न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ ।
आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने ।
केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आदन प्रदानका माध्यमहरू सहज सुलभ भए पनि आफ्नो व्यस्तताको कारण दर्शाई अत्यन्त लामो समयको अन्तरालमा मात्र ऊ हाम्रो सम्पर्कमा हुन्थ्यो । मानिसहरू आउने जाने क्रममा सामानहरूको आदन प्रदानचाहीँ भैरहन्थ्यो ।
“बाबु आमाको माया छोराछोरीमाथि, छोराछोरीको मायाँ ढङ्गा मुढामाथि” भने झैं चार वर्ष बितिसक्दा पनि फर्कने कुरै गर्दैन । आफ्नो भने सपना जपना नै छोरामाथि छ । माया ममताको सर्तमा अली कठोर मानिने म पुरुषलाई त एक खालको विचलित बनाएको छ भने उसकी आमाको कुरै भएन । हामी दुवै अर्थात् श्रीमान् श्रीमती सल्लाह ग¥यौं र म अमेरिका जाने भिसाको लागि पहल गर्न लागें। यो मन धेरै डराएको थियो भिसा पाउँदिन कि भनेर । न्युयोर्क सहरमा धेरै वर्ष पहिलेदेखि बस्दै आएका मेरा सहपाठी साथी पवनले ईन्भिटेसन लेटर पठाएर ठूलो गुण लगाइदिएका हुन् । थुक तेल गरेको केही रकम मेरो आफ्नै खातामा थियो । मेरो मन जति डराए पनि भिसा सजिलैसँग मिल्यो भन्नु प¥यो । फोन सम्पर्क गर्न खोजें सफल भइन, धेरै इमेल लेखें कुनै प्रतिक्रिया नै दिएन । आखिर केही सीप लागेन । सके भेटेर आउँछु, नसके अमेरिका टेकेर, देखेर फर्कन्छु भनेर एतातिर आएँ ।
साथी पवन एयरपोर्टमा खुसीसाथ लिन आएका थिए । उनको हार्दिकता, सौहार्दता उच्च थियो । पारिवारिक वातावरण लोभलाग्दो थियो । “धन पनि छ, मन पनि छ” जस्तै लाग्यो । उहाँहरूको मायाँले म ओतप्रोत भएँ । एउटै पिरलो छोराको थियो । मनमनै कार्यतालिका तयार गरेँ तापनि मेरो चित्त दुखाइकोक्रम अत्यन्त बढ्न थालेको थियो । के मात्र गरेना्रैं हामीले उसकालागि ? उसकै मुख हेरेर अर्को सन्तान जन्माउनेपट्टि ध्यानै दिएनौँ । उसैलाई हाम्रो सर्वस्व ठान्यौं । बाबु आमालाई छाडेर के बाहिर गएको थियो, वास्तै नगर्ने ?
उमेर अवस्थाको कुरा हो, कतै केटीसँग भुलेर आफ्ना दिनहरू बिताइरहेछ कि ? त्यस्तो हो भने पनि त हामीबाट उसले क्षमा पाइहाल्थ्यो नी । मेरा आँखा ओभानो नहुने भए । जति मन बुझाउँछुभन्दा पनि नरमाइलो लागेर आउँछ । न्युयोर्क सहर हल्लैहल्लाको सहर भन्दथे । आफ्नै मनभित्रका बोझिला व्यथाहरूले होला सायद ती हल्लाहरूले मलाई छुन सकेका छैनन् । अमेरिका नै आए पश्चात् पनि उसंग सम्पर्ककालागि धेरैचोटी कोसिस गरिसकें। सफल हुन नसक्दा एक मन त लाग्यो यो महासागरमा कसरी भेट होला र ? अर्को मन लाग्यो उसले पढ्न छोडिसकेको कलेजका कोही नेपालीहरूले उसलाई चिन्न सक्छन्, तिनीहरूको खोजीको कोसिस त गर्नै प¥यो ।
