एउटा घेरा पुग्दो रहेछ । उसले त जहिले पनि कुमुदिनीलाई त्यो सन्तान जन्मने घेराभन्दा बाहिर राखेर सोच्दो रहेछ अनि कहांबाट पुग्नु उसको चाहना ?
बेलुका उसले कुमुदिनीलाई भन्यो – “कुमू । तिमी मलाई एउटा मात्र छोरो पाई देऊ ।”
कुमुदिनीले जिल्ल परेर भनी – “कहांबाट पाई दिनु मैले नहुने भएपछि ? ”
श्यामराजले स्वास्नीलाई अँगालोमा अझ दह्रोसँग समाएर टाँसिदै जवाफ दियो – “मेरा पो नहुने भए त । तिम्रा नहुने त होइनन् नि ।”
लोग्नेको भनाइको आशय बुझेर कुमुदिनीले चकित र विस्मित हुदै भनी – “के भनेको तपाईले त्यस्तो ? कहीं स्वास्नीलाई पनि त्यसो भन्छन् ? ”
आफ्नो अडानलाई नछोडेर श्यामराजले तर्क दिदै थप्यो – “किन नहुने ? कुन्तीले त्यसै गरेर पाण्डव जन्माएकी होइनन् र ? ”
“ती त कथाकी कुन्ती हुन् । कथामा गरे जस्तो हामी मानिसले गर्नु हुदैन । गरी हाले पनि त्यो टिकाउ हुदैन ।” – कुमुदिनीले प्रस्ट बिरोध गरी ।
तर श्यामराजको अडान अडान नै रह्यो । कुमुदिनीले उसलाई अर्को बिहे गरेर आफ्नो इच्छा पुरागर्ने स्विकृति दिई तर श्यामराजले त्यसलाई स्विकार गरेन । उसले भन्यो – “मलाई तिम्रै सन्तान चाहिन्छ ।”
धर्मपुत्र पाल्ने प्रस्ताव पनि टिक्न दिएन उसले । उसको पीडा बढ्दैगयो र सो पीडाले कुमुदिनीलाई पनि खानलाग्यो । एकातिर लोग्ने प्रतिको माया, अर्कोतिर आफ्नो बलिदान । कुमुदिनीलाई डर लाग्थ्यो । ल, धर्म र पापका कुरा त छोडी दिऊँ । लोग्नेलाई सुख कमाइदिन परपुरुषको अंगालोमा पसेपछि त्यहांबाट निस्कन सकिन्छ कि सकिन्न, के ठेगान । यहां त लोग्ने पनि छुट्न सक्ने डर थियो । तर आफ्नो घर धानेर बस्नु पर्ने स्वास्नीमानिसलाई आखिर एक दिन लोग्नेको ढिपी अगाडि नुहुन करै लाग्यो ।
ऊ माइत गई ।
० ० ० ०
कुमुदिनीले छोरो नै पाई । छोरो पाएको खुशियालीमा श्यामराजको फुर्ती देखेर छरछिमेकीले ओठ लेप्य्राए, कुमुदिनीको टिकाटिप्पणी गरे तर मूल कर्ताबाट स्विकृति भइसकेको कुरामा प्रश्न कसैले पनि उठाएन । यसरी श्यामराजको समस्या समाधान भयो र सानीमाको चित्त पनि बुझ्यो । कुरा त त्यहीं टुंगिनु पर्ने थियो तर दिनदशाले टुंगिन दिएन । छोरो जन्मेको डेढ वर्ष पछि एक दिन एउटा तन्देरी श्यामराजको घर सोध्दै टुप्लुक्क ढोकामा उभिन आइपुग्यो । उसको अनुहार देखेर कुमुदिनी आत्तिई र भनी – “किन आएको तिमी यहाँ ? ”
व्यथित आँखाले उसले जवाफ दियो – “तपाईले बोलाउछु भन्नु भएको होइन ? म कति पर्खेर बसें ।”
