“अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्।
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई
यस पटक भने हङकङको आकाश पार नगर्दै रि“गटा लागेको थियो । रिंगटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसै बेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए।
त्यसो त हवाईपरिचारिकाहरू कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाईजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाईजहाजभित्रको आवाभगतमा हरेक पटकको यात्रामा हवाईपरिचारिकासंगको सामीप्यता थियो उनको । तर यस पटककी परिचारिकाको आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरूको सेवाप्रति कामदेव आह्लादित हुन पुगेका थिए।
त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्याएकी थिइन्।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन्।
“त्यस्तो खास केही नहोला ! तर पनि म जंचाउनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद ¬ ।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन्।
त्यसपछि दुवैले आआफ्ना भिजिटिङ कार्ड एकअर्काबीच साटेका थिए।
यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैको जनसर्म्पर्क अत्यधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरूका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरू तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरूको पहिलो भेट नै अन्तिम भेट हुन सकेन।
उनीहरूबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यस बखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवादहरू आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सर्न्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन्।
कामदेवले आफूलाई फोन गरेर आफ्नाबारे चासो राखेका सर्न्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठबर्षे आफ्नो हवाईपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरूलाई सेवा पुर्याएकी थिइन्। तर यात्रुहरू घर पुगेपछि आफ्नै संसारमा हराउंछन्, रतिको सेवाका बारे फुर्सतमा पनि सम्झन्छन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरूमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगाकपडामा उनको व्यक्तित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । अझ उनको आवाज प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको विराटताको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हवाईजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वस“ग रति बढी प्रभावित भएकी थिइन्।
त्यसपछिको अर्को टेलिफोनको घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई सा“झको चियाका लागि तारे होटेलमा निम्तो गरेका थिए।
रति वास्तवमै सुन्दरी थिइन् । हवाईपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले रति भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यमवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरू भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौ“, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अंगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई हिजोआज पिरोल्न थालेको थियो।
हवाईपरिचारिकाको जागिरमा बिताएका यी आठ वर्ष उनले पनि पुरुषको विविध रूपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिंदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरूका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटकपटक आहत पारेको थियो । त्यसैले हिजोआज रति एउटा सामर्थ्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन्।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् । तर पनि जतिजति उनको कामदेवस“गको सामीप्यता बढ्दै गएको थियो रति कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसै गरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि कामदेव पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसंग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो । तर पनि फुर्सतमा रतिसंग समय बिताउन उनी मन पराउंथे । दुवैको फुर्सतका समयमा प्रायजसो कामदेवले नै रतिलाई कुनै भव्य होटेलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवको मदिरा वा धूमपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्याएर फर्किन्थे।
उनीहरूको पहिलो भेटपछिको झन्डै एक वर्षो समय पनि नाघिसकेको थियो । उनीहरूबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिंदै गएको थियो । कामदेवको शिष्टता र सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरै पटक राखिसकेकी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौर्न्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आ“खाले उनको सौर्न्दर्यको रसपान गर्थे । यसरी नै उनीहरू छुट्टिने गर्थे । रतिको उर्लिंदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसैत्यसै मुरमुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरूपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो।
अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटेलको मैनबत्तीको उज्यालोमा चिया पिउंदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन्।
“म तपाईंसंग विवाह गर्न चाहन्छु” रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए। “के तपाईं पनि मसंग ? ” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरू देखेकी थिइन्। उनले यतिका समयको उनीहरूको सान्निध्यमा कामदेवको यतिबिघ्न अँध्यारो अनुहार देखेकै थिइनन्। आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन्।