रात छर्लङ्ग काटें । तकिया भिजेको छ, आँखा सुन्निएका छन् । घाँटी सुस्क भएको छ । अधर्मी, अविवेकी छोराको व्यवहारले पागल जस्तै भएको छु । बरु जन्मने बित्तिकै मरेर गएको भए ढुक्कै त हुन्थ्यो ।
घडीका सुइहरूले धेरै फन्का मारिसकेछन् । “मित्र, ओछ्यानमै ?” भन्दै पवनजी आउनु भयो । पछाडि फर्केर आँसु पुछें । पवनजीले मलाई नियालेर हेर्नुभयो । म अत्यन्त सन्तापमा छु भनेर उहाँले थाहा पाई हाल्नुभयो । मित्र, म त छोरा खोज्न आएको । कहाँ कसरी खोज्ने होला ? मैले आफूलाई सम्हाल्दा सम्हाल्दै रुवाइ फुत्किहाल्यो । मैले पवनजीको काँधको सहारा पाएं । मलाई धेरै सम्झाउनु भयो । “आज एउटा पार्टी छ” त्यहाँबाट फर्कें पछि हामी जसरी भए पनि खोजौँला, दूतावासै गएर भए पनि पत्ता लगाएरै छाडौंला । तपाईं कत्ति पनि पीर नमान्नु होला । यति आश्वासन पाए पनि “भोको भन्छ डाँडावारि खाऊँ, अघाएको भन्छ डाँडापारि खाऊँ” भने झैं लाग्यो । आफूलाई कहिले पत्तो लाग्ला, कहिले एक झल्को अनुहार देखौँला जस्तो पल पल पनि महिना, वर्षजस्तो भैरहेछ । लाचार, खिन्न मन, रुँदरुँदा थकित आँखाहरू गमलामा हुर्किरहेका रुमप्लान्टमा गएर अड्किरहें ।
मेरा नयनहरू अन्यत्र कतै अल्झिएका देखिए पनि मनचाहिँ छोरोमा नै केन्द्रित रहनु कुनै आश्चर्य होइन । मैले के पाप कर्म गरेको रहेछु जस्ले गर्दा आज मलाई यस्तो सन्तापमा डुवाई दिएको छ । कहिले काहिं त यस्ता स्वार्थी सन्तान जस्ले बाबु आमालाई सम्झनासम्म पनि गर्दैन त्यस्तालाई सम्झेर रुनुमा कुनै अर्थ देखिंदैन जस्तो लाग्छ । तर यो मन पटक्कै मान्दैन ।
मेरा मित्र अमेरिकामा पनि सानले नै बसेका रहेछन् । एउटा ठिक्कको सुन्दर घर, दुई छोरा छोरी हुर्किएर आ–आफ्नो काम समाइ सकेका । बूढा बूढी रिटायर्ड लाइफ आनन्दले गुजारिरहेका । एउटा सानो बँगैचा जहाँ फलफूलका रुखहरू टन्नै थिए । चेरीको बोटमा लटरम्मै फूलहरू फुलेका थिए । कस्ता बाक्ला फूलहरू ? प्राकृतिक फूलहरू भनेर पत्याउनै पनि गाह्रो । भगवानको लिला पनि बुझिनसक्नुको छ । झन् चेरी पाक्ने बेलामा त बोटबाटै टिपेर खान कति आनन्द आउँदो होँ ?