एउटी अधबैंसेले आफ्नो स्वार्थ्य पुरागर्न एक दिन दिएको वचन तन्देरीले पर्खेर बस्छ भन्ने कुमुदिनीले सोचेकी कहाँ थिई र ? उसले त त्यो तन्देरीलाई उसको उपयोगिता सिध्दिएकै दिन बिर्सिएकी थिई । उसलाई सम्झेर आफ्नो भएको संसार नंग्याउने पक्षमा ऊ हुन पनि सक्दिनथी । तर त्यो अगाडि आएको सत्यलाई पन्साउन पनि सजिलो थिएन । त्यसमा पनि श्यामराज घरमा नभएको बेला ऊ कसरी पन्साओस् ? फेरि साँझको बेला घर आएको पाहुना पठाओस् कसरी ? जाओस् कहाँ ? रात त यसै पनि बिताउन दिनै पर्योो । आखिर माइती गाउंको एउटा माइती त हो ऊ अरू साइनो नभए, नमाने पनि । फेरि आफ्नो छोरो प्रतिको उसको मौन अधिकारलाईँ अरूले थाहा नपाए पनि उसले त अस्विकार गर्न सक्दिनथी ।
आफ्नो कमजोरीले हो वा त्यो तन्देरीको करले वा दुवैले कुमुदिनी फेरि त्यो परपुरुषको अँगालोमा बाँधिई । पहिलेका समागमहरू शायद वाध्यताका सिर्जनाहरू भएर होला पछिल्लो जस्ता आनन्ददायी अवश्य पनि थिएनन् र त्यो आनन्दको आवेगमा उसलाई भेटने वचन दिन पुगेर कुमुदिनी फेरि वचनकी बन्दी भई र त्यो तन्देरी कहिले न कहिले देखा परी नै रह्यो । श्यामराजले ऊ आएको थाहा पायो वा पाएन त्यो प्रस्ट भएन । गाउँलेले आपसमा कुरा काटे पनि कसैले उसलाई भन्न गएन, श्यामराजले त्यो तन्देरी आएको देखेन ।
यसरी नै चल्नसक्थ्यो होला तर कुमुदिनी फेरि दोजिया भई । त्यो थाहा पाएर श्यामराजले छक्कपर्दै सोध्यो – “होइन, तिमी साँच्चै दोजिया भएकै हौ त ? ”
कुमुदिनीले एकदम सहज भावमा भनी – “तपाईका नै हुने भएछन् नि अब त । कस्तो अचम्म ! हो कि ? ”
श्यामराजसँग अवश्य नै कुमुदिनीको भनाइको जवाफ थिएन । अघिल्लो दिन मात्रको आफ्नो परिक्षण पछिको डाक्टरको भनाइ र कुमुदिनीको भनाइ बिचको विरोधाभाष बेहोर्न उसलाई गाहारो परिरहेको थियो । उसले सोच्यो – ‘पुराणको पाण्डुलाई ५।५वटा छोराहरू नै चाहिएको कहाँ थियो होला र ? एउटै भए पुग्ने थिएन र राज्य सभाल्न र वंश चलाउनलाई ? तब के सबै कुन्तीहरूको कथाव्यथा उस्तैउस्तै हो त ?’
श्यामराज दोधारमा पर्योव । ‘ऊ नामर्द भएकोले कुमुदिनीले त्यसको फाइदा उठाएकी हो कि कुमुदिनीलाई धैरै माया गरेकोले ऊ जिताही भएकी हो ? के कुन्तीको कथाको अन्त्य पाण्डुको मृत्युले मात्र भएको थियो त ? के कुमुदिनी पनि बग्दैजान्छे त यो अपराधको छालमा अब सधैं नै ?‘
स्वास्नीलाई आरोप लगाउन पनि श्यामराज सक्दैनथ्यो । गलत बाटोमा ऊ आफैले लगाएको थियो कुमुदिनीले नचाहदा नचाहदै पनि । अब ‘चोरेर खाई’ भनेर आरोप लगाओस् कसरी ? आरोप लगाए पछि त स्वास्नी फाल्न पर्यो‘, नत्र आरोपित स्वास्नीसँग बस्न पनि त गाहारो थियो ।
“कुमू, कारणवस कुनै दिन गलत ठाउँमा पुगियो भनेर त्यो ठाउँमा दोहोर्या,ई दोहोर्या,ई पुग्नु हुन्न किनकि त्यो त बिग्रने बाटो हो।” – श्यामराजले स्वास्नीलाई सम्झाउन खोज्यो ।