“रति ! तिमी साँच्चै मसंग बिहा गर्न चाहन्छयौ -” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन्।
“ठीकै छ, मलाई तिम्रो प्रस्ताव मन्जुर छ तर विवाह गर्नुअघि मेरो पनि एउटा प्रस्ताव छ।”
रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन्।
“मसंग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसंग एक रात बिताउनुपर्छ । अर्थात् तिमीले मसंग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ” कामदेवले अर्थ्याएर भनेका थिए। कामदेवको प्रस्ताव सुनेपछि एकैछिन रतिको होस हराएझैं भएको थियो । के भन्ने – के नभन्ने – को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जबाफ दिन सकेकी थिइनन्।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छयौ ?” कामदेवले पुनः प्रश्न तेर्स्याएका थिए।
“हुन्छ, तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए ?” रतिले केही कामेको स्वरमा भनेकी थिइन्।
“हुन्छ, म पनि तिम्रै फ्लाइटबाट सिङ्गापुर जानेछु । मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउंछु ।” कामदेवको आवाज भने सधैं झैं शान्त र मधुर थियो । त्यस दिन पनि उनीहरू खानपिन सकेर नै छुट्टिएका थिए।
मङ्गलबारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनको आजको सम्पूर्ण क्रियाकलाप यन्त्रचालित झैं थियो । उनको आँखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए। त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा । आज किन हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो हवाईजहाजभरि भरिएका सम्पूर्ण पुरुषहरूमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन्, आजको रात ¬ कामदेवसंग बिताउने पहिलो रात । आँखामा मीठामीठा चित्रहरू सजाएर अनुभूतिका काउकुती संगाल्दासंगाल्दै उनीहरूको जहाजले सिङ्गापुरको धरती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरू संवाद भएको थिएन।
“तिमी मसंगै हिंड, म तिमीलाई होटेलमा पुर्याएर आफ्नो काममा जान्छु।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए। आफ्नो कार्यसम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन्।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलहरूमा रात बिताइसकेकी थिइन्। तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्ण भएको थियो।
‘एक रात बिताइसकेपछि कामदेवले मसंग बिहे गर्न आनेकाने पो गर्ने हुन् कि? अरू पुरुष र कामदेवबीच के फरक होला?’ कामदेवका साथ मोटरमा होटेलतर्फ गुडिरहंदा रतिको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका थिए।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन्।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म सांझसम्ममा आइपुग्छु” होटेलको कोठामा दुवैको सामान थन्क्याउंदै कामदेवले भनेका थिए। त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन्। आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई । तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरूपले उनको रूपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यस बेला छटपटिंदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो। त्यसपछि कामदेवसंग आजको रात बिताउंदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरू डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरूको खानपिन सकिएको थियो।
रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैंभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरू शयनकक्षमा प्रवेश गरेका थिए।
उनीहरू कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए। कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी नाइट गाउनले झनै सुन्दर पारेको थियो । कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन्।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेको कामदेवले एक पटक रतिलाई राम्ररी हेरेका थिए। “अँ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए। निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन्। नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो।
त्यसपछि कामदेव बिछयौनामा गएर बसेका थिए । “रति, यहाँ आऊ त !” कामदेवको आवाज सुनेर पुलकित हुंदै रति कामदेवको नजिकै पुगेकी थिइन्। “मलाई केही सहयोग गर न है !” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दाँत त्यो मगको पानीमा चोपलेर राखिदेऊ न।” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिंदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मगतर्फ कामदेवले देखाएका थिए। केही अचम्मित हुंदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन्।
“रति, यो आँखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ।” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आँखा झिकेर रतिका हातमा हालिदिएका थिए । आफ्ना हातमा आँखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन्। आफ्ना हातमा दाँत समात्दाभन्दा पनि आँखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए। यन्त्रवत् रति कामदेवको निर्देशन पालन गर्दै थिइन्।
“अब यो हात पनि टेबुलमा राखिदेऊ” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए। त्यसपछि भर्खरै मात्रै बाहिरी पोसाक खोलेका कामदेवलाई भित्री गन्जी र कट्टुमा मात्रै रतिले देखेकी थिइन्।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैं भएको थियो । उनको सम्पूर्ण शरीर चिसिएको थियो। एउटा नराम्रो सपना देखिरहेको अनुभूतिले उनी डराएकी पनि थिइन्।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिंन” रतिले भनिन्। त्यसै बेला कामदेवले होटेलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए।
naiprasai@gmail.com
(स्रोत : HkNepal.com)