आँसुले धमिला बनाएका आफ्ना नयनहरूले झ्यालबाट बाहिरका दृष्यहरू अवलोकन गर्न व्यस्त भैरहेका बेला मेरा मित्रको फेरि आगमन भयो । उनी अहिले विशेष गम्भीर देखिन्थे । कुनै न कुनै किसिमको, एउटा न एउटा पिर नभएको मानिस त यो संसारमा सायद छैनन् होला । मलाई लाग्यो मेरा यी मित्र पक्कै पनि अव यतिबेला आफ्ना मनको बह फुकाउन व्यग्र छन् । यिनलाई पनि कुनै न कुनै चोटले थिलोथिलो बनाएको छ । जसले गर्दा यिनी भित्रभित्रै जलेका छन् ।
“मित्र ! आज पार्टीमा जानु छ । तपाई पनि हामीसँगै हिड्नुहोस् ।”
“नचिनेको, नजानेको र बोलावट नै नभएको पार्टीमा म किन जाउँ र ? तपाईहरू गएर आउनुहोस्” ।
“पार्टीकी नायिका मेरी आफ्नै छोरी हुन् । अब तपाईलाई लुकाउनु पर्ने कुरा केही रहेन । केही समय पहिले मेरी छोरीले एउटा केटा मन पराएकी र उनीहरू एक आपसमा छुट्टिन नसक्ने कुरा बताएकी थिइन् । हामीले खुब सम्झायौँ । राम्रै केटा पाइन्छ, अहिले हतार नगर । आफ्नो क्वालिफिकेसन बढाऊ, खर्च हामी गर्छौं । तिमी ठूलो मान्छे बन्नुपर्छ । निर्धक्कपूर्वक पढभन्दा पनि मानिनन् । आखिर उनी घरमा आउनै छाडिन् । केटासँगै बस्न थालिन् । उनीहरूको घोषित विवाह नभएपनि पेटमा वच्चा भएको नौ महिना भइसक्यो । तर अब साथी भाइहरूको मुखबुजो लगाउनको लागि सानोतिनो पार्टीको आयोजना गरी बिबाहको औपचारिकता पूरा गर्दैछन् । त्यही पार्टीमा आज तपाई पनि जानु पर्छ । त्यहाँ नेपालीहरूको जमघट पनि हुने हुनाले तपाईको छोराको पनि केही पत्तो लाग्छ कि ?
मेरा मित्रले व्यक्त गरेका पछिल्लो वाक्यले मलाई विषेश आकर्षण ग¥यो । जाने इच्छा पलाएर आयो । “जात, भात, थर, ठेगाना ?” डराई डराई मैले मेरा मित्र सामु आफ्नो जिज्ञासा राखें ।
यी कुराहरू मिले पनि म जत्तिको मानिसकी छोरीले एउटा दह्रो काम समाइसकेको, यहा“ नै सानोतिनो थलो भएको सक्षम र योग्य केटा पाउ“थी । तर उसले भर्खर नेपालबाट अमेरिका पढ्न भनी आएको, एउटा गरिब फुच्चे केटोलाई मन पराई । हामीलाई त साह्रै चित्त दुखेकोले त्यतिसारो दिलचस्पी दिएका पनि छैनौं । छोरीको आलाकाँचो बुद्धिलाई धिक्कारिरहेछौं ।
मचाहिँ सम्पत्ति कमाएका पवनजीका सम्पूर्ण भाषा, शैली केलाई रहेँ । के आठ, दश लाख खर्च गरेर अमेरिका आउने नेपाली गरिव हुन् ? उनीहरू धनका गरिब कि बुद्धिका गरिब ? आजको युगका केटा केटीलाई के को छेकवार ? कमाएर खान सकिहाल्छन् । बेरोजगार कोही पनि बस्न नपर्ने ठाऊँ । तर उनको ठाउ“मा म भएको भए सायद म पनि त्यही भन्थें कि ?