लोग्नेको भनाइको आशय बुझेर आफूलाई ठीक ठहर्याँउन कुमुदिनीले जवाफ दिई – “म पहिले जाँदा पनि आफ्नो खुशीले गएकी होइन र झन अहिले त गएकी पनि छैन ।”
“यो नि यो, के ? ” – कुमुदिनीले आफूलाई निर्दोष बनाएर उसलाई नै दोषी ठहर्या एकीले श्यामराजले चकित हुदै उसको बढेको पेट देखाएर सोध्यो ।
“तपाईको र म पनि तपाईकी ।” – कुमुदिनीले ठट्टैमा उसको प्रश्न पन्साउन खोजी ।
“तर डाक्टर भन्छ…” – श्यामराजले केही भन्न खोज्यो ।
लोग्नेले भन्न खोजेको कुरा बिचैमा काटेर कुमुदिनीले जवाफ दिई – “डाक्टर के भन्छ, त्यो बिर्सिदिनोस् । तपाईका छोराछोरी हुदैनन् भनेर भन्ने त्यो डाक्टर को हो ? देउता हो ? ”
श्यामराजले कुमुदिनीसँग तर्क गर्न सकेन तर आफ्नो इच्छा विरुध्द काम गरी रहेकी स्वास्नीसँग सम्वन्ध राखी रहन पनि उसलाई सम्भव भएन । कुमुदिनीको भनाइ र गराइ दुवैले उसको आत्मसम्मानमा चोट लाग्यो र समाजमा आफ्नो अपमान भएको र स्वास्नीले मर्यादा नाघेको उसले अनुभव गर्योा । त्यो स्थितिमा समाजमा लोग्नेको प्रभूता देखाउन अर्की स्वास्नी कुमुदिनीको अगाडि उभ्याएर भन्यो – “तिमीलाई बहिनी ल्याइदिएको । मेरा सन्तान हुने भए भन्यौ । त्यसैले लिएर आउने आँट भयो ।”
लोग्नेको भनाइको आशय बुझेर फिस्स हांस्दै कुमुदिनीले मनमनै भनी – “”कुन्तीको चरित्रमा शंका नभई माद्री घर भित्र हुलिदैनन् । तर विचरो पाण्डुलाई के थाहा कि कुन्ती कूलवधू हो र ऊ आफू पछिका सबै नारीलाई परम्पराको मन्त्र सिकाउछे । नारी परम्परालाई कायम राख्न तरुनी माद्रीहरू झन दक्ष हुन्छन् र एउटा ढुंगोले दुईटा चरा खसाल्न सक्छन् ।”
बिहे गरेको झण्डै एक वर्ष बितेपछि एक दिन आफ्नो छोरो खेलाएर बसेकी सौतालाई खिज्याउदै कुमुदिनीले भनी – “होइन, तिमी मेरै छोराछोरी मात्र खेलाएर चित्त बुझाउछयौ कि आफ्ना छोराछोरी पनि चाहिन्छ ? ”
उसको कुरा सुनेर सौताले गर्धन निहुराएर जवाफ दिई – “खै, कर्ममा के लेखेको छ नै ।”
सौताको मन पेट बुझ्न ठट्टैको पारामा कुमुदिनीले थपी – “उस् । कर्म भनेर लोग्नेको आश गरेर बस्यौ भने त । डाक्टरले नभा’को कुरा त भन्दैनन् नि ।”
सौताले कुमुदिनीको भनाइको आशय बुझेर छक्कपर्दै भनी – “यी छोराछोरी नि ? ”
लाजलाई हाँसोसँग मिसाएर कुमुदिनीले जवाफ दिई – “के ढाँटनु तिमीलाई ? ढिलै जाने पनि यी त मेरा बाहिरकै कमाइहरू हुन् ।”
नभन्दै कान्छीले पनि त्यसको दुई वर्षभित्र नै छोरो पाई । विजयभावले सौताको छोरो लोग्नेको अगाडि तेर्स्याएर कुमुदिनीले भनी – “मैले भनेकै हुँ नि तपाईकै भएका हुन् भनेर । अब त विश्वास भयो तपाईलाई ? ”
श्यामराजले विश्वास नगर्ने ठाउँ नै भएन ।
काठमाडौं
२०४७।७।१७