स्नेहको डोरी साह्रै जियालो हुँदोरहेछ । “धेरै नेपालीहरूको जमघट हुन्छ” यही वाक्यले मलाई पनि खिंचेर पार्टीहलसम्म डो¥यायो । मित्रको छोरीलाई दिने गिफ्ट जाँदा खेरी बाटोमा नै किनौँला । मनभरि एक खालको आशाको त्यान्द्रो गुट्मुटिइरह्यो ।
पार्टीहल ठूलो थियो, सिलिङ्मा थुप्रै क्रिस्टलका झुमरहरू टल्किरहेका थिए, बलिरहेका थिए । अनगिन्ती राउन्डटेवुलमा कुर्सीहरू सजाइएका थिए । टेवुलमा आफ्ना रुची अनुसारका खानाका परिकारहरू, हार्ड ड्रिंङ्क, सफ्ट डिङ्कहरू थिए । हलको ठीक बीच भागको कुनामा एउटा मञ्च थियो । सुन्दर कलात्मक मञ्च, त्यहाँ दुलाहा दुलही विराजमान थिए । पाहुनाहरूले उपहार र पूmलका बुकेहरूसहित बधाई दिंदै हात मिलाउँथे अनि खान बस्दथे ।
म, पवनजी र उहाँकी श्रीमती तडातड् मञ्चतिर लम्किंदै थियौं । बेहुला बेहुलीलाई आशीर्वाद दिनका खातिर । मेरो मनभरि अंध्यारो नै अंध्यारो ब्याप्त छ । बाटाभरि अत्यास लाग्दो उच्चाटले गर्दा कुनै रङ छैन, कुनै उमङ्ग छैन । आफू नेपालदेखि छोरालाई खोज्न अमेरिका आईपुगेको छु, उसलाई भेट्टाउनको खॉतिर निम्ता बेगरको पार्टीमा सहभागिता जनाउन हिंडिरहेको छु । मलाई विरक्तिपनले छपक्कै छोप्छ । झन् व्याकुल हुन्छु । चिन्ताले पोलिरहेको त छंदैछ । बेहुलीलाई आर्शीर्वाद र उपहार दिन मञ्चसम्म जान पनि मेरा गोडा समर्थ हुंदैनन् । सबैभन्दा छेउको पार्टी टेवुल खाली थियो । त्यहींको एउटा कुर्सी तानेर थचक्क बसें । मलाई संसारै फन्फन्ती घुमे जस्तो आभाष भयो ।
मेरा मित्र पवनजीको एउटा वाक्य “भर्खरै नेपालबाट पढ्न आएको एउटा गरिव केटोलाई छोरीले मन पराई” ले मलाई घोचिरह्यो । जिन्दगीभरि जागिर खाएँ, रिटायर्ड भएँ । नेपालको परिवेशमा प्रशस्त पैसा कमाएँ । समाजमा धनीमा गनिएँ, कहलिएँ । ठूलो प्रतिष्ठाका साथ दिनहरू गुज्रंदै थिए । रमाइलै थियो । थेग्रिएको अधिकांंश रकम लगानी गरेर छोरालाई पढाएं । “फलानाले छोरालाई अमेरिका पढ्न पठाएको छ” अझै ईज्जत खातैखात लागेर थपिएको छ, चुलिएको छ । तर मेरो छोरा जस्तै नेपालबाट पढ्न आउनेहरू यहाँ गरिव कहलिन्छन् । डलरको अगाडि नेपाली पैसाको के गनिमत ?
पवनजी र उनकी श्रीमतीले पार्टीको रामरमिताले गर्दा मलाई भुले । मेरो भने मन एकदम निचोरिएर आएको छ । मञ्चमा गएर बेहुला बेहुली हेर्ने, आशीर्वचनले औपचारिकता पुरा गर्ने शक्ति पनि रहेन । मनै मरेर आयो । त्यही छेउको कुर्सीमा बसेको बस्यै छु । उपहार भने हातमै झुण्डिरहेको छ । उपहार सानो हो । कोटको खल्तीमा राखेपनि अट्ने नै हो । तर किन हो कुन्नी हातमा नै लिइरहेको छु ।
उपहार किन्ने बेलामा पनि मलाई अप्ठ्यारो परेको थियो । नेपालमा आफ्नो घर व्यवहारमा जहिले पनि श्रीमतीले ठिक्क पार्थिन् । कसलाई के दिने भन्ने कुरामा सामान्य छलफल भए पनि परिपञ्च उनकै हुन्थ्यो । तर यहाँ के दिने ? मित्रले एउटा ज्वेलरी पसलमा लगे । मेरो जिन्दगीमा सबैभन्दा धेरै पैसा तिरेर उपहार किनेँ । सानो एउटा ह्वाइट गोल्डको औंठीमा ३ ओटा हिरा जडित थियो । आफूलाई पहेंलो धातु मन पर्ने तर अमेरिकामा त ह्वाइट गोल्डको गहना नै लगाउने धेरै चलन छ भन्ने सुनेकोले र मित्रको इच्छा त्यही भएकाले मैले तीनसय डलर तिरेर औंठी किनेँ । त्यसो त गरिव भनिरहेका मित्र उनको अगाडि मैले योभन्दा सस्तो उपहार किन्न मन लाग्दा लाग्दै पनि बाध्य भएर यही किन्ने सोचेँ । यो एउटा उपहारको पैसा कमाउन नेपालमा मलाई एक महिनासम्म पसिना बगाउनु पथ्र्यो । धाइफाल गर्नु पथ्र्यो । दौडादौडी गर्नु पथ्र्यो ।
मनभरि पीडैपीडा छन् । छोराप्रतिको चित्त दुखाइले आँखा ओभानो छैन । आँसुले होला सायद नजिकैको चिज पनि धमिलो देख्दछु । मेरा दृष्टि निम्तालुहरूमा पर्छ, । रमझम निकै छ । एक्सेएक ठाँटिएर आएका छन् । सबै मोटाघाटा, किर्ना जस्तै पुष्ट छन् । मानसिक तनावले हो वा किन हो आफूलाई अत्यन्त थकित अनुभव भएको छ । सङ्ंगीतको रन्कोमा कोही नाचिरहेछन् । कोही खानमै व्यस्त छन् । आउने जाने क्रम जारी छ । “साथीहरूको मुखबुजोका लागि सानो पार्टी” भनेका थिए मित्र पवनजीले । यो “सानो” पार्टी हो भने ठूलो पार्टी कस्तो हुन्छ होला ? म जिल्ल परेर झोक्राइरहें । साँच्चै सानो पार्टी त मेरा लागि ठूलो छ, आश्चर्यजनक छ । हामीजस्ता नेपालीहरूका लागि आफ्नो पहुँचभन्दा बाहिरको छ । मित्र पवनजीले ठिकै भनेका हुन् । म गरिब, म जस्ता नेपाली सबै गरिब । धेरै बेरसम्म मेरो अन्तरमन बिथोलिरहन्छ । मभन्दा तल्ला स्तरका नेपाली के हुन् त ? यहाँका धनढ्यका नजरमा सायद उनीहरू मान्छेमा गनिदैनन् कि ?
विभिन्न स्न्याक्सहरू, खानाका परिकारहरू, ड्रिङ्सका भेराइटीहरू छन् । के गर्ने, मनमा जति पिरहरू खनिए पनि पेट भोकले कोक्याउन थालेको महसुस हुन थाल्यो । आफ्नै अगाडिको टेबलमा रहेको एक ग्लास पानी पिएँ । मनमनै गुनें– मरेरै गए पनि त चित्त बुझाउनु पर्छ । मेरो छोरो मरेको त होइन नि । एकदिन अवश्य भेट हुन्छ । म किन भोकै बसुँ ? म बेहुलीलाई गिफ्ट पनि दिन्छु, मित्रकी छोरी हो, आशीर्वाद पनि दिन्छु र भोज पनि खान्छु । सुख्खाग्रस्त मनभित्र विस्तारै थोरै भए पनि मनसुन बहन थाल्यो । म नै यस्तो अधीर हुन थालेँ भने उसकी आमाको के हालत होला ? धेरै प्रयत्न पश्चात् आफूलाई थोरै भए पनि सम्हाल्न सक्षम भएं ।
दिउंसोको कुरा सम्झन्छु– मित्र पवनजीको घरमा रुवावासी परेको कुरा पनि मेरा कानसम्म आइनपुगेका होइनन् । मलाई त यी दुई जोइपोइ वीचको सम्बन्धमा पनि शङ्का लाग्न थालेको छ । मैले सबुद त केही पाएको छैन तर दुवैको छनक पढ्दा शङ्ंका गर्ने ठाउँ देखिन्छ । कडै खालकौ ठाकठुक पश्चात् श्रीमती चाहिँ सुनिने गरेरै रोएकी थिइन् । यो संसारमा पिर नभएको सन्तोषी मान्छे त हुँदैनन् कि क्या हो ?
आफ्ना तिर्खालु आँखाले छोरो खोजिरहेछ । त्यही छोराको ममतामा छट्पटिरहेका हामी जोइ पोइ भने जिउनु नै बाध्यता जस्तो ठानिरहेका छौँ । तर जहाँसम्म मलाई लाग्छ एक पटक छोरालाई फेलापार्न मात्र पाए त्यसको कठालो समातेर नेपाल लिएर जान्छु र आनन्दले नाति नातिनासंग खेलेर मेरो अन्त्यावस्था गुजार्छु । त्यही नै हाम्रा लागि स्वर्गीय आनन्द हुनेछ । नत्र मेरो छोरो यहीको रमझममा भुलेर पक्कै पनि हामीलाई बिर्सनेछ । हामीहरूको हालत अत्यन्त दयनीय हुनेछ ।
पिर, भोक र थकैले लखतरान शरीर बलै उठ्छ । विस्तारै विस्तारै बेहुला बेहुली भएको मञ्चतिर लम्किएँ । खै त सँगै आएका मेरा मित्र र उहाँकी श्रीमती ? कतै देख्दिनँ । न त मलाई छोडेर आफ्ना घरतिर लागि त सकेनन् ? पीर माथि अर्को पीर थपिन्छ तापनि मञ्चमा उक्लन्छु । हातमा गिफ्टको पोको छंदैछ । बेहुलीको हातमा राखिदिन्छु । आशीर्वादका शब्दहरू उकल्छु । साथै म नानीको बाबाको सानैदेखिको साथी भनेर परिचय पनि सकिहाल्छु । तिम्रो बाबाको साथी भन्ने वित्तिकै छात्तीमा लिपिक्क हुन आई । मलाई त कताकता असजिलो महसुस भयो । आशीर्वाद र बधाइ केटालाई पनि दिनै पर्यो । मेरा प्यासी जनर बेहुलातिर प¥यो । अचम्मित भएँ । सपना जस्तै लाग्यो । आँखै तिरमिरायो । उसका भययुक्त ऑखा मरो ऑखामा ठोक्किए । मैले आजका दिनसम्म भौंतारिएर खोजेको छोरो त बेहुलो पो रहेछ ।
अस्तु ।
कथाकार परिचय
जन्म मितिः वि.सं. २०१८।६।१४,
जन्म स्थानः — बन्दीपुर, तनहुँ ।
स्थाई ठेगानाः — गोरखा बजार ।
पहिलो प्रकाशित रचनाः — भय (कथा),
प्रकाशित कृतिहरू–
१)“मृगतृष्णा“ कथासङ्ग्रह २०६०,
२)“उपमा” कथासङ्ग्रह २०६२,
३)पुस्तान्तर —संयुक्त कथा सङग्रह २०६६ ।
सम्पादन–
गोरखा पर्यटन, काठमाडौंद्वारा प्रकाशित तीज —२०६२, तीज —२०६४, तीज— २०६६ पत्रिकाहरुको प्रधान सम्पादक ।
संयुक्त सम्पादन– दण्डपाणि अज्र्याल स्मृतिकेन्द्रद्वारा प्रकाशित दण्डपाणि अज्र्याल जन्म शताब्दी स्मृतिग्रन्थ — २०६३ र ज्ञानविन्दु — २०६४ ।
पुरस्कार तथा संमान—
छिम्केश्वरी युवा क्लव तनहुँ द्वारा आयोजित कविता प्रतियोगीता २०३७ मा प्रथम,
हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०६२ ।
विभिन्न सङ्घ, संस्थाहरुवाट प्रदान सम्मान—पत्र र कदर—पत्रहरु ग्रहण ।
सोधग्रन्थः— सीता अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको सम्वन्धमा त्रिभुवन विश्वविद्यालयको स्नातक स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सोधग्रन्थ तयार ।
शिक्षा: स्नातकोत्तरसम्मको अध्ययन ।
लेखनको मूल बिधाः— कथा ।
अनुभवः— १९ वर्षको शिक्षण अनुभव ।
हालको ठेगानाः— विस्कान्सन, अमेरिका, फोन नं. ६१२—७४९—३०१३, ईमेल : saryal25@gmail.com
(स्रोत : Sapanasansar.com)